क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
नोम चोम्स्की
असान्जको गिरफ्तारी धेरै कोणबाट षड्यन्त्रमूलक छ । संरा अमेरिकी सरकारमात्र होइन, अरू सरकारहरू पनि असान्जको गिरफ्तारीमा लागिपरेका छन् । बेलायतले यसमा समर्थन गरेको छ । इक्वेडरको सरकारले पनि सहयोग गरेको देखियो । डेन सरकारले पनि सहयोग गरेको थियो । असान्जको गिरफ्तारीबाट सत्तामा बसेका मानिसले व्यापक सर्वसाधारण जनताले थाहा नपाऊन् भनी चाहेका सूचना बाहिर ल्याएको एक जना पत्रकारको मुख थुन्ने प्रयास भएको छ । विकिलिक्सले सत्तामा बसेका मानिसबारे जनताले थाहा पाउनुपर्ने सूचना नै बाहिर ल्याएको हो । तर, त्यो काम सत्तासीनहरूलाई मन परेन । अनि त्यसैकारण सूचना बाहिर ल्याउनेको आवाज दबाइएको हो । यो एकप्रकारको षड्यन्त्र हो । दुर्भाग्यवश यस्ता काण्ड पटक पटक दोहोरिरहेका छन् ।
एउटा अर्को उदाहरण हेरौँ । इक्वेडरसँगैको देश ब्राजिलमा भइरहेको घटनाक्रम ज्यादै महत्वपूर्ण घटनाक्रम हो । ब्राजिल ल्याटिन अमेरिका र सिङ्गो संसारकै लागि ज्यादै महत्वपूर्ण देश हो । यो सहस्राब्दीको आरम्भमा लुलाले नेतृत्व गरेको ब्राजिल सम्भवतः संसारकै सबभन्दा सम्मानित देश थियो । लुला दा सिल्भाको नेतृत्वमा ब्राजिलको आवाजले संसारकै दक्षिणी गोलाद्र्धको प्रतिनिधित्व गथ्र्यो । हेर्नोस् त त्यहाँ के भयो ? त्यहाँ एक प्रकारको सत्ताविप्लव भयो । नरम खालको सत्ताविप्लव । त्यहाँको श्रमिक पार्टीको ‘खराब प्रभाव’ उन्मूलन गर्न त्यो सत्ताविप्लव गराइयो । लुलाको शासनकाललाई ब्राजिलको इतिहासकै ‘स्वर्ण दसक’ भनिएको छ । यो मैले दिएको विशेषण होइन । विश्व बैङ्कले लुलाकालीन ब्राजिललाई त्यही विशेषणले मूल्याङ्कन गरेको थियो । गरिबी व्यापक रुपमा न्यूनीकरण गरियो । उपेक्षामा पारिएका सीमान्तकृत जनतालाई व्यापक सङ्ख्यामा समावेशीकरण गरियो । अफ्रो–ब्राजिली, आदिवासीलगायत जनसङ्ख्याको ठूलो हिस्सालाई आत्मसम्मानको भावना र आशासहित समाजमा समाहित गरियो । विगतमा यस्तो समावेशिता सह्य थिएन ।
लुलाले पदबाट बिदा भएपछि उनीविरुद्ध ‘नरम सत्ताविप्लव’ भयो । यो विषयमा म विस्तृतरूपमा जान चाहन्नँ । गएको सेप्टेम्बर महिनामा ब्राजिलमा आमचुनाव भयो । चुनावमा ब्राजिलकै सबभन्दा लोकप्रिय नेता लुलालाई चुनावी प्रतिस्पर्धा गर्न रोक लगाइयो । चुनावी प्रतिस्पर्धामा आउन दिइएको भए लुलाले चुनाव जित्थे । तर, उनलाई पच्चिस वर्षको जेल सजाय गरिएको थियो । जेलमा उनलाई एक्लै बन्दी बनाइएको थियो । उनलाई पत्रपत्रिका र पुस्तक पढ्न दिइएको थिएन । लुलालाई कुनै पनि सार्वजनिक अभिव्यक्ति दिनबाट निषेध गरिएको थियो । त्यो एक प्रकारको मृत्युदण्ड नै थियो । मानौं कि लुला एक जना शृङ्खलाबद्ध हत्यारा हुन् । चुनाव जित्ने सम्भावना भएका व्यक्तिको मुखमा बुजो लगाउन त्यसो गरिएको थियो । लुला संसारकै सबभन्दा महत्वपूर्ण राजनीतिक बन्दी हुन् । के तपार्इँले यी कुरा कहीं प्रचार भएको सुन्नुभएको छ ?
असान्जको मुद्दा पनि उस्तै खालको मुद्दा हो । उनको आवाज पनि दबाइएको छ । तपाईं इतिहास फर्केर हेर्नोस् त । मुसोलिनीको फासीवादी सरकारले आन्तोनिओ ग्राम्स्कीलाई कसरी जेलमा कैद गरेको थियो । सरकारी अधिकारीहरू भन्थे, “हामीले बीस वर्षको लागि यो आवाजलाई दबाउनुपर्छ । उसलाई बोल्न दिनुहुन्न ।” हो, असान्जलाई पनि त्यसै गरिएको हो । लुलालाई पनि त्यसै गरिएको थियो । त्यस्ता अरु पनि घटना छन् । असान्जको घटना त एउटा उदाहरण हो ।
अर्को पक्ष भनेको संरा अमेरिकाको आफ्नो सार्वभौमिकताभन्दा परको भूमिमा पार्दै आएको प्रभाव हो । यो विषय निकै चकित पार्ने खालको छ । मेरो भन्नुको तात्पर्य, किन अरु कुनै पनि राज्यले गर्न नहुने काम संरा अमेरिकाले गर्नसक्छ ? संसारको कुनै पनि कुनामा अरू कसैले गरिरहेको काममा संरा अमेरिकाले किन नियन्त्रण राख्न खोज्छ ? यो निकै चकित पार्ने विषय हो । यस्तो प्रायशः भइरहन्छ । कतिबेला त हामीले चालै पाएका हुँदैनौं । अथवा कम्तीमा हामीले कुनै प्रकारको टिप्पणी गर्दैनौं ।
जस्तै उदाहरणको लागि चीनसँगको व्यापार सम्झौताबारे हेरौँ । व्यापार सम्झौता के विषयमा भएको थियो ? वास्तवमा ती सम्झौताहरू चीनको आर्थिक विकासमा रोक लगाउने प्रयास हुन् । सम्झौताको मूल ध्येय त्यही हो । आज चीन विकासको एउटा मोडल बनेको छ । ट्रम्प सरकारलाई त्यो कुरा रुचिरहेको छैन । त्यसकारण ऊ चीनलाई न्यूनाङ्कन गर्न खोजिरहेको छ । प्रश्न गरौं त, यदि चीनले संरा अमेरिकाले थोपर्न चाहेका नियम मान्न चाहेन भने के हुन्छ ? उदाहरणको लागि बोइङ वा माइक्रोस्फटजस्ता केही प्रमुख कम्पनीले चीनमा लगानी गर्दा त्यो लगानीको प्रकृतिमाथि चीनले केही नियन्त्रण खोज्छ ।
चीनले केही प्रकारको प्रविधि हस्तान्तरण चाहनु स्वाभाविक हो । लगानीकर्ता कम्पनीको प्रविधिबाट चीनले केही उपलब्धि खोज्न सक्छ । त्यसमा के कुनै खराबी छ र ? संरा अमेरिकाले पनि त्यसरी नै त विकास गरेको हो । बेलायतको प्रविधि चोरी गरेर । हामी त्यसलाई चोरी नै त भन्छौं । बेलायतको पनि फेरि त्यसरी नै विकास भएको थियो । भारत, नेदरल्यान्ड र आयरल्यान्डसमेतका त्यत्तिबेलाका विकसित प्रविधि चोरेर नै बेलायतले विकास गरेको थियो । सबै विकसित देश आ–आफ्नो समयको विकासमा त्यसरी नै पुगेका हुन् । बोइङ र माइक्रोस्फटलाई ती शर्तहरू मञ्जुर नभए उसले चीनमा लगानी नगर्दा पनि हुन्छ । कसैले पनि उसको निधारमा बन्दुक तेर्साएको छैन । कसैले वास्तवमै पुँजीवादमाथि विश्वास गर्छ भने चीनसँग उनीहरूले जस्तो चाहेको हो, त्यस्तै बन्दोबस्त अथवा लेनदेन गर्न उनीहरू स्वतन्त्र हुनुपर्छ । त्यस्तो लेनदेनअन्तर्गत प्रविधि हस्तान्तरण पनि पर्दछ । संरा अमेरिका प्रविधि हस्तान्तरण गर्न चाहिरहेको छैन किनभने ऊ चीनको विकास भएको हेर्न चाहँदैन ।
जस्तै उदाहरणको लागि बौद्धिक सम्पत्ति अधिकारलाई लिऔं । औषधि र विन्डोजको निकै महँगो प्याटेन्ट अधिकारलाई हेरौं । माइक्रोस्फटले विश्व व्यापार सङ्गठनमार्फत अपरेटिङ सिस्टममा एकाधिकार जमाएको छ । एकक्षणलाई मानौं चीनले ती प्याटेन्ट र एकाधिकारको पर्वाह गरेन । कसलाई फाइदा हुन्छ र कसलाई बेफाइदा हुन्छ ? वास्तविकता भन्ने हो भने त्यो अवस्थामा संरा अमेरिकी उपभोक्तालाई बढी फाइदा हुन्छ । त्यसको अर्थ हो, हामीले सस्तोमा औषधि पाउनेछौँ । जब हामी कम्प्युटर किन्छौँ हामीलाई विन्डोजमै भर पर्नुपर्ने हुँदैन । हामीले अझ राम्रो अपरेटिङ सिस्टम पाउनेछौँ । बिल गेटस्को नाफा भने पक्कै कम हुनेछ । औषधि कारखानाहरू अहिले जस्तै अति धनाढ्य बन्नेछैनन् । तर, उपभोक्तालाई भने फाइदा हुनेछ । यसमा के खराबी भयो र ? के उपभोक्तालाई फाइदा हुँदा कसैलाई टाउको दुखाई हुनुपर्छ र ?
तपाईँ आफैलाई प्रश्न सोध्न सक्नुहुन्छ ः यी सबै छलफल र सम्झौताहरू पछाडि के कुरा अन्तर्निहित छ ? यो सबै सन्दर्भमा सत्य हो । तपाईँ जुन पनि विषय उठाउनुहोस्, आफैसँग प्रश्न सोध्नुहोस् ः यो किन स्वीकार्य बनिरहेको छ ?
अहिलेको सन्दर्भमा सत्तासीनले सर्वसाधारण जनताले नहेरोस् भनी चाहेको सार्वजनिक सूचना सामग्री बाहिर उदाङ्ग्याउने ‘अपराध’ गरेका व्यक्तिलाई सुपुर्दगी गर्ने प्रस्तावमा संरा अमेरिकाको अधिकार किन स्वीकार्य बनिरहेको छ ? वास्तवमा आज यही भइरहेको छ ।
स्रोतः डमोक्रेसी नाउ
नेपाली अनुवादः नीरज
Leave a Reply