ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
गलकोट, ७ वैशाख (रासस) ः बागलुङको दुई विद्यालयलाई सरकारले पशु विज्ञान अध्यापनका लागि अनुमति प्रदान गरेको छ । जिल्लाको ताराखोला गाउँपालिका–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालय र निसीखोला गाउँपालिका–५ निसीगाउँस्थित ज्ञानेन्द्र माविमा पुश विज्ञान अध्यापनका लागि अनुमति पाएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक प्रविधि शाखा, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ सम्म पशु विज्ञान अध्ययनका लागि हालै मात्र अनुमति दिएको हो । शिक्षालाई व्यावहारिक तथा प्रयोगात्मक बनाउने अभियानमा नेपाल सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिने अभियानअन्तर्गत अनुमति प्रदान गरेको मन्त्रालयले जनाएको छ । “हामीले पटक पटकको प्रयासपछि पशु विज्ञान अध्यापन गराउने अनुमति प्राप्त गरेका छौँ,” नेपाल मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले भन्नुभयो, “गाउँमै विपन्न परिवारका छोराछोरीलाई प्राविधिक शिक्षाको पहुँच पुग्नेछ ।” नेपाल माविले गत फागुनमा स्वर्ण महोत्सवका अवसरमा प्राविधिक सञ्चालनका लागि सञ्चालन गरेको आर्थिक सहयोग अभियानमा डेढ करोड रुपैयाँ सङ्कलन गरेको विद्यालयले जनाएको छ । जिल्लाकै विकट विद्यालयमा प्राविधिक पशुविज्ञान सञ्चालन गर्न पाउँदा खुशी लागेको ज्ञानेन्द्र माविका व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घर्ती मगरले प्रतिक्रिया दिनुभयो । “दूरदराजका विद्यालयमा प्राविधिक शिक्षाको पहुँच पुग्दा दक्ष जनशक्ति उत्पादन हुनेछन्,” मगरले भन्नुभयो । सामुदायिक विद्यालयप्रतिको आकर्षण घटिरहेको सन्दर्भमा कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएका उक्त दुई विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । नेपाल माविमा ४९१ र ज्ञानेन्द्र माविमा ७१५ विद्यार्थी अध्यनरत छन् । प्राविधिक शिक्षा सञ्चालनका आवश्यक तयारी भईरहेको नेपाल माविका प्रधानाध्यापक थमप्रसाद रोकाले बताउनुभयो ।
Leave a Reply