भर्खरै :

एक आदर्श समाजको निर्माण गर्न

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन २०७६ असोज ३, ४ र ५ गते भव्यताका साथ सम्पन्न हुँदैछ । महाधिवेशन भव्यरूपमा सफल पार्नको निम्ति युवा, विद्यार्थी, किसान, मजदुर, महिला, बुद्धिजीवी, शिक्षक, प्राध्यापक, कानुन व्यवसायी, डकर्मी, सिकर्मी, मिनिबसलगायत अन्य सबै वाहनका चालक र सहचालकहरूको माझमा छलफल चालू रहेका समाचारहरू आउँदैछन् । नेमकिपाका पार्टी र वर्गीय सङ्गठन एवम् पेशागत सङ्घ–संस्था र समाजका सदस्यहरू भएका पूर्वदेखि पश्चिम र तराईदेखि हिमालसम्मका जिल्ला, गाउँ र नगरहरूमा पार्टीको महाधिवेशनको महत्वबारे छलफल हुँदैछ ।
केहीले जिज्ञासा राख्छन् – नेमकिपा स्थापनाको चार दशकपछि पनि देशमा किन समाजवादी क्रान्ति हुँदैन ? सरकारमा नगइकन के समाजवादमा पुगिएला ? केही हजार र लाख मानिसहरूले मात्र क्रान्ति गर्न सक्लान् ? विदेशी सरकारले सहयोग नगरीकन के क्रान्ति पूरा होला ? यस्ता अनेकौँ जिज्ञासाहरू कार्यकर्ता र समर्थकहरूमा हुनु स्वाभाविक छ ।
हजारौँ वर्षदेखि शोषक र शोषितको रूपमा विभाजित समाजलाई उल्टाउने विचार पहिले कल्पना नगरिएको विषय थियो । समाजवादका चिन्तक र विचारकहरूले धनी र गरिब, शोषक र शोषित, शासक र शासितहरू आउनुको कारण पहिल्याएपछि ती समस्याहरूलाई पनि निर्मूल गर्न सक्ने बताए । मानव समाजको सुरूमा सबै समान थिए, पछि समाजले नै बनाएका राजा र मुखियाहरूको स्वार्थले समाजमा असमानताले बाटोे लियो । मानिसहरूको एउटा ठूलो समूह वा जातिसँग अर्को समूह र जातको झगडा भयो । हारेका जातिका जनता दास बनाइए र जितेकाहरू मालिक भए । हारेका जातिका खेतिपाती र पशुहरू समेत जितेका जातिको भयो । यसरी समाजमा सम्पत्ति हुने र नहुने वर्ग देखाप¥यो । क्रान्तिपछि आउने सरकारहरूले शोषक वर्गसँग भएका ठूल–ठूला जग्गा–जमिन, कल–कारखाना, बैङ्क, यातायातजस्ता उत्पादनका साधनहरू सारा जनताको हितमा उपयोग गरेमा शोषक र शोषित, धनी र गरिब लोप हुँदै जानेछ । तर, अहिलेसम्मका नेपालका समाजवादी र कम्युनिस्ट भनिने सरकार र नेताहरू झूटा भएका हुनाले समाजमा ठूलो परिवर्तन वा क्रान्ति भएन ।
नेमकिपाका नेताहरू पनि अहिलेका पुँजीवादी सरकारहरूमा जाँदा क्रान्ति हुने भए अन्य कम्युनिस्ट भनिने नेताहरू धेरै पटक मन्त्री भए, खोई त क्रान्ति भएको ? पुँजीवादी सरकारमा कम्युनिस्टहरूले भाग लिनुको अर्थ जनतामा झन् भ्रम फैलाउनु हो ।
केही हजार र लाखले सशस्त्र सङ्घर्ष गर्दैमा क्रान्ति हुने भए २००७ सालको क्रान्ति र केही हजार नेपाली मारिएको माओवादीको दस वर्षे ‘गृह युद्ध’बाट खोइ त समाजमा आमूल परिवर्तन भएको ? क्रान्तिप्रति अत्यन्त बहुमत जनताकोे सहयोग र समर्थन भएन भने र तल्लो तहका जनता सचेत भएनन् भने क्रान्ति असफल हुन्छ ।
विदेशी शक्तिको सहयोगविना क्रान्ति नहुने भन्ने हो भने दस वर्षे ‘माओवादी जनयुद्ध’ भारतीय विस्तारवादबाटै सञ्चालित थियो । प्रचण्ड र बाबुराम भट्टराईहरू भारतीय गुप्तचर विभागको मुठ्ठीका माखो थिए भन्ने कुराको तथ्यहरू खुल्दैछन् । विदेशी पुँजीवादी सरकारले कम्युनिस्ट क्रान्तिलाई सहयोग गर्दैन भन्ने भनाइलाई मन्त्रको रूपमा लिनुपर्छ । भारतीय एकाधिकार पुँजीले नेपाललाई आफ्नो बजार बनाउन चाहन्छ, जलस्रोत र अन्य प्राकृतिक स्रोत–साधन आफ्नो मुठ्ठीमा पार्न चाहन्छ र भोलि नेपाललाई काश्मीर बनाउने उसको योजना छ ।
क्रान्तिको निम्ति क्रान्तिकारी नेतृत्व र सिद्धान्त चाहिन्छ । नेताहरूको एउटा दल वा केही मन्त्रीहरू क्रान्तिकारी हुँदैमा क्रान्ति हुने गर्दैन । साथै, हामी हतारिँदैमा पनि क्रान्ति हुँदैन । क्रान्तिको निम्ति व्यापक जनता तयार हुनु आवश्यक छ । जसरी आँप, सुन्तला र अरू फल फल्न वा टिप्न १०–१५ वर्ष लाग्छ, त्यस्तै समाजमा आमूल परिवर्तन गर्न जनतालाई सैद्धान्तिक र वैचारिकरूपले शिक्षित गर्नु आवश्यक छ । नत्र आजको नेकपाजस्तै मन्त्री हुन, पैसा कमाउन भ्रष्टाचारीहरू र विदेशी सरकारसँग मिल्ने गर्दैनन् ।
शोषणरहित समाज खडा गर्न एक ऐतिहासिक समय लाग्छ । त्यो एक आदर्श समाज हुनेछ । त्यो समाजमा काम–माम–कपडाको व्यवस्थाका साथै सबैलाई व्यक्तित्व विकासमा समान अवसर प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *