भर्खरै :

नेपालको वैदेशिक व्यापार घाटा झनै बढ्यो

काठमाडौँ, १ चैत । आर्थिक वर्ष २०७५÷७६ को सात महिनामा कुल वस्तु व्यापार घाटा २७.१ प्रतिशतले विस्तार भई रू.७ खर्ब ८० अर्ब १९ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । बैङ्कले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार उक्त अवधिमा कुल वस्तु आयात २६ प्रतिशतले बढेर रू. ८ खर्ब ३३ अर्ब २७ करोड पुग्दा कुल वस्तु निर्यात ११.५ प्रतिशतले वृद्धि भई रू. ५३ अर्ब ८ करोडमात्र पुगेको छ ।
आर्थिक वर्ष २०७५÷७६ को पहिलो ६ महिनामा देशको कुल वस्तु व्यापार घाटा ३२.१ प्रतिशतले विस्तार भई रू. ६ खर्ब ७८ अर्ब ५३ करोड पुगेको थियो भने कुल वस्तु निर्यात १०.३ प्रतिशतले वृद्धि भई रू.४५ अर्ब ४१ करोड र कुल वस्तु आयात ३०.५ प्रतिशतले बढेर रू. ७ खर्ब २३ अर्ब ९४ करोड पुगेको थियो । २०७५ माघ महिनामा मात्र व्यापार घाटा रू. १ खर्ब २ अर्ब बढेको छ ।
गन्तव्यका मुलुकका आधारमा आर्थिक वर्ष २०७५÷७६ को सात महिनामा भारततर्फ २१.१ प्रतिशत र अन्य मुलुकतर्फ १.४ प्रतिशतले निर्यात वृद्धि भएको र चीनतर्फ ३१.१ प्रतिशतले कमी आएको बैङ्कले जनाएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, ऊनी गलैँचा, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, छाला, रोजिन, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधिलगायतका वस्तुहरूको निर्यात घटेको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २४.८ प्रतिशत, चीनबाट भएको आयात ३६.६ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, अन्य मेसिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायतका वस्तुहरूको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरूबाहेकका भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयात घटेको छ भने अन्य सबै नाकाहरूबाट भएको आयातमा वृद्धि भएको बैङ्कले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *