नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
ऐतिहासिक भ्रष्टाचारविरोधी दिवस बिहीबार विभिन्न गतिविधि गरी मनाइँदै छ । २०२५ र २०२६ मा भक्तपुरका किसानहरूले तत्कालीन भ्रष्टहरूविरुद्ध गरेको आन्दोलनकै सम्झनामा हरेक वर्ष भ्रष्टाचारविरोधी दिवस मनाउँदै आएका छन् । तत्कालीन अवस्थामा हुने भ्रष्टाचार र आज हुने भ्रष्टाचारमा धेरै कोणमा भिन्नता छन् । हिजो लाखमा पुग्ने भ्रष्टाचार आज करोडौँ करोडमा पुगेको छ । हिजो टेबुलमुनिबाट हुने भ्रष्टाचार आज खुलमखुला हुन थालेको छ । हिजो केही मानिस भ्रष्टाचारी हुन्थे भने आज सिङ्गो राज्य व्यवस्था नै भ्रष्टाचारले गन्हाउने भएको छ ।
भ्रष्टाचार पुँजीवादी समाजको रोग हो । पुँजीवादी उत्पादन सम्बन्ध नै भ्रष्टाचारको जरा हो । त्यसकारण भ्रष्टाचारविरोधी आन्दोलनको अन्तिम नतिजा पुँजीवादी व्यवस्थाविरोधी आन्दोलनबाट मात्र सम्भव हुनसक्छ । पुँजीवादी व्यवस्थाको विरोध भ्रष्टाचारको विरोध हो भने भ्रष्टाचारको विरोध पुँजीवादको विरोध हो । भ्रष्टाचारको विरोध गर्ने तर पुँजीवादी व्यवस्थाको विरोध नगर्ने विचार साँचो अर्थमा भ्रष्टाचारविरोधी विचार होइन । वास्तवमा हरेक पुँजीवादी राज्य व्यवस्था भ्रष्ट हुन्छ । त्यसकारण पुँजीवादी व्यवस्थाका कानुनले भ्रष्टाचारलाई प्रोत्साहन गर्दछ ।
अहिले देशमा विकास निर्माणको नाममा हुने गरेको भ्रष्टाचार वास्तवमा पुँजीवादी व्यवस्थाले निम्त्याएको कानुनी भ्रष्टाचार हो । पुँजीवादी व्यवस्थामा भ्रष्टलाई कानुनले नै संरक्षण गरेको हुन्छ । आज हामी देख्दैछांँै भ्रष्ट व्यक्ति नै ‘विकासप्रेमी’ बन्ने अवस्था छ । विकासको नाममा भ्रष्टाचार गर्नुलाई नै आजको राजनीतिक व्यवस्थाले ‘विकास’ भनी परिभाषित गरेको छ । वास्तवमा आजको सत्ता त्यस्तै भ्रष्टाचारको जगमा टिकेको छ ।
भ्रष्टाचार रोकथाम गर्ने राज्यका निकाय स्वयम्लाई आजको व्यवस्थाले भ्रष्ट बनाएको हुन्छ । यसले भ्रष्टाचारको रोकथाम गर्न ती निकायलाई नैतिकरूपमा कमजोर बनाएको हुन्छ । आफैं भ्रष्ट निकायले भ्रष्टाचारको विरोध गर्ने नैतिक साहस गर्दैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्यायालय स्वयम् भ्रष्ट भएको अवस्थामा भ्रष्टाचार रोकथाम गर्न तिनमा नैतिक साहसको कमी हुन्छ । राजनीति भागबण्डाका कारण राज्यका प्रमुख अङ्ग नै भ्रष्ट बनेका छन् । भ्रष्टाचार कहाँ छ भनेर खोज्नुभन्दा भ्रष्टाचार कहाँ छैन भनी खोज्नु बुद्धिमानी हुने देखिन्छ ।
समाजमा भ्रष्टहरू जति छन्, तिनीहरूभन्दा धेरै सङ्ख्यामा भ्रष्टाचारमुक्त समाज चाहने मानिस छन् । भ्रष्टाचारबाट आजित जनता धेरै छन् । उनीहरू समाज भ्रष्ट भएको हेर्न चाहँदैनन् । त्यसकारण भ्रष्टाचारमुक्त समाज बनाउने अभियानमा जनता नै सबभन्दा अगाडि हुन्छन् । जनताको आँखा दूरबिन सरह हुन्छ । त्यसको लागि लगातारको भ्रष्टाचारविरोधी अभियानको खाँचो छ ।
भ्रष्टाचारविरोधी आन्दोलन भएको आधा शताब्दी बितिसक्दा पनि आज भ्रष्टाचारविरोधी आन्दोलनको सान्दर्भिकता अझ व्यापक बनेको छ । भ्रष्टाचारविरोधी दिवसलाई इतिहासको स्मरणका साथै वर्तमान र भविष्यको खाका कोर्ने अवसरको रूपमा पनि उपयोग गर्न जरुरी छ ।
Leave a Reply