भर्खरै :

संरा अमेरिका विश्व शान्तिको लागि चुनौती

संयुक्त राष्ट्र सङ्घ, ७ अगस्ट । संयुक्त राष्ट्र सङ्घका लागि भेनेजुयलाका स्थायी प्रतिनिधि स्यामुएल मोनकाडाले जातिवादी ट्रम्प सरकारले भेनेजुयलामाथिको युद्धलाई अझ उचाल्न खोजिरहेको बताउनुभयो । न्यु योर्कमा आयोजित पत्रकार भेटघाटमा बोल्दै मोनकाडाले भेनेजुयलासँगको सम्बन्धलाई सैनिकीकरण गर्नु अर्को खतरनाक विषय भएको बताउनुभयो । उहाँले राष्ट्र सङ्घको सुरक्षा परिषद्लाई प्रस्ट शब्दमा लेखिएका अधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले संरा सङ्घ वडापत्रको धारा ३४ मा उल्लेखित प्रावधानको प्रयोग गर्न उहाँले जोड दिनुभयो । शान्तिमाथि खतरा आइपर्ने विषयमा अनुसन्धान गर्न सो प्रस्तावले सुरक्षा परिषद्लाई अधिकार दिएको छ ।
मोनकाडाले अन्तर्राष्ट्रिय कानुन पालनाको जिम्मेवारी भएको सुरक्षा परिषद्को एक जना स्थायी सदस्यले अन्तर्राष्ट्रिय कानुन तोड्नु र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्न बाँकी अन्तर्राष्ट्रिय समुदायलाई उक्साएकोमा दुःख व्यक्त गर्नुभयो । पेरुको राजधानी लिमामा भेनेजुयलाको विषयमा आयोजित सम्मेलनमा बोल्दै संरा अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुयलाको सङ्क्रमणकालीन अवस्था पार लगाउन अन्तर्राष्ट्रिय कारबाहीलाई गति दिनुपर्ने बताउनुभएको थियो ।
“संरा अमेरिका अन्तर्राष्ट्रिय शान्तिको लागि चुनौती भएको र सुरक्षा परिषद्ले त्यसको लागि काम गर्नुपर्छ”, मोनकाडाले भन्नुभयो ।
यसैबीच सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै भनेजुयला सरकारमाथि पूर्णस्तरको नाकाबन्दी लगाएको छ । उक्त प्रतिबन्धअनुसार अमेरिकी सरकार, व्यापारिक प्रतिस्थापन र बैङ्क तथा वित्तीय संस्थाहरुले कुनै पनि भेनेजुयाली सरकारी कम्पनी, कार्यालय वा संस्थाहरुसित आर्थिक, व्यापारिक र मौद्रिक कारोबार गर्ने छैन ।
भेनेजुयलाका विदेशमन्त्री जर्ज अरेजाले भने अमेरिकी नाकाबन्दीले भेनेजुयाली जनताले अझ बढी दुःख पाउने, सरकारलाई कठिनाइ सिर्जना हुने र त्यसले भेनेजुयाली जनतालाई झुकाउन नसक्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *