भर्खरै :

‘कम्युनिष्ट सरकार’ को भ्रम नफैलाइयोस्

– प्रकाश
नेपाली जनतामाझ जानेर वा नजानेर पनि कम्युनिष्ट अर्थात् साम्यवादी शब्दलाई बदनाम गर्ने खेलहरू भइरहेका छन् । वर्तमान सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो नाम सिद्धान्तको लागि भन्दा पनि परम्परागत नामथरको रुपमा ग्रहण गरेको राजनीतिबारे सामान्य जानकारी राख्ने जोकोहीलाई थाहा छ । यसअघि नेपाली काङ्ग्रेसका नेताहरूले ‘कम्युनिष्ट आयो, कम्युनिष्ट आयो’ भनी जत्ति आतङ्क मच्चाए, त्यो सच्चा कम्युनिष्टको डरले भन्दा सत्ताको आफ्नो भाग खोसेर खाने ‘भाइ काङ्ग्रेस’ आएको त्रासले हो भन्दा फरक पर्दैन । वर्तमान ओली नेतृत्वको ‘कम्युनिष्ट सरकार’ ले हिजोको काङ्ग्रेस नेतृत्वको ‘पुँजीवादी सरकार’ को भन्दा भिन्न कुनै नीति लिएको छैन न त हिजोका भ्रष्टाचार, घूसखोरी, कमिसनतन्त्र, विदेशीको दलालीजस्ता विकृति–विसङ्गति र खराबीहरू अन्त्य गर्न लागेको अनुभूति जनताले गर्न पाएका छन् । बरु हिजोकै खराबीको निरन्तरतामात्र होइन अझ बढी बढावा दिएको देखिएको छ ।
वर्तमान ओली सरकारले टेबल गरेको मिडिया काउन्सिल विधेयकलाई लिएर नेकांका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरू सरकारमा आएपछि रुन पनि पाइँदैन भनेको कुरा फेरि अभिव्यक्ति दिन भ्याए । देउवाको उक्त अभिव्यक्ति स्वयम् आधारहीन हो किनभने न त वर्तमान सरकार कुनै कम्युनिष्ट सरकार हो न त कम्युनिष्टहरूले अभिव्यक्ति स्वतन्त्रतामा अवरोध गर्ने नै हो । ओली सरकारले ल्याएका विधेयक र ऐनहरू त हिजो काङ्ग्रेसले ल्याएकै कालो विधेयेक÷ऐनहरूको क्रमागत विकास हो । ‘कम्युनिष्ट सरकार’ भनेर जुन प्रचार गरिएको छ, त्यो कम्युनिष्ट अर्थात् साम्यवादी शब्दलाई बदनाम गर्ने नियोजित र प्रायोजित खेलबाहेक केही होइन । सत्तारुढ नेकपा कुनै कम्युनिष्ट पार्टी नै होइन, कम्युनिष्ट भन्न सुहाउने न सिद्धान्त बाँकी छ न व्यवहार नै । बरु काङ्ग्रेसले भन्दा चर्को पुँजीवादी नीति लिएर ‘दाइ काङ्ग्रेस’ बन्न खोजिरहेको सत्य हो । नेपाली जनतामाझ र अन्तर्राष्ट्रिय समुदायमा ‘कम्युनिष्ट सरकार’ को भ्रम अब अरु नफैलाइयोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *