भर्खरै :

राजनैतिक गाईजात्रा !

पानी माथिबाट तल झर्छ भनेजस्तै विचार, व्यवहार, शिष्टता र सदाचारजस्ता विषय पनि नयाँ पुस्ताले माथिबाटै सिक्ने गर्छ – गुरु, आमा–बाबु र नेताहरूबाट ! समाजमा देखिने भ्रष्टाचारसमेत माथिल्ला पदधारीहरूबाट सिक्ने परिपाटी रहेको हाम्रो देशमा अब पद लोलुपता पनि शासक पार्टीका अध्यक्ष र प्रधानमन्त्रीहरूबाटै सिक्नु स्वाभाविक हुने भयो ।
२०१५ सालको महानिर्वाचनपछि बी.पी. कोइराला प्रधानमन्त्री भएपनि अढाइ वर्षपछि सूवर्ण समशेर हुनेबारे भित्रभित्र चर्चा हुने गथ्र्यो । तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूको कार्यकालमा नेपालको संसद् र दरबारको बीचमा पुलको काम गर्ने व्यक्तिलाई प्रधानमन्त्री बनाउनेबारे नारायणहिटी राजदरबार र दिल्ली दरबारमा समझदारी भएको थियो । तर, जनताको बहुमतले चुनेको व्यक्ति वा पार्टी नेतृत्वलाई प्रधानमन्त्री नबनाई अर्को व्यक्तिलाई प्रम बनाउनु प्रजातान्त्रिक र संसदीय परम्पराको उल्लङ्घन हो । भारतका जयप्रकाश नारायण र डा. लोहियाजस्ता नेताहरूलाई प्रधानमन्त्रीको कार्यकाल विभाजन सम्बन्धमा भएको उक्त समझदारी उपयुक्त नलागेको कुरा २०१७ साल पुस १ गतेको घटनापछि सा¥है चर्चाको विषय बनेको थियो ।
आज पुनः नेकपा (एमाले र माओवादी) का अध्यक्षहरूको प्रधानमन्त्री कार्यकाल आधा–आधा हुने शीर्षकको समाचार बन्यो । १८ जेठ २०७६ को कान्तिपुरले लेख्यो, ‘दाहालको दबावबारे प्रधानमन्त्रीले भने, “नेपालको राजनीतिको स्तर,” ।’ समाचार अगाडि बढ्यो – प्रायः व्यङ्ग्यविनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको दिल्ली यात्रामा खिन्नझैँ देखिन्थे । “… मेरो कार्यकाल एक वर्ष होइन, चार–पाँच दिनमात्र बाँकी छ,” उनले व्यङ्ग्य मिश्रित शब्दमा भने, “यो कुनै गोप्य दस्तावेज होइन” … “उहिले नै सार्वजनिक भएको विषयलाई यतिबेला उछालेका छन् । यो त नेपालको राजनीतिक स्तर र चरित्र हो,” । १८ जेठमै अन्नपूर्णले ओली, माधव, झलनाथ, वामदेव, नारायणकाजी, ईश्वर पोखरेल, बादल, विष्णु पौडेल र प्रचण्डको तस्वीर छाप्दै लेख्यो – “९ नेता ९ खेमा ।”
शनिबार विराटनगरमा पत्रकारहरूसँग दाहालले भने, “एक वर्षपछि म प्रधानमन्त्री बन्छु ।” (कान्तिपुर, १९ जेठ २०७६)
प्रम ओलीले भने, “एकता हुन नदिने, एकता भएकालाई पनि फुटाउन खोज्ने र पार्टी शीर्ष नेतामा फाटो ल्याउन खोज्ने प्रवृत्ति बढ्दै गएको छ ।” प्रम र अध्यक्ष ओलीले त्यसो भनिरहँदा ‘झापा समूह’ ले कुन –कुन राजनैतिक दल र समूहलाई फुटाएर वा फकाएर एमालेको निर्माण ग¥यो र त्यो पार्टी सरकारमा पुग्यो भन्नेबारे अहिले सम्झना नहुनु स्वाभाविक हो ।
त्यस्तै चौथो महाधिवेशन, ‘मशाल’ र मसाल’ अनि जनमोर्चा र ‘माओवादी’ सम्मको बाटोमा कति दल र समूहलाई फुटाइयो वा सत्ताकै निम्ति कुन – कुन शक्तिको आडमा कति हत्या, हिंसा र आगजनी गरियो, कति लुटियो, ‘युद्ध कर’ उठाइयो र डकैती गरियो ? यी सबै तपसिलका विषय बने र पद, पैसा एवम् सत्ताको झिलिमिलीमा सबै अपराध चोख्याइए, तथा हातमा लागेका सबै काला र रगतका दागहरू पखालिए !
हिजो चुरोट सोख र बडापन देखाउने माध्यम थियो । समयले चुरोटलाई डरलाग्दो रोगको कारण बनायो । हिजोको पदको लालच र सत्ताको लुछाचुँडी नै चुरोटको तलतलबाट जोगिन नसकेझैँ भएको हो भने कुनै पनि ‘नेता’ हरूको अन्त्य पनि इतिहासका अन्य खलनायकहरूको जस्तै दुःखान्त हुने निश्चित छ ।
पदमा बस्नेहरूले आफ्नो गलत सङ्गत छोड्न सकेनन् भने परिणाम सुखद हुँदैन र पदको गरिमा त पटक – पटक रछ्यानमा मिल्किनेछ । १९ जेठ २०७६ को ‘नागरिक’ ले लेख्यो, “बुझ्दै नबुझी कार्यक्रममा जाँदाको परिणाम, पोखरामा होटल उद्घाटन नगरी फर्किए प्रधानमन्त्री ।,”
नागरिकले थप लेख्यो, ‘नेकपामा रस्साकस्सी, दाहाललाई पोखरेलको चुनौती ।’
‘सत्तापक्षमा मात्र ‘गाईजात्रा’ होइन प्रमुख प्रतिपक्ष काङ्ग्रेसमा पनि गुटै गुट ।’ (अन्नपूर्ण, १९ जेठ २०७६) देश र जनताको सेवाभन्दा व्यक्तिगत र समूहगत स्वार्थले पार्टीलाई असहज परिस्थितिमा पु¥याउँछ । देश र जनताको निःस्वार्थरूपले सेवा गर्ने उद्देश्यले विचार र नीतिमा भिन्नता हुनु निश्चय पनि नकारात्मक विषय हुने गर्दैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *