भर्खरै :

भक्तपुर नगरपालिकाद्वारा ‘१०८ रोपनी’ जग्गामा वृक्षरोपण

भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिकाको आयोजनामा भनपा वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा बुधबार वृक्षरोपण कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिकाको नियमित पाक्षिक सरसफाइ कार्यक्रमअन्तर्गत भक्तपुर नपाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, नपली सृजना सेवा समाजका महिला प्रतिनिधि, विभिन्न विद्यालय, सल्लाघारीका टोलवासीलगायतको सक्रिय सहभागितामा उक्त क्षेत्रमा सरसफाइ र वृक्षरोपण गरिएको हो ।
उक्त कार्यक्रमअघि भएको सभामा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरभित्रका सरकारी तथा पर्ती जग्गा संरक्षण र संवद्र्धनको जिम्मा स्थानीय सरकारको भएको बताउनुभयो ।
नेपाल ट्रस्ट र गृहमन्त्रालयसँगको समन्वयमा १०८ रोपनी जग्गा संरक्षण कार्यलाई अगाडि बढाएको चर्चा गर्दै उहाँले यस क्षेत्रको वातावरणलाई स्वच्छ र सफा राख्न वृक्षरोपण कार्यक्रम तय गरिएको बताउनुभयो ।
नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गामा ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृति पाएमा सस्तो र गुणस्तरीय चिकित्सा शिक्षासहितको विश्वविद्यालय स्थापना गर्ने उद्देश्य रहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर जनताको अधिकत्तम हितको निम्ति उक्त जग्गा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नगरको प्रस्थानबिन्दुको रुपमा १०८ रोपनी जग्गा लामो समयदेखि बेवारिसे अवस्थामा रहेकोले भनपाले जनताको सल्लाहअनुसार सो क्षेत्रको संरक्षण गर्न पर्खाल निर्माण गरेको बताउनुभयो ।
उपप्रमुख जोशीले भक्तपुरको हरेक गतिविधिमा स्थानीय जनताको सक्रिय सहभागिता रहने गरेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्थानीय जनताको पहलमा जग्गा संरक्षणको काम भइरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *