जारशाही संसद्मा बोल्शेभिक सांसद – ६
- कार्तिक २४, २०८२
अनिल
दोस्रो विश्वयुद्धपछि संसारमा उपनिवेशवादविरोधी आन्दोलनको विश्वव्यापी लहर उठ्यो । ‘सभ्यता सिकाउने’ नाममा युरोपका उपनिवेशवादी देशहरूले संसारका कुनाकाप्चामा फैलाएको उपनिवेशवादी शासन एकपछि अर्को ढल्दै गयो । शताब्दियौँदेखि उपनिवेशवादी शासकहरूले उपनिवेशहरूमा चलाउँदै आएको अमानवीय लुटमा आधारित शासन अन्त्य भयो । कतिपय उपनिवेशमुक्त देशहरूले समाजवादको बाटो तताए । कतिपय देशमा भने उपनिवेशवादी शक्तिको ठाउँमा नयाँ शासक वर्गको जन्म भयो । कामदार जनताको लागि ती देशमा शासक फेरिए, शासन सत्तामा कुनै मौलिक भिन्नता भने देखिएन ।
उपनिवेशवादले सबभन्दा नराम्ररी गाँजेको महादेश थियो–अफ्रिका । झन्डै सबैजसो उपनिवेशवादीहरूले अफ्रिकामा उपनिवेश जमाए । अफ्रिकाको अथाह प्राकृतिक स्रोतसाधनमाथि उनीहरूले ‘लखनऊ लुट’ चलाए । अफ्रिकाको स्रोतसाधन मात्र लुटिएको थिएन, अफ्रिकी जनतालाई लगेर दास बनाए ।
सोभियत सङ्घको सहयोगमा दोस्रो विश्वयुद्धपश्चात् संसारका अन्य महादेशमा जस्तै अफ्रिकामा पनि स्वतन्त्रता आन्दोलनको लहर उठ्यो । संसारका विभिन्न देशमा फैलिएको स्वतन्त्रता आन्दोलनबाट प्रभावित भएर अफ्रिकामा पनि क्रान्तिकारी पार्टी र क्रान्तिकारीहरू जन्मे । उनीहरूले उपनिवेशवादविरुद्ध सशस्त्र सङ्घर्ष गरेर आफ्नो मातृभूमिलाई स्वतन्त्र बनाए ।
अफ्रिका महादेशको सबभन्दा दक्षिणमा रहेको देश दक्षिण अफ्रिकामा बेलायतको उपनिवेशवाद थियो । उत्पादनका साधनहरू – जमिन र कलकारखाना सबै बेलायती शासकहरूको नियन्त्रणमा थियो । उत्पादनका साधनहरू लुटिएका दक्षिण अफ्रिकी जनतालाई हातमुख जोड्न समेत धौधौ थियो । धार्मिक विद्यालयबाहेक पढ्ने अरू कुनै शिक्षालय थिएन । दैनिक गुजाराको लागि नै समस्या भोगिरहेका जनताले पढ्ने–लेख्नेतिर ध्यान दिन सजिलो थिएन । तर, समयले ल्याएको चेतनाको लहरले त्यो प्रतिकूलताबीच पनि मुक्तिको सपना देख्ने योद्धाहरू जन्मायो । तिनै योद्धाहरूमध्ये एक थिए–क्रिस हानी ।
निकै गरिब पारिवारिक पृष्ठभूमिमा जन्मे–हुर्केका क्रिस हानी अध्ययनको लागि जेनतेन विश्वविद्यालयसम्म पुगे । विश्वविद्यालयमा अङ्कुराउँदै गरेको स्वतन्त्रताको बीउले हानीलाई पनि स्वतन्त्रता आन्दोलनतिर डो¥यायो । दक्षिण अफ्रिकी स्वतन्त्रता आन्दोलनको नेतृत्व अफ्रिकी राष्ट्रिय काङ्गे्रसले गरिरहेको थियो । सन् १९४८ देखि गोरा शासकहरूको राष्ट्रिय पार्टीले दक्षिण अफ्रिकामा शासन चलाइरहेको थियो । त्यत्तिबेला विभेदकारी गोरा शासनविरुद्ध लड्न दक्षिण अफ्रिकाका तीन वटा पार्टीको गठबन्धन बनेको थियो । अफ्रिकी राष्ट्रिय काङ्ग्रेस, दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी र दक्षिण अफ्रिकी ट्रेड युनियन काङ्गे्रस सो गठबन्धनमा सामेल थिए ।
सन् १९४८ मा गोरा अहङ्कारवादी राष्ट्रिय पार्टीले शासन चलाउन थालेपछि कम्युनिस्ट पार्टीभित्र दुई वटा मत देखापरे । एकथरी नेताहरू सत्तारुढ राष्ट्रिय पार्टीले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने भएकोले पार्टी विघटन गरी अफ्रिकी राष्ट्रिय काङ्ग्रेसमै एकाकार हुनुपर्ने विचार अघि सारे । अरू नेताहरू यो विचारमा सहमत भएनन् र कम्युनिस्ट पार्टीलाई निरन्तरता दिए । क्रिस हानी कम्युनिस्ट पार्टीमा आबद्ध भई दक्षिण अफ्रिकामा रङ्गभेदी शासन अन्त्यको लागि सङ्घर्ष चालू राखे ।
सोभियत सङ्घमा सशस्त्र गुरिल्ला तालिम लिए । सोभियत सङ्घको समाजवादी व्यवस्थाबाट उनी प्रभावित भए ।
स्वतन्त्रता आन्दोलन देशको राजनीतिक स्वतन्त्रताको विषय मात्र थिएन । राजनीति स्वतन्त्रताका साथै आर्थिक समानता र उत्पादनका साधनमाथि कामदार जनताको स्वामित्वले नै वास्तविक अर्थमा दक्षिण अफ्रिकालाई स्वतन्त्र बनाउन सक्थ्यो । क्रिस हानीले यही विचार अङ्गाले । तान्जानियामा लामो समय बसेर रङ्गभेदी सत्ताविरुद्ध स्वतन्त्रता आन्दोलनको तयारी गरे । लेसोथोलाई आधार बनाएर उनले रङ्गभेदी सरकारविरुद्ध राजनीतिक गतिविधि गरे ।
क्रिस हानी घुम्ने कुर्सीमा बसेर नेतृत्वको स्वाङ पार्ने नेता थिएनन् । उनी सङ्घर्षको मोर्चामा आफैँ खट्ने नेता थिए । जनताबीच काम गर्न सिपालु र धैर्यता भएका नेता थिए । त्यस्तै विशेषताका कारण सन् १९९१ मा रङ्गभेदी सरकार पतन हुँदासम्म दक्षिण अफ्रिकी नेताहरूमध्ये लोकप्रिय नेतामा उनी पनि थिए ।
क्रान्तिकारी विचारलाई घृणा गर्ने गोरा अहङ्कारवादीहरूले हानीको विचार आफ्ना लागि घातक हुनसक्ने निष्कर्ष निकाले र उनको सन् १९९४ मा हत्या गरे । दक्षिण अफ्रिकाको स्वतन्त्रपछि उनी लामो समय बाँचेनन् । प्रतिभाशाली र निकै सम्भावना भएका नेता हानीको निधनले दक्षिण अफ्रिकी जनतालाई आक्रोशित बनायो । हानीको हत्या नहुँदो हो त दक्षिण अफ्रिकाको राजनीतिक र आर्थिक बाटोमा केही भिन्नता हुने थियो ।
हानी अफ्रिकी स्वतन्त्रता आन्दोलन र कम्युनिस्ट आन्दोलन बुझ्ने आँखीझ्याल हुन् । पत्रकार समाज नेपालले प्रकाशन गरेको क्रिस हानीको संक्षिप्त जीवनी अफ्रिकी क्रान्तिकारी आन्दोलनबारे नेपाली जनतालाई बुझाउन उपयोगी पुस्तक हो । नेपालमा अफ्रिका र अफ्रिकाको क्रान्तिकारी आन्दोलनबारे लेखिएका पुस्तक निकै थोरै छन् । सानै आकारको भए पनि पत्रकार समाजद्वारा प्रकाशित पुस्तकले नेपाली पाठकलाई अफ्रिका र नेता हानीबारे परिचयात्मक जानकारी दिन उपयोगी छ ।
Leave a Reply