भर्खरै :

हिन्द–प्रशान्त रणनीति र नेपालको संवेदनशीलता

संरा अमेरिका र युरोप अबको विश्वयुद्ध चीनमा वा चीनको वरपर उछाल्ने सोचमा छन् । सोभियत सङ्घलाई जस्तै चीनलाई पनि देशभित्रै पछार्न संरा अमेरिका नेतृत्वको साम्राज्यवादी खेमाले निकै लामो प्रयास गरेको थियो । तर, सैद्धान्तिक विषयमा सम्झौता नगर्ने चिनियाँ विशेषता, समाजवादलाई कोरा सूत्रको रूपमा नअ·ाली आफ्नो देशको विशिष्टतामा प्रयोग गर्ने चिनियाँ अनुभव र सबल तथा सिद्धान्तनिष्ठ चिनियाँ नेतृत्वका कारण चीनभित्रै चिनियाँ समाजवाद विघटन गर्ने साम्राज्यवादको सपना साकार बन्न सकेन । आज साम्राज्यवाद नयाँ रणनीतिसहित चीनलाई ध्वस्त बनाउन अग्रसर छ ।
चीनलाई यसप्रकार घेराबन्दी गर्न संरा अमेरिकाले अघि सारेको रणनीति हिन्द–प्रशान्त गठबन्धन हो । नेपाल सरकारले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमार्फत नेपाल हिन्द–प्रशान्त गठबन्धनमा सहभागी नहुने प्रस्ट बनाएको छ । भूराजनीतिक महत्वका कारण नेपाललाई हिन्द–प्रशान्त गठबन्धनमा सामेल गर्न संरा अमेरिकाले चासो देखाइरहेको छ । हालै संरा अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले नेपाल र श्रीलङ्कालगायत दक्षिण एसियाली देशलाई हिन्द प्रशान्त गठबन्धनमा सामेल गर्न प्राथमिकता दिइने उल्लेख छ । त्यसको निम्ति नेपालमा उच्चस्तरीय अमेरिकी प्रतिनिधिहरूले भ्रमण गर्ने कार्यक्रम रहेको पनि त्यसमा उल्लेख भएको बताइन्छ । यसअघि पनि काठमाडौँ आएका हिन्द–प्रशान्त कमान्डका उच्चाधिकारीहरूले नेपाललाई हिन्द प्रशान्त गठबन्धनमा सामेल गर्ने प्रयास गर्दै आएका छन् । उनीहरूले ‘हिन्द प्रशान्त क्षेत्रमा सामेल बन्ने’, ‘प्रजग कोरियाको विरोध गर्ने’ जस्ता शर्तको आधारमा आर्थिक अनुदान दिने प्रस्तावसमेत गरेको समाचार प्रकाशमा आएका छन् । बिम्स्टेकलाई हिन्द–प्रशान्त गठबन्धनको उद्देश्यअनुरुप प्रयोग गर्दै जाने आशय पनि प्रस्ट देखिएको छ । बिम्स्टेकको नाममा नेपाललाई परोक्षरूपमा हिन्द प्रशान्त गठबन्धनतिर तान्दै लाने तानाबाना प्रस्ट छ ।
भूराजनीतिक संवेदनशीलताको कारण नेपालले यतिबेला चाल्ने हरेक कूटनीतिक पाइलाको विशेष महत्व र त्यसको प्रभाव दूरगामी हुनेछ । एकातिर उत्तरी छिमेकी चीनले बेल्ट एन्ड रोड परियोजनासहित आफ्नो समृद्धिको अनुभव संसारभर उपयोग गर्न खोजिरहेको छ भने अर्कोतिर संरा अमेरिकाद्वारा प्रस्तावित हिन्द प्रशान्त गठबन्धनको क्षेत्रीय नेताको रूपमा अर्को छिमेकी भारत अघि बढ्न खोजिरहेको छ । यस्तो परिस्थितिमा नेपालले गर्ने एउटै कूटनीतिक वा सामरिक गल्तीले देशको सार्वभौमिकतामाथि खतरा हुनसक्छ । हरेक ठूला युद्धका क्रममा स–साना देशले सुरुमै सार्वभौमिकता गुमाएको इतिहास छ ।
बेल्ट एन्ड रोड परियोजनामा नेपालको सहभागिता देशको पूर्वाधार विकासमा सहयोग प्राप्त गर्ने अभिप्रायबाट अभिप्रेरित हो । बीआरआई कुनै सैनिक मनसायले अघि बढेको परियोजना होइन । बीआरआईमार्फत चीनबाट कहिल्यै कुनै पनि देशमा हस्तक्षेप भएको छैन । तर, हिन्द–प्रशान्त परियोजना मूलतः सैनिक गठबन्धन हो । यो सैनिक गठबन्धनमा सामेल हुनुको अर्थ देश राजनीतिक द्वन्द्वमा फस्दै जानु हो ।
साम्राज्यवादले आफ्नो रणनीति सफल बनाउन नेपाली शासक वर्गलाई फकाउन छोडेको छैन । भनेको कुरा नमान्दा साम्राज्यवादले साना देशका शासकलाई बन्धक बनाउने, सत्ताच्युत गर्ने, हत्या गर्नेसम्मका काम गर्ने गरेको छ । तर, त्यही देशको सार्वभौमिकता र स्वाभिमान उँचो रहने गरेको छ जुन देश साम्राज्यवादका त्यस्ता कुनै पनि लोभलालच, धम्कीसामु झुक्ने गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *