भर्खरै :

सोलिडारिटी’ को नयाँ अङ्क ः साम्राज्यवादविरुद्धको आवाज

– समा
‘सोलिडारिटी’ अन्तर्राष्ट्रिय विषयवस्तुको सँगालो हो । सोलिडारिटी साम्राज्यवाद र उपनिवेशवादविरुद्ध उँचो फहरिरहेको एउटा झन्डा हो भन्दा अतिशयुक्ति नहोला । सोलिडारिटी साम्राज्यवादविरुद्ध ऊर्जाशील भई निरन्तर लडिरहने न्यायप्रेमी योद्धाहरूको निम्ति वैचारिक खुराक हो । अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्यमा कामदार वर्गीय आन्दोलनको स्थान र ओज सोलिडारिटीले समेट्छ । नेपालको राजनीतिक अवस्था र नेपालको कामदार वर्गीय आन्दोलनबारे यो पत्रिकाले विश्वजगतलाई अवगत गराउँछ । नेपाली समाजलाई अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन, साम्राज्यवादविरोधी सङ्घर्षबाट सिक्न घच्घचाउँछ । मानिसले मानिसलाई, विकसित देशले अविकसित र विकासशील देशमाथि गर्ने सबैखाले शोषणको विरोधमा अन्तर्राष्ट्रिय क्षेत्रमा विचार फैलाउने बुलेटिनको नाम हो ‘सोलिडारिटी’ । सोलिडारिटी प्रकाशन समिति नेपालद्वारा अङ्ग्रेजी भाषामा प्रकाशित हुने यस बुलेटिनको अङ्क ७ पाठकमाझ आइपुगेको छ ।
यस अङ्कमा चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्ध, साम्राज्यवादविरुद्ध क्युवाको अथक सङ्घर्ष, भाजपाको फासीवाद र नाजीवादविरुद्धको आवाज, भेनेजुयलामाथिको अमेरिकी हस्तक्षेप, वर्तमान नेपाली राजनीतिक दृष्टान्तलगायत थुप्रै विषयहरू समेटिएका छन् ।
बुलेटिनको सम्पादकीयमा नेमकिपाले संरा अमेरिकी व्यापार युद्धको उच्च भावनासहित विरोध गरेको सन्दर्भ उल्लेख छ । चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्धबाट कसैको हित नहुने तर्क प्रस्तुत छ । संरा अमेरिकाले संरक्षणवादी नीति अवलम्बन गरी विश्व व्यापार सङ्गठनको नियम उल्लङ्घन गरेकोप्रति खेद प्रकट गरिएको छ । संरा अमेरिकी साम्राज्यवाद ‘फुट गर र शासन गर’ नीतिलाई आफ्नो हतियार बनाउँछ । अहिले एसिया अमेरिकी साम्राज्यवादको वक्रदृष्टिमा छ । नेपालको हकमा बिम्स्टेक एवम् हिन्दप्रशान्त सैन्य गठबन्धन र सशर्त अनुदान पछिल्ला दृष्टान्त हुन् । बुलेटिनले यस्ता विषयवस्तु उजिल्याएको छ ।
‘भाजपाः फासीवाद र नाजीवाद’ शीर्षकको लेखले भारतको वर्तमान राजनीतिको एक झलक प्रस्तुत गर्छ । नेपालमा भारतको राजनीतिक, सांस्कृतिक र आर्थिक प्रभाव बढ्दो छ । भारत ब्रिटिस साम्राज्यले २०० वर्ष राज गरेको देश हो  । यद्यपि भारतीय शासक पार्टीमा उपनिवेशवादी चिन्तन हटेको छैन । विश्व इतिहासमा रोम र राष्ट्रियताको गौरवमा थुप्रै देशहरू अहङ्कारवाद, अन्ध राष्ट्रवाद र सङ्कुचित राष्ट्रवादको भुमरीमा परेको जानकारी लेखले दिन्छ । लेखले जोडका साथ स्पष्ट पार्छ –“फासीवाद र नाजीवाद अन्धो तथा सङ्कुचित राष्ट्रवाद र अहङ्कारवादको पर्यायवाची हो जुन सम्पूर्ण मानवजातिको प्रलयको कारक बन्छ । ढिलो या चाँडो अति राष्ट्रवाद साम्राज्यवाद या फासीवाद या नाजीवादमा रूपान्तरित हुन्छ ।”
‘चीनविरुद्ध संरा अमेरिकी अन्यायपूर्ण व्यापार युद्ध’ शीर्षकको एसएसको लेखमा चीन–संरा अमेरिकाबीचको व्यापारिक र आर्थिक सम्बन्धले विश्व अर्थतन्त्रमा पारेको सकारात्मक प्रभावसँगै व्यापार युद्धले छोडेको नकारात्मक असरबारे चर्चा
छ । व्यापार युद्धले संरा अमेरिकी अर्थतन्त्र र अमेरिकी उपभोक्तालाई पारेको प्रतिकूल असर खोतलेको छ । संरा अमेरिकाले संरक्षणवादी नीति अवलम्बन गरी, विश्व व्यापार सङ्गठनलाई अनादर गरी विश्व आर्थिक अनुशासन तोडेको प्रसङ्ग प्रस्तुत छ । व्यापार युद्धले कसैको हित नगर्ने विषयमा चीन स्पष्ट छ । त्यसकारण चीन वार्ता र छलफलबाट समस्याको समाधान चाहन्छ । व्यापार युद्ध चाहँदैन तर यदि आवश्यक परे अन्तिम दमसम्म पनि लड्न तयार छ । सिद्धान्त र सार्वभौमिकताको सवालमा चीन कहिल्यै झुक्नेछैन भन्ने सन्देश लेखबाट मिल्छ ।
‘क्युवा, भेनेजुयला र साम्राज्यवादविरोधी सङ्घर्ष’ शीर्षकमा नीरजले समाजवाद जोगाउन र विश्व जगतलाई समाजवादको आजु प्रवाह गर्न निरन्तर लडिरहने क्युवा र क्युवाली वीरहरूका बारे चर्चा गरेका छन् । क्रान्तिका नायक फिडेल, चे ग्वेभारा र क्युवाली वीर जोसे मार्टीको वीरताको सन्देश गाइएको छ । ६० वर्ष नाकाबन्दीको थिलथिलोमा स्वाभिमान र स्वतन्त्रताको मीठो स्वास फेरिरहेका क्युवाली जनताको साँचो सुख लेखमा अभिव्यक्त छ । अमेरिकी साम्राज्यवादले भेनेजुयला, सिरिया, इरानलगायत सम्पूर्ण ल्याटिन अमेरिकामाथि देखाउने दबदबाको सटिक विरोध लेखमा छ ।
‘क्युवाली क्रान्तिको ६० औँ वार्षिकोत्सव’ शीर्षकमा सुवेग बिजुक्छेँले क्युवाली क्रान्तिको सफलताको सार पस्केका छन् । कठिनत्तम सङ्घर्ष गरी नवउदारवाद, पुँजीवाद र संरा अमेरिकी प्रभुत्ववादसँग जितेर क्युवालाई शोषण र दमनबाट मुक्त बनाइयो । सङ्घर्षको ऊर्जाशील नारा ‘समाजवाद या मृत्यु’ आज पनि विश्वमा गुञ्जायमान छ । यही विषयमा सृजनाको लेखबाट क्युवा र क्युवाली जनताप्रति ऐक्यबद्धता जनाइएको छ ।
‘उपनिवेशवाद, कूटनीति र नैतिकता’ शीर्षकको लेखमा हङ्कङ्मा बेलायतले गरिरहेको उपद्रोहको विरोध छ । अमेरिकी युद्ध पिपासुहरूले एसिया र चीनमा अशान्ति मच्चाउन कुनै न कुनै माध्यमबाट उपद्रोह गरिरहेको देखिन्छ । हाल हङकङलाई चीनविरुद्ध खडा गर्न बेलायतले कुटिल चाल चालिरहेको छ तर त्यो सफल नहुने निश्चित छ, किनभने थाइवान, हङकङ र मकाउ इतिहासमा पनि चीनकै थियो, आज पनि हो र सधैँ चीनकै रहनेमा न्यायप्रेमी र अन्तर्राष्ट्रवादीहरू ढुक्क छन् । यही सन्देश लेखले पस्कन्छ ।
स्रष्टा एसआरले सन् २०१५ मा नेपालमा गएको भुकम्प, त्यसले विभिन्न क्षेत्रमा पारेको असर र अहिले हामी कसरी उठ्दैछौँ भन्नेबारे सजिव तस्बिरहरू उजागर गरेका छन् । देबिकाले नेपालको सार्वजनिक स्वास्थ्य स्थिति र अन्तर्राष्ट्रिय परिदृश्यबारे सान्दर्भिक चर्चा गरेकी छिन् ।
न्यूजिल्यान्डको कम्युनिस्ट लिगका अन्ना लुसिया भर्मन्तले न्यूजिल्यान्डमा कामदार वर्गको अवस्था, न्यूजिल्यान्डको राजनीतिक तथा आर्थिक अवस्थाबारे चर्चा गरेकी छिन् । साथै उनले क्युवाको समाजवादी क्रान्ति र समाजवादलाई जोगाउने अर्को क्रान्तिप्रति आफ्नो सम्मान व्यक्त गरेकी छिन् । क्युवालाई उत्साह र ऊर्जाको स्रोतका रूपमा चिनाउने प्रयत्न गरेकी छिन् ।
वर्तमान सरकार ठूल्ठूला पुँजीपति, भ्रष्टाचारी, भू–माफियाको प्रभावमा पर्दैछ । उच्चपदस्थदेखि तल्लो ओहोदाका कर्मचारीसम्म भूमि भ्रष्टाचार, आर्थिक भ्रष्टाचारमा मुछिएको विषय नौलो होइन । नेपालको शिक्षा क्षेत्रलाई कमाइ खाने भाँडो बनाउने शासक दलको दाउबारे नेपाली जनता जानकार छन् । त्रिभुवन विश्वविद्यालयभित्रका बेथिति र त्रिभुवन विश्वविद्यालयलाई बदनाम गर्ने शासकहरूको मनसायबारे बुलेटिनले प्रस्ट पारेको छ । एनजिओ तथा आइएनजिओको खेती, जनप्रतिनिधिहरूले गरेको क्रसर, डोजर, एस्काभेटर र ट्रकको आतङ्क अनियन्त्रित छ । डन र अपराधीहरू निर्वाचित छन् । देश दिनप्रतिदिन भारतीय विस्तारवाद र एकाधिकार पुँजीको हस्तक्षेपमा पर्दैछ । भारतीय एकाधिकार पुँजीसँग झुक्ने शासककै कारण नेपाली जनता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य छन् । नेपाली समाजमा बौद्धिक र कुलीन वर्ग झन् नैतिकरूपमा भ्रष्ट र पतीत बन्दै गएका थुप्रै दृष्टान्तहरू बुलेटिनले उजागर गरेको अनुभव हुन्छ ।
बुलेटिनमा संयुक्त राष्ट्र सङ्घको अङ्ग आईएईएले विश्वमा पारमाणविक गतिविधि रोक्न नसकेको तथ्य प्रस्तुत छ । नेमकिपाका सांसद प्रेम सुवाल भन्नुहुन्छ– “युएन आफै साम्राज्यवादको नोकर या दलाल बनिरहेछ ।” उहाँले संसद्मा पेश गरिएको परमाणु विधेयकले नेपाली जनताको हित नगर्ने तर्क राख्नुभयो । बुलेटिनले उहाँको विचारलाई सम्प्रेषण गरेको छ । यस्ता थुप्रै समय–सान्दर्भिक विचार सोलिडारिटीभित्र छन् । अत्यन्त पठनीय यस बुलेटिनभित्र समेटिएका गतिविधिका तस्बिरले थप जानकारी प्रदान गर्छ । मननीय विचारले भरिएको यस बुलेटिनको मुद्रण, साजसज्जा आकर्षक छ । बुलेटिनको मूल्य किटान नहुँदा पाठक अलमलमा पर्ने सम्भावना रहला ! सोलिडारिटीको नियमित प्रकाशनको अपेक्षासहित प्रकाशकप्रति साधुवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *