भर्खरै :

बारको नैतिक दायित्व

देशका कानुन व्यवसायीहरूको सङ्गठन नेपाल बार एसोसिएसनको हालै सम्पन्न निर्वाचनमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सरकारको नेतृत्व गरिरहेको दलसम्बद्ध कानुन व्यवसायीहरूले बारमा अत्यधिक बहुमत ल्याएका छन् । विधिको शासन, संविधानवाद र शक्ति सन्तुलनको सिद्धान्तमा आधारित राजनीतिक व्यवस्थामा संविधानको रक्षा र कानुनी शासन स्थापनाको लागि कानुन व्यवसायीहरूको अहम् भूमिका हुन्छ । संविधानले निदृष्ट गरेर पनि सत्ताले जनताको अधिकार खोस्न खोजेको अवस्थामा जनताको पक्षमा लड्ने व्यक्ति नै कानुन व्यवसायी हुन् । सुन्दर समाजको परिकल्पनालाई शासकले आफ्नो स्वार्थको लागि फोहोरी र अनैतिक बनाउन प्रयास गरिरहेको हुन्छ । त्यस्तो अवस्थामा उन्मुक्त शासकलाई संविधानको किल्लामा बाँध्ने जिम्मेवारी कानुन व्यवसायीको हो ।
अदालतमा बेन्च (न्यायाधीश) समक्ष जनताको पक्षमा न्यायको लागि वकालत गर्ने बौद्धिक व्यक्ति नै कानुन व्यवसायी हुन् । देशका सबै कानुन व्यवसायीको हित र समग्र संविधानवादको पक्षमा लड्ने संस्था नै बार एसोसिएसन हो । नेपालको कानुनी इतिहास अध्ययन गर्दा बार एसोसिएसनले विगतमा आफ्नो पेशागत र विवेकले देखाएको दायित्व निभाउन सबै कुरा दाउमा राख्ने काम गरेको देखिन्छ । त्यस्तो नेतृत्वले बारमा अदालत र न्याय व्यवस्थाप्रति जनताको विश्वास बलियो भयो । सत्ताको तानाशाही चरित्रलाई कानुनको दाम्लोले ठीक ठाउँमा ल्याउने भूमिका बारको नैतिकवान र परिपक्व नेतृत्वले निभाएको थियो ।
बार एसोसिएसनबाट आज निर्वाचित कार्यसमिति र नेतृत्वबाट पनि उस्तै भूमिकाको अपेक्षा गर्नु स्वाभाविक हो । नेपालको कानुनी क्षेत्रमा हिजो र आजका जटिलता र समस्यामा धेरै प्रकारका भिन्नता आइसकेका छन् । न्याय क्षेत्रमा झाङ्गिएको शासक दलीय भागवण्डा र भ्रष्टाचारका कारण जनताले न्यायमूर्तिहरूलाई नै एकैबाजी विश्वास गर्न सकिरहेका छैनन् । बेन्चमा बस्ने न्यायाधीशलाई कुन पार्टीको कोटामा परेको, कुन नेताको कुरा खाने मान्छे जस्तो प्रश्न सोध्नुपर्ने अवस्था नेपालको न्याय क्षेत्रको ठूलो विडम्बना हो । न्याय निष्पक्ष हुन्छ भन्नेमा जनताको विश्वास कमजोर बन्दै गएको छ । यसको दोषी शासक दल नै हुन् । यस्तो विकृत अवस्थामा सुधार गर्न नेपालका कानुन व्यवसायीको पनि महत्वपूर्ण भूमिका हुन्छ । यो भूमिका बारको नेतृत्वले पूरा गर्नसक्छ वा सक्दैन ? आजको बार नेतृत्वसामु सबभन्दा चुनौतीपूर्ण प्रश्न यही हो ।
त्यसो त बार आफै भागवण्डाको आधारमा निर्वाचित भएको छ । शासक दलको जनवर्गीय सङ्गठनकै हैसियतमा बारमा अहिलेको नेतृत्व निर्वाचित भएको छ । निर्वाचन प्रचारकै क्रममा दुई ठूला कानुन व्यवसायीहरूको भड्किलो र खर्चिलो प्रचारबाजीले बारको चुनावमा पनि पुँजीवादी रोग सङ्क्रमण भएको अनुभव गरिएको हो । ठूलठूला लगानीकर्तासँग आर्थिक सहयोग लिएर कानुन व्यवसायीलाई भोतभत्तेर खुवाएर चुनाव प्रचार गरेको समाचारले आजको नेतृत्वले पनि उच्च नैतिकता कायम राख्न सक्ने हो वा होइन, शङ्काको विषय हो ।
बारमा सत्तापक्षकै हालिमुहालीले देशको न्यायालयमा सत्ताकै प्रभाव हावी हुने हो कि भन्ने चिन्ता स्वाभाविक हो । न्यायाधीश भर्ती शासक दलबीच भागवण्डाको आधारमा हुने अनि कानुन व्यवसायीको सङ्गठनमा पनि सत्तापक्षकै प्रभावले शक्ति पृथकीकरणको न्यायिक सिद्धान्त प्रभावित हुनसक्दछ । जुन कुनै दलबाट निर्वाचित भए पनि बार नेतृत्वले आफ्नो उच्च नैतिक दायित्वभित्र रहेर समाज र देशको हितमा कर्तव्यपालना गर्न जरुरी छ । नैतिकताको उच्चताले संविधानवाद र लोकतान्त्रिक प्रणालीको रक्षा गर्नसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *