ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
जमिला
अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा साम्राज्यवादको नेतृत्वकर्ता देश संरा अमेरिकाले स्वाधीन र सार्वभौम देशहरूमाथि आफ्नो प्रभुत्व लाद्न हिजो जसरी बल प्रयोग गथ्र्यो आजपनि त्यसरी नै गर्दैछ । स्वाधीन तथा स्वतन्त्र देशहरू, आप्mना जनताको शक्तिको बलमा उभिएका ती सार्वभौम देशहरू साम्राज्यवादविरुद्ध हिजो जसरी सङ्घर्ष गर्थे आज पनि त्यसरी नै सङ्घर्ष गर्दैछन् । अन्तर्राष्ट्रिय जगतमा साम्राज्यवादको थिचोमिचोविरुद्ध न्यायप्रेमी जनताको आन्दोलन निरन्तर उठ्दैछ । आज भेनेजुयलामाथि संरा अमेरिकाको गिद्देदृष्टि र आधिपत्य जमाउने खेलले अन्तर्राष्ट्रिय राजनीतिमा चर्चा बढाउँदै छ । यही सन्दर्भमा भेनेजुयलाको इतिहासदेखि वर्तमानसम्मका उतारचढावपूर्ण अवधि, साम्राज्यवादी आक्रमणहरू र त्यसविरुद्धको लडाइँको समयचक्र समेटिएको पुस्तक ‘भेनेजुयला ः हिजो र आज’ हालै प्रकाशित भयो । भेनेजुयलाबारे नेपाली समाजलाई सत्यतथ्य जानकारी दिन, संरा अमेरिकाको स्वार्थ र कुकृत्य अवगत गराउँदै यस पुस्तक पत्रकार समाज नेपालले पाठकमाझ ल्याइपु¥याएको छ ।
पुस्तक ‘भेनेजुयला ः हिजो र आज’ अत्यन्त पठनीय छ । नेपाली समाजले खोजिरहेको समय सान्दर्भिक यस पुस्तकले दक्षिण अमेरिकाको एक सार्वभौम देश भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादले गरिरहको ठाडो हस्तक्षेपविरुद्ध सचेत पार्ने प्रयास गरेको छ ।
उपनिवेशवादविरुद्ध विजयको झन्डा गाड्ने ल्याटिन अमेरिकी मुक्तिदाता सिमोन बोलिभारको नेतृत्वमा स्वाधीन र सार्वभौम बनेको देश बोलिभारियाली क्रान्तिको उद्देश्य प्राप्तिका लागि अहोरात्र साम्राज्यवादविरुद्ध स्पात बनेर लड्ने ह्युगो चाभेजले नेतृत्व गरेको देश भेनेजुयला र राष्ट्रपति निकोलस माडुरो यतिबेला चर्चाको शिखरमा छन् । चाभेजकै सिद्धान्त र विचारको झन्डा बोकेर अगाडि बढिरहेका राष्ट्रपति तथा भेनेजुयलामा संवैधानिक तवरले जनताबाट दोस्रो पटक निर्वाचित राष्ट्रपति हुन् – निकोलस माडुरो । उनीविरुद्ध संरा अमेरिकाले राष्ट्रपतिको उम्मेदवार नै नबनेका ह्वाँ ग्वाइडो (पूर्व राष्ट्रियसभा अध्यक्ष) लाई असंवैधानिक तवरले अन्तरिम राष्ट्रपति स्वघोषणा गर्न लगायो । संरा अमेरिकाका केही पिछलग्गू देशहरू ग्वाइडो र भेनेजुयलाको स्वाधीनता, सार्वभौमिकता र भू–अखण्डतामाथिको संरा अमेरिकी हस्तक्षेपको पक्षमा उभिए । संसारका अधिकांश देशहरू, ल्याटिन अमेरिकी देशहरू र न्यायप्रेमी जनता माडुरो र भेनेजुयलाको पक्षमा ऐक्यबद्धता जनाउँदैछन् ।
भेनेजुयलाको वैधानिक राष्ट्रपति माडुरोले साम्राज्यवादविरुद्ध लड्ने अठोट लिएका छन् । उनले थालेको सङ्घर्षका शृङ्खलाहरू पुस्तकले उजागर गर्दछ । भेनेजुयलामा साम्राज्यवादी हस्तक्षेपको इतिहास लामो छ । इतिहासका केही खण्डहरू पुस्तकले पस्केको छ ।
संरा अमेरिकाका ५ औँ राष्ट्रपति मुनरोको सिद्धान्तलाई काखी च्यापेर ट्रम्प हिँडिरहेका छन् । ‘अमेरिका अमेरिकीहरूको’ र ल्याटिन अमेरिका आफ्नै करेसाबारी वा आँगन हो भन्ने मुनरो नीतिमार्फत ट्रम्प भेनेजुयलामा पस्न खोजेका हुन् । ट्रम्पलाई यो घटनाले एक प्रजातन्त्रविरोधी तथा मानवअधिकारविरोधीका रूपमा विश्वजगतमा उदाङ्गो पारेको छ । पुस्तकको भूमिकामा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँ लेख्नुहुन्छ, “कोरियाली प्रायःद्वीप, भियतनाम, अफगानिस्तान, इराक, लिविया र सिरियाबाट घाइते अमेरिकी साम्राज्यवादले ल्याटिन अमेरिकी महादेशमा युद्ध छेड्छ भने उसको आफ्नै दिनगन्ती सुरु हुने इतिहासको अध्ययनले बताउँछ । नेपाली उखान नै छ – खुकुरीले खसी र फर्सी काट्छ, तर ढुङ्गा काट्न सक्दैन ।”
भियतनाम, अफगानिस्तान, इराक, लिविया र सिरियाको इतिहासले संसारमै अत्यन्त बदनाम संरा अमेरिकी साम्राज्यवाद पराजयको मानसिकता बोकेर जताततै उपद्रोह मच्चाइरहेको छ, मर्न लागेको मानिसले बेस्सरी हातखुट्टा चलाएझँै ।
भेनेजुयला, बोलिभार र चाभेज चिनाउने गणेशजीको लेख सरल एवम् सन्देशमूलक छ । भेनेजुयलाको इतिहास, बोलिभार र चाभेजको क्रान्तिकारी व्यक्तित्वले पाठकलाई उत्साहित बनाउनेछ ।
भेनेजुयलामा संरा अमेरिकी साम्राज्यवादको हस्तक्षेपका नालीबेली केलाउँदै भेनेजुयलालाई किन तारो बनाइयो भन्नेबारे तथ्य पुस्तकले पाठकमाझ राखेको छ । भेनेजुयलाको प्राकृतिक तथा खनिजमाथि एकाधिकार जमाउन त्यसो गरिएको हो । भेनेजुयला, क्युवा र निकारागुवा सैद्धान्तिकरूपमा साम्राज्यवादविरोधी र समाजवादको पक्षमा सङ्घर्षरत छन् । ल्याटिन अमेरिकामा समाजवादी आन्दोलनलाई मत्थर पार्ने उद्देश्यले भेनेजुयलालाई तारो बनाइएको हुनसक्ने वस्तुपरक विश्लेषण पुस्तकमा छ । भेनेजुयलामा मानवीय सङ्कटको झूटो बहानामा मानवीय सहायतारूपी ट्रोजन हर्स पठाई सैनिक आक्रमण र नरसंहारजस्तो गम्भीर अपराध गर्न लागिएको सन्दर्भ पुस्तकमा छ ।
संरा अमेरिकी जनतालाई निकोलस माडुरोको खुलापत्रमा भनिएको छ – “हामी हाम्रो देशलाई सबभन्दा उच्च मानव सूचकाङ्क भएको र अमेरिकी महादेशमा सबभन्दा कम असमानता भएको देशको रूपमा गौरवपूर्वक अगाडि बढाउन चाहन्छौँ ।” पश्चिमा सञ्चारमाध्यम ‘राम्रो कुरा रोक्ने मेशिन’ को रूपमा पुस्तकले चित्रण गरेको छ । संरा अमेरिकाको नुनको सोझो गर्ने, भ्रमको खेती गर्ने र बलेको आगो ताप्ने ‘बीबीसी’ र ‘सीएनएन’ जस्ता प्रतिक्रियावादी सञ्चारमाध्यमको वास्तविकता पुस्तकले पाठकसम्म पु¥याएको छ । झूटलाई सही बनाउन, संसारलाई दिग्भ्रमित गर्न साम्राज्यवादी सञ्चार जगतले खेल्ने घिनलाग्दो भूमिकाबाट भेनेजुयला पनि अछुतो रहेन । पुस्तकमा राष्ट्रपति माडुरोसँग पत्रकार ओर्ला ग्युनिनले लिएको अन्तर्वार्ता प्रस्तुत छ । अन्तर्वार्ताले निकोलस माडुरो र उनको व्यक्तित्वमाथि थप प्रकाश पार्छ । उनको जवाफ दिने शैली प्रभावशाली छ । अन्तर्वार्ता निकै मार्मिक छ । माडुरोका प्रत्येक शब्दहरूमा देश छ, देशप्रेम छ, जनताप्रतिको विश्वास र इमानदारी छ । भेनेजुयलाप्रति पूर्वाग्रह ग्युरिनका प्रत्येक झूटा आरोपलाई माडुरोले प्रतिकार गरेको शब्द–दृश्य अत्यन्त रोचक पनि छ । संरा अमेरिकाको अतिरञ्जनापूर्ण प्रजारबाजीलाई माडुरोले अन्तर्वार्तामार्फत छ्यासेका छन् । साम्राज्यवादी अमेरिकाको हेपाहा र अपमानजनक व्यवहार, फासीवादी र आक्रमणकारी नीतिको माडुरोले खुलेर विरोध गरे ।
भेनेजुयला भोकमरी, मानवीय सङ्कट र आर्थिक सङ्कटले उठ्नै नसक्ने गरी थला परेको प्रचारबाजी गरियो । संरा अमेरिकाले मानवीय सहायताको नाटक मञ्चन ग¥यो । भेनेजुयलाको आर्थिक सङ्कट पछाडि अनेक कारण छन् । भेनेजुयलामा अहिले जतिपनि सङ्कट छन् ती सबैको एउटैमात्र कारण संरा अमेरिका नै हो । विगत दुई वर्षदेखि भेनेजुयलामा संरा अमेरिकाले नाकाबन्दी लगाइरहेको छ । संसारको कुनैपनि कुनामा भेनेजुयलाको नाममा रहेको बैङ्क खाता खोजी–खोजी रोक्का गरिएको छ । यस्ता समस्याहरूबीच भेनेजुयला आर्थिक उन्नयनका निम्ति तीनगुणा बढी मेहनत गरिरहेको तथ्याङ्क पुस्तकले पस्केको छ ।
माडुरो राष्ट्रपतिकालमा मुद्रास्फिती दर १० लाख प्रतिशत पुगेको तथ्याङ्क राख्ने ‘बीबीसी’ ले कुन हदसम्म झूटको खेती गर्छ भन्ने प्रस्ट तस्वीर पुस्तकले प्रस्तुत गरेको छ । भेनेजुयलामा माडुरोको दोस्रो कार्यकालको अर्थ, माडुरोको हत्या दुष्प्रयासका कारण र ल्याटिन अमेरिकी वामपन्थी आन्दोलनका चुनौतीबारे प्रकाशको विश्लेषणात्मक लेखहरू जानकारीमूलक छन् ।
अमेरिकी साम्राज्यवाद किन माडुरो सरकार हटाउन चाहन्छ ? शीर्षकको लेखमा माडुरोमाथिको हमलाका राजनीतिक, आर्थिक र कूटनीतिक कारणहरूबारे चर्चा गरिएको छ । तेल, ग्याँस र सुनमा संसारकै धनी देश भेनेजुयलालाई संरा अमेरिकाले आफ्नो खल्तीमा राख्न चाहन्छ । समाजवादी व्यवस्थालाई आर्थिक सङ्कटको कारक बताउने ट्रम्पको हस्तक्षेपकारी चरित्र उदाङ्गो पार्ने स्टेभ इलनरको लेखले भेनेजुयलाको आर्थिक समस्यालाई संरा अमेरिकाले थोपरेको कृत्रिम सङ्कटको रूपमा व्याख्या गरेको छ । ‘चाभेजपन्थीहरूलाई भोकभोकै मार्न’ आह्वान गरिरहेको संरा अमेरिकाले माडुरोलाई तानाशाही भनी झूटा आरोप लगाउनु हास्यास्पद छ । संरा अमेरिकाप्रति सचेत पाठकको घृणा जाग्नु स्वाभाविक छ ।
‘भेनेजुयलामा सैनिक विद्रोहको योजनाः अब के हुन्छ ?’ मा मार्को तेरिगीले संरा अमेरिकाले योजनाबद्ध ढङ्गले पाइला–पाइला गरी भेनेजुयलामाथि हस्तक्षेप र आक्रमण गरिरहेको प्रस्ट्याएका छन् । हतियार चोरीदेखि हिंसात्मक गतिविधिको घटनाक्रम लेखमा पाइन्छ । ग्वाइडो सैनिक विद्रोहको योजनाबाट समानान्तर सरकार सञ्चालन गर्न, आर्थिक कारबाही गर्न संरा अमेरिकाको घोडा बनेको पुष्टि लेखले गर्दछ ।
जर्मनीका प्रगतिशील कवि बर्टाेल्ट ब्रेख्त (१८९८–१९५६) ले भनेजस्तै साम्राज्यवादीहरू स्वतन्त्रताको कुरा गर्दै आक्रमणको तयारी गर्छन् । संरा अमेरिकाले मानवीय सहायताको नाममा हातहतियार भित्याउने र सेना खटाउने काम गरिरहेबाट त्यसको पुष्टि हुन्छ । त्यसविरुद्ध भेनेजुयाली सेना सङ्गठित भई सङ्घर्ष गर्दैछ । भेनेजुयाली सेना भन्छ – “हामी कहिल्यै पनि कालो इच्छाहरूको छायाले छोपेको राष्ट्रपति स्वीकार गर्नेछैनौँ । कानुनबाहिरबाट आपैmले दाबी गरेकोलाई पनि स्वीकार्दैनौँ ।”
इराम्सी पेरेजा फर्टिले भेनेजुयला सरकारलाई अस्थिर बनाउने १० वटा दुष्प्रयासबारे लेखेका छन् । भेनेजुयलामाथिको युद्ध झूटमा आधारित भएको पुष्ट्याईँ पेश गरेका छन् विश्वचर्चित अष्ट्रेलियाली खोजपत्रकार तथा वृत्तचित्र निर्माता जोन पिल्गरले । उनले चाभेजकालीन भेनेजुयलाको सजिव चित्र कोरेका छन् ।
नवउदारवादी प्रयोगशालामा भेनेजुयलाको अर्थतन्त्रबारे जष्टिन पोडुरको लेख मननीय छ । भेनेजुयला र भेनेजुयलाको सङ्घर्षको पक्षमा लेखिएको नोम चोम्स्कीको ‘हिजोको दुष्ट मण्डली र आजको तानाशाह त्रोइका’ ले बुशदेखि ट्रम्पसम्मको अत्याचारी साम्राज्यवादी रूप उदाङ्गो पारेको छ ।
‘वासिङ्गटन कि भेनेजुयला ? जङ्गली पुँजीवाद कि समाजवाद ?’ शीर्षकको लेखमा लुइस ब्रिट्टो गार्सियाद्वारा व्यक्त विचार मननयोग्य छ ।
भेनेजुयलाको राजनीतिक सङ्कटबारे अन्तर्राष्ट्रिय विद्वानहरूको विज्ञप्ति, श्रमिक साप्ताहिक र मजदुर दैनिकका सम्पादकीयहरूलगायत २८ वटा सङक्षिप्त या विस्तृत खालका लेखहरू समेटिएको यस पुस्तक भेनेजुयलाबारे सही सन्देश दिन सफल छ । विगतदेखि वर्तमानसम्मको भेनेजुयलाको सजिव चित्र प्रस्तुत गर्ने यस पुस्तक एउटा महत्वपूर्ण दस्तावेजको रूपमा समेत सङ्ग्रहणीय छ ।
संरा अमेरिकाले अन्तर्राष्ट्रिय जगतमा उपद्रोह मचाउन र कमजोरलाई निमोठ्न कहिल्यै छोड्ने छैन, इतिहासको अध्ययनले यही बताउँछ । इतिहासमा ६७ औँ पटक विभिन्न देशका राष्ट्रपतिहरू अपदस्थ गरिसकेको अमेरिकी साम्राज्यवाद माडुरो र भेनेजुयलाविरुद्ध योभन्दा निर्मम ढङ्गले प्रस्तुत हुनेमा कुनै शङ्का छैन । भेनेजुयाली जनताको साम्राज्यवादविरोधी आन्दोलनको इतिहास र माडुरोको सङ्घर्षशील तथा क्रान्तिकारी अडानको जित हुने उत्साहजनक सन्देश दिएर पुस्तकले विश्वका शान्तिकामी जनतामा ऊर्जा थपेको महसुस हुन्छ । यस पुस्तकको अन्तरक्रिया, छलफल र चर्चापरिचर्चाले नेपाली जनताको साम्राज्यवादविरोधी सङ्घर्षमा बल प्रदान गर्ने निश्चित छ । अनुवाद साहित्यको अभाव भोगिरहेको नेपाली साहित्यले यो एउटा नयाँ उपलब्धिको रूपमा ग्रहण गर्नेछ ।
पुस्तकको रङ्गीन गातामा भेनेजुयलाको मानचित्र छ, भेनेजुयलाको झन्डा, भेनेजुयाली जनता र भेनेजुयलाका नायकद्वय ह्युगो चाभेज र माडुरोको जीवन्त तस्वीर छ । पुस्तकभित्रका नक्सा, कार्टुनले पुस्तकलाई अझ ओजपूर्ण र सजिव बनाएको छ । ल्याटिन अमेरिकी वामपन्थी आन्दोलनबारे थप अध्ययन गर्न पुस्तकले हौस्याउँछ । यस्तो महत्वपूर्ण पुस्तक उपयुक्त समयमा प्रकाशित गर्ने पत्रकार समाज नेपालप्रति पाठक अनुग्रहित नभइरहन सक्दैनन् ।
दक्षिण अमेरिका, अफ्रिकालगायतका विभिन्न भू–भागमा उठिरहेका साम्राज्यवादविरोधी सङ्घर्षबारे थप स्तरीय अनुवाद साहित्यको अपेक्षा हुनु अन्यथा होइन ।
Leave a Reply