भर्खरै :

प्रचण्डको पुनः विवाह बाध्यता कि विचलन ?

राजेश्वरी सुवेदी
जनयुद्धको कमान्डर प्रचण्ड र सीता दाहालबीच ५० वर्षको वर्षगाँठको अवसरमा पुनः विवाह भएको छ । उनी समग्र सामाजिक व्यवस्था परिवर्तनका लागि भनेर जनयुद्ध थालनी गर्ने कमाण्डर हुन् । सर्वहारा वर्गको मुक्तिसँगै जनयुद्धको एउटा उद्देश्य हिन्दू सामन्तवादमा आधारित संस्कृतिको आमूल रूपान्तरण पनि थियो ।
सांस्कृतिक रूपान्तरणसँगै जीवन, प्रेम, विवाह, परिवार, समाजको समग्र प्रगतिशील रूपान्तरण गर्नु थियो र त्यसको प्रारम्भ नेतृत्वबाट गर्ने अनि कार्यकर्ता र जनताको पङ्क्तिसम्म लिएर जाने भन्ने थियो । जनयुद्ध कालमा कथन र करणीमा तालमेल ल्याउने थुप्रै प्रयत्न पनि भएका थिए । तर शान्ति प्रक्रिया पछि भने त्यसको ठीक उल्टो वैचारिक राजनैतिक विचलन र पतनसँगै सांस्कृतिक विचलन पनि ज्यामितीय गतिमा बढ्दै गयो ।
व्यवस्था परिवर्तन, रूपान्तरण गर्न सकिएन भने, पुरानै व्यवस्थामा रहेका संस्कार, परम्परा, अर्थव्यवस्था मान्नु अन्तिम विकल्प रहन्छ । यहीअनुसार पुरानै रूढिवादी परम्पराको प्रयोग गरी प्रचण्डले जीवनमा पुनः विवाह गरेका छन् । कोहीसँग प्रेम हुन्छ, विवाह हुन्छ, सम्बन्ध विच्छेदपछि पश्चात् पुनः विवाह हुन पनि सक्छ । तर श्रीमती श्रीमानको सम्बन्ध विच्छेदबिना पुनः विवाह कसरी हुन्छ ? भौतिकवादमा विश्वास गर्ने कम्युनिस्टहरूको लागि यो पक्ष गलत हो ।
दुनियाँको छोराछोरीलाई जनवादी विवाह गर्न सिकाएका र विवाह गर्ने सपनासम्म देख्न नसकेकाहरूको अगाडि युद्ध कमाण्डरको पुनः विवाह स्टेज बनाएर, सबै नेतालाई आसनग्रहण गराउँदै पञ्चे बाजाको तामझामबीच केट काटेर बिहे गर्न पर्ने बाध्यात्मक परिस्थितिको सृजना भएको छ । जनताको अभाव, भोकमरी, गरिबीभन्दा ठूलो बाध्यता पुनः विवाह थियो भनेर कसरी मान्ने ? हुनैसक्दैन । यो त एउटा ढोंग हो । पञ्चेबाजा सामन्तवादी संस्कृति मान्ने जमिनदार, सामन्त, राजा महाराजाहरूले आफ्नो विवाहमा मनोरञ्जन लिनको लागि दलितहरू बोलाएर बजाउन लगाइन्थ्यो ।
अर्को सुन्दै लाजमर्दो कुरा यसले स्वास्थ्य उपचारमा सुधार आउँछ भन्ने मनोदशालाई सहजीकरण गर्दै देश, जनता र समाजवादी क्रान्तिप्रति थप दायित्व र जिम्मेवारी महसुससहित ऊर्जा पैदा हुने कुरा हो रे ? यो पनि कतैबाट नमिल्ने कुरा हो । यो तामझामले स्वास्थ्य हुने मनोदशा हो भने पनि विज्ञानको युगमा योभन्दा लाजमर्दो कुरा के हुनसक्छ ? यदि ठिक्कै भए पनि जनयुद्धमा १० औँ हजार सहिद बेपत्ता सहित छोराछोरी, बाबुआमा, श्रीमान् श्रीमती गुमाएका, अझै पनि गोलीका छर्राहरूसहित गोली नै शरीरबाट झिक्न र उपचार गर्न नसकेका, अपाङ्ग घाइतेहरू मनोदशामा के होला र यसले कति आघात पु¥याउला ? यो तामझामले उहाँलाई ठीक हुँदा देशलाई फाइदा नै हुन्छ ¤ अर्कोतिर विदेश उपचार जान पहिले केही बहानामा यो गरेको भए करोडौँ खर्च हुने देशको सम्पत्ति जोगिने खतरा कम हुने थियो ।
तर हजारौँ आमाहरूको पीडा दुःखको अगाडि उहाँले आफू सम्हालिने साहस गरेर ती बिना सहाराका सयौँ आमाहरूको सुरक्षा घेरा, करोडौँ पैसा खर्च गरेर उपचार गराउन विदेश जाने रहर घाइतेहरूलाई नहोला ? यस्ता व्यवहारले आम जनताको मनोदशामा कति असर गर्ला ? नेतृत्वले यो विषयमा नसोचेको हो या जनतामाथि शासन गर्ने प्रवृत्तिको हाबी भएको हो निकै सोचनीय कुरा छ । अब प्रचण्डको अगाडि विज्ञान लाचार बनेकै हो त ? हुन त उनको योजना थिएन भनेर समाचार आयो । यसले के पुष्टि हुन्छ भने आफूसँग बाँकी क्रान्तिको योजना नभएपछि सामन्तवादी, पँुजीवादी संशोधनवादीविपरीत खडा हुन नसकेपछि हुने सांस्कृतिक पश्चगमन हो ।
केही अवसरवादीले जनतालाई देखाएको सपनाहरूमा महल खडा गर्दै, सामन्तवादी, पुँजीवादी, संशोधनवादीसँग मिलेर आफ्नो सुरक्षाको बाटो रोज्न जान्छन् । क्रान्तिका एजेन्डा कमजोर बनाएर प्रतिक्रान्तिमा अवसर खोज्नेहरूको लागी यो नियम नै हो । अहिले यही हुँदैछ । धेरै पहिले संशोधनवादीहरूले भनेका थिए अन्ततः हाम्रै व्यवस्थामा आत्मसमर्पण हुन्छन् । तर, क्रान्तिकारी नेता यो कुराबाट अनभिज्ञ भने थिएनन् र क्रान्तिकारी पलायनको दिशा पक्रिएको धेरै कुराले प्रमाणित गरेको छ ।
धेरै नेपाली युवाहरू एकपटक विवाह गरेर जिन्दगी धान्ने आर्थिक अवस्था नभएर पैसा जुटाउन खाडी मुलुकमा पैसा कमाउन गइरहेका छन् । प्रचण्डको पुनर्विवाहजस्तै बाजा बजाएर विवाह गर्ने रहर अहिलेको युवाहरूमा बढ्दो स्तरमै देखिन्छ । नदेखियोस् पनि कसरी ? क्रान्तिकारी छलाङ मार्ने भनेकाहरू आफूले भनेको नयाँ व्यवस्थामा शून्य पनि परिवर्तन गर्न सकेनन् । बरु यही सामन्तवाद र दलाल पँुजीवादको सबै नकारात्मक संस्कृतिको अनुसरण गर्न पुगे । फलस्वरूप सामन्तवादी संस्कारलाई प्रोत्साहन गरी पुरस्कृत हुने चाहना बढेको छ ।
खुला राजनीतिमा आएपश्चात् यस्ता गतिविधि बढेकै थिए र छन् । धेरैले भन्छन्, जनयुद्धको जस्तो अहिले खोजेर हुन्छ ? अहिले समाजमा चलिआएको संस्कार, संस्कृति नमानेर कसरी राजनीति गर्न सकिन्छ ? यस्ता प्रश्नहरू परिवर्तनको बिगुल बोकेर परिवर्तन गर्न हिँड्नेहरूकै मुखबाट सुनिन्छ । यस्तो किन भयो ? के हो यसको कारण ? यो हुनु थियो त ¤ सर्वहारा वर्गको मुक्तिको लागि हजारौँ युवाहरूको बलिदानपूर्ण जनयुद्ध केका लागि थियो ? सामान्य उपलब्धिलाई आकाश बनाएर जनताको स्तर उन्नतिलाई सिरिया बनाएर अघि बढ्न युद्धको अन्त्य थिएन ।
महिला, विद्यार्थीको लामो पङ्क्ति वर्गीय मुक्तिसँगै आफ्नो अधिकारको लडाइँमा लागेकै हुन् । पार्टी कमाण्डरसँगै अरूले पनि यही व्यवस्थामा आफ्नो सेटलमेन्ट खोजेर होला, महिला नेता परिवर्तित समाज निर्माणभन्दा सामन्तवादी, रूढीवादी समाजमा अस्तित्व खोज्न थाले । महँगा गहना, साडी, सिन्दूर पोते, सकेसम्म झपक्क देखिने सुनको हार यस्तै यस्तै लगाएर हिजोको पुँजीवादी महिलासँग प्रतिस्पर्धामा लागेको देखिन्छ ।
विद्यार्थी र युवाहरूको हिजो माफिया भनेकाहरूको स्कूलमा छोराछोरी पढाएर उनीहरूले दिएको चन्दाले पेट्रोल, ग्यास, श्रीमतीको गहना, साडी सबै सेटमा चलाएर बसेका छन् । मजदुरका नेताहरू ठूला कम्पनीका मालिकहरूसँग मिलेर व्यक्तिगत रूपमा केही प्रतिशत लिएर सुरक्षित छन् ।
बहिरगमनमा परेका जनमुक्ति सेनाहरू समाजमा माओवादी भन्न नसक्ने लाजले खाडी मुलुकमा कमाएको पैसाले अलि इज्जतिलो जीवन बाँच्ने सपना र रहरमा छन् । पार्टीले आफूले भनेजस्तो व्यवस्था ल्याउन नसक्नु उनीहरूको लागि विडम्बना बनेको छ । जागिरेलाई छुटाएर होलटाइमर बनाउने चलन थियो जो दायाँ बायाँ नगरी क्रान्तिको लागि लागोस् र आफ्नो व्यवस्थाको समाज निर्माण गर्न सकियोस् । तर, बिस्तारै पार्टीसँग वैचारिक कार्यदिशा र योजना छैन ।
परिवारवाद, नातावाद, कृपावादलले राम्रो स्थान पाउँदै गयो । व्यापारीहरू विचार सकाउन र राजनीति नेता किन्न ट्रकमा पैसा बोकेर जान थाले तर नेता यही कुरामा हिमालय पर्वतका शिव खुसीले प्रसन्न भएको जस्तै भए । दलाली, लोभ, लालचमा नेताको तीन नेत्र हुँदै गएको थाहा पाउने व्यापारीले सिङ्गो देशको योजना तथा कार्यक्रम किनी दियो र नेतालाई आफ्नै पजेरोमा गाउँ सहर विदेशसम्म घुमाउन पछि परेनन् । यति हुँदा पनि नेतृत्वको मन पोलेन उल्टो खुसीले गद्गद् भए । यसो नहुँदा कार्यकर्ताले पुरानै व्यवस्थामा फर्कन लज्जित छन् । तर नेता भने यही व्यवस्थामा लाज पचाएरै सुरक्षित हुँदै तामझामसहित दलाली गरेकै छन् ।
जीवन साथी गुमाएका र पुन विवाह गर्न मन भएर पनि विभिन्न कारणले नसकेका साधारण महिलाहरू पनि हुनुहुन्छ । युद्धमा नारा बनेको (समानताको कुरा, विभेदको अन्त्यको कुरा, मजदुर र मालिकबीचको विभेदको अन्त्यको कुरा, जातीय विभेदको कुरा) सबै नेताको घरमा मात्र सीमित हुँदै २÷४ नेताहरूको मुक्ति भने भएकै छ । हिजो सिन्दूर पुछेर रुढीवादी परम्परा फाल्न लागेका महिलाहरू (विधवा, बोक्सी, दलित महिलाको नाममा अहिले पनि मरिरहेका छन् । तर, उनी भने श्रीमतीको सिउँदोमा सिन्दूर हालेर पुनःविवाहको उत्सव मनाए । उपचार नपाएर, खान नपुगेर, बाँच्न नपाएको अवस्था धेरै छ । यो विषयमा पार्टीमा बहस किन हुन छाड्यो ? अरू केही नभएर वैचारिक कार्यदिशामा आएको स्खलन नै प्रमुख कारण हो ।
भौतिकवाद सिकाउने कमान्डर सिन्दूर हालेर, सुनको औँठी लगाइदिएर, माला लगाएर विवाह भयो । सामन्तवाद र पुँजीवादको नकारात्मक संस्कृति त्यो तहको नेताले अवलम्बन गर्दा कार्यकर्ता र जनताले के सिक्ने ? युद्धमा भनेका नाराहरू अभिशाप बनेर नयाँ परिवर्तन नदिने हो भने नेता भनेर बसिरहने र राजनितिपद प्रयोगलाई दिनचर्या बनाउने कोहीको अधिकार हुँदैन । यस्ता धेरै प्रश्नहरू आफ्नै पार्टीकाहरू बाट उठेका छन् तर नेतृत्व योबारे गम्भीर बनेर बहस गरेको दखिँदैन ।
सांस्कृतिक रूपान्तरण, समाजसँगै राजनीतिक रूपान्तरण हो भन्नेहरू पुँजीवादले निर्माण गरेको सबै कुरा हुबहु अङ्गीकार गर्दै आइरहेका छन् । यो बाट प्रस्ट हुन्छ कि, उहाँहरूबाट हुने राजनीति अग्रगमनमा छैन । आफू र परिवार सम्पन्न बन्दै समाज र जनतालाई पश्चगमनमा लैजान खोज्ने नेताहरू यो विज्ञान प्रविधिको दुनियाँमा विज्ञानलाई नै असफल बनाउन लाग्ने कुरा हो । युवा निरीह बनेर ३० वर्षमा नेता भएको उदाहरण दिन होइन आफू उदाहरणीय बनौँ । नेताको गुलामी गर्ने दिनको अन्त्य गरौँ । समाज अग्रगमनमा लैजाने जिम्मा अब नयाँ पुस्ताले लिऔँ । सचेत युवा बनौँ ।
(लेखिका माओवादीसम्बद्ध विद्यार्थी सङ्गठनका पूर्व नेता हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *