भर्खरै :

शिक्षित बेरोजगारीको तस्वीर

–सुरज सिंह
लोकसेवा आयोगले ५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारी माग गर्दै खोलेको विज्ञापनमा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो । मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगले जानकारी दियो । आयोगका अनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख तीन हजार ५६७, जनजाति ४३ हजार ३२६, मधेसी २४ हजार ९०, दलित तीन हजार ९१ र अपाङ्ग १४६ र पिछडिएका ११६ ले आवेदन दिएका छन् ।
यी तथ्याङ्कले देशमा शिक्षित बेरोजगारीको स्थितिलाई छर्लङ्ग पारेको छ । त्यसो त देशमा राम्रो अवसर नपाएर लाखौँ अब्बल युवाहरू थप अध्ययन र रोजगारीको नाममा विदेशिएका छन् । दसौँ लाख सक्षम युवाहरू खाडी राष्ट्रहरू तथा अन्य देशमा श्रमका निम्ति वैदेशिक रोजगारमा गएका छन् । केही हजार कर्मचारीको मागमा लाखौँ युवाहरूको आवेदन पर्नुले देशको रोजगारीविहिनताको अवस्थालाई उदाङ्गो पारेको छ ।
देशको शिक्षाले कर्मचारी बन्नेबाहेक अरू जनशक्ति तयार पार्न नसकेको देखिएको छ । स्वरोजगार र उद्यमशील बन्ने युवा शिक्षाले तयार पार्न सकेको छैन । स्वरोजगार र उद्यमशील बन्न चाहने युवाका निम्ति उचित व्यवस्था र व्यवहार देशमा देखिएको छैन । दुई–चार लाखको सानो पुँजी लगानी गरी स्वरोजगार सिर्जना गरेका युवाहरूमाथि ठगी भइरहेको छ । कृषि उद्यमतिर लागेका युवाहरूले उचित प्रतिफल पाउन सकेका छैनन् । कुखुरापालन गर्ने किसान प्रायः घाटा व्यहोरिरहेका छन्, दाना उत्पादक र वितरक तथा औषधि बिक्रेताले लाभ उठाइरहेका छन् । बाख्रापालन गर्ने किसानले खासै लाभ पाएका छैनन् तर विचौलिया र मासु पसलेहरूले बढी नाफा कुम्ल्याइरहेका छन् । तरकारी उत्पादन गर्ने किसानले कम लाभ पाउँछन् तर विचौलिया र व्यापारी मोटाइरहेका छन् । अन्य निजी व्यवसायिक क्षेत्रमा पनि कामदार र कर्मचारीहरूको श्रम शोषण भइरहेको छ, मेहनतअनुरुपको पारिश्रमिक पाइरहेका छैनन् । देशमा अन्य क्षेत्रमा पनि उचित पारिश्रमिकसहितको रोजगारी सिर्जना हुँदैन, तबसम्म सरकारी कर्मचारीको विज्ञापनमा आवश्यकताभन्दा सयौं गुणा बढी आवेदन पर्नु अन्यथा होइन । यो अवस्था आजसम्मका सरकारहरूको असफलताको प्रमाण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *