भर्खरै :

अमेरिकासँग वार्ताका लागि प्रतिबन्ध हटाउनुपर्ने पूर्व शर्त : इरानी राष्ट्रपति

तेहरान, १० भदौ (रासस÷सिन्ह्वा) : अमेरिकासँग वार्ताका लागि इरानविरूद्ध उसले लगाएको प्रतिबन्धहरू हटाउनुपर्ने पूर्व शर्त तेहरानको रहेको इरानी राष्ट्रपति हसन रौहानीले मङ्गलबार बताउनुभएको छ ।
इरानी टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण भएको एक सम्बोधनमा राष्ट्रपति रौहानीले भन्नुभयो, “वार्ताका लागि पहिलो शर्त अमेरिकाले इरानविरुद्ध लगाएको ‘निर्मम’ तथा ‘गैरकानूनी’ प्रतिबन्ध हटाएर इरानीको अधिकारको सम्मान गर्नुपर्ने हुन्छ ।”
“हाम्रो व्यवहारमा कुनै परिवर्तन हुन अमेरिकाले विगतमा गरेका निर्णयप्रतिको पश्चातापबाट मात्र सम्भव छ ।”
“मैले पुनः दृढतासाथ यो भन्छु कि उनी (अमेरिकी) हरूले सन् २०१५ मा भएको आणविक सम्झौताबाट फिर्ता हुने गलत निर्णयलाई सच्चाउन तयार बन्नुपर्छ ।”
उहाँले थप्नुभयो, “उनीहरूले विश्वको चाहना र सुरक्षालाई सम्मान गर्नुपर्छ र इरानको क्रान्ति र इरानीहरूको अधिकारलाई मान्यता दिनुपर्छ ।”
इरानी राष्ट्रपति रौहानीले यदि राष्ट्रियताको पक्षमा गरिने कुनैपनि भेटवार्ताका लागि आफू तयार रहने सोमबार बताउनुभएको थियो ।
यसैबीच इरानी अधिकारीहरूले पनि अमेरिकासँगको वार्ताका लागि वासिङ्टन आणविक सम्झौता अनुरूप चल्नुपर्ने बताएका छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *