भर्खरै :

नेपाललाई ‘चौकीदारको देश’ बाट मुक्ति कहिले ?

– प्रकाश
केही दिनअगाडि भारतको आम आदमी पार्टीकी नेतृ विधायक अलका लाम्बाले ट्वीट गरिन्– ‘…. चौकीदार त नेपालबाट पनि मगाउन सक्छौँ ।’ हुन त ती नेतृले भारतमा आसन्न निर्वाचनको सरगर्मीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले थालेको ‘म पनि चौकीदार’ अभियानको आलोचना गर्ने क्रममा ट्वीट गरेकी हुन् । तर उनको ट्वीटमा भारतीय शासक वर्गसित भएको अभिमान र घमण्डका साथै नेपाल र नेपालीप्रतिको उनीहरूको दृष्टिकोण छर्लङ्ग भएको छ । अलका लाम्बा नेपाल स्वतन्त्र देश हो भने थाहै नभएकी भारतीय होइनन् तिनी राम्रै पढेलेखेकी नेतृ हुन् । तिनले होस नपुर्याई सही नेपाल र नेपालीप्रति भारतीय शासक वर्गमा रहेको हेपाहा दृष्टि प्रकटमात्र गरेकी हुन् ।
नेपाल र नेपाली जनताको यस अपमानमा भारतीय शासक वर्गमात्र जिम्मेवार छैन, नेपालका आजसम्मका शासकहरू बढी दोषी छन् । नेपालका सरकारहरूले नेपाली जनताको जीविका र रोजीरोटीको बारेमा कहिल्यै ध्यान नदिंदा र नेपालमै रोजगारी सिर्जना नगर्दा धेरै नेपाली दाजुभाइहरू भारतका विभिन्न प्रान्तका सहरहरूमा चौकीदारी र कुल्लीको काम गर्न बाध्य भएकै हुन् । नेपालीहरू सोझा, इमानदार र नुनको सोझो गर्ने हुनाले पनि भारतीय धनाढयहरूले आफ्नो धनजनको रक्षाको जिम्मेवारीमा नेपालीहरूलाई विश्वास गरेका हुन् । तर, नेपालीहरू चौकीदारबाहेक अरु काम पनि गर्न जान्दछन् र स्वाभिमानी छन् भन्ने हेक्का भारतीय शासकहरूमा रहेको देखिएको छैन । त्यसैले मौका मिल्नासाथ उनीहरू नेपाल र नेपालीको अपमान गर्न पछि पर्दैनन् । अब नेपाल सरकार र नेपालका शासक दलहरूसित प्रश्न गर्नुपर्ने बेला आएको छ– नेपाललाई ‘चौकीदारको देश’ को अपमानको दागबाट मुक्ति कहिले दिलाउने ? कहिले नेपाली युवाहरूका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने ? स्वदेशी युवा जनशक्ति स्वदेशकै विकासमा लगाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *