भर्खरै :

महाअधिवेशन भद्रगोल, अव्यवस्थित र नेतृत्वको होडबाजी

महाअधिवेशन भद्रगोल, अव्यवस्थित र नेतृत्वको होडबाजी

निश्चित सिद्धान्त र विचार नबोकेको राजनीतिक दलको प्रस्ट विचार नहुनु र देशलाई मार्ग निर्देशन गर्न नसक्नु अस्वाभाविक होइन । दलको सिद्धान्त र विचार नै प्रस्ट छैन भने त्यो दलको सरकारले देशलाई मार्ग निर्देश गर्न सक्दैन । दलको स्पष्ट दृष्टिकोण नभएकै कारण रास्वपाले लिएको ‘संवैधानिक समाजवाद’को अवधारणाको खासै प्रचार हुन नपाउँदै ‘सामाजिक लोकतन्त्र’ भनी अर्को बाटो रोज्यो । दलले ‘संवैधानिक समाजवाद’ के हो भन्ने कुरा आफ्ना नेता तथा कार्यकर्ता र जनतालाई सुसूचित नपार्दै रोजेको ‘सामाजिक लोकतन्त्र’ पनि कुन दर्शन, सिद्धान्त र विचारबाट प्रभावित छ भन्ने कुरा आफ्ना दलका नेता, कार्यकर्ता र जनतालाई कसरी स्पष्ट पार्ने हो ? जनताले यसलाई कसरी बुझ्ने हुन् ? त्यो हेर्न बाँकी नै छ ।
असार १० गतेको ‘गोरखापत्र’ दैनिकमा लेखियो, ‘रास्वपाको सिद्धान्त ‘सामाजिक लोकतन्त्र ।’ पार्टीले ‘सामाजिक लोकतन्त्र’ लाई सैद्धान्तिक आधार मानेको छ । तर, कुन सैद्धान्तिक आधार प्रस्ट छैन । के सामाजिक प्रजातन्त्रले पार्टीको वैचारिक र राजनीति दिशा निर्देश गर्ला ? पार्टीले केको आधारमा ‘संवैधानिक समाजवाद’ को अवधारणा ल्यायो र केको आधारमा त्यो समाजवाद छोडेर ‘सामाजिक प्रजातन्त्र’ को अवधारणा ल्यायो ? प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र, विधिको शासन, जनउत्तरदायी सरकार, लोककल्याणकारी राज्य, समन्यायिक समावेशी समाजको स्थापना पार्टीको सैद्धान्तिक आधार होइन, त्यो सरकारको चाहना हो । दलको कुनै सैद्धान्तिक आधार या दर्शन व्यक्तिले मनखुसी तयार गर्ने हो या दलले तयार गर्ने हो ? ‘संवैधानिक समाजवाद’ र ‘सामाजिक प्रजातन्त्र’ कुन नेताले ल्याएका हुन् ? त्यो अवधारणा पारित गर्न दलमा छलफल गर्नु आवश्यक छ कि छैन ? चर्चाको विषय बनेको छ ।
असार ८ गते प्रकाशित ‘नेपाल समाचारपत्र’ दैनिकमा ‘रविकेन्द्रित पार्टीबाट संस्थाकेन्द्रित पार्टी यात्राको सुरुआत होस् ।’ भन्ने शीर्षकको समाचार छापियो । समाचारमा रास्वपा रवि लामिछानेको लोकप्रियतामा टिकिरहने पार्टी हो कि संस्थागत आधारमा चल्ने पार्टी हो भन्ने प्रश्न उठाइयो । नेका, एमाले र माओवादी नेताकै कारण प्रचार भए पनि संस्थागत गर्न नसक्दा या दल देश र जनताप्रति जिम्मेवार नहुँदा समयसँगै पतन भयो या निर्वाचनमा नमज्जासँग हारियो । यसरी नै रास्वपाको पनि त्यही गति हुने हो कि भन्ने प्रश्न राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् । पार्टीको सम्पूर्ण राजनीतिक ऊर्जा व्यक्तिमा केन्द्रित हुन्छ भने पार्टीको विकास कसरी हुन्छ ? गएको फागुन २१ गतेको निर्वाचनमा रास्वपाले बहुमत ल्याउन सक्नुको कारण रास्वपाको पार्टीको विचार बुझेर, अध्ययन गरेर होइन । त्यसबेलाका शासकहरू देश र जनताकेन्द्रित भएनन्; सत्ताको निम्ति जुनसुकै दलसँग भागबन्डा गर्ने, दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्ने र देश र जनताप्रति जवाफदेही नभएको र देशलाई कमाउने धन्धा बनाएका कारण जनतामा व्यापक असन्तोष थियो र परिणामतः निर्वाचनमा नसोचेझैँ हार भयो ।
रास्वपाका नेता र रास्वपामार्फत संसद्मा निर्वाचित सांसदहरू खासै राजनीतिमा भिजेका, सिद्धान्त र विचारको राजनीति गरेका सांसदहरू होइनन् । एकातिर दलको सिद्धान्त र विचार नै स्पष्ट छैन भने अर्कोतिर दलका नेता, मन्त्री र सांसदहरू सिद्धान्त र विचारबाट भिजेका होइनन् । यहीँ कारण रास्वपाको पहिलो महाधिवेशनको बन्द सत्रमा दल र पार्टीको निर्वाचन आयोगको विरोधमा नाराबाजी भयो । पार्टीको महाधिवेशन प्रतिनिधिमा विभेद भयो, भएको प्रतिनिधिको नामै काटियो; आफ्नो मनपरेको केन्द्रीय सदस्यमा निर्वाचित गर्न झूटको राजनीति भयो भनेर महाधिवेशन प्रतिनिधिहरूले आक्रोश पोखे । कति प्रतिनिधिहरूले त महाधिवेशन व्यवस्थित गर्न नसक्नेले देश कसरी सञ्चालन गर्ला भनी प्रश्न उठाए ।
पार्टी सभापतिले पार्टीमा गुट उपगुट नबनाउन आग्रह गरे पनि महाधिवेशनमा स्पष्टतः बालेन र रवि समूह देखापरेको स्वयं पार्टी महाधिवेशनका प्रतिनिधिहरूले खोले । महाधिवेशनका प्रतिनिधिहरू खुला प्रतिस्पर्धा गर्न पाउँछन् भनी पार्टीका नेताहरूले खोके पनि सोअनुसार व्यवहारमा नदेखिएकोमा प्रतिनिधिहरू असन्तुष्ट देखिए । असन्तुष्टहरूले प्रश्न उठाए, महाधिवेशन प्रतिनिधिहरूको नाउँ कसले किन काट्यो ? महाधिवेशन प्रतिनिधिहरूको सूची नमिलेर या आ–आफ्नो पक्षका नामहरू थप्न बन्द सत्र एकदिन सारिएको हो भन्ने प्रश्न पनि उठ्यो । असार ११ गतेको ‘नागरिक’ दैनिकमा ‘रास्वपा महाधिवेशनः प्रतिनिधि विवादले भद्रगोल’ शीर्षकको समाचार छापियो । मङ्गलबार नै नयाँ नेतृत्व चयन गर्ने पूर्वकार्यतालिका रहे पनि बुधबार रातिसम्म पनि प्रतिनिधिको टुङ्गो लाग्न नसक्दा महाधिवेशन भद्रगोल बन्न पुगेको हो । महाधिवेशन भद्रगोल र व्यवस्थापनमा कमजोरी देखिएकोले प्रतिनिधिहरू असन्तुष्ट भए । सोही दिनको ‘अन्नपूर्ण पोस्ट’ दैनिकमा ‘नीति ओझेलमा, नेतृत्वमा हानथाप’, शीर्षकको समाचार छापियो । रास्वपाको महाधिवेशन पनि अरु ठुला दलको पार्टीको जस्तै नेतृत्वमा केन्द्रित भएको अनुभूति महाधिवेशन प्रतिनिधिहरूले गरे ।
महाधिवेशनमा सिद्धान्त, विचार र मार्ग निर्देशनबारे खासै बहस नै भएन; पार्टीको राजनीतिक, सङ्गठनात्मक प्रतिवेदनहरू खासै छलफल नगरी पारित भएको दलकै कार्यकर्ताहरूले असन्तोष व्यक्त गरे । कान्तिपुर दैनिकले लेख्यो, ‘सङ्घीयताबारे लामिछाने र वाग्लेको प्रस्वावमै अन्तरविरोध ।’ पार्टी सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले प्रस्तुत गरेको दुई दस्ताबेजमा सङ्घीयताबारे एउटै मत नभएको विश्लेषण गरियो । भद्रगोल व्यवस्थापनले महाधिवेशन प्रतिनिधिले अनावश्यक सास्ती खानुपरेको कुरा सञ्चारमाध्यममा आयो । महाधिवेशनकै क्रममा यसअघि भएको प्रदेश, नगर र गाउँपालिकाको सम्मेलनमा पनि कुटपिट भएको थियो । यसरी रास्वपाको पहिलो महाधिवेशन भद्रगोल, अव्यवस्थित, नेतृत्वको लागि होडबाजी भएको स्पष्ट भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *