भर्खरै :

कर्णालीका कारागारमा किताब

शनिबार कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लाबाहेक सबै कारागारमा ‘कारागारमा किताब अभियान’ सुरु गरियो । विभिन्न मुद्दामा परी कारागार जीवन भोगिरहेका कैदीहरूलाई पुस्तक अध्ययन गर्न उत्साहित गर्ने लक्ष्यसाथ सुरु भएको अभियान सकारात्मक पाइला हो । कारागारभित्र स्थापना गरिएको पुस्तकालयका पुस्तक अध्ययनले बन्दीहरूको समयको सदुपयोग हुनेछ । पुस्तक अध्ययनले ल्याउने सकारात्मक चिन्तनले बन्दीहरूमा नैतिक तथा वैचारिक सुधार पनि ल्याउनेछ ।
‘कारागार’ शब्दले सामान्यतः सर्वसाधारण मानिसका दिमागमा बन्ने चित्र भनेको अपराधीहरू राख्ने, मानसिक र शारीरिक यातना दिइने अग्ला अग्ला चार पर्खालभित्रको कष्टदायी स्थान हो । त्यसकारण कारागार र कैदीहरूप्रति औसत मानिसहरू नकारात्मक धारणा राख्छन् । फलतः कैदमुक्त भइसकेपछि पनि कैदीलाई समाजमा पुनस्र्थापना हुन निकै कठीन हुने गरेको छ ।
कैदीहरूको मानव अधिकारको विषय नेपालमा पञ्चायतकालदेखि नै उठ्दै आएको हो । कारागारभित्रै पनि कैदीको मानव अधिकार रक्षा हुनुपर्छ । पञ्चायतकालमा कारागारभित्र कैदीमाथि गरिने अमानवीय व्यवहारको विरोधमा धेरै राजनीतिक बन्दीहरूले सङ्घर्ष गर्नुपरेको थियो । त्यतिबेलामात्र होइन, आज पनि देशका धेरै कारागारमा पुस्तक र पत्रपत्रिका पढ्ने, स्वस्थकर खाना र बस्ने ठाउँमा बस्ने बन्दोबस्त भएको छैन । काठमाडाँै र जिल्ला – जिल्लाका कारागारमा क्षमताभन्दा बढी बन्दी कोचिंदा अनेकन स्वास्थ्य समस्या सामना गर्न कैदीहरू बाध्य भएको समाचार नियमितजसो आउने गरेका छन् । कारागारलाई व्यवस्थित गर्न र कैदीहरूको मानव अधिकार रक्षा गर्नमा सरकार अझै संवेदनशील बन्न सकेको छैन ।
कुनै पनि राजनीतिक व्यवस्था कस्तो हो भन्ने कुरा बुझ्ने मापण कारागारको अवस्था पनि मानिन्छ । कारागारमा कैदीलाई गरिने व्यवहार र कारागारमा कैदीहरूले भोगिरहेका मुद्दाको प्रकृतिका आधारमा राजनीतिक व्यवस्था कस्तो हो भन्ने निक्र्याेल गर्ने गरिन्छ ।
‘कारागारमा पुस्तक अभियान’ कर्णाली प्रदेशबाट सुरु हुनुले कर्णालीले देशैभरि सकारात्मक सन्देश प्रवाह गरेको छ । कैदीहरूले कारागारमा बिताउने समय निरासा र एकालापमा होइन, बरु पुस्तकसँग संवाद गरेर बिताउने अवस्था बनाउनुपर्छ भन्ने आशय सामाजिक सुधारको पाटो हो । यो अभियानमा विभिन्न पुस्तकका लेखकहरू स्वयम्को सहभागिताले अझ यसको गुणवत्ता बढाएको छ । केही कारागारमा बन्दीहरूबीच पुस्तक क्लवको स्थापनाले पुस्तक अध्ययनलाई अझ व्यवस्थित र फराकिलो बनाउने आशा गर्न सकिन्छ । यो अभियानमा नेपालकै विभिन्न पुस्तक प्रकाशकको सहभागिता खुसीको विषय हो । यसका लागि विदेशीसँग हात फैलाइएन । आफ्नै साधनस्रोतमा उभिएर गरिएको यो काम सकारात्मक छ ।
तर, कोही व्यक्तिको इच्छाकै कारण अघि बढ्दा अभियान दिगो नहुन सक्छ । यसलाई राज्यको नीति बनाएर सबैतिर लागू गर्नुपर्छ । कोही व्यक्ति परिबन्दमा परेर कारागार जीवन भोग्न बाध्य भएपछि कारागारको हावापानीले उसलाई अपराधी बनाउने आजको अवस्थामा परिवर्तन ल्याउन र कारागारलाई वास्तवमै सुधारगृहको रूपमा विकास गर्न यो अभियान प्रभावकारी हुनेछ । कर्णालीबाट सुरु भएको यो अभियान देशका अन्य कारागारमा पनि विस्तार हुँदै जाने आशा गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *