भर्खरै :

बलिउड र घृणाको राजनीति

राना अयुब
भारतमा सत्रौँ लोकसभा निर्वाचनको तेस्रो चरणको मतदान चलिरहेको थियो । त्यति नै बेला भारतका अधिकांश प्रमुख टेलिभिजन च्यानलहरूले अप्रिल २३ को दिन प्रधानमन्त्री नरेन्द्र मोदीको विस्तृत अन्तर्वार्ता प्रसारण गरे । अन्तर्वार्ता लिएका थिए – बलिउडका सुपरस्टार अक्षयकुमारले । अन्तर्वार्ताको सुरूमै उनले मोदीसँग कुनै राजनीतिक जिज्ञासा नराख्ने प्रस्ट पारे ।
भारतीय इतिहासकै सबभन्दा महत्वपूर्ण निर्वाचनअन्तर्गत मतदान प्रक्रिया चलिरहेको, राजनीतिक धु्रवीकरण गहिरो बन्दै गएको, सामाजिक असन्तुष्टि र गम्भीर आर्थिक समस्या बढ्दै गएको परिस्थितिमा सो अन्तर्वार्तामा अक्षकुमारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आँप, चलचित्र र जोकप्रतिको रुचिबारे प्रश्न सोधेका थिए ।
अन्तर्वार्तामा मोदीले सोधोस् भनी चाहेका प्रश्नमात्र अक्षयकुमारले सोधेकोमा कुनै द्विविधा थिएन किनभने अक्षयकुमार मोदीका जबरजस्त समर्थकमात्र होइनन्, बरू पछिल्ला वर्षमा उनले अभिनय गरेका अधिकांश चलचित्र सत्तासीन भारतीय जनता पार्टी (भाजपा) को अति राष्ट्रवादी विचाराधारमा आधारित छन् । अक्षयकुमारले एक वर्षअघि मात्र भारतीय नागरिकता त्यागेर क्यानाडेली नागरिक स्वीकारेका थिए । अक्षयको त्यस्तो निर्णयले प्रधानमन्त्री मोदीलाई उक्त अन्तर्वार्ता दिन भने रोकेको थिएन ।
त्यसको कारण चुनावभन्दा एक महिनाअघि मात्र सार्वजनिक भएको अक्षयकुमारको पछिल्लो राष्ट्रवादी चलचित्र हो । त्यो चलचित्र मुसलमानहरूलाई नकारात्मकरूपमा प्रस्तुत गर्ने भाजपाको प्रमुख चुनावी रणनीतिमा आधारित छ ।
‘केसरी’ नामको सो दुई घण्टा अवधिको चलचित्रमा अक्षयकुमारले हवलदार इशर सिंहको भूमिका निभाएका छन् । चलचित्रमा बेलायती साम्राज्यवादी सेनाभित्रको सिख टुकडीका कमान्डर उनी अफगानिस्तानबाट आएका विद्रोही पास्तुन घुमन्तुहरूविरुद्ध अन्तिम दमसम्म लड्दछन् । सन् १८९७ को ऐतिहासिक सरागारही लडाइँमा आधारित सो चलचित्रमा सिख सिपाहींहरूलाई बहादुर देशभक्तको रूपमा र मुसलमान पास्तुनहरूलाई अन्धभक्त जेहादीको रुपमा प्रस्तुत गरिएको छ । चलचित्रमा उपनिवेशवादी उत्पीडनलाई पूर्णरूपमा ओझेल पारिएको छ । चलचित्रको नाम ‘केसरी’ को अर्थ गेरु रङ्ग हो । गेरु रङ्ग भारतको सत्तासीन पार्टी र दक्षिणपन्थी खेमाले रुचाउने रङ्ग हो ।
मोदी र भाजपाको दिलोज्यानले समर्थन गर्ने बलिउडमा अक्षयकुमार एक जनामात्र स्टार भने होइनन् । बितेका पाँच वर्षमा भारतीय चलचित्र उद्योगले सत्तासीन पार्टीको राजनीतिक मुद्दामा बढी झुकाव राख्दै आएको छ । कतिपय चर्चित कलाकारहरू सत्तासीन दलकै समर्थनमा प्रस्टै देखिए । भारतीय समाजको सद्भावपूर्ण सम्बन्धलाई खतरामा पारेको हिन्दू राष्ट्रवादको विरोधमा बोल्न हिम्मत गर्ने केही कलाकारलाई विभिन्न सार्वजनिक अवसरमै अपमान गर्ने र सिनेउद्योगभित्र समर्थन गुमाउने अवस्था बन्यो ।
भाजपा अनुकूलको चलचित्र
भाजपाको राष्ट्रवादमा आधारित चुनावी अभियानलाई सहायता गरेको पछिल्लो जोडदार चलचित्र सन् २०१९ को जनवरीको मध्यतिर सार्वजनिक भएको ‘उरीः द सर्जिकल स्ट्राइक’ हो । सन् २०१६ मा जम्मु कास्मिरमा भारतीय सैनिक व्यारेकमा भएको घातक हमलाको प्रतिक्रियामा त्यही वर्ष पाकिस्तानविरुद्ध भारतले गरेको ‘सर्जिकल स्ट्राइक’ को विषयमा आधारित भएर सो चलचित्र बनाइएको थियो ।
उक्त चलचित्रमा मोदीलाई सकारात्मक कोणबाट चित्रण गरिएको छ । भारतविरोधी आतङ्कवादी समूहलाई पालेको शत्रु देश (पाकिस्तान) विरुद्ध बदला लिने देशभक्त शक्तिशाली व्यक्तिको रूपमा मोदीको चित्रण गरिएको छ । राष्ट्रवादी विषयवस्तु र मनखुसी बनाउने बदलाको कथाले त्यो चलचित्र निकै सफल भयो । त्यसले २ अर्ब ४० करोड भारु (३४ करोड अमेरिकी डलर) कमाउन सफल भयो । चलचित्र प्रदर्शनको क्रममा भारतभरि ‘भारत माता कि जय!’ जस्ता नारा व्यापकरूपमा गुञ्जियो ।
चलचित्रमा एकजना कमान्डर र सिपाहींबीच भएको छोटो संवाद– ‘कस्तो छ जोश (देश रक्षाको ऊर्जा वा उत्साह) ?’ – देशभक्तिपूर्ण वाक्यांशको रूपमा निकै चर्चित बन्यो । चलचित्र सार्वजनिक भएपछिका हप्तामा प्रधानमन्त्री, रक्षामन्त्री र मन्त्रीमण्डलका अधिकांश सबै सदस्यहरूले आफ्ना ट्वीटहरूमा यही वाक्यांश प्रयोग गरेका थिए । सरकारी कार्यक्रमहरूमा पनि यसको प्रयोग गरियो । सत्तासीनहरूले आफूलाई शक्तिशाली नेतृत्वको रुपमा देखाउन सो वाक्यांश प्रयोग गरिएको थियो ।
चलचित्र सार्वजनिक भएको एक महिनापछि एउटा विद्रोही समूहले भारतीय सैनिक गाडीमा हमला गरी दर्जनौँ सिपाहींहरूको हत्या गरेपछि फेरि एकपल्ट सार्वजनिकरूपमा ‘जोश’ को आगो पुनः बल्यो । चलचित्रमा चित्रण गरिएको छविलाई वास्तविकतामा उतार्दै मोदीले तत्कालै पाकिस्तानविरुद्ध अर्को ‘सर्जिकल स्ट्राइक’ को लागि आदेश दिए । जैस–ई–मोहमद नामको सशस्त्र समूहका भनिएका सैनिक शिविरप्रति लक्षित गरी मोदीले त्यस्तो आदेश दिएका थिए । फेरि एकपल्ट भारतीय सामाजिक सञ्जालहरूमा ‘कस्तो छ जोश ?’ खुब चल्यो । आफ्नो देश र देशको गौरव जोगाएकोमा प्रधानमन्त्रीको खुब प्रशंसा गरियो ।
उरीपछि भाजपाको राजनीतिक मुद्दामा आधारित अर्को पछिल्ला चलचित्र हुन्– ‘द तास्कन्द फाइल्स’ र ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ । दुवै चलचित्र निर्वाचनअघि सार्वजनिक गरियो । दुवै चलचित्रमा विपक्षी दलको खेदो खनिएको छ । भारतीय काङ्ग्रेसलाई कमजोर, विभाजित र भारतलाई सही दिशामा दोहो¥याउन असफल दलको रूपमा चित्रण गरिएको छ ।
तर, बलिउडमा बढ्दो राजनीतिक पक्षधरता निश्चित राजनीतिक विचारधाराको प्रचार गर्ने पटकथा लेखनमा मात्र सीमित छैन । चुनावको तीन महिनाअघि जनवरीमा भारतीय जनता पार्टीले चलचित्रकर्मी र कलाकारले घेरिएको प्रधानमन्त्री मोदीको एउटा तस्वीर सार्वजनिक ग¥यो । त्यो तस्वीरमा करण जोहर, रणवीर कपुर र रणवीर सिंहलगायतका कलाकार र निर्देशक मोदीसँगै उभिएका थिए । हफिङटन पोस्टका अनुसार चुनावअघि आफ्नो छवि उकास्ने यो प्रधानमन्त्रीको चलाखी थियो । भाजपा नियन्त्रित सामाजिक सञ्जालका एकाउन्टहरूले उक्त तस्वीर व्यापक रूपमा प्रचार गरे ।
बलिउडका अरू केही ख्यातिप्राप्त कलाकारहरू भाजपाको अभियानमा प्रत्यक्षरूपमै संलग्न भए । उदाहरणको लागि अनुपम खेर । ‘द एक्सिडेन्टल प्राइममिनिस्टर’ मा उनले प्रमुख भूमिका खेलेका छन् । उनकी श्रीमती किरण खेर भाजपाको तर्फबाट संसद् सदस्य छिन् । अनुपम भारतीय प्रधानमन्त्रीको पक्षमा सक्रियतापूर्वक प्रचारमा लागे । साथै पञ्जाबको चण्डीगढमा आफ्नी श्रीमतीको चुनाव प्रचारमा उनी व्यस्त भए ।
बलिउडका अर्को सिनेस्टार सन्नी देओल यसै वर्षको अप्रिल महिनामा भाजपामा प्रवेश गरे । उनी पञ्जाबको गुर्दासपुरबाट चुनावमा उम्मेदवार बनेका छन् । देओलले पनि चुनावअघि भाजपाको राजनीतिक मुद्दामा समर्थन हुने एउटा चलचित्र सार्वजनिक गरे । ‘ब्ल्याङ्क’ नामको उनको चलचित्र इस्लामिक आतङ्कवादी, देशभरि जेहादीहरूको खतरा तथा ‘सामान्य मुसलमान’ पनि घातक वम हमलाबाट सिकार बनेको विषयमा आधारित छ ।
शक्तिसामु सत्य कथन ?
भाजपाको नेतृत्वमा भारतीय मुस्लिमहरूलाई पराई बनाउने संस्थागत अभियानको भारतले बाक्लो अनुभव ग¥यो । त्यही अभियानको क्रममा गैरकानुनी हत्या, साम्प्रदायिक दङ्गा, किसानहरूको विरोध, वित्तीय नीतिको असफलताका कारण गरिबीमा वृद्धि भयो । तथापि भाजपालाई हार्दिकतापूर्वक अँगालेको बलिउड क्षेत्रले यी मुद्दामा केही बोलेको सुनिंदैन ।
भारतीय सिने उद्योगका नेतृत्वदायी व्यक्तित्वहरूले सत्ता (विशेषतः ट्रम्प सरकार) विरुद्ध सत्यको पक्षमा बोल्ने संरा अमेरिकी हलिउडका स्टार कलाकारहरूप्रति समर्थन गरेका थिए । तर, आफ्नै देशमा भइरहेको घृणामा आधारित अपराध र असहिष्णुताबारे उनीहरूले एक शब्द पनि बोलेनन् ।
बलिउडकै केही बहादुर कलाकारहरूले मोदी सरकारप्रति आलोचनात्मक टिप्पणी गर्दा भएका आक्रमणको विषयमा बलिउड रहस्यमूलक ढङ्गले मौन बस्यो । भारतका प्रतिष्ठितमध्येका एक कलाकार नसुरिद्दिन साहले एमनेस्टी भारतको एउटा भिडियोमा भारतमा फैलिरहेको घृणाको संस्कृतिबारे बोल्दा उनको अपमान गरियो र हमला गरियो । तर, बलिउडका कोही पनि सहकर्मीले उनको प्रतिरक्षामा बोल्न आवश्यक ठानेन । जब भारतीय सुपरस्टार शाहरूख खान र आमिर खानले देशमा बढ्दो असहिष्णुताको विरोधमा बोले, उनीहरूले पनि अनेकन अपमान सामना गर्नुप¥यो । भाजपाका नेताहरूले उनीहरूलाई ‘राष्ट्रविरोधी’ पनि भने । तर, सिनेउद्योगभित्रका कसैले पनि उनीहरूको प्रतिरक्षा गरेनन् ।
भाजपाप्रति बलिउड मौनता र प्रशंसामै यता र उता गरिरहनु आश्चर्यको कुरा होइन । भारतीय सिने उद्योग इतिहासदेखि नै राजनीतिसँग नजिकको सम्बन्ध भएको कारण यस्तो हुनु ठूलो आश्चर्यको विषय होइन । उदाहरणको लागि, सन् २००२ को मुसलमानविरोधी दङ्गालाई लिएर मोदीविरुद्ध अझै पनि चर्चा चल्ने गर्छ । बलिउडका अभिनेता अमिताभ बच्चनले गुजरात दङ्गामा मैलिएको मोदीको छविलाई सफा गर्न मद्दत गरेका थिए । कुनै बेला अमिताभ काङ्ग्रेस पार्टीका नेता पूर्वप्रधानमन्त्री राजीव गान्धीको पक्षमा प्रचार गर्दै हिँडेका थिए । सन् १९७० को दसकमा भारतमा सङ्कटकाल लगाएका भारतका अर्का प्रधानमन्त्री इन्दिरा गान्धीले अध्यादेशको भरमा लामो समय शासन चलाइन् । नागरिक अधिकारमाथि अङ्कुश लगाइन् । तर, उनी भारतीय सिने उद्योगमा प्रिय थिइन् । उनको वरपर पनि कलाकारहरूले खिचाएका तस्वीर प्रचारमा आइरहन्थ्यो ।
आजको महत्वपूर्ण भिन्नता भनेको भारत आज निकै गम्भीर चौबाटोमा छ । बहुसांस्कृतिक र धर्मनिरपेक्ष भारत आज परीक्षाको घडीमा छ । भारतका नयाँ पिंढीको सोच निर्माणमा त्यहाँको सिने उद्योगले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । निश्चित राजनीतिक मान्यताको प्रचारमा पनि भारतको सिने उद्योगको भूमिका रहँदै आएको छ । भाजपा र उसको विचारधाराप्रति पल्ला भारी गरेर बलिउडले घृणाको राजनीतिलाई बल दिनुका साथै हिन्दू राष्ट्रवादको प्रवद्र्धन गरिरहेको छ ।
बलिउडले यदि यस्तो काम बन्द नगरे र पुनर्विचार नगरे उसले आजसम्म उपभोग गर्दै आएको सिर्जनात्मक स्वतन्त्रतासमेत गुमाउने खतरामात्र रहँदैन बरु विध्वंसात्मक विचारधाराको समर्थन गरेका चाटुकारिता र कायरता देखाउने उद्योगको इतिहासमा फर्कनेछ ।
(लेखक भारतका पत्रकार र लेखक हुनुहुन्छ ।)
स्रोतः अल जजिरा
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *