भर्खरै :

जनप्रतिनिधिहरू थरी थरीका

जनप्रतिनिधिहरू दुई प्रकारका छन् – एक, दलमा आबद्ध, सिद्धान्त बुझेका र निर्वाचित भएपछि जनताको सेवा गर्ने, कामको योजना भएका, कल्पनाशील र दोस्रो – व्यापारी, नातागोता, ठेकेदार साथीभाइ, जात, भाषा र क्षेत्रीय भावना भएका व्यक्ति वा गुटबाट प्रभावित भएर निर्वाचित भएका ।
पहिलो प्रकारका कल्पनाशील र सिद्धान्त बुझेका जनप्रतिनिधिहरू पुराना र अनुशासित हुन्छन् भने समस्या पनि कम झेल्नुपर्ने हुन्छ । दोस्रो प्रकारका जनप्रतिनिधिहरूलाई आवश्यक र अनावश्यक दबाबबाट वाक्क दिक्क पारिएको हुन्छ । संसद् सदस्य र प्रदेश सांसदहरूलाई निर्वाचनमा सहयोग गरेका, अनेक पक्षहरूबाट आ–आफ्नो सामान किन्न लगाउन, ठेक्का पट्टामा सहयोग गर्न, नाता – गोतालाई काम र जागिर खोजी दिन, अनेक साम्प्रदायिक र अन्य अपराधीहरू छुटाउन माथि – माथि दबाब दिलाउन आउने झन्झटबाट हायल–कायल हुन्छन् ।
‘निर्वाचनमा जसरी पनि जित्नुपर्छ’ भन्ने पार्टीको आदेश पालना गरेका दोस्रो प्रकारका जनप्रतिनिधिहरूलाई आफूले दिएका आश्वासनअनुसार काम गर्न अनेक अप्ठ्यारा प्वालहरूलाई पैसाले टाल्न संसदीय विकास रकममा जोड दिनु स्वाभाविक हो भने खर्च पनि सोहीअनुसार हुने सम्भावना छ । ऐन कानुनअनुसार बेरुजु रहेका सांसदले आ–आफ्नो घर घरानाबाट तिर्नुपर्ने प्रावधान नभएसम्म सांसद विकास रकमको उपयोगमा एकरूपता र शुद्धता आउने छैन ।
यसमा सांसद दोषी नभई ‘जे गरेर पनि निर्वाचनमा विजयी हुने’ नीति र निर्देशन दोषी हो । निर्वाचन जित्न र जिताउन गाउँ र नगरमा प्रभाव पार्न गुण्डा, पैसा, धर्म र जात, भोजभतेर ऋण र सामान बाँड्नुपर्ने हुन्छ । यसकारण पुँजीवादी व्यवस्थामा निर्वाचन स्वस्थ र निष्पक्ष नहुने र संसदीय व्यवस्थाबाट समाजवाद नआउने प्रस्ट हुँदैछ ।
गुठी र मोहियानी हकबारे
काठमाडौँ र विभिन्न जिल्लामा गुठी बन्दोबस्त र गुठी विधेयकबारे विरोध र समर्थनमा प्रदर्शन र मशाल जुलुस हुँदैछन् । शासक दलका नेता तथा प्रतिनिधिहरूसमेत पार्टीभित्र र संसद्मा पनि विभाजित छन् । प्रमुख प्रतिपक्ष दल नेकाका नेता र सांसदहरू अन्य राजनैतिक मुद्दा भेट्टाउन नसक्दा जुवामा च्याँखे थापेजस्तै गुठीको नयाँ विधेयकले अप्ठेरोमा पर्ने अनुभव गर्नेहरूको पछि लाग्दै अगाडिको प्ले कार्ड समाउन पुगे ।
महन्तहरू कति पुराना सामन्त थिए र कति पूजा आजा गर्ने पुजारी थिए । बिस्तारै दुवै प्रकारका महन्त र पुजारीले मठ, मन्दिर र गुठीलाई आफ्नै निजी सम्पत्ति सम्झन पुगे, एकजातीय दल नायकले आफूलाई राजा घोषणा गरेजस्तै ।
कतै – कतै महन्तका सहयोगी र आसेपासेहरू जानेर वा नजानेर, खुसामद र छलछाम गरेर आ–आफ्नो नाममा जग्गा नामसारी गर्दै, बेच्दै अमेरिका र बेलायतमा पुगे, पूजाआजाको निम्ति तेस्रो–चौथो तहको पुजारी खडा गरे ।
राज गुठीमा पशुपति, जनकपुर मन्दिर र अनेक जिल्लाका देवालय, शिवालय एवम् अनेक धार्मिक संस्थानहरू छन् । ती सबैका आयस्ता भन्नु नै भूमि हो । भूमिमा जोताहा किसानहरूले जोत्छन् र तिनीहरू सम्बन्धित संस्था वा विचौलिया मोहीलाई बाली तिर्छन् ।
नेपालमा बिर्ता अर्थात् राज्यबाट पुराना राजा–रजौटा र भूमिपतिलाई दिइएको निजी सम्पत्तिको रूपमा पाएको जग्गा सरकारको काम बापत किसानले पाएको रैकर जग्गा र निजी गुठीका जोताहाहरूले भूमि सुधार ऐनअनुसार मोहियानी हक र कुतको नयाँ बन्दोबस्तबाट न्यायोचित लाभ उठाए भने सरकारी गुठीका जोताहाहरूले मोहियानी हक नपाउँदा अन्याय भएको र जोताहा किसानकै समानता नदेखिएकोमा सरकार बेखबर भएको वा गणतान्त्रिक सरकार आफैले सामन्तवादी विचार छोड्न नसकेको किसान जोताहाहरूको ठम्याइ छ । यसबारे सरकार प्रस्ट हुनु विषयसम्मत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *