विदेशीको लहैलहैमा नेपाललाई बिदैबिदाको देश बनाउन खोजेको !
- आश्विन ३०, २०८३
भक्तपुर, २२ साउन । बासु माध्यमिक विद्यालयले विद्यालयबाट व्यवस्थापन र विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई ज्ञापन एवम् परामर्श कार्यक्रमको आयोजना गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा नेपाल प्राध्यापक समाजका अध्यक्ष एवम् बासु मावि व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले अबको युगका विद्यार्थीले कुनै एक विधामा मात्र ज्ञान, सीप या दक्षता हासिल गरेर नपुग्ने देखिएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “व्यक्तिमा एकभन्दा बढी सीप चाहिने देखिन्छ । हिजोको सीप आज काम नलाग्ने भएको छ ।” समयअनुसार आफूलाई सक्षम बनाउनुपर्ने अध्यक्ष गोसाईको धारणा थियो ।
शिक्षाले अन्याय, शोषण र थिचोमिचोको विरोधमा लड्न सिकाउनुपर्ने विचार राख्दै उहाँले ज्ञानले मानिसलाई विवेकी बनाउने भन्दै न्याय र अन्याय छुट्याउन जान्ने युवाको आवश्यकता भएको बताउनुभयो । समाजका विकृति हटाउन युवा पुस्ता एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्राध्यापक विश्वमोहन जोशीले श्रमको सम्मान गर्ने युवा पुस्ताको आवश्यकता भएको धारणा राख्नुभयो । उहाँले युवाले नै समाजको परिवर्तन गर्ने भएकोले युवा सभ्य, शिष्ट र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं २ का अध्यक्ष हरिप्रसाद बासुकलाले अस्तव्यस्त देशलाई व्यवस्थित गर्न व्यवस्थापनका राम्रा विद्यार्थीको आवश्यकता भएको विचार राख्नुभयो ।
विद्यालयका पूर्व सहप्राचार्य लक्ष्मीभक्त लासिवाले विद्यार्थीले आफ्नो क्षमता चिन्नुपर्ने भन्दै हिनताबोध हुने कुनै काम नगर्न सल्लाह दिनुभयो ।
सिटिजन बैङ्क, भक्तपुर शाखाका प्रमुख हेम लामाले मेहनत र आत्मविश्वास विद्यार्थीको सफलताको आधार भएको बताउनुभयो । बासु कलेज तथा माविका प्राचार्य अम्बिका न्याइच्याईको सभापतिमा सम्पन्न कार्यक्रममा बासु माविका सहप्राचार्यद्वय रविलाल प्रधान र राजकुमार ह्यौंमिखा तथा शिक्षक राम निरौलाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीलाई मायाको चिनो वितरण गरिएको थियो ।
Leave a Reply