भर्खरै :

साउदी अरबमा नेपाली श्रमिकको दयनीय अवस्था

साउदी अरेबिया नेपाली श्रमिकको वैदेशिक रोजगारको मुख्य गन्तव्यमध्ये एक हो । करिब ४ लाख नेपाली कामदार कार्यरत रहेको साउदीमा गत वर्षमात्रै पुनः श्रम स्वीकृति लिएर १ लाख ८ हजार कामदार गए । अमेरिकापछि दोस्रो धेरै रेमिट्यान्स पठाउनेमा साउदी हो । तर, यो आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १ सय ६९ जनाले ज्यान गुमाइसकेका छन् ।
अघिल्लो वर्ष त्यो सङ्ख्या २ सय ३ थियो । साउदीमा गम्भीर बिरामी पर्ने तथा अङ्गभङ्ग हुने कामदारको सङ्ख्या पनि ठूलै छ । करिब ४० वर्ष त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयको अध्यापन गरेका प्रा.डा. महेन्द्रप्रसाद सिंह दुई वर्षयता साउदी अरबका लागि नेपाली राजदूतको जिम्मेवारीमा छन् । केही दिनअघि बिदामा आएका राजदूत सिंहसँग नयाँ पत्रिकाका गोपाल साउदले गरेको कुराकानी पाठकको जानकारीको लागि साभार गरिएको छ ।
– दुई वर्षयता तपाईँ साउदीका लागि नेपाली राजदूतको जिम्मेवारी हुनुहुन्छ । यस अवधिमा त्यहाँ रहेका नेपाली कामदारको अवस्था कस्तो पाउनुभयो ?
जहाँसम्म वैदेशिक रोजगारमा जाने कामदारको अवस्थाको कुरा छ, सबैजसो खाडी र मलेसियामा उस्तै–उस्तै हो । कुनै निश्चित देशको कानुनअनुसार न्याय सम्पादन र समस्या समाधानमा अन्तर त हुन्छ नै, त्यसबाहेक कामदारको समस्या उस्तै–उस्तै हो । साउदीमा करिब ४ लाखको हाराहारीमा नेपाली कामदार छन् । नेपाली कामदार अनुशासित र मिहिनेती हुन्छन् भन्ने त्यहाँको आम धारणा छ ।
रेमिट्यान्सको हिसाबले हाम्रा लागि साउदी अझ महत्वपूर्ण हो । तर, त्यत्तिकै समस्या पनि छन् । परिचयपत्र (अकामा) समयमा नबनाइदिने, तलब समयमा नदिने, दिइहाले पनि आंशिक रूपमा दिने, केही ठाउँमा त दिँदै नदिने, नेपाल नफर्काइ दिएका जस्ता अनेक किसिमका झमेला हुन्छन् । वर्षमा करिब १० हजार कामदार यस्ता समस्या लिएर दूतावासमा आउने गर्छन् । हामीले दूतावासको तर्फबाट कामदारको समस्या सल्टाउने काम गर्दै आएका छौँ ।
– यति ठूलो देश छ, कामदारका समस्या सुल्झाउन समन्वय कसरी गरिरहनुभएको छ ?
साउदीको क्षेत्रफल भारतको दुईतिहाइ छ । जनसङ्ख्या भने न्यून छ । नेपालको भन्दा २०–२५ लाख मात्र बढी । पूर्व–पश्चिम लम्बाइ करिब ५ हजार किमि छ । हामीले बीचमा रहेर २ हजारदेखि २ हजार ५ सय किलोमिटर पूर्व र त्यति नै दूरी पश्चिमको क्षेत्रका लागि काम गर्नुपरिरहेको छ । हाम्रो राजदूतावास रियादमा छ । जेद्दा क्षेत्रको श्रमसम्बन्धी विषय हेर्न छुट्टै महावाणिज्य दूतावास छ । हो, ठूलो भूगोल भएकाले श्रमिकका समस्या समाधानमा अलि बढी समय लाग्ने गर्छ ।
कुनै पीडित व्यक्ति दुई हजार किलोमिटर टाढाबाट आउन समय लाग्छ । हरेक दुई दिनमा एउटा शव पठाउनुपर्छ । म सुरुमा जाँदा त्यहाँ काम गर्ने नेपाली श्रमिकको तलब मुस्किलले मासिक ६ सय रियाल थियो । न्यूनतम तलब १ हजार कायम गर्न पहल गरेँ । त्यहाँ जाँदा २० जनाजति श्रमिकको शव नेपाल पठाउनुपर्ने अवस्थामा थियो । अहिले त्यसरी लामो समयसम्म धेरै शव जम्मा हुने अवस्था छैन ।
– साउदीमा रोजगारीका लागि गएका केही नेपालीलाई ज्यान मुद्दामा मृत्युदण्डको फैसला सुनाइएको छ । उनीहरूको जीवनरक्षाका साथै अन्य जेलजीवन बिताइरहेका नेपालीको रिहाइको विषयमा के भइरहेको छ ?
साउदीमा सत्न्दा बढी कैदी बन्दी छन् । त्यसमध्ये ८० प्रतिशत रक्सी उत्पादन, बेचबिखन र सेवन अभियोगमा परेका हुन् । बाँकी हत्या, दुर्घटनामा पारेका जस्ता फौजदारी कसुरका हुन् । कैद सजाय भुक्तान गरिसकेपछि पनि जेलमुक्त गर्ने प्रक्रियामै थप ६–७ महिना लाग्छ । पछिल्लो डेढ महिनामा मात्रै ८१ जनालाई जेलमुक्त गरायौँ । ५१ जनालाई राजाबाट माफी दिलायौँ । समग्रमा जेल सजायको समस्या सल्टिरहेको छ । मृत्युदण्ड सुनाइएका ४ जनाको मुद्दा पनि अत्यन्त गम्भीरताका साथ लडिरहेका छौँ । कसुरको प्रकृतिअनुसार मृत्युदण्ड सुनाइएको हुन्छ । मृतकको परिवारले क्षमादान दिएको अवस्थामा वा ब्लडमनी मागेको अवस्थामा अदालतले फैसला गरे उनीहरू छुट्छन् ।
– त्यहाँ रहेका कामदारले भोग्ने समस्याहरू कस्ता–कस्ता हुन्छन् ?
केही दिनअघि पे्रमबहादुर भुजेल नाम गरेका एकजना कामदार दूतावासको सम्पर्कमा आए । वर्षौँअघि उनी नेपालबाट साउदीमा काम गर्न गएका रहेछन् । पहिलो कम्पनीमा केही वर्ष काम गरिसकेपछि अर्कोमा काम थालेछन् । दुर्भाग्यवश, उनी दुर्घटनामा परे । कसैले अस्पतालसम्म पु¥याइदिएछ । उपचार भइसकेपछि एकजना नेपालीले उनलाई दूतावासमा ल्याएर छोडिदियो । उनी न उठ्न सक्छन्, न बस्न सक्छन् । दिसापिसाब पनि सफा गरिदिनुपर्छ । सधैँ त्यस्तो काम गर्न दूतावासमा कसले पो मान्छ र ! दुई–तीन महिनादेखि उनी हाम्रै सेल्टरमा छन् । उनलाई स्वदेश पठाइदिए उपचार हुन्छ भनेर सोचेका थियौँ । ८ लाख साउदी रियाल (अढाई करोड रूपैयाँ) अस्पतालमा बुझाउन बाँकी रहेछ । बक्यौता नतिरी स्वदेश पठाउन सकिएन ।
– महिलाका समस्या कस्ता छन् ?
सोझै साउदी जान नपाउने भए पनि कुवेततर्फबाट हाम्रा चेलीहरू अवैधरूपमा साउदी पु¥याइन्छ । त्यसरी पुगेका महिला पनि जटिल किसिमको समस्यामा परेका छन् । वर्षमा औसत ५० भन्दा बढी महिलालाई उद्धार गरेर सेल्टरमा ल्याउने गरेका छौँ । त्यसरी ल्याएकी एक महिला सुत्केरी भएकी छिन् । नेपाल छोडेको तीन वर्षपछि उनी हाम्रो सम्पर्कमा आएकी थिइन् । बाबुको ठेगान थिएन । त्यो सन्तानका कारण उनलाई नेपाल पठाउन सकिनँ । मैले गृह मन्त्रालयलाई चिठी पठाएको थिएँ । अहिलेसम्म स्पष्ट जवाफ आएको छैन । त्यतिमात्र होइन, राति १२–१ बजेतिर केही महिला ‘समस्यामा परेँ, मलाई उद्धार गरिदिनुहोस् ! भन्दै फोनमा बिलौना गर्छन् ।
मरुभूमिको बालुवा छेक्न त्यहाँका घरमा १५ फिटभन्दा अग्ला पर्खाल लगाइएका हुन्छन् । हेर्दा हरेक घर झ्यालखानाजस्तो लाग्छ । त्यहाँ को छन् ? कति छन् ? केही थाहा हुँदैन । घरायसी कामका लागि लगिएका महिलालाई प्रायः घरबाट निस्किनै दिँदैनन् । कहिलेकाहीँ तरकारी–दूध किन्न, बच्चालाई विद्यालय पु¥याउन गएको बेला मौका पारेर फोन गर्छन् । यस्तो समस्या हजार–दुई हजार किलोमिटर टाढाबाट आउँछ । हाम्रा कर्मचारी गाडी लगेर मौका कुरेर बस्छन् । उद्धार गर्न गएको भए पनि अपहरणको शैलीमा उनीहरूलाई गाडीमा राखेर भाग्नुपर्छ । एक–दुईपटक त्यसरी भाग्दा बीचैमा पुलिसले समातेको थियो । थुनिएपछि हाम्रा कर्मचारीले दूतावासमा फोन गरेर जानकारी गराउँछन् । छुटाएर ल्याउनुपर्छ ।
– कसरी महिलाहरूलाई त्यहाँ पु¥याइन्छ ?
नेपालबाट सोझै साउदी जान पनि सकिन्छ । तर, म्यानपावरका दलाल गाउँ–गाउँ पुगेका छन् । मुख्य गरी पश्चिम नेपालको सीमाबाट भारत पु¥याइन्छ । भारतबाट कुवेत । साउदी र कुवेतबीच राहदानी आवश्यक पर्दैन । वारिपारि बिहेवारी पनि चल्छ । दिल्लीबाट कुवेत लगेर केही महिना राखेपछि नेपाली महिलालाई घरेलु कामका लागि साउदी पु¥याइन्छ । मैले त्यहाँको राहदानी विभागका कर्मचारीलाई सीमामा राहदानी चेकजाँच गरिदिन अनुरोध गरेको थिएँ । तर, उनीहरूले नसक्ने जवाफ दिए । बरु, कुवेतलाई जाँच गर्न लगाउन सुझाए ।
– घरेलु कामदारका रूपमा महिलालाई वैदेशिक रोजगारीमा जान रोक लगाएकाले तस्करी बढेको भन्ने छ नि !
महिला कामदारलाई घरेलु कामदारको रूपमा विदेश पठाउने विषयमा धेरै सोच्नुपर्छ । मेरो विचारमा त्यसरी महिला कामदार विदेश पठाउन आवश्यक छैन । पठाउनैपरे हाम्रो पहुँच भएका, पारदर्शिता भएका र आवश्यक परेको अवस्थामा भेट्न सकिने किसिमको सङ्गठित क्षेत्रमा मात्र पठाउनुपर्छ । वास्तवमा मानव तस्करी विश्वव्यापी समस्याको विषय हो । घरेलु कामदार पठाउन सुरु गरे पनि मानव तस्करी रोकिनेवाला छैन ।
हाम्रो दैनिकी नै उद्धार गर्नु, थला परेका बिरामीको सघन उपचार गर्नु, लास पठाउनुमै बित्छ । साउदीमा मृत्यु हुने नेपाली कामदारमध्ये ७० देखि ७५ प्रतिशत सडक दुर्घटनाका हुन्छन् । बाँकीको प्राकृतिक मृत्यु भनिने गरेको छ । त्यसमा काम गर्दागर्दै मृत्यु हुने, चर्को गर्मीमा काम गरेर आएपछि चिसो एसी लगाउँदा सुतेको सुत्यै हुने पनि छन् । सामान्य चेतनाकै अभावमा हाम्रा थुप्रै कामदारले ज्यान गुमाइरहेका छन् ।
– वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै कामदार प्रदेश नम्बर २ बाट छन् र समस्यामा पर्नेहरू पनि बढी त्यहीँकै छन् । तपाईँ त्यही प्रदेशकै स्थानीयवासी भएका नाताले प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने कामदारको पक्षमा कुनै विशेष काम गर्नुभएको छ ?
दुई नम्बर प्रदेशबाट मात्रै विभिन्न देशको रोजगारीमा २३ लाख कामदार गएका छन् । मैले प्रदेशका मुख्यमन्त्रीलाई भेटेर भाषा तालिमको व्यवस्था गरिदिन अनुरोध गरेको छु । म्यानपावरलाई उनीहरूले १ लाखसम्म बुझाइरहेका छन् भने बरु २ हजार भाषा सिकाउनेले लिओस् । त्यो धेरै कठिन काम होइन । तराईबाट जाने कामदारहरू जति समस्यामा परेका छन्, त्यति अन्यत्रका छैनन् । चेतनास्तर मुख्य कारण हो । पढेलेखेका कामदारलाई म्यानपावरले पनि ठग्न सक्दैन । ‘आफू गलत ठाउँमा गइरहेको छु भन्ने कामदारलाई पो थाहा छैन तर गलत ठाउँमा पठाइरहेको छु, ढाँट्दै छु,’ भन्ने म्यानपावरलाई त अवश्य थाहा हुन्छ नि । म्यानपावर नैतिक जिम्मेवारीबाट पनि पन्छिन मिल्दैन । म्यानपावर कम्पनी जिम्मेवार बन्नैपर्छ ।
– अन्य मुलुकको दाँजोमा साउदीमा जाने कामदारको समस्या अलि जटिल छ । उद्धार, राहत र स्वदेश फिर्तीलगायतका कामका लागि दूतावाससँग जनशक्ति र स्रोत–साधन पर्याप्त छन् त ?
दूतावासमा २१ जना कर्मचारीमात्रै छन् । म गएपछि लगातार स्रोत–साधनको अभाव झेल्दै आएको छु । यहाँ फर्केपछि वैदेशिक रोजगार बोर्डमा आवश्यक जनशक्तिको प्रबन्धका लागि अनुरोध गरेको छु । ‘धेरै जनशक्ति नभए पनि कम्तीमा पाँचजनाको प्रबन्ध गरिदिनुहोस् भनेको छु । तर, उनीहरू दुईजना पठाउन पनि तयार छैनन् । हाम्रो दूतावासको समस्या यहाँकाले बुझेका छैनन् वा बुझ पचाइरहेका छन् । मैले त तपाईँ आफैं आउनुहोस्, हामीले कसरी काम गरिरहेका छौँ, हेर्नुहोस् भनेको पनि छु ।
६–७ कोठाको रेसिडेन्सियल क्वाटर छ । नेपालको भूमिसुधार कार्यालयजस्तो लाग्ने साँघुरो भवनमा दूतावास छ, त्यो पनि भाडाको । मैले अर्थ मन्त्रालयमा गएर सस्तोमा घर किनौँ भनेर प्रस्ताव गरेको थिएँ । दुई वर्षदेखि कराइरहेको छु । २५ सय किलोमिटर टाढासम्म दुगुर्नुपर्छ । दूतावासमा भएको एउटा गाडी पनि जर्जर पुरानो छ । म चढ्ने गाडी पनि १० वर्ष पुरानो हो ।
– साउदी मुख्य गन्तव्य त हो तर हालसम्म कुनै किसिमको द्विपक्षीय सम्झौता हुन नसकेकोले कामदारले यति धेरै समस्या झेल्नुपरेको त होइन ?
हामीले २०–२५ वर्षदेखि साउदीमा कामदार पठाउँदै आएका छौँ । तर, अहिलेसम्म दुई सरकारबीच कामदारको हकका विषयमा कुनै सम्झौता भएको छैन । सर्वोच्च अदालतले पनि सम्झौता गरेरमात्र कामदार पठाउन आदेश दिएको हो । तर, कार्यान्वयन भएको छैन । श्रम सम्झौता भएमा दुवै पक्षका राष्ट्र बाँधिने थिए ।
कामदारका समस्या लिएर म त्यहाँका गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीकहाँ गइरहेको हुन्छु । तर, उनीहरू सम्झौता नभएको भन्दै सजिलै पन्छिदिन्छन् ।
उनीहरूलाई बाध्य बनाउने कुनै उपाय हामीसँग छैन । द्विपक्षीय श्रम–सम्झौता त हुनैपर्छ । त्यो अनिवार्य नै छ । वैदेशिक रोजगारीलाई सङ्गठित बनाउनैपर्छ । यही कारण मलेसिया कामदार पठाउन रोकिएको छ, यो मलाई पनि ठीक लागेको छ । कामदारका आधारभूत अधिकार रक्षाको विषय छिनोफानो होस्, त्यसपछि पठाउन सकिन्छ ।
साउदीमा कफिल प्रणाली छ । त्यो भनेको कामदारमाथि मालिकको स्वामित्व हुने पद्धति हो । रोजगारदातासँग दुई वर्षसम्मको करार गरेर कामदार गएको हुन्छ । त्यसबीचमा कम्पनी छोड्नुपरेको अवस्थामा रोजगारदाताले अर्को रोजगारदाताको नाममा कामदारउपरको स्वामित्व हस्तान्तरण गरिदिनुपर्छ । साउदी कानुनअनुसार स्वामित्व हस्तान्तरण नभएरै रोजगारदाता (कफिल) परिवर्तन गरेको अवस्थामा कामदार स्वतः गैरकानुनी ठहरिन्छ । धेरैजसो समस्या खराब रोजगारदाताका कारण भइरहेको छ ।
पारिश्रमिक पनि नदिने, रोजगारदाता परिवर्तन गर्न पनि नमान्ने । त्यसमाथि देश छाड्न दिने कि नदिने भन्ने अनुमति उनीहरूकै हातमा हुन्छ । साउदीको कानुनअनुसार त्यसलाई कफिलको अधिकारको विषय बनाइएको छ । साउदीको व्यवस्था त्यस्तै छ । यस किसिमको अवस्थामा साउदी जाने कामदारको हक–अधिकार रक्षाका लागि श्रम सम्झौता अत्यन्तै आवश्यक बनिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *