भर्खरै :

राष्ट्र भुलेकोमा के आश्चर्य !

– गौरव प्रधान
कम्युनिष्टको देशमा सज्जन र इमानदारहरूभन्दा तस्करी, भ्रष्टाचारी, कालाबजारी र कमिसनखोरहरूको सङ्ख्या बढ्ला भन्ने पीर छ । ठूला, शक्तिशाली र दुईतिहाइको मातमा उफ्रिरहेका नेकपाका नेता र मन्त्रीहरू ठूला र बलियोको ध्वाङ फुकेर जोशमा चढ्छन् तर होस हराउँछन् । कम्युनिष्टको सरकार भनेर देश विदेशमा फुकेर गर्व गरेका नेता र मन्त्रीहरूलाई कम्युनिष्टको सिद्धान्त र विचार छोडेर धोती खुस्किरहेको भन्ने याद छैन न त कुनै चिन्ता नै छ । हुन त जो कम्युनिष्ट नै होइन उसलाई कम्युनिष्टको सिद्धान्त र विचारको पीर किन हुन्छ ?
कम्युनिष्टको खोल ओढेर समुदाय या समाजलाई भन्दा व्यक्तिगत या आ–आफ्नोे पेटलाई मात्र प्राथमिकता दिने कुनै पनि नेता, मन्त्री, सांसद तथा कार्यकर्ताहरू जनसेवक हुनसक्दैनन् । प्रमले आफू शासक होइन जनताका सेवक भने पनि जनताको पसिनामा रजाइँ गरिरहेका छन् –शासक बनेर । जाँडको घ्याम्पोमा डुब्ने जँड्याहा र राजस्वको थुप्रोमा डुब्ने नेता र मन्त्रीहरूको चरित्रमा कसलाई सही र गलत भन्ने ! तस्करी, भ्रष्टाचारी र कालाबजारीहरूकै छत्रछायाँमा रहेका नेता तथा मन्त्रीहरू शक्ति र धनको कारण न भुइँमा खुट्टा टेक्छन् न त उनीहरूको बोलीमा लगाम नै हुन्छ । उनीहरू वचनमा पक्का पनि हुँदैनन्, आचरणमा पवित्र पनि हुँदैनन् । भनिन्छ, कुनै मातमा लागेर उदाङ्गिन्छ त कुनै सत्तामा लागेर चुरिन्छ ।
राणा शासकले १०४ वर्ष गोडे, पञ्चायती शासकले ३० वर्ष लुटे भने प्रजातान्त्रिक र गणतान्त्रिक भनिने शासकले पनि देशमा भकुरेको भकुरेकै छन् । ती शासकहरू प्रजातन्त्र, स्वतन्त्रता, न्याय र समानताको कुरा फुक्छन्, जनतामाझ बाँड्छन् तर मानवता भुल्छ, र सेवा भुल्छ । लटरम्म फलेको धनको बोटमा आँखा परेपछि पदको सदुपयोग हुन्छ कसरी ! प्रजातन्त्रको भजनकीर्तन सुनाएर, जनतासँग मतको बिटो मागेर ठाउँमा पुगेका र घिचेर अघाएका हाम्रा नेता तथा मन्त्रीहरूले सत्ताको स्वाद चाटेर आ–आफ्नो कर्तव्य भुलेकोमा के आश्चर्य ! अतिक्रमित मातृभूमि मिचे पनि मौन बस्ने नेता र मन्त्रीहरूले राष्ट्र भुलेकोमा के आश्चर्य ! अरु दल र पक्षको कुनै वास्ता नगर्ने, सुझाव सल्लाह कुनै नमान्ने तर लोकतन्त्र, सामाजिक न्यायको बखान गर्ने सरकारका नेता र मन्त्रीहरूको छाला गैडाको छालाभन्दा बाक्लो भइसकेको छ । चिला गाला भएका प्रजातान्त्रिक नेता र मन्त्रीहरू बहुमत प्राप्त सरकार बनेदेखि हौसिएका छन् ,उफ्रिएका छन्, ठूलो र बलियो शक्तिकै आडमा आफ्नो दललाई सच्चाइको नापो मानेका छन् । वास्तवमा तिनीहरूले चालै नपाइकन नेपाल र नेपालीको चरित्रमा दाग लाग्ने काम गरेका छन्, महिलामाथि मात्र होइन देशमाथि नै बलात्कार भइरहेको जनगुनासो गाउँ–गाउँ र ठाउँ–ठाउँमा भइरहेको देखिन्छ । यस्तो तालले न देश समृद्ध बन्छ, न कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन सुदृढ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *