अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
प्रा. माणिकलाल श्रेष्ठ
विश्व सर्वहारा वर्गको आन्दोलनका अर्थात् अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका, अझ साँच्चै भनूँ भने श्रमिक वर्ग वा शोषित पीडित जनताकै मुक्ति आन्दोलनका अग्रणी नेताहरूमा माक्र्स, एँगेल्स र लेनिनपछि स्तालिनको नाम आउँछ । माक्र्स र एँगेल्सले विश्व सर्वहारा वर्गको कम्युनिष्ट आन्दोलनको सुरुवात गर्नुभयो र त्यस आन्दोलनको पथ–प्रदर्शक सिद्धान्त प्रदान गर्नुभयो । माक्र्सवादी सिद्धान्तको जन्म पुँजीवादविरोधी आन्दोलनको युगमा निस्केको थियो । पुँजीवादको विकसित रूप साम्राज्यवादको जन्म भएपछि साम्राज्यवादको युगको माक्र्सवादको विकसित सिद्धान्तको रूप लेनिनवाद सर्वहारा वर्गको क्रान्तिको निर्देशक सिद्धान्त बन्न गयो ।
माक्र्सवाद–लेनिनवादको निर्देशक सिद्धान्तको ध्वजामुनि सोभियत सङ्घको समाजवादी क्रान्ति र निर्माणलाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने काममा का.स्तालिनको अविष्मरणीय योगदान रहेको छ । महान् अक्टोबर समाजवादी क्रान्ति लेनिनको नेतृत्व र निर्देशनमा सम्पन्न भएको थियो । त्यसको फलस्वरुप विश्वको पहिलो सर्वहारा वर्गीय शासन–सत्ता र समाजवादी राज्य सोभियत सङ्घको स्थापना भएको थियो । बोल्शेविक क्रान्तिको विजय वास्तवमा समाजवादी क्रान्तिको सच्चा अर्थ परिवर्तन हो, समाजको रुपान्तर हो । सोभियत शासन–सत्तालाई आफ्नो हातको सशक्त हतियारको रूपमा प्रयोग गरेर समाजवादी क्रान्ति सञ्चालन गर्ने कार्य त बोल्शेविक क्रान्तिको सफलताले सुरु भएको थियो । लेनिनले सोभियत सङ्घको स्थापना गर्नुभयो, तर उहाँ धेरै समयसम्म बाँच्नुभएन । समाजवादी क्रान्ति र निर्माण गर्ने काममा सशक्त नेतृत्व र निर्देशन स्तालिनले दिनुभयो । विश्व कम्युनिष्ट आन्दोलनमा का.स्तालिनको महत्वपूर्ण योगदान थियो ।
त्यसबेलाको परिस्थितिमा विश्व कम्युनिष्ट क्रान्तिको केन्द्र तथा आधारभूमि सोभियत सङ्घ थियो । सोभियत सङ्घमा समाजवादको निर्माणलाई अगाडि बढाउनमात्र होइन, विश्वको पहिलो (तथा त्यस बेलाको एकमात्र) समाजवादी राज्यलाई जोगाउन पनि का.स्तालिनको अविस्मरणीय योगदान थियो । का.स्तालिनको उज्ज्वल तथा सबल नेतृत्वले नाजी जर्मनी, फासिष्ट इटाली र सैन्यवादी जापानको संयुक्त शक्तिलाई हराउन प्रमुख भूमिका लिएको थियो । दोस्रो विश्व युद्धमा हिटलर–मुसोलिनी–तोजोले प्रतिनिधित्व गरेका जर्मनी–इटाली–जापानको साठगाँठ (जसलाई आक्सिस पावर भनिन्छ) लाई एल्लाइड पावर (बेलायत, अमेरिका, सोभियत सङ्घ, फ्रान्स र चीनसमेत पाँच राष्ट्रको संयुक्त गठबन्धन) ले परास्त गरेको थियो । तर, वास्तवमा भनौँ भने विश्व मानवताको दुश्मन आक्सिस साठगाँठलाई हराउनमा मुख्य भूमिका स्तालिनको नेतृत्वले गरेको थियो । त्यसबेलाका घटनाहरूको राम्ररी विश्लेषण गर्दा हामी के देख्छौँ भने आक्सिस–विरोधी गठबन्धनका पाँच राष्ट्रमध्ये फ्रान्सलाई नाजी जर्मनीले कब्जा गरिसकेको थियो, बेलायत पनि नाजी जर्मनीद्वारा गरिएको निरन्तर बम वर्षाले निकै कमजोर भएको थियो, त्यसबेलाको कोमिन्ताङ चीनको ठूलो भूभाग जापानले कब्जा गरिसकेको थियो, अमेरिका चाहिँ युद्धको त्यति ठूलो मारमा नपरे पनि अर्थात् कमजोर नभए पनि लडाइँमा खुलेर लागेको थिएन । तर, युरोेपको सम्पूर्ण पूर्वी भाग कब्जा गरेर सोभियत सङ्घको रुस भित्रसम्म घुसिसकेको हिटलरको नाजी जर्मन सेनालाई लखेट्दै जर्मनीसम्मै पु¥याएर अन्तिम रूपमा हराउने काम सोभियत लाल सेनाले गरेको थियो । यस क्रममा का.स्तालिनको सोभियत लालसेनाले पूर्वी युरोपका राष्ट्रहरूलाई मुक्त पारे तथा त्यहाँका जनतालाई समाजवादी गणतन्त्र र जन–गणतन्त्रहरू स्थापना गर्न मद्दत पु¥याए । एसियामा पनि ३६ वर्षमा कोरिया कब्जा गरी उपनिवेशन बनाई बसेको जापानी साम्राज्यवादी सेनालाई हराई कोरिया मुक्त पार्न पनि सोभियत लालसेनाको अहम् भूमिका रह्यो । फासिष्ट शक्तिहरूलाई परास्त गरी विश्व मानव जातिको स्वाधीनता रक्षा गर्न यसरी का.स्तालिनले विशिष्ट योगदान गर्नुभयो । इतिहासमा का.स्तालिनको स्थान विशिष्ट छ ।
सैनिक रणनीतिज्ञ सिद्ध गरेको सच्चा अन्तर्राष्ट्रवादी क्रान्तिकारीको हैसियतले स्तालिनले विश्व मानव जातिको स्वाधीनताको निम्ति सोभियत सङ्घको तर्फबाट ठूलो बलिदान पनि गर्नुभएको थियो, दोस्रो विश्व युद्धमा दुई करोड सोभियत नागरिकहरूले प्राणको आहुति दिएका थिए ।
सैद्धान्तिक क्षेत्रमा पनि का.स्तालिनले विशिष्ट योगदान दिनुभएको थियो । आफ्ना अमर सैद्धान्तिक कृतिहरूद्वारा उहाँले माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक भण्डारलाई समृद्ध पार्नुभएको मात्र होइन, माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक विकासमा पनि उल्लेखनीय योगदान दिनुभएको छ । उहाँको नेतृत्व काल (जीवनकाल) मा प्रकाशित गरिएको ‘सोभियत सङ्घको कम्युनिष्ट पार्टीको इतिहास’ मा उहाँद्वारा लिखित ‘द्वन्द्वात्मक र ऐतिहासक भौतिकवाद’ माक्र्सवादी विश्व–दर्शनको अत्यन्त सरल र स्पष्ट व्याख्या गरिएको एक अमर दार्शनिक ग्रन्थ बनेको छ । त्यसैगरी का.स्तालिनले लेख्नुभएको ‘लेनिनवादका प्रश्नहरू’ भने पुस्तक र उहाँको जीवनको अन्तिम समयतिर लेख्नुभएको ‘सोभियत सङ्घमा समाजवादका आर्थिक समस्याहरू’ नामक कृति माक्र्सवादी–लेनिनवादी सैद्धान्तिक क्षेत्रका अमर क्लासिक्समा गनिएका कृति हुन् ।
माक्र्सवाद–लेनिनवादको विकासको साथै विश्व कम्युनिष्ट आन्दोलनमा एक रणनैतिक योगदान ठहरिएको जनताको जनतन्त्र (पिपल्स् डेमोक्रेसी) उहाँको सैद्धान्तिक धारणा हो । पुँजीवादको राम्ररी विकास भइनसकेको पुँजीवादी क्रान्तिको अभिभारा पूरा गर्न बाँकी रहेका समाजमा (खासगरी एसियाका उपनिवेशहरू र अर्ध–उपनिवेशहरू) मा सर्वहारा वर्गको आन्दोलनको कस्तो रूप हुन्छ र सर्वहारा वर्गले राज्य–सत्ता कब्जा गरेपछि त्यस्ता मुलुकहरूमा समाजवादी क्रान्ति सम्पन्न गर्नभन्दा पहिलेको जनवादी क्रान्ति (सर्वहारा वर्गको पार्टीको नेतृत्वमा पुँजीवादी क्रान्ति) को चरण र त्यस क्रान्तिलाई सञ्चालन गर्नेबारे का.स्तालिनका निर्देशनहरूको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण स्थान छ ।
हुन त आ–आफ्नो देशको ठोस परिस्थितिसित मिल्ने गरी माक्र्सवाद–लेनिनवादलाई सिर्जनात्मकरूपले प्रयोग गरी भियतनाममा हो चि मिन्हको नेतृत्वमा ती देशहरूका कम्युनिष्टहरूले जनवादी क्रान्तिहरू सम्पन्न गरी जन गणतन्त्रहरू स्थापना गरे र समाजवादी क्रान्तिको निम्ति आधार तयार गरे । चिनियाँ क्रान्तिको यथार्थतासित माक्र्सवाद लेनिनवादका सिद्धान्तहरूको सर्वव्यापी सत्यलाई जोडेर पिपल्स डेमोक्रेसीको ‘नयाँ जनवाद’ को धारणा, नयाँ जनवादी क्रान्तिको विस्तृत कार्यक्रम र औपनिवेशिक तथा अर्धऔपनिवेशिक नियन्त्रण हटाउने मुक्ति सङ्घर्ष र सामन्तवादबाट मुक्त हुने जनतान्त्रिक क्रान्ति दुवै पक्षलाई अँगाल्ने क्रान्तिको स्वरुपबारे नयाँ जनवादी क्रान्तिका सिद्धान्त र कार्यक्रम का.माओत्सेतुङले प्रस्तुत गर्नुभयो । यी सबैमा का.स्तालिनको प्रेरणाले निकै काम गरेको थियो ।
एकातिर मानव मुक्तिको लागि यति ठूलो योगदान का.स्तालिनले गर्नुभएको थियो भने साम्राज्यवादी–पुँजीवादी खेमाले स्तालिनविरुद्ध विश्वव्यापी मनपरी प्रचार गरेर उहाँलाई एक क्रूर दानव–तुल्य अत्याचारी तानाशाहको रूपमा प्रस्तुत गर्न खोजेका छन् । यो प्रचार स्तालिनको जीवनकालमा भन्दा पनि उहाँको मृत्युपछि झन् तीव्र तुल्याइएको छ र विश्वका कैयौँ देशहरूमा समाजवादी व्यवस्था ढलेको अवस्थामा समाजवादी व्यवस्थामा अडिग हुने धारणा लिने जतिलाई ‘स्तालिनवादी’ भन्ने बिल्ला लगाइँदै छ । स्तालिनको विरोधमा साम्राज्यवादी र प्रतिक्रियावादीहरूलगायत सबै प्रकारका समाजवादविरोधीहरू यसरी लागिपर्नुले नै सिद्ध गर्दछ भने स्तालिनका विचार तथा योगदानहरू आधारभूतरूपले समाजवादको पक्षमा छन् । विश्व कम्युनिष्ट आन्दोलनका एक विशिष्ट नेता माओत्सेतुङले भन्नु भएझैँ शत्रुले निन्दा गर्दछ भने त्यो त खुसीको कुरा हो, यसले त आफू ठीक ठाउँमा छ, आफ्नो नीति सही छ भन्ने देखाउँछ । बरु शत्रुले तारीफ गर्नथाल्यो भने आफू आफ्नो कार्यदिशामा राम्ररी अड्न सकिएन कि भनी होसियार रहनुपर्दछ । घोषित शत्रुको स्तालिनविरोधी निन्दाबारे त अरु भन्नु आवश्यक छैन ।
समाजवादका घोषित अर्थात् शत्रु साम्राज्यवादी पुँजीवादीहरू मात्र होइनन् आफूलाई कम्युनिष्ट भनी दाबी गर्ने समाजवादी आन्दोलनभित्र घुसेका ‘छुपे–रुस्तम’ (लुकेका शत्रु ) हरूले पनि स्तालिनको हुनसम्म निन्दा गरेका छन् । बरु तिनीहरूको आलोचनाले आम जनतामा केही भ्रम फैलाउन सक्दछ, त्यसकारण संशोधनवादीहरूको स्तालिनविरोधी प्रचारको तथ्यहिनताबारे राम्ररी भण्डाफोर गरिनु आवश्यक छ । खासगरी स्तालिनको मृत्युपछि उहाँकै देश सोभियत सङ्घमा उहाँको पार्टीको नेतृृत्व वर्गमा पुगेका ख्रुश्चेभ–मण्डलीले गरेको सोभियत कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनमा स्तालिनमाथि लगाइएका केही आलोचना आरोपहरूमध्ये एक दुईवटा विचारणीय कुराहरूबारे यहाँ छलफल गरौँ । उनीहरूद्वारा गरिएका गाली र निन्दाका शब्दहरूबारे त केही टिप्पणी गर्नु आवश्यक छैन ।
स्तालिनमाथि गरिएको सबभन्दा ठूलो आलोचना नै उहाँले ‘व्यक्तिपूजा’ को परम्परा बसालेको रे अनि व्यक्तिपूजा (पर्सनालिटी कल्ट) माक्र्सवाद–लेनिनवादको विपरीत धारणा भएकोले त्यसको विरोध गर्नुपर्दछ भन्ने थियो । यहाँनिर विचारणीय कुरा के थियो भने स्तालिनप्रति अभिव्यक्ति र उहाँका निर्देशनहरूलाई अन्धरूपले पालन गर्ने काम स्तालिनले नै गराएको हो कि ती चापलुसी–अवसरवादीहरू (जसले उहाँको मृत्युपछि यो आलोचना गरेका थिए ) ले गरेका हुन् । ख्रुश्चेभ आफैले स्वीकार गरेको थियो कि स्तालिनलाई खुसी पार्नको निम्ति ऊ आफैले भालु बनेर नाचेको थियो रे । एक क्रान्तिकारी पार्टीभित्रको नेतृ समूहमध्येको प्रमुख नेताको स्थान र महत्वलाई स्वीकार्नु नै ‘व्यक्तिपूजा’ होइन, पार्टी नेताको निर्देशन सर्वहारा वर्गको हित र आकाङक्षाको प्रतिनिधित्व गर्दछ भने त्यो हुकुमी आदेश होइन बरु नेताको निर्देशनलाई मान्नु व्यक्तिपूजा होइन । नेताको आदेशलाई द्वन्द्वात्मक दृष्टिकोण नलिई यान्त्रिक तवरले मान्ने र मान्न लगाउने प्रथाले ‘व्यक्तिपूजा’ को विकास गर्दछ । का. स्तालिनले जीवनभरि नै समाजवादी सोभियत सङ्घलाई ध्वस्त पार्न खोज्ने शत्रुहरूको आक्रमण र पार्टीभित्रका दक्षिणपन्थी र वामपन्थी विचलनहरूको विरुद्ध अथक लडाइँ लडिरहनमा व्यस्त हुनु परेको थियो, यस्तो बेला स्तालिनप्रति चाकडी, चाप्लुसी र अन्धभक्तिको जञ्जाल खडा गर्नेहरू त ती मौकाखोर तत्वहरू नै थिए, जसले पार्टीका नेतृत्व हड्पे र आफ्ना संशोधनवादी कार्यदिशा लागू गर्न खोजिरहेका थिए ।
जे होस ‘व्यक्तिपूजा’ रोगको विरुद्ध सङ्घर्ष त गर्नु आवश्यक छ, तर सोभियत पार्टीको बीसौँ काङ्ग्रेस (महाधिवेशन) मा ‘व्यक्तिपूजा’ विरोध गर्ने नाममा व्यक्तिको विरोध गर्न पुगे, यो अवसरवादको पराकाष्टा थियो ।
स्तालिनको विरोध गर्दै ख्रुश्चेभ–मण्डलीले “दोस्रो महायुद्धमा फासिष्ट–नाजी शक्तिलाई परास्त गर्नुको श्रेय स्तालिनको होइन, लालसेनाको थियो” भन्नेसम्म भन्न पुगे । सोभियत लालसेनालाई हिटलरको नाजी सेनाविरुद्ध युरोपमा लड्न निर्देशन दिने अनि जापानी साम्राज्यवादीहरूलाई कोरियाबाट धपाउन लालसेना पठाउने निर्णय गर्ने त स्तालिन नै थिए । साथै ख्रुश्चेभ–मार्का संशोधनवादीहरूले दोस्रो महायुद्धमा स्तालिनको गलत निर्णयले गर्दा “२ करोड सोभियत नागरिकहरूको प्राण बलिदान गर्नुपरेको थियो” भन्ने आरोप पनि लगाए । यो आरोपमा रुसी राष्ट्रवादी अहङ्कारवाद तथा सङ्कीर्ण राष्ट्रवादी स्वार्थको अभिव्यक्ति स्पष्टै देखिन्छ । अर्को कुरा नाजी फासिष्ट शक्तिविरुद्ध लड्दा भोग्नु परेको बलिदानको दोष स्तालिनलाई दिने तर त्यस बलिदानबाट प्राप्त विजयको श्रेय फेरि स्तालिनलाई नदिने पूर्वाग्रही धारणा ख्रुश्चेभवादीहरूले देखाएका छन् ।
स्तालिनले सोभियत राज्य पार्टीलाई नेतृत्व दिँदा धेरै गल्तीहरू गरेका थिए, उनका निर्णयहरू ‘तरङ्ग’ र ‘लहडबाजी’ मा दिइन्थे भन्ने आलोचना पनि स्तालिनमाथि गरिएको छ । स्तालिनले गल्ती नै गरेका थिएनन् भनी भन्न सकिन्न । केही काम नगर्नेले मात्र गल्ती गर्दैन । विश्व सर्वहारा आन्दोलनका महान गुरुहरूमा माक्र्सका कैयौँ भविष्यवाणीहरू गलत निस्के, लेनिनका विश्लेषणहरू पनि गलत निस्केका छन्, माओ त्सेतुङका पनि गल्तीहरू नभएका होइनन् । स्तालिनले गल्तीहरू गरे भन्ने ख्रुश्चेभको आरोपबारे का.किम इल सङले एक फेरा भन्नुभएको थियो, “स्तालिन मान्छे थिए, बुद्ध होइनन् मान्छेले गल्ती गर्नु स्वाभाविक थियो ।” तर मुख्य कुरा स्तालिनका ती केही गल्तीहरू परिस्थितिको विश्लेषणमा र त्यसको आधारमा नीति तर्जुमा गर्दा भएका थिए । यसको मतलब स्तालिनको सिद्धान्त, दृष्टिकोण र निर्णय आधार नै त्रुटिपूर्ण थिए भन्न सकिन्न “स्तालिनको सोचाइमा काफी हदसम्म अवस्तुवादी मेटाफिजिक्स थियो” भन्ने कामरेड माओ त्सेतुङले गरेको आलोचना पनि सही मान्न गा¥हो छ किनभने गल्तीहरू हुँदैमा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट विचलन भन्न मिल्दैन ।
खासगरी सोभियत कम्युनिष्ट पार्टीको बाइसौँ काङ्ग्रेसमा ख्रुश्चेभ संशोधनवादी नेतृ–समूहले स्तालिनका ‘खराब कामहरू’ को प्रतिवेदन दिँदै ‘डिस्तालिनाइजेसन’ (स्तालिनलाई मेट्ने कार्य) का कदमहरूको घोषणा गरे । पार्टीविरोधी कार्य गरेको आरोप लगाई स्तालिनले धेरै निरपराध मानिसहरूको हत्या गरे भन्ने आरोप पनि स्तालिनमाथि लगाइएको छ । निश्चय पनि, सन् १९३३–३६को शुद्धीकरण अभियानमा निरपराध मानिसहरू पनि मारिएका थिए, यो गल्तीलाई ख्रुश्चेभले पार्टीको बाइसौँ काङ्ग्रेसको रिपोर्ट दिँदा समापन भाषणमा “यसरी मानिसहरू मार्नुको अर्थ हो स्तालिनद्वारा अख्तियारको दुरुपयोग । व्यक्तिको कल्ट (व्यक्तिपूजा) सच्चा अर्थ यो हो ।” निरपराध मानिस मारिनु ज्यादै दुःखद घटना हो, तर त्यसैलाई ‘व्यक्तिपूजा’ को रुप भन्न मिल्दैन । सन् १९३३–३६ को शुद्धीकरण अभियानमा गल्तीहरू भएको कुरा स्वयम् स्तालिनले पार्टीको अठारौँ काङ्ग्रेसको रिपोर्टमा भन्नुभएको थियो– “गल्तीहरू भएनन् भन्न सकिन्न र जति गल्ती हुनु स्वाभाविक थियो त्योभन्दा गल्तीहरू पनि भएका थिए । तर त्यस्तो आम शुद्धीकरणको अब आवश्यकता छैन । तैपनि सन् १९३३–३६ को शुद्धीकरण अनिवार्य आवश्यकता थियो र त्यसको समग्र नतिजा त राम्रै भयो ।” जहाँसम्म निरपराध व्यक्तिहरूको हत्या भएको थियो, त्यसको जिम्मेवारी पार्टीको नेताको हैसियतले स्तालिनको कति हदसम्म थियो र त्यसबेला पार्टीमा जरो गाडेर बसेको कर्मचारीतन्त्र वा ‘ब्युरोक्रेसी’ (जसको विरुद्ध स्तालिनले अथक सङ्घर्ष गरिरहनुभएको थियो) कति हदसम्म दोषी थियो, त्यसको मूल्याङ्कन पूर्वाग्रही ख्रुश्चेभवादीहरूले कहिल्यै गरेनन् ।
माथि नै भनिसकिएको छ, का.स्तालिनद्वारा लिखित ‘सोभियत सङ्घमा समाजवादका आर्थिक समस्याहरू’ भन्ने कृति माक्र्सवादी–लेनिनवादी सैद्धान्तिक–भण्डारमा अमूल्य शास्त्रीय ग्रन्थ हो । स्तालिनलाई बदनाम गर्न लागिपरेका ख्रुश्चेभ र मिकोयानले सोभियत पार्टीको बीसौँ काङ्ग्रेसमा स्तालिनको यो सैद्धान्तिक कृति मूलभूतरूपले गलत थियो भनी प्रचार गरे । ख्रुश्चेभले “उत्पादनको पूर्णरूपले बन्द भएको” भन्ने धारणा गलत छ भनी अप्रत्यक्षरूपले स्तालिनको आलोचना ग¥यो । मिकोयानले पुँजीवाद गम्भीर सङ्कटमा फसेको बेलामा पुँजीवादी अर्थतन्त्रमा “उत्पादनको वृद्धिमा पूर्ण गतिरोध वा पूरै बन्द हुने” भनी त्यस पुस्तकको आलोचना गर्न पुग्यो । वास्तवमा स्तालिनले “उत्पादनको वृद्धि पूरै रोकिन्छ” भन्नुभएकै छैन, उहाँका शब्दहरू यी हुन् “तैपनि यी देशहरूमा उत्पादनका वृद्धि अझ साँगुरो आधारमा अगाडि बढ्ने छ किनभने यी मुलुकहरूमा उत्पादनको परिमाण घट्ने छ ।” स्तालिनका शब्दहरूको पछिल्लो आधी वाक्यांश “यी मुलुकहरूमा उत्पादनको परिमाण घट्ने छ” मात्र उद्धृत गरी जानाजान कुरा बङ्ग्याएर मिकोयानले ख्रुश्चेभद्वारा स्तालिनमाथि गरिएको आरोपको समर्थन गर्ने कुत्सित प्रयत्न गरेको छ ।
वास्तवमा संशोधनवादीहरूको अभिप्राय सोभियत सङ्घमा बिस्तार बिस्तारै समाजवादलाई शिथिल पार्दै लगेर अन्तमा पुँजीवादको पुनःस्थापना गर्ने थियो, यसको लागि सोभियत सङ्घका जनतामा लेनिन र स्तालिनका प्रभाव हटाउनु आवश्यक थियो । लेनिनलाई एकैपल्ट आलोचना गर्न आँट उनीहरूमा भएन, पहिले स्तालिनमाथि आक्रमणको तारो केन्द्रित गरी स्तालिनको प्रभाव हटाउने कुटिल षड्यन्त्र उनीहरूको थियो, लेनिनलाई सीधा आलोचना नगरी लेनिनका निर्देशन र शिक्षाहरूलाई आफ्नो अनुकूल गलत व्याख्या गर्दै लगेर आखिरमा लेनिनलाई पूरै त्याग्ने उनीहरूको उद्देश्य थियो, चेतन वा अचेतनरूपले । संशोधनवादको स्वाभाविक अन्तिम परीणति यही हो र यो योजनाको पहिलो क्रम थियो स्तालिनविरोधी प्रचार ।
तर, एउटा कुरा ध्यान दिन योग्य छ, ख्रुश्चेभ समूहले भन्यो “सन् १९३४ सम्म त स्तालिन विचलनको बाटोमा लागेनन् ।” तिनका गलत–कार्यहरू सन् १९३४ पछि सुरु भए भनी स्वीकार गर्नुको अर्थ कामरेड लेनिनको मृत्युपछि कम्युनिष्ट आन्दोलनमा देखापरेका सबै प्रकारका विचलनहरूविरुद्ध अथक विचारधारात्मक सङ्घर्ष चलाई का.स्तालिनले विश्व कम्युनिष्ट आन्दोलन र सोभियत राज्य तथा पार्टीको संरक्षण गर्नुभएको कुरालाई त उनीहरूले नकार्न सकेनन् ।
Leave a Reply