भर्खरै :

नगरकोट सडकमा सरकार र ठेकेदारको बेइमानी

वसन्त खत्री
भक्तपुर–खरिपाटी–नगरकोट सडक २०७१ मा सुरु भएको स्तरोन्नतिको काम हालसम्म लथालिङ्ग अवस्थामा रहेको छ । नेपाल सरकारको आयोजना प्रमुखका अनुसार सन् २०१४ जून ५ मा सुरु भएको सो सडक सन् २०१६ मा सम्पन्न भइसक्नुपर्ने हो । तर, विभिन्न कारण देखाएर सन् २०१८ सम्म सम्पन्न गर्ने भन्दै पुनः म्याद थप गरिएको पाइयो । सरकार र ठेकेदारको चरम लापरबाहीको कारण अहिलेसम्म उक्त सडक बन्न सकेको छैन ।
नेपाल–भारतबीच १ प्रतिशत व्याजदरको ऋण सम्झौता रहेको उक्त सडकमा भारतकै आरामाली इन्फ्रापावर लिमिटेडको ५१ प्रतिशत र लोकल पार्टनरको रूपमा नेकपा अध्यक्ष प्रचण्डका घरबेती शारदाप्रसाद अधिकारीको शैलुङ्ग कन्स्ट्रक्सनको ४९ प्रतिशत हिस्सा रहेको छ । भारतीयहरूले लगानी गर्दा अधिकांश आफ्नै कम्पनी र कामदार लगाउने सर्त हुन्छ । आफूले ऋण दिएको रकमको धेरै हिस्सा आफैले लाने मनसायका साथ आउने भारतीय कम्पनीहरूले नेपालको हित हेर्दैनन् । त्यसमाथि नेकपाका नेताहरूको आशीर्वाद पाएको शैलुङ्ग कन्स्ट्रक्सनले पनि इमानदारीपूर्वक काम गरेको रेकर्ड सुन्नमा आएको छैन । शैलुङ्ग कन्स्ट्रक्सनसँग सरकार पक्षधरहरूको ठूलै आर्थिक लेनदेन छ कि भनेर जनताले शङ्का गरेका छन् । केही समयअगाडि नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई ठेकेदार शारदाप्रसाद अधिकारीले घरमा निम्त्याएर मार्सी चामलको भातले सत्कार गरेको चर्चा चलेको थियो । यसरी उच्च राजनीतिक संरक्षण पाएकै कारण ठेकेदारहरूले मनोमानी गरेका हुन् । अपराधीलाई संरक्षण गर्न सरकार आफै लागेपछि अरुको के लाग्छ ?
बाटो लथालिङ्ग भएकोले स्थानीय जनता बिरामी पर्दा एम्बुलेन्ससमेत समयमा पुग्न नसक्ने अवस्था सृजना भएको छ । वर्षामा बाटो चिप्लो भएर सवारी साधन आवागमनमा असुविधा हुनुका साथै ठूलठूला खाल्डाखुल्डीहरूको कारण दुर्घटना हुने गरेको छ । ०७४ असोज ४ गते चाँगु नपा ६ नगरकोटका स्थानीय एक वृद्धले खाल्डोबाट उछिट्टिएको मोटरसाइकलले ठक्कर दिएपछि ज्यान गुमाए । यसको जिम्मेवार को ? ठेकेदारले समयमा निर्माण सम्पन्न नगर्दा ज्यान गयो । यस्ता ठेकेदारलाई संरक्षण गर्ने सरकार पनि अपराधी हो भनेर स्थानीय जनता आक्रोश पोख्दै छन् ।
समयमै नाली, कुलो, रिटेनिङ्ग वालहरू नबन्दा बाटो छेउ रहेका घरहरू वर्षामा भत्किने सम्भावना रहेको छ । डोजरले बाटो खनेर लथालिङ्ग छोडेपछि बाटोमुनि रहेका पानीका मुहानहरू वर्षाको भेलले धमिलो हुन पुगेको छ । नगरकोटमुनि मुहानपोखरीमा वर्षामा हिलो पानी बगेर भक्तपुरका जनता धमिलो पानी पिउन बाध्य छन् । यति हुँदाहुँदै पनि नेपाल सरकारले शैलुङ्ग कन्स्ट्रक्सनलाई कारबाही गर्ने जाँगर किन देखाउँदैन ? एकपटक गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदार जोसुकै भए पनि कारबाही गर्छु भनेर गर्जिएका थिए तर प्रचण्डले घरमा बोलाएर हप्काएपछि मन्त्री पद जाने डरले गृहमन्त्री चुप रहेको चर्चा चलेको थियो । तत्पश्चात् खराब ठेकेदारहरूको झन रजगज बढ्यो ।
जनताको व्यापक विरोधपछि संसदको विकास तथा प्रविधि समितिले साउन १२ गते उक्त सडकको अनुगमन ग¥यो । अनुगमनको क्रममा स्थानीय जनताले समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गरेर अर्को ठेकेदारलाई निर्माणको जिम्मा दिन आग्रह गरे । तर सङ्घीय संसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले नेपाल सरकारले सोही कम्पनीलाई १ वर्षको म्याद थप गरिसकेको जानकारी दिनुभयो । उहाँले अब थप गरिने म्यादभित्र जसरी पनि काम सम्पन्न गर्न र गराउन निर्देशन दिने बताउनुभयो । यसो भन्दै गर्दा स्थानीय जनताले भने गत वर्षको भदौमा यसैगरी अनुगमन भएको र यस्तै आश्वासन पाएको स्मरण गराए । तर, काम प्रगतिशून्य छ । स्थानीयका अनुसार शैलुङ्ग कन्स्ट्रक्सनका ठेकेदारले नगरकोटमा १५÷२० रोपनी जग्गा खरिद गरेको छ । सरकारबाट योजना सम्पन्न गर्न लिइएको रकम योजनामा नलगाई ठेकेदारले जग्गा खरिद, व्याजमा लगाउनेजस्ता काम गरेको सुन्निछ । तर, सरकार कारबाहीको सट्टा म्याद थप्छ । शासक दलका नेताहरू निर्वाचनको नजिक गाउँगाउँमा जाने, असारे विकास निर्माणका कामहरू हेर्ने, दुई चारजना आसेपासेहरूलाई वरिपरि लगाएर फेसबुकमा विकासप्रेमी भनेर प्रचार गराउने, जनता झुक्याएर भित्रभित्रै ठेकेदारसँग साठगाँठ गरेर चुनाव खर्च उठाउने काम देखियो । अनुगमनको क्रममा जनतामाझ ठेकेदारलाई खुब गाली गरेजस्तै गर्ने, अब राम्रोसँग काम गर्नु भनेर हप्काएजस्तै गर्ने र अन्तमा घुमाएर म्याद थप्नुको विकल्प छैन भनेर सोही ठेकेदारलाई म्याद थप गरिदिने काम कस्तो ! यस्ता चाटुकारलाई जनताले कहिले चिन्ने होला ?
नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेको छ । त्यसको लागि नगरकोट उपयुक्त पर्यटकीय गन्तव्य हो । आन्तरिक र बाह्य पर्यटकहरू यहाँ धेरै आउने जाने गर्छन् । शैलुङ्ग कन्स्ट्रक्सनले ठेक्का लिनुअघि पर्यटकहरूको घुइँचो लाग्थ्यो । जब शैलुङ्ग कन्स्ट्रक्सनले ठेक्का लिएर भएको सडक पनि नयाँ बनाउने नाममा बिगा¥यो तबदेखि पर्यटकहरूको आगमनमा कमी आयो । हिउँदमा धुलो र वर्षामा हिलो यस बाटोको नियति बनेको छ । स्वच्छ, शीतल हावा बहने नगरकोटको बाटोमा सासै फेर्न नसकिने गरी धुलो उड्ने गर्दछ । यस्तो ठाउँमा कसरी पर्यटकहरू पुग्लान् ? अहिले त पर्यटकहरूले नगरकोट भनेपछि नाक खुम्च्याउन थालेका छन् । नगरकोटको पर्यटन व्यवसाय खस्केर धेरैको रोजगारी गुमेको छ । यसको जिम्मेवार को ? क्षतिपूर्ति कसले भर्छ ? सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष’ नगरकोटका जनताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ जस्तै भएको छ । यसर्थ, जनताले ठेकेदारलाई मात्र होइन ठेकेदार पोस्ने सरकारको पनि विरोध गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *