भर्खरै :

नेकपा क्रान्तिकारी धार छोडेको पुँजीवादी पार्टी हो

–गौरव प्रधान
कम्युनिष्टहरू समाजवादी समाज स्थापना गर्न जुट्छन्, जुट्नुपर्छ । समाजवादी समाज स्थापनामा आन्तरिक र बाह्य परिस्थितिको महत्र्वपूर्ण देन हुन्छ । जनता राजनैतिक र वैचारिकरुपमा सचेत र सङ्गठित नभएसम्म समाजवादी समाज स्थापना सम्भव छैन । कम्युनिष्टको सरकार भनिने नेकपाले कम्युनिष्टको सिद्धान्त र विचारबारे जनतालाई सुसूचित पारेको छैन । कम्युनिष्टको बखान गर्ने नेकपाका नेता, मन्त्री र सांसद्ले किन कम्युनिष्टको सिद्धान्त र विचार प्रचार गर्छन् ? कम्युनिष्टको सिद्धान्त र विचारको व्याख्या र विश्लेषण नगरी केवल कम्युनिष्टको खोल ओढेर नेकपाले झूटको खेती गरिरहेको छ ।
समाजवादी समाज स्थापना गर्न क्रान्तिकारी शक्ति जरुरत हुन्छ । सङ्घर्षको सही तरिका अपनाउनुपर्छ । क्रान्तिकारी शक्ति तयार नगरिकन, सङ्घर्षको वातावरण तयार नगरिकन बहुमत प्राप्त सरकारको भजनकीर्तन गरेर समाजवादी समाज स्थापना हुँदैन । सामाजिक असमानता अन्त्य गरेर शोषणरहित समाज स्थापना पुँजीवादी बन्दोबस्तको निर्वाचित सरकारले सम्भव छैन । पुँजीपति वर्गको सदिच्छा पूरा गर्न क्रियाशील सरकार सच्चा कम्युनिष्ट ठहरिंदैन ।
पुँजीवादी व्यवस्थाको सिंहासनमा रमेर, पुँजीवादी व्यवस्थाको घेरामा रहेर राज गरिरहेका नेकपा नेता, मन्त्री र सांसदहरूले अब राजनीतिक आन्दोलन गर्नुपर्दैन भन्नुको अर्थ देशमा साँच्चै कम्युनिष्टको सरकार आवश्यक छैन भन्नु हो । नेकपाका नेता र मन्त्रीहरू कम्युनिष्टको सिद्धान्त र विचार व्यवहारमा लागू गर्न चाहँदैनन् । तिनीहरू त कम्युनिष्टको सिद्धान्त र विचारदेखि तर्सिरहेका छन् । पार्टीभित्र जमिनदार, शोषक, ठूलठूला उद्योगपति, कालाबजारी, कमिसनखोरहरू भएकाले पनि एमाले र माओवादी मिलेर बनेको नेकपा समाजवादी समाज चाहँदैन । यसकारण नेकपा जनतालाई विचारधारात्मकरूपले बदल्न अघि बढ्दैन । विकास र सुधारको कुरा गरेर नेकपाले क्रान्ति या राजनीतिक परिवर्तन भुलेको छ ।
सरकार देशलाई आत्मनिर्भर बनाउनुभन्दा पच्छिमी पुँजीवादी र विस्तारवादी मुलुकको सहायता र सहयोगमा मुलुकको अनुहार फेर्ने कुरा फलाक्छ । उक्त सहयोग र सहायताको पछाडि ती मुलुकको के रहस्य छ भन्ने कुरा सरकार पटक्कै ध्यान दिंदैन । विस्तारवादी र साम्राज्यवादी देशसामु झुकेर, खुट्टा ढोगेर तिनै मुलुकको गुणगान गर्ने सरकारले देशमा समाजवादी स्थापना गर्ला भन्ने कुरा सपनासरि हुनेमा शङ्का छैन । पुँजीवादी या समाजवादविरोधी पक्षहरू शोषण, भ्रष्टाचार र अनियमितता गर्न पछि पर्दैनन् । वास्तवमा त्यस्ता दलहरू त्यस्तै भ्रष्टाचारी, कमिसनखोर, कालाबजारी र सामाजिक अपराधीहरूको घेरामा हुन्छन्, तिनीहरूकै सहयोग र साथमा अघि बढिरेहको पार्टीले देशको मुहार फेर्ला भन्ने विश्वास कसरी गर्ने ? प्रस्ट छ, नेकपाको शरीरमा क्रान्तिको रगतको नामोनिसान छैन । नेकपा क्रान्तिकारी धार छोडेको पुँजीवादी पार्टी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *