भर्खरै :

जुलाईमा चीनको निकासी सामान्य वृद्धि

बेइजिङ, २३ साउन (रासस-एएफपी) – संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाब बढे पनि चीनको निकासी गत जुलाईमा प्रक्षेपण गरेभन्दा बढी भएको पछिल्लो सरकारी तथ्याङ्कमा देखिएको छ । तर चीनले गर्ने आयात भने निरन्तर घटेको छ ।
यस वर्षको पहिलो छ महिनामा अमेरिकासँगको व्यापार तनाब तथा विश्वव्यापी माग घटेका कारण चीनको औद्योगिक उत्पादनमा भने कमी आएको छ ।
तर जुलाईमा भने चीनको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.३ प्रतिशतले बढेको छ । ब्लुमबर्ग न्यूजको सर्वेक्षणमा प्रक्षेपण गरिएको भन्दा यो करिब एक प्रतिशत बढी हो ।
चीनको समग्र अर्थतन्त्रको वृद्धि हाल ६.२ प्रतिशत रहेको छ । यो वृद्धि विगत ३० वर्षको अवधिमा सबैभन्दा न्यून हो ।
तर चिनियाँ अर्थतन्त्रमा सुधारको सम्भावना अहिल्यै देखिन्न किनभने घट्दो आयातले चीनभित्रै मागमा कमी हुने संकेत देखिएका छन् ।
गत वर्ष जुलाईको तुलनामा यस वर्षको जुलाईमा आयात ५.६ प्रतिशतले घटेको छ, र यो घट्नेक्रम विगत तीन महिनादेखि जारी छ ।
चीनको व्यापार बचत जुलाईमा ४५.१ अर्ब अमेरिकी डलरमा झरेको छ, र यो गत जुन महिनामा ५१ अर्ब डलर थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सेप्टेम्बर १ देखि लागू हुनेगरी थप ३०० अर्ब डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेपछि दुबै मुलुकबीचको व्यापारिक सम्बन्धमा थप तिक्तता आएको छ ।
अमेरिकी कदमको विरोधमा उत्रिएको चीनले पनि आफ्नो मुद्रा युआनलाई अवमूल्यन गर्नुका साथै अमेरिकी कृषिजन्य सामान खरिदलाई स्थगन गरेको छ ।
जुलाईमा अमेरिकातर्फ चीनको निकासीमा ६.५ प्रतिशतले कमी आएको छ भने आयात पनि १९.१ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *