भर्खरै :

अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१

अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१

दक्षिण अफ्रिकी उपनिवेशवादविरोधी स्वतन्त्रता सङ्घर्षका नेता एवं दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका महासचिव क्रिस हानीको वास्तविक नाम मार्टिन टेम्बिसिली (Martin Tembisile) थियो । उनको जन्म सन् १९४२ मा साबालीली भन्ने गाउँको ट्रान्सकेइमा भएको थियो । उनका पिताको नाम गिल्बर्ट हानी र माताको नाम मेरी हानी थियो । गिल्बर्ट एक मजदुर थिए भने मेरी एक किसान थिइन् । गिल्बर्ट र मेरीका तीन भाइछोरामध्ये क्रिस माइलो थिए ।
क्रिसको जन्मथलो दुर्गम र विपन्न थियो । महिलाहरू पानी खोज्न पाँच किलोमिटर टाढा जानुपथ्र्यो । त्यति टाढाबाट ती महिलाहरू टाउकामा पानीको भाँडो बोकेर फर्कन्थे । एउटा साबुन र एक किलो चिनी किन्न पनि गाउँलेहरू १५ किलोमिटरसम्म हिँड्नुपथ्र्यो । मानिसहरू अशिक्षित थिए ।
क्रिस औपचारिकरूपमा गाउँकै प्राथमिक विद्यालयमा भर्ना हुनुअघि उनकी फुपूले उनलाई साँवा अक्षर, अङ्क र केही बालगीत सिकाइन् । त्यसले पछि उनलाई विद्यालयमा अरू विद्यार्थीको तुलनामा अब्बल बन्न सहयोग मिल्यो । एकजना लेखकसँगको अन्तर्वार्तामा आफ्नो विगत सम्झँदै क्रिसले भनेका छन् – ‘…. मलाई सम्झना छ, मैले कथा पढेको देखेर प्रधानाध्यापक मख्ख परेका थिए । तर, वास्तवमा मैले त्यो कथा कण्ठस्थ पारेको थिएँ र किताबै नहेरी म सबै शब्द– शब्द सुनाउँथेँ ।’
क्रिसको घर र विद्यालयको दूरी दुई घण्टाको थियो । हरेक दिन उनी दुई घण्टा विद्यालय पुग्न र दुई घण्टा फर्कन खर्चिन्थे । विद्यालयबाट फर्केपछि क्रिस आफ्ना साथीहरूसँग मिलेर गोठाला जान्थे । गोठालाहरू गधामा चढ्थे । उनीहरू फूटबल खेल्थे । क्रिस भने लट्ठी जुधाउनमा पोख्त थिए । उनका बालसखा माहोलीली छोम्बेनीले आफ्नो विगत सम्झदै भने, “उनी त्यसमा यति सिपालु थिए । हामीमध्ये कोही त उनीसँग डराउँथे । तर, उनी ज्यादै शिष्ट थिए । उनका लागि सबभन्दा महत्वपूर्ण कुरा विद्यालय बन्ने गथ्र्यो । केटीहरूप्रति उनको रूचि थिएन । उनी अरू केटाहरूले केटी जिस्काएको हेरिरहन्थे ।” क्रिस सानैदेखि किताब भनेपछि हुरूक्क थिए । कक्षा ५ को परीक्षामा उनले सो क्षेत्रका ३७ वटा विद्यालयका विद्यार्थीमध्ये सबभन्दा उत्कृष्ट नतिजा ल्याएका थिए ।
मानवीय क्षमता र मानिसहरूका समस्याप्रति चिन्तन गर्ने बानीका कारण उनी बाल्यकालमा ईसाई धर्मप्रति आस्थावान बने । उनी पादरीहरूका निःस्वार्थी जीवनपद्धतिबाट प्रभावित बने । उनी हरेक आइतबार बिदाको दिन गिर्जाघर जान्थे । गिर्जाघरको काममा सघाउँथे । तर, क्रिसका माता–पिता ईसाई धर्मावलम्बी थिएनन् । उनीहरू अफ्रिकाकै मौलिक धर्म मान्थे । क्रिसको जीवनमा पछिसम्म धर्मको प्रभाव रह्यो । सन् १९६० मा कम्युनिस्ट पार्टीको सदस्य बन्दासम्म उनी गिर्जाघरका नियमित सदस्य थिए । उनले एउटा अन्तर्वार्तामा धर्मप्रति आफ्नो परिपक्व बन्दै गएको धारणा यसरी व्यक्त गरेका थिए –
‘मेरा लागि पार्टी र गिर्जाघर परिपूरक संस्था थिए । म यिनीहरूबिच कुनै विरोधाभास पाउँदिनथेँ । तर, जसै समय बित्दै गयो मैले गिर्जाघर काला वर्णका जनताको सामाजिक र आर्थिक प्रगतिप्रति असंवेदनशील बनेको देखेँ । जब कि बाइबलले त्यसको ठीकविपरीत भनेको छ ।
त्यतिबेला (कम्युनिस्ट) पार्टी र अफ्रिकी राष्ट्रिय काङ्ग्रेस (एएनसी) ले गरिब जनताका दुःखलाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै थिए र सन् १९६२ सम्ममा धर्मप्रति मेरो निष्ठा कमजोर बन्दै गएको थियो । मृत्युपछि सुन्दर जीवनका आश्वासन र बाँचिरहेको जीवनका दुःखप्रतिको बेवास्ताबिचको विरोधाभासले मेरो मन मस्तिष्कमा भूकम्प गयो । त्यही वर्ष म एमके (अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको दस्ता) मा भर्ती भएँ र गिर्जाघरमा मेरो सक्रियता क्रमशः घट्दै गयो । छोटकरीमा म के निष्कर्षमा पुगेँ भने जनताका दुःख हरण गर्न म संलग्न पार्टीले गिर्जाघरले भन्दा धेरै बढी काम गरिरहेको छ ।
त्यस समय मैले ईश्वरको अस्तित्वमाथि प्रश्न उठाएँ, ‘यदि ईश्वरको अस्तित्व भए जनताको दुःखमा उनी के गर्दै बसे ?’
म धर्म मान्दिनँ तर म धर्मलाई दर्शनको रूपमा बुझ्दछु – विश्व ब्रह्माण्डका रहस्यहरू उद्घाटन गर्न खोज्ने महत्वपूर्ण काममा संलग्न अरू धर्मनिरपेक्ष वा भौतिकवादी दर्शनजस्तै । मलाई लाग्छ, “म धर्मभित्र रहँदाभन्दा यतिबेला धर्मको मर्म मैले बढी बुझेको छु ।”
जिगुदु प्राथमिक विद्यालय र काला (Cala) माध्यमिक विद्यालयको अध्ययन पूरा गरेपछि हानी १४ वर्षको उमेरमा सन् १९५६ मा एलिसको लभदेल कलेजमा पढ्न गए । लभदेल कलेजबाट त्यतिबेला रङ्गभेदविरोधी स्वतन्त्रता आन्दोलनको केन्द्रमध्येको एक फोर्ट हेयर विश्वविद्यालय नजिक थियो । हिँडेर पन्ध्र मिनेटमा पुगिन्थ्यो ।
एलिसमा हानी र उनीजस्ता न्यून आर्थिक अवस्थाका विद्यार्थीको जीवन त्यति सहज थिएन । एलिस रेल स्टेसनबाट झर्ने बित्तिकै आर्थिकरूपमा सम्पन्न परिवारका विद्यार्थी ट्याक्सी चढेर आफ्नो गन्तव्य पुग्थे । तर, हानीको निम्ति त्यसरी जान सम्भव थिएन । गधाले चलाउने टाङ्गा नै उनीहरूको सहारा बन्थे ।
एलिस चिसो ठाउँ हो । हिउँजत्तिकै चिसो पानीले नुहाइधुवाइ गर्नुपथ्र्यो । फलामको चिसो खात र उध्रिएका परालका सुकुलबाहेक छात्रावासको कोठामा केही थिएन । एलिसको हावापानी चिसो भए पनि त्यहाँको राजनीतिक हावापानी सधैँ न्यानो हुन्थ्यो ।
सन् १९५७ मा युवा लिगको लभदेल एकाइका प्रमुख सिमन केकेनाले हानीलाई अफ्रिकी राष्ट्रिय काङ्ग्रेसमा सदस्य बनाए । केकेना त्यतिबेला स्वतन्त्रता सङ्घर्षको मुखपत्र ‘नयाँ युग’ पत्रिकाका स्थानीय प्रतिनिधि पनि थिए । काङ्ग्रेसको सदस्य बन्नुअघि नै हानी एकता आन्दोलन र त्यसको युवा सङ्गठन ‘अफ्रिकी युवा समाज’ (The Society of Young Africa- S0YA) का विचारबाट प्रभावित भए । सो सङ्गठनले काला जातिमाथि गोरा जातिको शोषणको मूल कारण पुँजीलाई औँल्याउँथ्यो । तथापि, त्यो सङ्गठनले कुनै ठोस गतिविधि नगरेकोमा हानी असन्तुष्ट थिए । अन्यायविरूद्धको युद्ध दिमागमा मात्र रहे । त्यसको कुनै अर्थ नहुनेमा उनको दृढ मत थियो । तसर्थ, उनी उतिबेला सक्रिय अफ्रिकी राष्ट्रिय काङ्ग्रेसमा आबद्ध बने ।
सदस्यता दिन उम्मेदवारले आफ्नो अनुशासन र प्रतिबद्धता देखाउन केही गरेर देखाउने चलन थियो । केकेनाले एक साँझ उनलाई त्यस्तै एउटा निर्देशन दिए । निर्देशनअनुसार दुश्मन खेमाको एकजना व्यक्तिका कपडा राखिएको ग¥हुङ्गो बाकस खुसुक्क ल्याएर कहीँ जलाउनुपथ्र्यो । १६ वर्ष उमेरका किशोर हानीको लागि भूमिगत गतिविधिको स्वाद चाख्ने त्यो पहिलो अवसर थियो ।
त्यो समयमा दक्षिण अफ्रिकाको ठाउँ–ठाउँमा रङ्गभेद र अन्यायविरूद्ध सङ्घर्ष चर्किरहेको थियो । सन् १९५० दशकको पछिल्लो वर्षमा दक्षिण अफ्रिकाका रङ्गभेदी प्रधानमन्त्री एचएफ भिर्वोरेड (HF Verwoerd) सत्तासीन भए । उनले बान्टु स्वशासन कार्यान्वयन ऐन–४६ (१९५९) मा प्रस्तावित अवधारणाअन्तर्गत हानीको गाउँ ट्रान्सकेईलाई ‘फरक विकासको नमुना’ बनाउने घोषणा गरे । सोअनुसार काला जातिका मानिसलाई आफू जन्मी– हुर्की आएको जमिन जोत्न दिइने तर त्यसको स्वामित्व कायम नरहने बनाइयो । पछि त्यसलाई ‘बान्टुस्तान’ भन्न थालियो । ग्रामीण जनतालाई डुबाउने यो कदमविरुद्ध विख्यात कम्युनिस्ट पत्रकार गोभान बेकी (Voan Mbeki) ले सङ्घर्ष छेडे । पोर्ट एलिजावेथबाट प्रकाशित हुने ‘नयाँ युग’ पत्रिकाले त्यो सङ्घर्षलाई साथ दियो ।
‘नयाँ युग’ र दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीको विचारप्रधान पत्रिका ‘अफ्रिकी कम्युनिस्ट’ बारे हानीको कलेजका विद्यार्थीहरू छात्रावासमा, बगैँचाको रूखमुनि बसेर छलफल गर्थे । सन् १९५८ मा वम हमलाबाट ‘नयाँ युग’ को कार्यालय ध्वस्त पार्दा विद्यार्थीहरू आक्रोशित बनेका थिए ।
सन् १९५६ को डिसेम्बर ५ मा १ सय ५६ जना गोरा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका सदस्य एवं समर्थकको गिरफ्तारीसम्बन्धी कानुनी सङ्घर्षले पनि तात्कालीन स्वतन्त्रता आन्दोलनलाई टेवा पु¥यायो । अन्ततः ४ वर्षपछि सरकार पराजीत भयो र स्वतन्त्रता आन्दोलनका योद्धाहरू सरकारलाई झुकाउन सफल भए ।
सन् १९५७ को अलेक्सान्द्र बस बहिष्कार आन्दोलन त्यतिबेलाका चर्चित सङ्घर्षमध्ये पर्दछ । अलेक्सान्द्रको बस चढ्न काला जातिका मानिस कम्तीमा २० किमि हिँड्नुपर्दथ्यो । काला जातिका जनता बस्ने ठाउँ यातायातको सुविधाबाट वञ्चित गरिएको थियो । यो रङ्गभेदी सहरी योजनाको प्रतीक अलेक्सान्द्रमा बस चढ्न हजारौँ सहरका बासिन्दा बहिष्कारमा उत्रे । ‘नयाँ युग’ ले यो आन्दोलनको पक्षमा प्रचारप्रसार ग¥यो ।
सन् १९५७ को बेथल कृषि मजदुर काण्डबारे पनि ‘नयाँ युग’ पत्रिकाले लेख–रचना र समाचार प्रकाशित गरेको थियो । कालान्तरमा पूर्व त्रान्सभाल क्षेत्रका कृषि मजदुरहरूमाथिको चर्को शोषण आलु बहिष्कार आन्दोलनसम्म विकास भयो । क्रान्तिकारी कृषि मजदुर गिर्ट सिबान्डेको नेतृत्वमा रगत बगाएर उमारेको बेथालको आलु बहिष्कार आन्दोलन देशैभरि सल्कियो । दसौँ हजार काला तथा काला जातिका जनता यो सङ्घर्षमा सहभागी बने ।
हानीजस्ता जोशिला युवाहरूका निम्ति त्यतिबेलाका आदर्श गाबी (Gqabi) बनेका थिए । सन् १९६० को किसान विद्रोहमा गाबीले एकजना पत्रकारको रूपमा किसानहरूका जीवनको अन्तरङ्ग बुझेर निराशाजनक परिस्थितिमा उनीहरूका मित्र बने । यो किसान विद्रोहमाथि शासक वर्गले नराम्ररी दबायो । १६ जनाको हत्या भयो । धेरैलाई हतास मनस्थितिमा पु¥याएको थियो । गाबीको पछि हत्या भयो ।
बेकीका प्रभावशाली र जनपक्षीय लेख–रचनाले कानुनी हैसियत प्राप्त अफ्रिकी राष्ट्रिय काङ्ग्रेस र गैरकानुनी दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीलाई संयुक्तरूपमा अघि बढाउन सहयोग पु¥याएको थियो ।
सन् १९५९ को विश्वविद्यालय शिक्षा विस्तार ऐन – ४५ अनुसार फोर्ट हेयर विश्वविद्यालयलाई एउटा संस्थामा मात्र सीमित गर्ने निर्णयविरूद्ध फोर्ट हेयर र लभदेलका युवाहरू सङ्घर्षको अर्को मोर्चामा तम्सिए । सङ्घर्ष र समयले हानी र उनका सहपाठीहरूलाई धेरै कुरा सिकायो, बहसहरू पेचिला बन्दै गए । सन् १९५९ अप्रिलमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसबाट टुक्रिएर रोवर्ट सोबुक्वेको नेतृत्वमा अखिल अफ्रिकी काङ्ग्रेस (The Africanist Congress- PAC) गठन गरियो । यसले गरिब मजदुर वर्गबिच सङ्गठनलाई जोड दियो । सुरूमा यसप्रतिको आकर्षण र विस्तार व्यापक भए पनि पछिसम्म दिगो रहन सकेन । दस वर्षको अन्तरालमा यो पार्टी छिन्नभिन्न बन्यो ।
लभदेलमा क्रिस हानीको दिनचर्या कष्टकर थियो । उनीसँग जम्मा भएको एक जोर जुत्ता र एउटा ज्याकेट थियो । अरूका सुकिला लुगा अगाडि हानीको भेषभूषा नराम्रो थियो । ‘तर, त्यो मेरो लागि महत्वपूर्ण कुरा थिएन । मुख्य कुरा त मेरो शिक्षा थियो’, हानीले भने ।
लभदेलमा प्रशासनले विपन्न विद्यार्थीहरूमाथि भेदभावपूर्ण व्यवहार गथ्र्यो । गरिब विद्यार्थीलाई कमसल खाना दिइन्थ्यो । छात्रावासमा यस्तो पक्षपातविरूद्ध हानीले साथीहरूसँग मिलेर विरोध गरे । त्यस्ता विरोध कार्यक्रममा उनीहरू अल्बर्ट लुथुली र कङ्गोका सहिद प्याट्रिस लुमुम्बाका गीत गाउँथे । कलेजभित्र एकातिर काला र गोराबिचको रङ्गभेद थियो भने अर्कोतिर पैसा भएका र नभएका बिच पनि विभेद थियो । गोरा जातिका शिक्षकहरू काला जातिका शिक्षकहरू बसेको ठाउँभन्दा अलग अलि उठेको ठाउँमा खाना खान्थे । पैसा भएका विद्यार्थीहरूले हरेक दिन मासु, घिउसँग रोटी र अन्न मिसाएको दूध खान्थे । कतिले हप्ताको तीन दिन मासु खान्थे । तर, हानीसँग एकजोर अर्को लुगा किन्नसमेत पैसा थिएन । कलेजको व्यस्त तालिकाबिच शुक्रबार बेलुकी उनी आफ्नो ज्याकेट भिजाउँथे र शनिबार धोएर सुकाउँथे ।
सन् १९५८ को अन्त्यतिर हानीले लभदेलमा आफ्नो पढाइ सकाए । अङ्ग्रेजी, जोसा (अफ्रिकी भाषा), ल्याटिन, इतिहास, गणित र स्वास्थ्य उनका विषयहरू थिए । त्यही वर्ष अक्टोवरमा उनी फोर्ट हायरमा कानुन सङ्कायमा भर्ना भए । फोर्ट हायरमा नेल्सन मण्डेला, ओलिबर टाम्बो, गोभान बेकी, रोबर्ट सोबुक्वे, रोबर्ट मुगाबे, क्वेट्ट मासिर, कासियर माताम्जिमा र माङ्गोसुथु बुथिलिजी आदि चर्चित व्यक्तित्वहरू पढेका थिए ।

फोर्ट हायरमा क्रिस हानी मध्यम खालका विद्यार्थी थिए । सोचेजस्तो राम्रा नतिजा परीक्षामा हासिल गर्न उनले सकेनन् । विश्वविद्यालयका विद्यार्थी नेतृत्वमध्ये हानी सबभन्दा कान्छो भए । तापनि, उनको प्रभाव राम्रो थियो, विद्यार्थी तथा मजदुरबिच सङ्गठन गर्नमा उनी पोख्त थिए । नारा जुलुस एवं प्रतिबन्धित पर्चा वितरणमा उनी सदैव अगाडि हुन्थे । भूमिगत सूचना सम्प्रेषणमा उनी सिद्धहस्त थिए ।
त्यही बेला दक्षिण अफ्रिका बाहिर गोप्यरूपमा ६ महिना तालिम लिन १० जना प्रतिभावान कार्यकर्ता छनोट गर्ने निर्देशन जारी भयो । हानीले आफू नजाने बताए । त्यसताका उनी माक्र्सवादको गम्भीर अध्ययनमा जुटेका थिए । साम्यवादी सिद्धान्तप्रति उनको लगाव बढ्दै थियो । राष्ट्रिय मुक्ति र वर्गसङ्घर्ष एक–अर्कासँग अन्तरसम्बन्धित हुने सिद्धान्तप्रति उनको मत बलियो र स्पष्ट बन्दै थियो ।
एक दिन गोभान बेकी फोर्ट हायर आए । विद्यार्थीहरूले भूमिगत सङ्गठन संरचना निर्माण र विस्तारको लागि सहयोग गर्न अनुरोध गरे । त्यसै क्रममा उनले हानीलाई दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गरे । (पुरानो कम्युनिस्ट पार्टी विघटनपछि सन् १९५३ मा नयाँ दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी गठन गरिएको थियो ।)
सन् १९६० मा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसमाथि ठूलो सङ्कट आइपर्यो । सापभिल्ले र लाङ्गामा मार्च २१ मा भएको नरसंहारमा ७० भन्दा बढी मानिस मारिनुका साथै २ सयजना घाइते भए । प्रधानमन्त्री भिर्वोरेडले श्वेत आतङ्क फैलाएको थियो । पश्चिमा देशहरूले उनीमाथि कूटनीतिक दबाब दिए पनि उनले टेरपुच्छर लगाएका थिएनन् । त्यही वर्ष राष्ट्रिय काङ्ग्रेसमाथि भिर्वोरेडले प्रतिबन्ध लगायो । त्यसपछि काङ्ग्रेसका नेता–कार्यकर्तामाथिको यातना, जेल सजाय, मानवअधिकार हननको क्रम अझ बढ्यो । काङ्ग्रेसको नीति परिवर्तनमा चौतर्फी माग आयो, सशस्त्र प्रतिरोध गर्नुपर्ने हानीजस्ता युवाहरूको मत बलियो थियो । यसैबिच सन् १९६१ डिसेम्बर १६ मा काङ्ग्रेसको सशस्त्र दस्ता एमके (MK) गठन भयो । यद्यपि, कतिपय पार्टी नेताहरू भने सशस्त्र सङ्घर्षबारे असहज महसुस गर्दै थिए । तात्कालीन परिस्थितिबारे हानीले भने, ‘…… तर त्यो गम्भीर प्रश्न, समीक्षा र आत्ममूल्याङ्कनको समय थियो, दुवै काङ्ग्रेस र कम्युनिस्ट पार्टीमा ।’
नेल्सन मण्डेला एमकेका कमान्डर इन चिफ थिए । एमकेको घोषणापत्रमा लेखिएको थियो, “जनताको प्रतिरक्षाको अग्रभागमा एमके रहनेछ । सरकार र सरकारका जातीय दमनविरुद्ध जनताको लड्ने अस्त्र हुनेछ– एमके । यो मुक्ति, अधिकार र अन्तिम मुक्तिका लागि जनताको बलियो शक्ति हुनेछ ।”
एमकेलाई स्थानीय भाषामा Umkhonto we Sizue भनिन्थ्यो । स्थापनाकालदेखि एमके जातिवादी थिएन । कमान्डर मण्डेला प्रस्ट थिए, ‘अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको नेतृत्वले सधैँ काला दक्षिण अफ्रिकी जनतालाई हिंसा प्रयोग नगर्न सिकाए । तर, यसले केही उपलब्धि भएन । यसको अर्थ हाम्रा समर्थकहरू यो नीतिप्रति सशङ्कित हुन थालेका छन् …..।’
हानीले एमकेको सैनिक नियम ज्यादै मन पराए । नियममा लेखिएको थियो, “Umkhonto जनताको युद्ध लड्दै गरेको जनताको सेना हो । यसमा हाम्रा जनताका सबभन्दा उत्पीडित, सबभन्दा शोषितका छोराछोरी समावेश छन् । यसकारण, हामी गौरव र सत्यका साथ दाबी गर्छौँ : Umkhonto यो देशको हतियार हो ।”
एमके स्थापना भएकै दिन यसको पहिलो सशस्त्र कारबाही सुरू भयो । एमकेका प्राविधिक इन्जिनियर डेनिस गोल्डवर्गले दुईवटा बम बनाएका थिए । एउटा बमको समय दिने औजारले काम गरेन भने अर्को बम राख्न जाँदा उनी गिरफ्तारमा परे । प्रहरी पहिले नै उनलाई त्यस स्थानमा कुरिबसेका रहेछन् ।
– मजदुर किसान, पूर्णाङ्क १६ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *