संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
देविका दनेखु
सन् १९५६ (वि.सं. २०१३) भन्दा अगाडि भारतमा पनि स्वास्थ्य क्षेत्रको त्यति विकास नहुँदा कम्पाउन्डरहरूलाई मिडवाइफ्रीको तालिम दिएर अस्पताल चलाइरहेको थियो । नेपालमा पहिलो अस्पताल वीर अस्पतालको स्थापना सन् १८९० (वि.सं. १९४७) मा भए तापनि नर्सिङ्ग शिक्षाको सुरुआत भएको थिएन । त्यतिबेला नेपालमा नर्सले गर्ने सम्पूर्ण काम डाक्टर र कम्पाउन्डरले गर्थे ।
१९ औँ शताब्दीको सुरुआतीमा नेपाली समाजमा स्वास्थ्यसम्बन्धी केही चेतना आएपछि अझ विशेषगरी राणा परिवारले यसको आवश्यकता महसुस ग¥यो । त्यसपछि ४ जना नेपाली महिलाहरूलाई भारतमा १८ महिने मिडवाइफ्री (Midwifery) प्रसूतिसम्बन्धी तालिममा पठाइयो । ती चार जना नर्सहरू ः विद्यादेवी कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राई हुन् । तालिम सकेर आएपछि चार जना नर्सहरू नै वीर अस्पतालमा फर्किए । दोस्रो चरण सन् १९५२ (वि.सं. २००९) मा फेरि डा. उमादेवी दास (उहाँ प्रथम नेपाली पी.एच.डी. नर्स हुन् ) र रुकमिनी श्रेष्ठलाई ४ वर्ष ९ महिनाको स्टाफ नर्स तालिमको लागि भारतमा पठाइयो । सन् १९५७ (वि.सं. २०१३) मा दुवै जना तालिमबाट फर्केपछि नर्सिङ्गको अध्यापन सुरु गरे । त्यसपछि विभिन्न विषयमा केही महिलाहरूलाई पटक–पटक भारत, श्रीलड्ढालगायतका देशमा तालिमको लागि पठाइयो । त्यतिबेला श्री ५ को सरकारअन्तर्गत नर्सिङ्ग क्याम्पस भनेर स्थापना गरिएको क्याम्पस सन् १९७२ मा महाबौद्ध नर्सिङ्ग क्याम्पस भनेर नामकरण गरियो ।
संसारमा नर्सिङ्ग अध्यापन सुरु भएको ९७ आँै वर्षमा मात्र नेपालमा नर्सिङ्गको अध्यापन सुरु भयो । फ्लोरेन्स नाइटिङ्गेलले सन् १८६० मा स्टेट थोमस हस्पिटल (St. Thomas Hospital)अन्तर्गत नाइटिङ्गेल ट्रेनिङ्ग स्कूल (Nightingale Training School) फर नर्सेस नामक नर्सिङ्ग स्कूल स्थापना गरेका थिए । सन् १८५३–१८५६ मा भएको रसियाविरुद्ध फ्रान्स, बेलायत, टर्की र सारदीनियाँको क्रिमिया युद्ध (Crimea war) का घाइते सैनिकहरूको उपचार र हेरचाहमा नाइटिङ्गेलले पु¥याउनुभएको योगदानको कदर गरेर उहाँलाई ४ २,५०,०००।– (दुई लाख पचास हजार डलर) बराबरको धनराशीसहितको पुरस्कारले बेलायत सरकारबाट सम्मानित ग¥यो । सम्मानस्वरुप प्राप्त रकमलाई नै उहाँले नर्सिङ्ग स्कूल स्थापनार्थ लगाउनुभयो ।
नेपालमा नर्सहरूको अवस्था
हाल नेपालमा अनमी र विदेशी नर्सहरूसहित करिब ८८,००० नर्सहरू नर्सिङ्ग काउन्सिलमा दर्ता भएका छन् । प्रत्येक वर्ष ७००० भन्दा बढी नर्सहरू उत्पादन हुन्छन् ।
विभिन्न ११७ नर्सिङ्ग कलेजबाट उत्पादित यी नर्सहरूको व्यवस्थापन चुनौतीको विषय बनेको छ । सरकारले व्यवस्थित गर्ने नीति नभएकोले यी दक्ष जनशक्तिको परिचालन सही ढङ्गले गर्न सकेको छैन । विश्व स्वास्थ्य सङ्गठन (WHO) को मापदण्डअनुसार जनरल वार्डमा एक नर्स बराबर पाँच जना बिरामी र सघन कक्ष (क्रिटिकल युनिट) ICU, CCU मा एक नर्स बराबर दुई बिरामी हुनुपर्ने प्रावधान छ । तर नेपालमा १ जना नर्सले एउटै वार्डमा भएका ३० देखि ४० जना बिरामीलाई हेर्नुपर्ने अवस्था छ । विशेषगरी सरकारी अस्पतालमा WHO को मापदण्डअनुसारको नर्स बिरामीको अनुपात पटक्कै मिलेको छैन । एकातिर उत्पादित नर्सहरूले बेरोजगार हुन परेको छ भने अर्काेतिर सरकारी दरबन्दीअनुसारको अस्पतालमा नर्सहरू पुगेको छैन ।
नेपाल नर्सिङ्ग परिषद् (Nepal Nursing Council) को भूमिका गौण
च्याउजस्तै उम्रेका नर्सिङ्ग कलेजहरूलाई स्वीकृति दिने नेपाल नर्सिङ्ग परिषद् (NNC) नर्सिङ्ग पेशाको गुणस्तरभन्दा पनि परिमाण बढाउनतिर मात्र केन्द्रित भएको देखिन्छ । पटक–पटक हुने राजनीतिक परिवर्तनबाट आउने राजनीतिक नियुक्ति र भागबण्डाले गर्दा काउन्सिलले आफ्नो भू्मिका निर्वाह गर्न नसकेको कुरालाई नकार्न सकिन्न । नेपाल नर्सिङ्ग काउन्सिलले निर्धारण गरेका निश्चित मापदण्डविपरीतका कलेजहरूलाई पनि स्वीकृति दिएर भ्रष्टाचार र कमिसनखोरीको चपेटामा डुबेको छ । हाल नेपालमा प्रवीणता प्रमाणपत्र तह (PCC) नर्सिङ्ग CTEVTअन्तर्गत ११० भन्दा बढी कलेजहरूमा सञ्चालित छन् । त्यस्तै काठमाडाँै विश्वविद्यालय, वी.पी. कोइराला स्वास्थ्य अध्ययन संस्थान (BPKIHS) धरान र पाटन एकेडेमी अफ हेल्थ साइन्स (PAHS) ले सञ्चालन गर्दै आएका छन् । CTEVT अन्तर्गतका कलेजहरूले निम्नत्तम मापदण्ड पूरा नभएका कलेजहरूलाई सम्बन्धन दिएर शैक्षिक माफियाहरूलाई पालन–पोषण गर्दै आएको कुरा पटक–पटक उठ्दै आएको छ । तर, यस विषयमा नर्सिङ्ग परिषद्ले केही कारबाही गर्न सकेको छैन ।
नर्स : स्वास्थ्य प्रणालीको मेरुदण्ड
संसारभर नै नर्सहरूको माग बढिरहेको छ । स्वास्थ्य प्रणालीको मेरुदण्डको रूपमा रहेका नर्सहरूलाई नेपालमा उचित व्यवस्थापन गर्न नसक्नाले धेरै नर्सहरू अष्ट्रेलिया, अमेरिका, क्यानडा, युरोपेली मुलुकका साथै खाडी मुलुकहरू दुबई, मलेसियाजस्ता देशहरूमा दक्ष जनशक्तिको रुपमा काम गर्न बाध्य छन् । यसलाई अर्काे भाषामा ब्रेन डे«न (Brain Drain) पनि भन्न सकिन्छ । नेपालमा नर्सहरूले लामो समय ड्युटी गर्नुपर्ने तर त्योअनुसारको तलब, भत्ता र सुविधा नपाउने कारण विदेशिन बाध्य भएको विदेशिएका नर्सहरूको भनाइ छ ।
हाल नेपालमा (PCC Nursing) सकेका नर्सहरूले (Bachelor) नर्सिङ्ग गर्न एक वर्षको कार्य अनुभव अनिवार्य छ । तर स्नातक अध्ययन गर्नको लागि काम नपाएर स्नातक अध्ययन गर्न नपाउने भएकोले ठूलो सङ्ख्यामा नर्सहरू स्वयम्सेवक (Volunteer) गर्न बाध्य छन् । नर्सिङ्ग पेशाकर्मीको हकहितको लागि आवाज बुलन्द गर्ने संस्था नेपाल नर्सिङ्ग सङ्घ (Nepal Nursing Association) ले पटक–पटकको आन्दोलनमा सरकारसँग गरेका सहमतिहरूमा स्वयम्सेवक राख्न नपाउने भने पनि यो कागजमा मात्र सीमित भएको छ ।
नर्सहरूको समस्या
नर्सहरू २४ सै घण्टा बिरामीसँग रहने भएकाले बिरामीको पहिलो प्राथमिकतामा पर्छन् तर स्वास्थ्य संस्थाले नर्सहरूलाई सबभन्दा धेरै उपेक्षा गरेका छन् । आफू बिरामी पर्दा पनि अहोरात्र बिरामीको सेवामा खट्ने नर्सहरूलाई उचित सम्मान दिन नसक्नु सा¥है निन्दनीय र दुःखलाग्दो छ । ६ महिनासम्म आमाको मात्र दूध खुवाउनुपर्छ भनेर सिकाउने नर्सहरू २ महिनादेखि आफ्नो दूधे बालकलाई घरमा छोडेर ८ घण्टे लामो ड्युटीमा जानुपर्ने बाध्यता छ । आफू त्यही समयबाट गुज्रेर आएपछि सिनियर नर्सहरूले आफ्नो पुरानो धरातल बिर्सेर जुनियर नर्सहरूलाई काममा पेलेको तीतो यथार्थ अझै पनि धेरै ठाउँमा कायम नै छ । कुनै–कुनै स्वास्थ्य संस्थामा मात्र शिशु स्याहार केन्द्र (Child Care Centre) छन् भने धेरै संस्थाहरूमा यसको व्यवस्था हुन सकेको छैन । नर्सिङ्गमा सबैजसो महिलाहरूमात्र हुने भएकोले नर्सहरूको कार्य क्षेत्रभित्र शिशुस्याहार केन्द्रहरू अनिवार्यरूपमा हुनुपर्छ ।
जागिरको लागि परीक्षा उत्तीर्ण गरेर पनि स्वयम्सेवक गर्नुपर्ने, लामो समयसम्म ज्यालादारीमा राख्ने वा करारमा नै लामो समय रहने समस्याले गर्दा धेरैजसो नर्सहरू धेरै सेवासुविधाबाट वञ्चित छन् । अझ केही स्वास्थ्य संस्थाहरूमा त स्वयम्सेवक र विद्यार्थी नर्सहरूले मात्र संस्था चलाइरहेका छन् । लामो समय बिनापैसा स्वयम्सेवक गरेर पनि आफ्नो जागिरको सुनिश्चितता नहुने, ज्यालादारीमा राखिने गरेका छन् । सीमित नर्सहरू, जो सरकारी निकायमा कार्यरत छन्, उनीहरूलाई मात्र राम्रो तलब र सुविधा दिएका छन् भने धेरै नर्सहरू श्रम र आर्थिक शोषणमा परेका छन् । सरकारी स्वास्थ्य निकायमा नर्सहरूको पूर्ति गर्ने लोकसेवा आयोगले समयमा नै दरबन्दी खुलाउन नसक्नाले पनि धेरै नर्सहरू जागिरको अवसरबाट वञ्चित छन् र बेरोजगार हुन परेको छ । यसकारण पनि धेरै नर्सहरू विदेशिने क्रम बढेको हो । विदेशमा पनि नर्सहरूलाई सजिलो त पक्कै छैन तर सेवा सुविधाको हिसाबले तुलनात्मकरूपमा नेपालमा भन्दा राम्रो छ भन्ने गर्छन् विदेशमा कार्यरत नर्सहरू ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरू लामो समयदेखि विभिन्न मागहरू राखेर आन्दोलनरत छन् । यो आन्दोलनलाई न त नर्सहरूको हकहितको लागि लड्ने नर्सिङ्ग सङ्घले सम्बोधन गर्न सकेको छ न त नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले । स्वास्थ्य मन्त्रालयअन्तर्गतको निकायमा लामो समयदेखि नर्सहरू आन्दोलनमा रहेर बिरामीको सेवामा परेको असरको जिम्मेवारी कसले लिने ? शान्तिपूर्ण आन्दोलनमा रहेका आन्दोलनकारीलाई प्रहरी हस्तक्षेप गरी दमन गर्नु गलत र अप्रजातान्त्रिक छ ।
नेपालमा हाल PCC Nursing गर्न ४ देखि ६ लाखसम्म खर्च हुन्छ । तर अध्ययन पूरा भएपछि दक्ष जनशक्ति काम नपाएर घरै बस्नुपर्ने बाध्यता छ । त्यसैले सरकारले दक्ष जनशक्तिलाई उचित व्यवस्थापन गर्नुपर्छ र स्वदेशमै रोजगारको अवसर सृजना गरी Brain Drain को अन्त्य गर्नुपर्छ ।
हाल नेपाल सरकारले ‘एक विद्यालय एक नर्स’ को प्रावधान ल्याएको छ । यो सम्पूर्ण प्रदेशमा लागू हुनुपर्छ र यसलाई निरन्तरता दिइनुपर्छ ।
चिकित्सक र नर्सबीच भेदभाव
नेपाल सरकारको स्वास्थ्य प्रणालीमा MBBS गरेका चिकित्सकलाई आठाँै तहको मेडिकल अधिकृतमा राखेको छ तर स्नात्तक सकेका नर्सहरूलाई सातौँ तहको नर्सिङ्ग अधिकृत दिइएको छ । एउटै क्षेत्रमा स्नात्तक सकेका जनशक्तिलाई फरक–फरक तहमा राखेर नर्स र चिकित्सकबीच भेदभावपूर्ण नीति बनाइएको छ ।
त्यस्तै गरी MBBS पछिको स्नातकोत्तर MD, MS, MDGP) अध्ययन गर्ने चिकित्सकले मासिक भत्ता (Monthly stipend) पाउँछन् तर नर्सिङ्गमा स्नातकोत्तर (MSC Nursing/ Master in Nursing) अध्ययन गर्ने नर्सहरूले आफूले पाउने stipend पाउने त परै जाओस् बरु २ देखि ५ लाखसम्म सरकारी संस्थामा र १०–१५ लाखसम्म निजी संस्थानहरूमा पैसा बुझाएपछि मात्र पढ्न पाउँछन् । यसरी एउटै विषयमा अध्ययनको लागि चिकित्सकले भत्ता पाउने तर नर्सले नपाउने प्रावधान छ । स्वास्थ्य प्रणालीमा नीतिगत हिसाबले नै चिकित्सक र नर्सबीच भेदभाव गरेको छ । नर्सहरू सरकारको नीति बनाउने तहदेखि नै ठगिएको छ । जति राजनीतिक परिवर्तन र आन्दोलन भए पनि नर्सहरूको अवस्था र समस्या जस्ताको तस्तै छ ।
प्रत्येक वर्ष मे १२ (May 12 th) लाई संसारभरका सम्पूर्ण नर्सहरूले नर्सिङ्ग दिवसको रुपमा मनाउँदै आएका छन् । ‘द लेडी वीथ ल्याम्प’ (The Lady with Lamp) भनेर चिनिने फ्लोरेन्स नाइटिङ्गेलको जन्म दिवसको अवसरमा मनाइने १९९ आँै विश्व नर्सिङ्ग दिवसको अवसरमा सम्पूर्ण नर्सिङ्ग पेशाकर्मीलाई शुभकामना दिन चाहन्छु ।
लेखिका नर्सिङ समाज नेपालका अध्यक्ष हुनुहुन्छ ।
Leave a Reply