भर्खरै :

नर्सलाई उचित तलब र सम्मान देऊ

–सुस्मा सुवेदी
आइतबार नेपालमा पनि नर्सिङ दिवस विभिन्न गतिविधि गरी मनाइयो । कहीँ प्रभातफेरी त कहीँ गोष्ठी । तर, नर्सहरूले अझै पनि उचित तलब र सम्मान पाउन सकेका छैनन् । रातदिन नभनी बिरामीको सेवामा लाग्ने नर्सहरूको न त रोजगारीको सुनिश्चित छ । कतिपय नर्सहरू त निकै कम तलबमा सेतो एप्रोनको इज्जत धानिरहेका छन् । नर्सिङ पेशाप्रतिको हेयदृष्टि र कम तलबका कारण धेरै नेपाली छोरीहरू इजरायल, संरा अमेरिका, कोरिया, जापानलगायतका पश्चिमा देशहरूमा ज्येष्ठ नागरिकको सेवा सुश्रुषा गर्ने सस्तो घरेलु कामदारको रुपमा काम गरिरहेका छन् ।
शिक्षाको निजीकरण र व्यापारीकरणका कारण नर्सिङ पढ्न विद्यार्थी र अभिभावकले धेरै पैसा खर्च गर्ने गर्छन् । पढाइ सके पनि स्वास्थ्य क्षेत्रको अचाक्ली व्यापारीकरणका कारण नर्सिङ उत्तीर्ण गरेकाहरूले राम्रो र सोचेजस्तो जागिर पाउने गर्दैनन् । निजी अस्पतालहरूले निकै काम तलबमा नर्सहरू भर्ती गरेका हुन्छन् । कम तलबमा धेरै समय ड्युटी गराएर शोषण गरिएका नर्सहरूसँग अर्को विकल्प नहुँदासम्म त्यस्तो शोषण सहेर बस्नुपर्ने बाध्यात्मक अवस्था छ । कतिपय अस्पतालले लामो समयसम्म सेवा गरिसकेका नर्सहरूलाई जागिरबाट निष्कासन गरिएका धेरै उदाहरण छन् ।
नर्सिङ निकै सम्मानित र उच्च मूल्यको पेशा हो । तर, नेपालको अहिलेको व्यवस्थाले नर्सिङ पेशालाई पनि सस्तो ज्यामीसरहको हैसियत दिएको देखिन्छ । देशलाई कति नर्सको आवश्यकता छ भन्ने कुराको हिसाबकिताब नगरी देशभरि जथाभावी निजी नर्सिङ कलेजहरू खोलिएका छन् । त्यस्ता कतिपय नर्सिङ कलेजले नाममात्रका नर्स तयार गर्ने गर्छन् । प्रमाणपत्रमा मात्र सीमित त्यस्ता नर्सहरूले अस्पतालमा धेरै बिरामीले ज्यान गुमाउने खतरा हुन्छ ।
नर्सहरूलाई कामअनुसारको ज्याला र सामाजिक सम्मान दिन सके नेपालको स्वास्थ्य क्षेत्रमा निकै सुधार गर्न सकिन्छ । नर्सहरूलाई स्वास्थ्य विज्ञानमा आइरहेका नयाँ नयाँ आविष्कार र प्रविधिबारे पनि सचेत बनाउनेतिर सरकार र सम्बन्धित अस्पतालले ध्यान दिन जरुरी छ । अस्पतालमा हुने नातावाद र कृपावादको अन्त्य गरिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *