भर्खरै :

भारतीय महान लोकतन्त्रको साख गिदै

रामचन्द्र गुहा
म बुद्धको जीवनी लेखक वा मुगलहरूको इतिहासकार भइदिएको भए त्यसमा मेरो राजनीति र मेरो व्यवसाय ‘ओभरल्याप’ (उपरीमाथि थुपरी) हुने गरी हावी भइदिन्थ्यो ।
तर, जब म आधुनिक भारतको इतिहासकारका रूपमा सोच्न बस्छु, त्यतिबेला आफूलाई अध्येताका रूपमा कहाँ राख्ने र भारतीय नागरिकका रूपमा कता उभ्याउने भन्ने कुराले निरन्तर र पीडादायी तनाव झेल्ने परिस्थिति सामना गराइरहन्छ ।
सरकारले काश्मीरको विशेषाधिकार हटाउने निर्णय गरेयता मेरो मुलुक र नागरिकका लागि भारतीय मानककै हिसाबले पनि अत्यन्तै उथलपुथल क्षण गुज्रिरहेको छ । संयोगले यति बेलै मेरो मुलुक बेलायती उपनिवेशबाट मुक्त भएको वार्षिकी मनाइरहेको छ । यही परिवेशमा मलाई यो लेख लेख्न अनुरोध गरिएको छ ।
स्वतन्त्रता प्राप्तिका यी ७२ वर्षमा भारतीयले आर्जेका बृहद् (गहिरो) समझदारीमा पछिल्ला दुई साताका घटनाक्रमले कसरी असर पार्न सक्छन् ? सन् १९४७ यता भारतले जसरी यात्रा गर्दै आएको छ, त्यसलाई निष्पक्ष र वस्तुनिष्ठ भएर हेर्दा मेरो सरकारले काश्मिरी दाजुभाइलाई गर्दै आएको अत्याचार के म पन्छाउन सकूँला?
मैले कम्तीमा प्रयास गर्नैपर्ने भएको छ ।
भारत खडा भएको जगमा जे–जति कमजोर बिन्दु छन्, त्यसैमध्ये एउटा धर्मले बनाएको धाँजामै काश्मीर छ । पछिल्लो समय हिन्दू बहुसङ्ख्यकवाद जसरी आक्रामक भएर उदाउने र दिनप्रतिदिन जब्बर भइरहेको छ, त्यसले भारतको बहुसांस्कृतिक र विविधतायुक्त लोकतन्त्रको भविष्य के होला भनेर धेरैले चिन्ता गर्न थालेका छन्् ।
तर, इतिहासकार र नागरिक दुवै भएर मैले देखेजस्तो सुरूमै भारतका तीनवटा मजबुत उपलब्धिलाई पहिले आत्मसात नगरी हालसालैका इतिहासको लेखाजोखा पूरा हुनसक्दैन ।
थुप्रै पहिचानहरू जोडिएर बनेको एउटा राष्ट्र
सन् १९४७ कै परिस्थितिमा मुलुक रहेको भए जस्तै साहसी पुँजीपतिले पनि यहाँ लगानी गर्ने हिम्मत जुटाउन सक्थेन ।
स्वतन्त्र भएलगत्तै भारतीय सेनाका अन्तिम बेलायती कमाण्डर इन चिफ जेनरल क्लाउड ओचिन्लेकले लेखेका थिए, ‘शिखहरूले एउटा बेग्लै शासन खडा गर्ने कोशिश गर्नसक्छन्् । मलाई लाग्छ, उनीहरूले गर्नेछन्् र त्यो बिन्दु नै भारत एउटा मुलुक हो भन्ने मान्यता तोड्ने कडीको रूपमा प्रारम्भ हुनेछ । किनकि यो युरोपजस्तै अनेक विविधताले भरिएको उपमहाद्वीप हो । यहाँका पञ्जावी मद्रासीभन्दा ठीक उसैगरी बेग्लै छन्् जसरी इटालियनभन्दा स्कटिसहरू फरक छन्् । बेलायतीहरूले यसलाई एकताको सूत्रमा बाँधेर राख्न खोजे पनि दिगो उपलब्धि हासिल हुनसकेन । थुप्रै पहिचान जोडिएर बनेको एउटा उपमहाद्वीपलाई कसैले पनि एउटा राष्ट्र बनाउन सक्दैन ।
ओचिन्लेकको मात्र होइन, भारत स्वतन्त्र भएपछिका प्रारम्भिक दिनमा यस किसिमका सोचाइ सर्वत्र थियो । एकसेएक पश्चिमा अवलोकनकर्ताले भारत एक राष्ट्रको रूपमा बाँच्नै नसक्ने र लोकतान्त्रिक त झनै हुन नसक्ने विचार प्रकट गरेका थिए । तर, भएरै छाड्यो ।
सन् १९५२ मा स्वतन्त्रतापछिको पहिलो आमनिर्वाचन बेला भारतमै रहेका अर्का पूर्व बेलायती अधिकारीले लेखेका थिएः “लाखौँ अनपढलाई मतदानमा सरिक गराएर तयार हुँदै गरेको यो विवेकशून्य प्रहसनलाई भविष्यले र भावी प्रबुद्ध युगले आश्चर्य मानेर हेर्नेछ ।”
यी सब अड्कल अनुमान परास्त गर्दै भारत एकीकृत भएर बाँच्यो र लोकतान्त्रिक मुलुक भएरै देखाइदियो ।
पक्कै पनि यसको जन्मकालमा हिंसाका वारदात भए । त्यसपछि काश्मीर, नागाल्यान्ड र अन्यत्र पनि विद्रोह चर्किए जसलाई बलपूर्वक नियन्त्रित गरियो । तर, जब कसैले बेलायत, अमेरिका, फ्रान्स वा चीनजस्ता मुलुकको राष्ट्र निर्माणको क्रममा रक्तपात भएको हिसाबकिताब गर्छ, त्यतिबेला सबैको तुलनामा भारतको आँकडा धेरे थोरै भेट्नेछ । एउटा गरिब, विभाजित र अझै पनि पूर्ण साक्षरता नभएको मुलुक लोकतान्त्रिक भइरहनु सबभन्दा ठूलो गौरव हो ।
भारतका प्रत्येक आमनिर्वाचन, यहाँका हरेक मतदाताको स्वतन्त्र मर्जी प्रस्फुटन हुने मानव इतिहासकै महान अभ्यास हुने गर्छ । त्यसैगरी कतिपय युरोपेली मुलुकभन्दा ठूला यसका थुप्रै राज्यमा सयौँपटक लगाएर हुने प्रान्तीय चुनावको काम उत्तिकै प्रभावकारी देखिन्छन्् ।
भारतीयले गर्व गर्नुपर्ने तेस्रो कारण हो, भाषिक बहुलतावाद जोगाएर राख्न कायम गरेको मानक ।
अमेरिकीहरूलाई हेरौँ न ! त्यहाँ जसले अङ्ग्रेजी बोल्दैन उसलाई हेर्ने दृष्टिकोण नै बेग्लै हुन्छ । जबकि, मेरो गोजीमा भएको एउटा नोटमै १७ भाषा र १७ वटै लिपि हुन्छ ।
एउटै भाषाले मात्र राष्ट्रिय एकता बचाउन सक्छ भन्ने प्रचलित धारणा नकार्दै हिन्दीलाई देशभरकै भाषाको रूपमा नथोपर्ने भारतका संस्थापकले कत्रो उदारता अपनाएका थिए । छेउकै पाकिस्तान र श्रीलङ्कामा भाषाको मतान्तरले रक्तपातपूर्ण द्वन्द्व र विखण्डनकै बिजारोपण गरेको थियो ।
वास्तवमा भन्ने हो भने, विशाल, विविधताले भरिएको र धेरै भाषा बोलिने एउटा राजनीतिक भेग, मानिसको स्वतन्त्र आवतजावत र एउटै बजारको रूपमा कसरी कायम रहन सक्छ भन्ने उदाहरण भारतले नै दसकौंसम्म युरोपियन युनियनलाई देखाइदिएको थियो ।
असफलता र धाँजाहरू
यी उपलब्धिका साथै तीनवटा महत्वपूर्ण असफलता जोडिएका छन्् ।
भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले मुलुकलाई ‘हिन्दू पाकिस्तान’ बन्न कदापि दिनु हुन्न भनेका थिए । उनले स्वतन्त्रतालगत्तै सन् १९४७ मा राज्यका मुख्यमन्त्रीहरूलाई लेखेका थिएः
“हामीकहाँ अल्पसङ्ख्यक मुसलमान छन्् जो अल्पसङ्ख्यक हुँदाहुँदै पनि ठूलो सङ्ख्यामा छन्् । उनीहरू चाहेर पनि अन्त जान सक्दैनन् । उनीहरूले भारतमै बस्नुपर्ने हुन्छ । यो हाम्रो आधारभूत सत्य हो जसलाई लिएर कुनै विवाद हुनसक्दैन । पाकिस्तानले जतिसुकै उद्वेलित पारोस् र त्यहाँका गैर मुसलमानलाई जतिसुकै अमानवीय र आतङ्कपूर्ण व्यवहार गरोस्, हामीले हामीकहाँ भएका अल्पसङ्ख्यकलाई सभ्यतापूर्वक व्यवहार गर्नुपर्छ । उनीहरूलाई एउटा लोकतान्त्रिक मुलुकको नागरिकले पाउने हक र सुरक्षा प्रत्याभूति गर्नैपर्छ ।”
भारतले मुसलमान, इशाई, शिख र पारसीलाई स्वतन्त्रताका साथै समान अधिकार प्रत्याभूति गरेको छ । नेहरू बाँचेकै बेला पनि छिटफुट धार्मिक द्वन्द्व नभएका होइनन् । तर, सन् १९६४ मा उनको निधनपछि हिन्दू र मुसलमानबीचमा एकपछि अर्को दङ्गा चल्दै आयो ।
हिन्दू प्रधानता वकालत गर्ने भारतीय जनता पार्टीको उदयसँगै सन् ८० दसकपछि हिन्दू सलमानबीचका दङ्गामा तेल छर्केजस्तो भइदियो । अहिले भारतीय जनता पार्टी चाहे संसदमा होस् वा सबैजसो महत्वपूर्ण राज्यको शक्ति सम्हाल्ने हैसियतमा पुगेका बेला र यसका धेरै नेता तथा सबैजसो कार्यकर्तामा देखिएको बहुमतको बलमिच्याइँले भारतलाई ‘हिन्दू पाकिस्तान’ बनाउने काममा सन् १९४७ यताकै सबभन्दा नजिक पुर्याइदिएका छन्् ।
पछिल्लो समय काश्मीरमाथि भारत चरम निर्दयी बन्नुका पछाडि एउटा कारणै बहुसङ्ख्यक काश्मिरीहरू मुसलमान हुनु हो ।
एकातिर लामो समयदेखि काश्मीरमा मुसलमान आतङ्कवादलाई मलजल गर्न पाकिस्तानको भूमिका र अर्कोतिर भारतीय प्रधानमन्त्री मोदीले विकास गरेका पन्थको दबदबाबीच यतिबेला काश्मीरमाथि जे जस्ता दमनकारी नीति अख्तियार गरिएको छ, त्यसलाई काश्मीरबाहेकको भारतीय जनसङ्ख्याले आलोचना गर्नेभन्दा पनि ताली बजाउनेतर्फ अग्रसर भइरहेको देखिँदै छ ।
भारतको अर्को असफलता, यहाँका निष्पक्ष र नियमबद्ध सार्वजनिक संस्था लगातार ध्वस्त पारिनु हो ।
मैले भन्दै आएजस्तै भारत पछिल्लो समय ‘केवल चुनाव गराउने लोकतन्त्र’ मा सीमित हुने खतरा बढ्दै गएको छ । कुनै पार्टी चुनाव जित्नेबित्तिकै उसका गतिविधिका निम्ति उत्तरदायी हुनै नपर्ने स्थिति छ । मुश्किलले संसद चलिरहेको छ । सञ्चारको ठूलो हिस्सा त्रस्त बनाइएको छ वा प्रभावको दायराभित्र तानिएको छ । न्यायालय भारले थिचिएर कामै गर्न नसक्ने अवस्थामा छ । निजामती कर्मचारी र प्रहरी भारतीय जनता पार्टीको पकेटमै छन्् । आफ्नो विरोध गर्नेलाई कर प्रशासन वा जासुस लगाइदिने काम डोनाल्ड ट्रम्पले गर्न नसके पनि मोदीले मजाले सक्छन्् । स्वतन्त्र ढङ्गले पत्रकारिता गरिरहेका द वायर, क्वींट र एनडीटीभीजस्ता थुप्रै वेबसाइट र टेलिभिजन मानहानीको मुद्दा झेल्दै छन्् वा कर कार्यालयको छापा भोग्दै छन्् ।
यस्ता अनेक कहानी छन्् ।
प्रकृतिको उपयोग र दोहन
हाम्रो तेस्रो ठूलो असफलता भारतले गर्दै आएको प्रकृतिको उपयोग र दोहनसँग जोडिएको छ । औद्योगिकीकरणको नाममा पश्चिमाहरूको नक्कल सिको नहोस् भनेर महात्मा गान्धीले सन् १९२८ मै चेतावनी दिँदै भनेका थिए, “यसले संसारलाई सलहजस्तै नाङ्गो पारिदिनेछ ।”
हामीले उनका कुरा वास्ता गरेनौँ । पुरानै र ऊर्जा तथा स्रोतमा आश्रित प्रविधि पछ्याएर बढी उपयोगी र दिगो विकल्प खोजेनौँ । परिणाम, हामी सबैका सामुन्ने छ ।
जलवायु परिवर्तन नभए पनि भारत वातावरणीय मुद्दामा जेलिन बाध्य छ । हाम्रा सहर विश्वकै सर्वाधिक प्रदूषणयुक्त भनेर चिनिन थालेका छन्् । थुप्रै नदी जैविक हिसाबले मृत बनिसके । माटोमा रसायन यसरी मिसाइसकेका छौँ, पुरानो गुण सायदै फर्किने छ । यतिबेलै सार्वजनिक संस्थालाई यति भ्रष्ट र पतन गराइसकिएको छ, यी सब कुराको उपचारार्थ तिनले कुनै कदम चाल्लान् भन्ने नचिताए हुन्छ ।
वातावरणमा हामीले भोगेका यी विनाश हिसाबकिताब गर्दै हाम्रो कुल गार्हस्थ उत्पादनको आँकडामा मिलाएर प्रस्तुत गर्ने र त्यसले पार्ने दीर्घकालीन असर जोड्ने हो भने कुनै पनि चेत भएको मानिसले भारत ‘आर्थिक महाशक्ति‘ बन्न सक्छ भनेर पत्याउँदैन ।
प्रधानमन्त्री बन्नुअगाडि इतिहास लेखनमा हात हालेका नेहरूले एकपटक “भारत मानवीय हिसाबले साँच्चिकै महान र साँच्चिकै उदेकलाग्दाहरू अटाएका सबैको साझा थलो हो” भनेका थिए ।
भारतीय स्वतन्त्रताको ६० औँ वर्ष मनाइरहँदा (सन् २००७) एउटा किताब प्रकाशित भयो । त्यतिबेला मैले लामै भए पनि मुलुकको इतिहासकै महान र उदेकलाग्दाहरूको दस्तावेजीकरण गर्न लगाएको थिएँ । त्यो सबै हेरेपछि भनेको थिएँ, “भारतमा ५०–५० लोकतन्त्र छ ।”
यस्तो निष्कर्षमा पुग्नुको पछाडि खुला र भयरहित चुनाव, मानिसहरूको निर्वाध हिँडडुल, पश्चिमा मानकको पुरानो लोकतन्त्रसँग भारतको मिल्दोजुल्दो रूप एकातिर थियो भने अर्कोतिर राजनीतिक भ्रष्टाचार, जात, लिङ्ग र धर्ममा आधारित हिंसा थियो ।
यो आँकडा पनि असाध्यै चाँडो ओह्रालो झ¥यो ।
आज बाह्र वर्षपछि म मेरो मुलुकको लोकतान्त्रिक साख अझ तल झार्दै छु । भारतीय जनता पार्टीलाई चुनौती दिनसक्ने कुनै पनि भरपर्दो विपक्षी नहुँदा, धार्मिक अल्पसङ्ख्यकमा बढ्दो त्रास र स्वतन्त्र पत्रकारितामाथिको आक्रमणले हामीलाई अब ‘४०–६० लोकतन्त्र‘ मा झारेको छ ।
हालै काश्मीरमा राज्य शक्तिको दुरूपयोग गरेर कुनै सङ्केत दिन खोजिएको हो भने ठीक छ, हामी अब ‘३०–७० लोकतन्त्र’ तर्फ बढिरहेका छौँ ।
(रामचन्द्र गुहा इतिहासकार तथा महात्मा गान्धीका आत्मकथाकार हुन् । यो उनले अमेरिकी अखबार वासिङटन पोस्टका लागि लेखेको लेखको अनुवाद हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *