भर्खरै :

‘सम्पदा संरक्षणमा विज्ञहरूको सुझावलाई मार्ग दर्शनको रूपमा लिनेछौँ’

सुनिल प्रजापति प्रमुख, भक्तपुर नपा
भक्तपुर ऐतिहासिक र सांस्कृतिक नगर हो । प्राचीन नगर भक्तपुरमा काष्ठकला, धातुकला, प्रस्तरकलाका उत्कृष्ट र अनुपम उदाहरणहरू पाइन्छ । नगरको पुरानो क्षेत्रभरी नै मन्दिर, सत्तल, पाटी—पौवा, ढुङ्गेधारा, पोखरी, देवालय, शिवालय, इनार, मठजस्ता थुप्रै सम्पदाहरू छन् । समयमा तत्कालीन सरकारहरूले ध्यान नदिँदा वा संरक्षण नगर्दा कैयौँ सम्पदाहरू लोप भइसके । पोखरीहरू पुरेर निजी घर बनाउने, पाटी—पौवा, सत्तललाई निजी बनाउनेजस्ता कार्यहरू पनि यहाँ नभएका होइनन् । पुरातात्विक र ऐतिहासिक महत्व बोकेका सम्पदाहरूको संरक्षण गर्ने भावनाले भक्तपुर नगरपालिकाले केही दसक अगाडिदेखि सम्पदा संरक्षणतर्फ पाइला चालेको हो । ५५ झ्याल दरवार, ५ तले मन्दिर, टोल टोलका पाटी—पौवा, सत्तलहरू जीर्णोद्धार गर्न सुरु गरेको त्यो अभियानलाई भक्तपुर नगरपालिकाले निरन्तरता दिइरहेको छ ।
२०७२ को भूकम्पले भक्तपुरका धेरै निजी घरहरूसँगै सम्पदाहरूमा पनि ठूलो क्षति पु¥यायो । जनप्रतिनिधिविहीन अवस्था हुँदा पुनःनिर्माणले तिव्रता पाउन सकेन । २०७४ जेठबाट हामीले जनप्रतिनिधिको रूपमा सपथग्रहण गरेसँगै भूकम्पले क्षति पु¥याएका, यहाँका मूर्त र अमूर्त सम्पदाहरूको पुनःनिर्माण, जीर्णोद्धार गर्ने र सम्पदाहरूको संरक्षण हाम्रो चुनौती बन्यो । हामीले हतारमा पुनः निर्माण गर्नुभन्दा मौलिक शैली र गुणस्तरलाई जोड दियौँ । सम्पदाहरू पुनः निर्माण गर्दा ठेक्कामा गराउन उपयुक्त नहुने ठहर गर्यौँ र जनसहभागितामा उपभोक्ता समिति वा अमानतमा गर्ने नीति लियौँ । उपभोक्ता समितिमार्फत भएका कार्यहरूले गुणस्तरीय निर्माण र मौलिक शैलीलाई जोगाउन मद्दत पुगेको हाम्रो अनुभव छ ।
सम्पदाहरूको पुनःनिर्माणमा आवश्यकताको आधारमा प्राथमिकता तोक्दै हामी अगाडि बढ्दै छौँ । त्यसैमध्येका एक हो– ‘भाज्या पुखु’ । २०५४ मा निर्वाचित जनप्रतिनिधिहरूले भाज्यापुखुको जीर्णोद्धार शुभारम्भ गर्नुभएको थियो । पदावधिको अन्तिम कालखण्डमा स्थानीय जनताको सहयोगमा सुरु भएको भाज्या पुखु जनप्रतिनिधि विहीनतासँगै काम रोकिन पुग्यो । हामी जनप्रतिनिधिहरू आइसकेपछि पानीविनाको झारपातले ढाकिएको भाज्या पुखुको झारपात सफाइबाट त्यस कामको पुनः थालनी ग¥यौँ । नियमित सरसफाइअन्तर्गत हामीले पटक–पटक सफाइ ग¥यौँ । त्यसपछि हाम्रा प्राविधिकहरूमार्फत नापजाँच गरायौँ, अनुभवी साथीहरूसँग पानी नरहनुको कारणहरूबारे छलफल ग¥यौँ । छलफलकै आधारमा सिद्धपोखरी जीर्णोद्धारको अनुभवसमेतलाई ध्यानमा राखेर पानी चुहिने सम्भावना भएका पोखरीका छेउमा साढे चार फिट चौडाइ र साढे सात फिट गहिराइमा कालोमाटो भ¥यौँ । पोखरीको बीच भागमा के कस्तो मन्दिर थियो यकिन थिएन ।
भाज्या पुखु जीर्णोद्धारको क्रममा भेटिएका वस्तुहरूको आधारमा हाम्रा प्राविधिक टीमले एउटा अनुमान ग¥यो र त्यसैको आधारमा नक्सा डिजाइन पनि भयो । मन्दिरमा जाने बाटोका अवशेषहरूले उत्तर दक्षिण पुल रहेको अनुमान गर्न गा¥हो भएन । जुन चिज निर्विवाद छ, त्यसैबाट हामीले पुनःनिर्माणको सुरुआत ग¥यौँ । हामी चाहन्छौँ, सम्पदा निर्माणमा पुरातत्व विभाग, सम्पदाविद्हरू, संस्कृतिविद्हरू, इतिहासविद्हरू र स्थानीय जनताको सहभागिता होस् । प्राचीन स्मारक संरक्षण ऐन २०१३ लगायत सम्पदा संरक्षणसम्बन्धी ऐन नियमहरू, सम्पदाविद्, इतिहासविद् र संस्कृतिविद् तथा स्थानीय जनताको अनुभवलाई हामीले मार्ग दर्शनका रुपमा लिँदै अगाडि बढ्दै छौँ ।
करिब सात महिनाअघि यसबारे अन्वेषण र उत्खनन्को आवश्यकता महसुस गरी इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय एक विज्ञ टोली गठन ग¥यौँ । उहाँहरूलाई आवश्यक कार्यविधि आफै तयार गरेर अगाडि बढ्ने अधिकार दियौँ । सुरुमा एक महिनाको समय दिएकोमा उहाँहरूले अध्ययन, अनुसन्धानको गहिराइलाई ध्यानमा राख्दै म्याद थप्न आग्रह गर्नुभयो । नगरपालिकाले भाज्या पुखुसम्बन्धी एउटा भरपर्दो, विश्वासिलो र अकाट्य प्रमाणको रुपमा महत्वपूर्ण दस्तावेजको अपेक्षासहित म्याद थप गर्दै गयो । हालै उहाँहरूले करिब ६ महिनासम्म स्थलगत अवलोकन, पुरातात्विक अन्वेषण र उत्खनन्बाट पत्ता लागेका अवशेषहरू, भाज्या पुखुबारे चलेका जनश्रुतिहरू, भाज्या पुखु वरिपरिका सम्पदाहरू र अन्य विभिन्न सम्पदाहरूको तुलनात्मक अध्ययनसहितको प्रारम्भिक प्रतिवेदन तयार गर्नुभयो । प्रारम्भिक प्रतिवेदनले हाम्रो ध्यान तान्यो । यस अघिसम्म भाज्या पुखु काठमाडौंको रानीपोखरी (ने.सं. ७९०÷वि.सं. १७२७) बाट प्रभावित भएर भाजु कसले बनाएको सुन्दै आएका थियौँ तर भाज्या पुखु रानीपोखरीभन्दा करिब ५०० वर्ष पुरानो देखिन आएको प्रतिवेदनबारे विज्ञहरूसँग थप छलफलको आवश्यकता महशुश भयो ।
यो प्रतिवेदनसँगै भाज्या पुखुको नयाँ इतिहास सुरु हुनेछ । यही कुरालाई ध्यानमा राखेर डा. पुरुषोत्तम लोचन श्रेष्ठको नेतृत्वमा गठित विज्ञ टोलीको तर्फबाट प्रस्तुत भएको प्रारम्भिक प्रतिवेदनबारे छलफल गर्न यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । यहाँ जनप्रतिनिधि, पुरातत्वविद्, सम्पदाविद्, इतिहासविद्, संस्कृतिविद्, वास्तुकलाविद् र अन्य प्राविधिकहरूलाई आमन्त्रण गरेका छौँ । यहाँ प्रस्तुत हुने प्रारम्भिक रिपोर्टमा आ—आफ्ना राय, सल्लाह, सुझाव वा टिप्पणी प्रस्तुत गरेर प्रतिवेदनलाई अझ परिमार्जन गर्ने अवसर प्रदान गर्नुहुने विश्वास छ ।
(भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २७ गते सम्पन्न भाज्यापुखु सम्बन्धी गठित टोलीद्वारा प्रस्तुत प्रारम्भिक प्रतिवेदनबारे अन्तरक्रिया कार्यक्रममा व्यक्त मन्तव्यको सार सङ्क्षेप– सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *