भर्खरै :

पोखरी संरक्षणको खाँचो

काठमाडाँै उपत्यकाका प्राचीन नगरबस्तीमा रहेका साना–ठूला पोखरीहरूको संरक्षणमा स्थानीय सरकारले सक्रियता देखाउन आवश्यक छ । तत्कालीन समयमा बस्तीभित्र हुनसक्ने आगलागी नियन्त्रण र हावाको स्वच्छताको लागि बनाइएका ती पोखरीमध्ये धेरै त स्थानीय संस्कृति र जनजीवनसँग पनि जोडिएका छन् । पोखरीसँग जोडिएका अनेकन लोककथा र जनविश्वास पनि अझै कायम छन् । भौतिक वस्तुमात्र सम्पदा होइनन्, जनजीवनमा रहेका लोककथा र जनविश्वास पनि अमूर्त सम्पदा हुन् ।
काठमाडाँै र भक्तपुरको रानीपोखरीको संरक्षण कार्यले गति लिएसँगै उपत्यकाका अन्य बस्तीका पनि पोखरीहरूको संरक्षणको आवश्यकताबोध गरिएको छ । नगरको सौन्दर्य, हावाको स्वच्छता, आपत्को समयमा प्राथमिक राहत र संस्कृतिको संवद्र्धनका लागि पोखरीहरूको संरक्षणमा सबैको ध्यानाकर्षण भइरहेको छ । कतिपय पोखरी त अहिले नष्ट भइसकेका छन् । भूमाफियाका चङ्गुलमा परी कतिपय पोखरी निजी जग्गामा परिणत भइसकेका छन् भने कतिपय स्थानीय जनताको तदारुकताले जोगिएका छन् । बोडेको पलेस्वाँ पुखु भूमाफियाले सिध्याउने तरखर गरिसकेको अवस्थामा स्थानीय जनताको लगातारको सङ्घर्षका कारण जोगियो । कतिपय पोखरीको क्षेत्रफल मिचिएका छन् ।
वैश्य युगमा सार्वजनिक सम्पत्ति लोभीपापीका गिद्देदृष्टिको शिकार बनाइने प्रयास हुन्छ । काठमाडाँैका विभिन्न क्षेत्रमा पोखरी नै पुरेर निजी कम्प्लेक्स बनेका र सार्वजनिक जग्गाको समेत लालपुर्जा बनाई बिक्री गरेका समाचार लगातार आइरहेका छन् । यस्तो समाजमा विभिन्न बस्तीका गहना बनेर रहेका पोखरीको अस्तित्व जोगाउनु चुनौतीपूर्ण छ । आफ्नो ठाउँको पोखरी वा अन्य सांस्कृतिक सम्पदाको रक्षा गर्ने जिम्मेवारी स्थानीय जनताको हो । स्थानीय जनता आफैं अग्रसर नबने संरक्षणको काम कदापि सम्भव हुन्न । ललितपुरका केही पोखरी आज स्थानीय जनताकै अग्रसरताका कारण संरक्षित छन् । पोखरीलाई सफा र जीवन्त बनाउन पनि स्थानीय जनता नै लागिपर्नुपर्छ । पोखरी नष्ट बनाई वा क्षेत्रफल मिचेर निजी बनाइएको वा बनाउन खोजिएको अवस्थामा स्थानीय जनताकै अगुवाइमा तिनको संरक्षण आवश्यक छ ।
दोस्रो दायित्व स्थानीय तहको सरकारको हो । आफ्नो क्षेत्रका सम्पदाको संरक्षण स्थानीय जनताको सहभागितामा गर्नु स्थानीय तहको दायित्व हो । पोखरीहरू जनताको जीवन पद्धति र संस्कृतिसमेतको हिस्सा भएको हुनाले तिनको संरक्षण स्थानीय सभ्यताको संरक्षण हो । कानुनीरूपमा कतिपय पोखरी धनीमानीले आफ्नो निजी स्वामित्वमा राखेको अवस्थामा तिनलाई सार्वजनिक सम्पत्तिको रूपमा फर्काउने काममा स्थानीय तहको भूमिका अहम् हुन्छ ।
पोखरीहरूको जीर्णोद्धार वा पुनःनिर्माण काठमाडाँै उपत्यकाले जानेको मौलिक तरिका र शैलीमा हुनुपर्छ । यहाँका निर्माण सामग्री र प्रविधिको प्रयोगले पोखरीको मौलिक स्वरूपको संरक्षण हुनेछ । मौलिकको संरक्षण हाम्रो सभ्यता र ज्ञानको पनि संरक्षण हो । समयअनुकूल बनाउने वा अर्थोपार्जनको नाममा पोखरीको मौलिक स्वरुप बिगार्ने काम गर्नु हामीले आफ्नो अनुहारमा आफैंले कालो पोतेको हुनेछ ।
मठ–मन्दिर, पाटीपौवाजस्तै पोखरी पनि हाम्रा सम्पदा हुन् । साना–ठूला पोखरी र तिनीहरूसँग गाँसिएका अमूर्त सम्पदाको संरक्षण गर्न सबै नागरिकको अग्रसरता आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *