भर्खरै :

भट्टराईको वैचारिक अस्थिरता र राजनीतिक अति महत्वाकाङ्क्षा

करभिका
वैचारिक अस्थिरता र राजनीतिक अति महत्वाकाङ्क्षा बोकेका व्यक्तिको हालत कस्तो हुन्छ भनेर कसैले सोधे धेरैले सजिलै जवाफ दिने उत्तर हो–बाबुराम भट्टराई । वैचारिक अस्पष्टता र महत्वाकाङ्क्षाले भट्टराईलाई ‘कम्युनिष्ट’ पार्टीबाट आज कम्युनिष्टविरोधी पार्टीमा बिसर्जन गरेको छ । सोमबार भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमबीच एकीकरण भएर समाजवादी पार्टी घोषणा भएको छ । बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी घोषणा गर्दा जोड दिइएको नयाँ वैकल्पिक शक्तिको आवश्यकता सङ्घीय समाजवादी फोरमसँग एकीकरणबाट बनेको पार्टीबाट पूरा हुनसक्नेमा विश्वास गर्ने कुनै आधार छैन ।
कुनै समय माओवादी विद्रोहका ‘आर्किटेक्ट’ मानिएका भट्टराई कालान्तरमा माक्र्सवाद नै पुरानो भएको र अपूर्ण भएको भन्दै माओवादी पार्टी नै परित्याग गरे । माक्र्सवाद उनले भनेजस्तै अपूर्ण र पुरानो भए कथित जनयुद्धको क्रममा माक्र्सवाद र माओवादकै ध्वजा बोकेर जीवन बलिदान गरेका माओवादी लडाकूहरूको बलिदान केको लागि ? माओवादी सशस्त्र युद्ध सुरु हुन अघि नै पनि माक्र्सवादबारे यस्तो धारणा राख्ने चिन्तकहरू नभएका होइनन् ।
तर, त्यत्तिबेला बाबुराम भट्टराईले माक्र्सवादी सिद्धान्तको शब्दतः नै भए पनि प्रतिरक्षा गरिरहे । पछि अचानक उनले माक्र्सवाद नै पुरानो भएको भन्दै हिंड्न थाले । के भट्टराई माक्र्सवाद पुरानो भयो भन्ने निष्कर्षमा पुग्न गरिब जनताका छोराछोरीको बलिदान नै आवश्यक परेको थियो ? माक्र्सवाद पुरानो भयो भन्ने निष्कर्ष निकाल्न बाबुरामको निर्देशनमा हजारौं युवाहरूले बलिदान दिनु अघि नै बर्नस्टिन, मदन भण्डारीजस्ता नेताहरूले निकालिसकेका थिए । मदन भण्डारीले माक्र्सवाद पुरानो भयो भनेर जनताको बहुदलीय जनवाद (जबज) नामको संशोधनवादी कार्यक्रम प्रस्तुत गरेका थिए । तत्कालीन एमालेको त्यही कार्यक्रमलाई सत्तोसराप गरेर माओवादी विद्रोहको थालनी भएको थियो । अनि बाबुराम भट्टराई स्वयम् त्यही निष्कर्षमा पुग्दा नेपाली युवाहरूको बलिदान र देशले भोगेको अशान्ति र हिंसाको मूल्य के ?
माक्र्सवाद पुरानो भयो भन्दै नयाँ शक्ति पार्टी स्थापना गरे । उनले हजारौं शब्दावली फलाकेर नयाँ शक्तिको आवश्यकता पुष्टि गर्न खोजिरहे । तर, निर्वाचनमा उनको मेल नेपाली काङ्ग्रेससँग भयो । नेकाको बुई चढेर उनी अहिले प्रतिनिधिसभाका सदस्य छन् । काङ्ग्रेसले बुई नथापेको भए आज बाबुराम भट्टराई प्रतिनिधिसभाको सदस्य बन्न सम्भव थिएन । पुरानो र परम्परागत शक्ति भनिएको नेकालाई नै टेको बनाएर चुनाव जित्नुले उनको नयाँ शक्तिको तर्क फगत राजनीतिक स्पेसको खोजीमात्र भएको पुष्टि ग¥यो । रोचक कुरा त के हो भने त्यसअघि चुनावी गठबन्धनको लागि एमाले र माओवादीको पहिलो कार्यक्रममा बाबुराम भट्टराई पनि ओली र दाहालसँगै हात उठाइरहेको तस्वीर नेपाली जनताले बिर्सेका छैनन् । आपसमा भाग नमिल्दा उनी त्यहाँबाट निकालिए वा निस्के । पछि काङ्ग्रेसतिर सल्के । चुनावी जीतको निम्ति आफूले वैचारिकरूपमा विरोध गर्दै आएका पार्टीसँग पनि घाँटी जोड्ने भट्टराईको राजनीतिक महत्वाकाङ्क्षासामु विचार गौण भएको घटनाक्रमले देखाउँछ ।
राजनीति एउटा विचार र सिद्धान्तमा अघि बढ्नुपर्छ । विचारका वाहकलाई आफूले बोकेको विचारप्रति बलियो विश्वास हुन जरुरी छ । घटनाक्रमले सङ्गठन वा चुनावी परिणाम कहिले तल त कहिले माथि हुनसक्छ । तर, विचारप्रतिको प्रतिबद्धताले नै राजनीति चल्ने हो । बाबुराम भट्टराईको सन्दर्भमा उनी जहिल्यै आफूले बोकेको विचारकै मलामी पनि गइरहेका हुन्छन् । उनलाई आफूले बोकेको विचारप्रति विश्वास हुने गर्दैन । उनले कुनै पनि बेला आफूले बोकेको विचार नै अपूर्ण रहेछ भनी तर्क निकाल्न सक्छन् । बुद्धिजीवी भन्ने पगरी पाएकाले मानिसहरू उनको त्यस्तो तर्कलाई वैचारिक र बौद्धिक तर्कको रुपमा ग्रहण गरिदिन्छन् । उनले यसरी घरी घरी विचारमा तलबितल गर्नुको मूल कारण उनको राजनीतिक महत्वाकाङ्क्षा र आफ्नो बुद्धिले भन्दा अरूद्वारा निर्देशित हुनुले हो । बाबुराम भट्टराई राजनीतिलाई विचारसँग भन्दा आफ्नो महत्वाकाङ्क्षासँग जोड्ने गर्छन् । त्यही भएर उनी सधैं आफूलाई केन्द्रमा राखेर सोच्छन् । राजनीतिको केन्द्रमा पुग्न उनी सिद्धान्त र आफ्नो दिशासमेत त्याग्न कति पनि अनकनाउँदैनन् ।
उनको यही तरिकाले उनी बरोबर उपयोग पनि हुँदै आएका छन् । माओवादी सशस्त्र विद्रोहबाट शीघ्रातीशीघ्र ‘काठमाडाँै कब्जा’ गर्ने हतारोले उनले आफ्ना ‘गुरु’ एसडी मूनीको सहारा लिएर माओवादी विद्रोहलाई भारतको पाउमा आत्मसमर्पण गरे । शक्ति राजनीतिको चङ्गुल परेर बाबुराम भट्टराई र पुष्पकमल दाहालले दसाँै हजार नेपाली युवाहरूको बलिदानलाई खोलामा बगाइदिए ।
भट्टराईले सोमबार उपेन्द्र यादवसँग मेल गरे । यो मेल कति दिनको लागि हो, भन्न सकिन्न । तर, फेरि पनि भट्टराईको महत्वाकाङ्क्षाले नै यो पार्टीभित्र विग्रहको बीजारोपण हुने विगतका नजीरले प्रस्ट पार्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *