भर्खरै :

प्रम र सहयोगीहरू !?

प्रम ओलीलाई सम्बोधन गरिएका वा ध्यानाकर्षण गरिएका धेरै लेख–रचना र चिठी एवम् व्यङ्ग्य हरेक हप्ता पढ्न पाइन्छ । पाठकहरू मन–मनमा गुन्दै ती सबै तिता–मीठा हास्यव्यङ्ग्य एवम् सल्लाह–सुझाव टिप्पणी, समर्थन, धन्यवाद र आलोचनाबाट सहयोग गरेकोमा प्रमका प्रशंसाका दुई शब्द खोज्ने गर्छन् । तर, पाठकहरू निराश हुन्छन् र नेपाली प्रम त अमेरिकी राष्ट्रपति ट्रम्पजस्तै कुस्तीको निम्ति तयार हुँदै नाडी निमोठिएका शब्दहरू सुनेको कल्पना गर्छन्, संसद्मा प्रमुख प्रतिपक्षप्रतिको वचनवाण जस्तै ।
नेपाली जनताले प्रम ओलीको राजनैतिक दल नेकपाको विचार र नीतिसँग सहमत नभए पनि आफ्ना प्रधानमन्त्रीको प्रस्तुति अत्यन्त सुन्दर, शिष्ट र मित्रवत् हुने आशा गर्नु अन्यथा हुँदैन । ठीक छ, आलोचक र विरोधीहरूको दृष्टिकोणसँग सहमत हुन नसकेकोमा आफू दुःखी भएको र पछि – पछि सहमतिका विन्दुहरू खोज्ने प्रयत्न हुनेमा विश्वास दिलाउनु सदाचार हो । व्यावहारिक संस्कृति एवम् अभिव्यक्ति स्निग्धतामा दरिद्रता अनुभव कसैले गर्न सक्दैन । कामको बोझले तनावमा हुनु संसारका हरेक प्रधानमन्त्रीहरूले भोगेको अनुभव बुझ्ने पाठकहरूको निम्ति बताइरहनुपर्दैन । यो स्वाभाविक विषय हो ।
त्यस स्थितिलाई सहज बनाउने कला प्रमका सहयोगीहरूकोे कला र तत्परतामा निर्भर गर्छ । भन्ने गरिन्छ, राजनीति गुलाबको ओछ्यान होइन । तर, राज्यले प्रमलाई सजिलो र बुद्धिमत्तापूर्ण निर्णय गर्न र गराउन योग्य विशेषज्ञहरू प्रदान गरेकै हुन्छ । लेनिनले भन्नुभएजस्तै कति कलाकारहरू आफ्नो ज्यावलसँग रिसाउँछन् । प्रमका ज्यावलहरू आफ्ना सहयोगीहरू हुन् र प्रमले जनता, आलोचक, प्रतिपक्ष र तटस्थ जनसमुदायसँग झर्कने र दिक्क मान्ने होइन ।
तेस्रो देशका सहयोगीहरू के कस्ता हुन्छन् भनी सहृदयी पाठकहरू पनि अवगत हुनु स्वाभाविक छ । सहजताको निम्ति समाचारपत्रका निम्न शीर्षकहरूमार्फत देशको स्थिति बुझन् सकिन्छ –
१) ‘उपत्यकामा पशुपतिनाथको २३१ रोपनी जग्गा गायब ।’ (गोरखापत्र, २३ जेठ २०७६) यहाँ परिमाणको विषय गौण हो, बरु बन्दोवस्त र सम्बन्धित निकायको जिम्मेवारी अभिव्यक्त हुन्छ ।
२) कपिलवस्तु, ‘खाँचीकोट दरबारमा पुरातत्वको खेलाँची’ (कान्तिपुर, १८ जेठ २०७६) हाम्रो आफ्नो भन्नु हाम्रा कला, संस्कृति र प्राचीन धरोहरहरू नै हुन्, त्यसलाई जोगाउनु हाम्रो कर्तव्य हो ।
३) ‘स्वदेशमै रोजगारी दिने प्रधानमन्त्रीको नीति, आश्वासन र गतिविधि देख्दादेख्दै ८४ हजारले दिए कोरियन भाषा परीक्षा ।’ (राजधानी, २७ जेठ २०७६) को समाचारले देशलाई लज्जित बनाउनेमा को जिम्मेवार ? जनतालाई थाहा छ– पहिलो पटक हरेक संसदीय निर्वाचन क्षेत्रबाट २–२ सयजना युवाहरूलाई विदेशमा रोजगारी दिने घोषणा आफ्नो बजेट वक्तव्यमा नेपाली काङ्ग्रेसका अर्थमन्त्री डा. महतले गरेका हुन् । परिणामबारे अनुमान गर्न नसक्नु निश्चय पनि दुर्भाग्य हो ।
४) ‘कर्णाली प्रदेश, दुई अर्बभन्दा बढी रकमान्तर, ५४ गाडी खरिद ।’ (नागरिक, २७ जेठ २०७६)  । यो रकम कहाँ जान्छ ? यसको परिणामबारे हाम्रा राजनैतिक नेता र सांसदहरूले गम्भीरतापूर्वक सोचेका होलान् ? यसमा स्थानीय पार्टी जिम्मेवार कि केन्द्रीय पार्टी ?
५) ‘सरकारी जग्गा एनजीओलाई’ (अन्नपूर्ण, २७ जेठ २०७६) । के यस्ता गम्भीर विषयमा सरकारका सम्बन्धित विभाग गम्भीर र जिम्मेवार हुँदैनन् ?
यी सबै विषयमा प्रमका सहायकहरू जिम्मेवारीबाट भाग्न मिल्दैन भन्ने हाम्रो ठम्याइ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *