भ्रष्टाचारका सहस्र टाउका – १
- आश्विन ३, २०८१
बोली र गोलीमा नियन्त्रण हुनुपर्ने सामान्य बुझाइ हो । बोली र गोली फिर्ता लिन पनि मिल्दैन । तित्राको मुखै बैरी भन्ने आहान पनि छ । नेपालभाषामा एउटा भनाइ छ, कुरा पोखिएको सोहर्न सकिन्न । त्यसैले बोलीमा लगाम नहुनु राम्रो मानिन्न । यतिबेला प्रधानमन्त्री केपी शर्माओलीको बोलीको चर्चा छ । प्रम ओली हास्य रसका एवम् ठट्यौली गर्न रुचाउने व्यक्तित्वका धनी छन् । यो रमाइलो पक्ष हो, तर प्रमले झूटो बोले भने त्यसको दुष्परिणाम सारा नेपालीले भोग्नुपर्छ ।
प्रधानमन्त्री ओलीले हालै काठमाडौँको वायु प्रदुषणको अवस्थालाई लिएर भने, “अहिले मास्क लगाएर कोही पनि हिँड्दैन ।” अघिल्लो पटक प्रम हुँदा आफूले अब काठमाडौँमा नाक समातेर हिँड्नु पर्दैन, मास्क लगाउनु पर्दैन भनेको स्मरण गराउँदै त्यतिबेला आधा जनसङ्ख्या मास्क लगाएर हिँडेको बताए ।
काठमाडौँको वायु प्रदूषणको हालतबारे पुग्दो लेख्न र भन्न कुनै तथ्याङ्क नै नभए पनि असजिलो हुन्न । मानिसका अनुभव, भोगाइ र असरबारे अनेक कथा र व्यथा साक्षी छन् । तर सरकारी तथ्याङ्कले पनि प्रमको कुरा गलत भएको प्रमाणित गर्छ । ‘साउथ एसिया चेक’ का इन्जिना पन्थीले गरेको तथ्य जाँचले पनि प्रमको भनाइ सरासर गलत भएको पुष्टि हुन्छ । सरकारी वातावरण विभागले आफ्नो वेबसाइटमा राखेको विवरणले पनि काठमाडौँको वायु प्रदूषित छ भन्ने बताउँछ । विभागको वेबसाइट उद्धृत गर्दै पन्थीको तथ्य जाँचले भन्छ, “२०७६ असार १६ गते दिउँसो १० बजे काठमाडौँको रत्नपार्कको हावाको गुणस्तर सूचकाङ्क १९० पुगेको थियो । सूचकाङ्क १५० देखि २०० सम्म पुग्नुलाई हावा अस्वस्थकर भएको मानिन्छ । सोही दिन ११ बजे अमेरिकी दूतावास, फोहरा दरबारको हावाको गुणस्तर सूचकाङ्क १०९ थियो ।’’ प्रदूषण सूचकाङ्क १०१ देखि १५० सम्म हुनुलाई संवेदनशील मानिसका लागि अस्वस्थ मानिन्छ । यतिबेला दमजस्ता स्वासप्रश्वासको समस्या भएका मानिसले घरबाहिर बसेर शारीरिक श्रम गर्नुहुँदैन भन्ने विज्ञको भनाइ छ । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट र वातावरण संरक्षण संस्थाले अमेरिकी राजदूतावास र कन्सुलेटसँग मिलेर संसारका विभिन्न ठाउँको वायुको गुणस्तर नाप्ने गरेका छन् । सोही आंकडाअनुसार सन् २०१८ को जनवरीमा भन्दा २०१९ को जनवरीमा २१ दिनसम्म काठमाडौँस्थित अमेरिकी दूतावासमाथिको वायुमा प्रदूषण
(एकदमै साना कण, पीएम २.५) को मात्रा बढी थियो ।
यसरी सामान्य विषयमा प्रमलाई जानकारी वा अन्दाज नहुनु अस्वाभाविक कुरा हो । प्रमले काठमाडौँको हावामा सासै नफेरेका त होइनन् पक्कै पनि । हुनसक्छ यति कि प्रम गाडीमा हुईंकिँदा कालो शिशाले काठमाडौँको दृश्य अर्कै देखियो ! प्रमलाई गलत प्रतिवेदन पो दिए कि ! वा प्रम वरिपरिका व्यक्तिहरूले प्रमलाई अर्को नाङ्गो वादशाह बनाउन लागे !
देशको प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बस्ने मानिसले बोल्नु अगाडि दुई पटक सोच्नुपर्ने हो । प्रधानमन्त्री भनेको देशकै प्रतिनिधि हुन्, कुनै पार्टी विशेषको अध्यक्ष वा नेतामात्र होइनन् । सामान्य मानिसले नै बुझ्ने र अनुभव गरेको विषयमा बोलेको झूटलाई नेपाली जनताले कसरी स्वीकार्छन् ?
Leave a Reply