भर्खरै :

मानिसहरू ‘नयाँ राजतन्त्र’ स्थापना भयो भनी व्यङ्ग्य गर्दै छन्

गणतन्त्र दिवसको सन्दर्भमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग मजदुर दैनिक र गोरखापत्र दैनिकले लिएको अन्तर्वार्ता प्रस्तुत छ ः
– गणतन्त्र स्थापना भएको एघार वर्ष पूरा भयो । गणतन्त्र संरक्षण गर्न कसले के गर्नुपर्छ ?
गणतन्त्रमा राजतन्त्रमा जस्तो केही शासक परिवार र सामन्त वर्गको हुकुम चल्दैन, ऐन–कानुनको राज चल्छ । अहिले नेपालमा राजा र राजतन्त्र छैन । तर, शासक दलका नेता, कार्यकर्ता र आउरेबाउरे (विचौलिया, दलाल, ठेकेदार, गिट्टी–बालुवाका मालिक, कर चोर, तस्कर, गुण्डा र अपराधीहरू) को शासन छ । हिजो एकजना राजा र राजाको परिवारका केही सामन्तहरू थिए । आज धेरै नवधनाढ्य, नवसामन्त र नयाँ खान्दानीहरू तयार भए ।
हिजो राजा र राजपरिवार मन्दिर–मन्दिर, जात्रा र वसन्तपुर दरबारमा गई प्रजाहरूसामु शान देखाउँथे । आज त्यही काम राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र शासक नेताहरू गर्दै छन् । त्यसैले बुझ्ने मानिसहरू ‘नयाँ राजतन्त्र’ स्थापना भएको भनी व्यङ्ग्य गर्दै छन् ।
गणतन्त्रमा शासक होइन, जनता माथि हुन्छन् । शासक दलका नेता र कार्यकर्ताहरूले आफैंलाई जनता र शासक सम्झे । त्यस्तो भावना र दृष्टिकोण गणतान्त्रिक नभई सामन्ती र राजतन्त्रकै दृष्टिकोण हो । शासक दलहरूको दृष्टिकोण र व्यवहारकै कारण प्रजातन्त्र र गणतन्त्रका ‘ठेकेदारहरूप्रति’ घृणा जाहेर भइरहेको बेला पूर्वराजाले मन्दिर–मन्दिरमा गरेका पूजा र अन्य गतिविधि गर्नुले गणतन्त्रमाथि नयाँ हाँक र राजतन्त्रको पुनःस्थापनाको सम्भावना हुने हो कि भन्ने डर र त्रास देख्छन् ।
बाल्यकालको लुगा जसरी ठूलो उमेरमा त्यस व्यक्तिलाई ठीक हुँदैन, त्यस्तै अगाडि बढिसकेको समाजलाई पुरानो लुगा ठीक हुने कुरै छैन । अफगानिस्तानका अपदस्थ राजालाई पुनः सत्ता सम्हाल्न अनुरोध गर्दा उनले अस्वीकार गरेका थिए ।
– नेपालमा अहिले पनि गणतन्त्रसामु चुनौती देख्नुभएको छ ?
जसरी नवजात शिशुमा गर्भको रगतका टाटा हुन्छन्, त्यस्तै गणतन्त्रका शासकहरूमा राजतन्त्रका प्रवृत्ति हुन्छन् । सत्ताबाट फालिएका वर्गले अनेक कुटिल गतिविधि गर्नु अर्थात् ती दलहरूमा सामन्ती तत्वहरू घुसाउनु, नेता र कार्यकर्ताहरूमा फाटो ल्याउनु, नयाँ शासकहरूको तारिफ र प्रशंसाका गतिविधिहरू गरेर ‘नयाँ सम्राट’ हरूलाई जनताबाट अलग्ग पार्ने षड्यन्त्र गर्छन् । तिनीहरू धेरै किलोका महँगा फूलका माला, पैसाबाट ल्याइएका हुल जम्मा गरी सभा र स्वागतद्वारहरूले नेताहरूलाई फुर्काउने आदि षड्यन्त्रहरू गर्छन् ।
गणतन्त्रका सेनापति नेपोलियनलाई राजा घोषणा गरियो र नेपोलियन तेस्रो अर्थात् भतिजालाई सत्तामा ल्याएर नयाँ वंश चलाइयो । नेपालमा राष्ट्रपतिका छोरी र नातागोतालाई पदकहरू दिलाउनु सामान्य विषय होइन ।
भारतमा इन्दिरा गान्धीलाई रुद्राक्ष माला लगाउन दिनु, निर्वाचन घटाउन नहुने समयमै हात हेर्नेहरूबाट राम्रो लक्षण भएको बनाउन दिनु, स्वर्ण मन्दिरको घटना गर्न बाध्य पार्नु र त्यसको परिणाम अझ भयानक बनाउनु राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिगामी खेल बताइन्छ ।
बेलायतमा क्रामवेलका माथिल्ला सेना नायकहरूलाई आयरल्यान्ड कब्जा गर्न दिइयो, कति नेताहरूको नाममा सामन्तहरूको जग्गा नामसारी गर्न दिई क्रान्तिकारी चरित्र समाप्त पारियो अथवा क्रामवेलका छोरोलाई सत्तामा ल्याइयो उनी राजनीतिक र सैनिक नेता पनि नहुँदा राजीनामा दिन लगाई राजतन्त्रको पुनःस्थापना गरियो । नेपालमा नेका, एमाले र माओवादी नेताहरूलाई पनि शासनमा पु¥याई नयाँ खान्दानी वर्ग बनाइँदै छ ।
नेपाली गणतन्त्रवादीहरूलाई नयाँ खान्दानी वर्गमा पु¥याउनेहरूमध्ये कर्मचारीहरू, गैरकानुनी कार्यहरूलाई कानुनी बनाउने नातागोता, सिद्धान्तहीन र स्वार्थी नेता र कार्यकर्ता, व्यापारी, मालपोत कार्यालय, भन्सार, राजदूत र माथिल्ला पदहरूमा मनोनीत हुन चाहनेहरू प्रशंसा र तारिफ गरी पतन गराउँछन् । त्यसो हुन नदिन संसद्मा प्रतिपक्ष, स्वतन्त्र प्रेस र विभिन्न सिद्धान्तमा आधारित राजनीतिक दलहरूको बन्दोबस्त गरिएको हुन्छ । ‘मत सीमा’ (थे्रसहोल्ड) राख्ने केही शासक दलहरूको दुईदलीय र तीनदलीय तानाशाही प्रवृत्ति एवम् सरकार नछोड्ने उद्देश्यले स–साना सिद्धान्तहीन दलहरूसमेत सरकारमा लैजाने गैरजिम्मेवार मानसिकता गणतन्त्रका चुनौतीहरू देखिए ।
– गणतन्त्रलाई सर्वसाधारणले अपनत्व महसुस गर्न कसले के काम गर्नुपर्ला ?
शासक दलहरूले साधारण जनतालाई राजनीतिकरूपले सचेत पार्नै चाहेनन् । तिनीहरूले बेला–मौकामा आउने निर्वाचनमा जात, भाषा, धर्म, क्षेत्रीय भेदभाव गरी मत ताने, जनतामा साम्प्रदायिकता फैलाउने, पैसा र पदको घूस दिए, भोजभत्तेर, माछा–मासु, लुगा, ग्यासको सिलिन्डर र ग्यास चुल्हो घर–घरमा वितरण गरे । विदेशी कम्पनीसँग मिलेर निर्वाचनमा अनियमितता गर्ने र धाँधली गर्ने अपराधहरूको सहयोगमा उनीहरू सत्तामा पुगे । उनीहरूलाई व्यापार सङ्घ र कर्मचारी सङ्घले सत्तामा पु¥याए । आज तिनैको धम्कीबाट सरकार आक्रान्त छ । तर, सरकारी प्रचारयन्त्र र अन्य प्रचारयन्त्रले कहिल्यै राजनीतिक शिक्षा फैलाएनन्, सिद्धान्तनिष्ठ दलबाट भएका सरकारको आलोचनालाई बेवास्ता गरे । देश र जनताको सेवालाई कहिल्यै कर्तव्यको रूपमा लिएनन् । अनि काम–माम–कपडाको मात्रै ध्यान दिने जनताको राजनीतिक चेतना माथि नउठाई कसरी गणतन्त्रलाई जनताले अपनत्व देखाउने होलान् ?
– अहिलेका राजनीतिक दलका नेताहरूको क्रियाकलापले के गणतन्त्रलाई संस्थागत गर्ने सम्भावना देख्नुभएको छ ?
वर्तमान शासक दलहरूको क्रियाकलापले नै जनतामा गणतन्त्रप्रति अनास्था बढेको हो । शासक दलहरूको जी–हजुरी गर्ने र ‘गणतन्त्रलाई माया गर्नेहरू’ मा हिजोका पञ्चहरू आज नेका, एमाले, माओवादी, मधेसवादी र जातिवादी दलका नेताहरू, अनि ठेकेदार, तस्कर, वन म्हासुवा, कर छलुवा, गिट्टी बालुवाका व्यापारी, घर–जग्गाका दलाल र गुण्डाहरू, कालाबजारी, गाउँदेखि केन्द्रसम्मका जाली–फटाहा, कर्मचारीहरू छन् । यसकारण अहिलेको पुँजीवादी गणतन्त्रमा जनताको अपनत्व हुने कुरै भएन । निर्दलीय पञ्चायती व्यवस्था तीस वर्ष चल्यो भने बल र छलको भरमा गणतन्त्र अन्य देशमा पनि चल्दै छ, यहाँ पनि चल्छ ।
– गणतन्त्र म्हासिने राष्ट्रिय र अन्तर्राष्ट्रिय खतरा देख्नुभएको छ ?
आफ्नो स्वार्थको निम्ति गणतन्त्र ल्याउन सहयोग गर्ने विदेशी शक्ति स्वयम् नेपाल र नेपाली जनताको टाउकोमाथि डेमोकल्सको तरबारजस्तो झुण्डिएकै छ । धम्की र लोभ देखाएरै नेपाललाई बिम्स्टेक र हिन्द–प्रशान्त सैन्य गठबन्धनमा जान बाध्य पारियो । वास्तवमा पुँजीवादी व्यवस्थामा गणतन्त्र र संवैधानिक राजतन्त्रमा वर्गीयरूपले तात्विक अन्तर हुने गर्दैन । बेलायत र जापान यसका उदाहरण हुन् । खतरा त नेपालको निम्ति भारतीय विस्तारवाद र संरा अमेरिकी साम्राज्यवादको छ ।
– गणतन्त्रका बारेमा तपाईंलाई लागेका केही थप कुरा छन् कि ?
गणतन्त्र वर्ग सापेक्ष हुन्छ । दास युगको गणतन्त्र दास मालिकहरूको थियो । पुँजीवादी गणतन्त्र सबै पुँजीपति वर्गको स्वर्ग हो । समाजवादी गणतन्त्रमा मात्रै कामदार वर्गको निम्ति साँचो राजनीतिक, आर्थिक, सांस्कृतिक र मानव अधिकारहरू भएको प्रजातन्त्र हुनेछ । तर, राजतन्त्रभन्दा सिद्धान्ततः गणतन्त्र प्रगतिशील हुन्छ, व्यवहारमा हामी यसको अनुभव गर्दै छाँै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *