भर्खरै :

भ्रष्ट र अपराधीहरूलाई संरक्षण गर्नु जनवाद होइन

–बोधबहादुर नेपाली
सत्तारुढ पार्टी नेकपाका नेताहरूले जनवादी क्रान्ति पूरा भइसकेको र अब समाजवादतर्फ अगाडि बढ्नुपर्ने बोलेको समाचार सुनेर धेरैलाई अब त नेकपाका नेताहरू सही लाइनमा आउन लागेको हो कि भनी लागेको हुनसक्छ । तर, नेकपाले मनाएको माक्र्स जन्म दिवसमा जनवाद र समाजवादको कुरा तल्लो तहका सोझासिधा कार्यकर्ता र समर्थकहरूलाई फकाउनका लागि मात्र हो भनी छर्लङ्ग छ ।
आज हरेक भ्रष्टाचार काण्ड र कानुनी शासनविरोधी कदममा नेकपाका नेताहरूको नाम जोडिन थालेको छ । मनाङका दीपक मनाङ्गे, कपिलवस्तुका नसिम अहम्मद मुसलमानजस्ता बदनाम अपराधीहरूले नेकपाका नेता र सरकारको संरक्षण पाइरहेका छन् । खुला मञ्चमा टहरा बनाएर बेच्ने मनोज भेटवालजस्ता अपराधीलाई नेकपा र सरकारकै संरक्षण मिलिरहेको छ । जनदबाबपछि डोजर लगाएर टहराहरू त भत्काइए तर ठगिएका व्यापारीहरूको पैसा फिर्ता पाउने अवस्था बनाइएको छैन । जिल्ला–जिल्लामा नेकपाका नेता र सांसदहरूले गुण्डा पालिराखेको समाचार आइरहेका छन् ।
सडकको ठेक्का लिएर वर्षौंँसम्म सडक अलपत्र पार्ने र पुल बनाउने ठेक्का लिएर पुल नबनाउने ठेकेदारहरूले पनि नेकपाकै नेताहरू र सरकारको संरक्षण पाइरहेको आरोप आरोपमात्रै होइन । तड्कारो उदाहरण त शैलुङ्ग कन्स्ट्रक्सनका मालिक ताथ नेकपा अध्यक्ष प्रचण्डका घरपति शारदाप्रसाद अधिकारी नै छन् । सोधीखोजी गर्ने हो भने त्यस्ता ठेकेदारमध्ये बहुसङ्ख्यक नेकपाकै समर्थक भेटिने निश्चित छ ।
प्रधानमन्त्री निवास बालुवाटार रहेकै सरकारी जग्गा व्यक्तिको नाममा जानुमा नेकपाकै नेता माधव नेपाल नेतृत्वको सरकारको निर्णय जिम्मेवार भएको प्रतिवेदन आएको छ । त्यही जग्गा पूर्वअर्थमन्त्री रहिसकेका नेकपाका महासचिव विष्णु पौडेलको छोराको नाममा प्रचलित मूल्त्न्दा निकै कममा पास भएको देखिनुले नेकपा र नेकपाका नेताहरूले अभ्यास गरिरहेको जनवाद कुन जनवाद हो प्रश्न गर्नुपर्ने भएको छ । कुनै पनि नाममा पैसा लिएर भ्रष्ट र अपराधीहरूलाई संरक्षण गर्नु कुनै किसिमको जनवाद होइन बरु धनवाद हो । धनवादको अभ्यासमा चुर्लुम्म डुबेर समाजवादमा पुग्ने आशा देखाउनु जनताप्रतिको अर्को ढाँटबाहेक अर्थोक होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *