नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
समा
नेपाल प्राध्यापक समाजको मुखपत्र ‘दि एकेडेमी’ को दोस्रो अङ्क हालै पाठकको हातमा पुगेको छ । नेमकिपाको सातौँ महाधिवेशनको सन्दर्भमा अध्यक्ष का. रोहितसँगको विशेष अन्तर्वार्ता सहित ‘दि एकेडेमी’ प्रकाशित भयो । ‘दि एकेडेमी’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विषयहरूमा बौद्धिक चिन्तन पस्कन सफल देखिन्छ । यस अङ्कको सम्पादकीयले बुद्धिजीवीहरूमा देखिएको अवसरवादी र मौनताको संस्कृति देशकै लागि घातक हुने तर्क प्रस्तुत गरेको छ । सही र गलत, न्याय र अन्याय, ठीक र बेठीक बताउने साहस बुद्धिजीवीहरूमा हराउँदै जाँदा समाजमा भ्रष्टाचार, अन्याय, अत्याचार, शोषणजस्ता गलत अभ्यासले मलजल पाइरहेको बुलेटिनले प्रस्ट पारेको छ ।
पार्टी अध्यक्ष का. रोहितसँगको अन्तार्वार्ताबाट पाठकले सैद्धान्तिक र वैचारिक खुराकसँगै का. रोहितको राजनीतिक दृष्टिकोण र दूरदृष्टि जरुर पाउनेछन् । पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा लिइएको यस अन्तर्वार्तामा पार्टीका आगामी कार्यक्रमबारे सघन छलफल प्रस्तुत छ । तात्कालीन कार्यक्रम जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने पार्टीको उद्देश्यबारे प्रस्ट चर्चा अन्तर्वार्तामा छ । कामदार वर्गको सेवाका लागि माक्र्सवाद – लेनिनवाद र माओ त्सेतुङ विचारधाराको प्रचार नयाँ शिक्षित युवाहरूबाट हुनेमा का. रोहित विश्वस्त हुनुहुन्छ । क्रान्तिकारी संसद्वादको झन्डा सदैव उँचो फहराइरहेको नेमकिपा संसद्वादको विरुद्ध इस्पातभैmँ उभिएको जगजाहेर छ । चीनलाई दक्षिणतिरबाट घेर्ने बिम्स्टेक र हिन्द – प्रशान्त सैन्य गठबन्धन बनाउने तरखरमा संरा अमेरिका रहेको विश्लेषण का. रोहितको छ । चिनियाँ विशेषतासहितको समाजवाद, ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ बारे का. रोहितको विश्लेषण मननीय छ ।
‘कमोडिटी फेटिशिजम्’ शीर्षकमा राजन फाँजूको लेखले कार्ल माक्र्सको पुँजीको खण्ड १ भाग ४ को एउटा विषयलाई सरस ढङ्गले प्रस्तुत गरेको छ । लेखले कार्ल माक्र्सको आर्थिक सिद्धान्त बुभ्mन सघाउँछ । अर्थशास्त्र, राजनीतिशास्त्रका विद्यार्थीका लागि, सूक्ष्म अध्ययनका लागि लेख उपयोगी छ । कमोडिटी फेटिशिजम् अर्थात ‘वस्तु मोह’ लाई श्रम र श्रमिकबीचको सामाजिक सम्बन्धसँग जोडेर विश्लेषण गरिएको छ । सरल ढङ्गबाट उदाहरणसहित वस्तुको व्याख्या गरिएको छ । वस्तुपरक उदाहरणसहित सरल तरिकाबाट गहन विषयको जानकारी लेखले दिन्छ । साथै कार्ल माक्र्सको पुँजी अध्ययन गर्ने उत्प्रेरणासमेत मिल्छ ।
पाउलो फ्रेरेको पुस्तक उत्पीडितहरूको शिक्षाशास्त्रको सार राकस्थाले प्रस्तुत गरेका छन् । ४ भागमा विभक्त पुस्तकका प्रत्येक खण्डको सार खिचिएको पाइन्छ । शिक्षाले शोषण सहन होइन, उत्पीडकहरूमाथि प्रश्न उठाउन सक्ने क्षमता बढाउनुपर्ने फ्रेरेको विचारलाई जोड दिएर लेखमा उदृत गरिएको छ । फ्रेरे भन्छन् – “उत्पीडितमा आलोचनात्मक दृष्टिको विकास गराउन र उनीहरूको स्थितिमा परिवर्तन गर्न पाइला चाल्न सहयोग गर्नु नै ‘उत्पीडितको शिक्षणशास्त्र’ को मूख्य भूमिका हो ।”
‘उच्च शिक्षामा सामुदायिक क्याम्पस÷कलेजहरू’ शीर्षकमा चक्रबहादुर चाकतुको लेखले शिक्षाको इतिहास, आवश्यकता र हाल शिक्षामा भइरहेको व्यापारीकरण र नवउदारवादी नीतिबारे बहस पस्केको छ । ‘लोकगीतको जीवन्तता र नयाँ पुस्ता’ मा विष्णुगोपाल कुसीले भक्तपुर लोक साहित्यमा पनि सम्पन्न रहेको ऐतिहासिक पृष्ठभूमि उजिल्याएका छन् । सरल, सहज र स्वाभाविकरूपले गाइने लोकगीतहरू बिस्तारै हराउँदै गएकोमा लेखक चिन्ता व्यक्त गर्छन् । पाँचतले मन्दिर निर्माणसम्बन्धी लोकगीत, फूल र ऋतुको वर्णन गर्दै बाह्रमास गाइने गीत, विवाहसम्बन्धी गाइने गीत, श्रमसम्बन्धी गाइने गीत, फाकंदली, भालु नाचमा गाइने गीतलगायतका लोक गीतहरूबारे लेखकले मिहिन चर्चा गरेका छन् ।
‘संरा अमेरिकामा बन्दुकको हिंसा’ ले विश्वमा सबैभन्दा बढी मानवअधिकारको वकालत गर्ने देश संरा अमेरिकाको वास्तविक अनुहार प्रकाशमा ल्याएको छ ।
समुदायको व्यवस्थापनअन्तर्गत विद्यालयलाई रुपान्तरण गर्नेतर्फ दाताहरूको चासोबारे सरोजराज गोसाईले लेखेका छन् । समुदायमा आधारित व्यवस्थापनमा विद्यालयहरूलाई लगेमा दाता संस्थाहरूले आर्थिक सहायता दिने र ती विद्यालयहरूलाई दाता संस्थाको सर्तहरूमा चलाउने, बिस्तारै निजीकरणतर्फ लाने उद्देश्य रहेको प्रस्टिन्छ । सरकार शिक्षाको हकमा आफ्नो जिम्मेवारीबाट विमुख भएको तर्क लेखकले राखेका छन् ।
‘अनुसन्धान या खोजमा तथ्याङकशास्त्रको भूमिका’ शीर्षकमा डा. राजेशकुमार श्रेष्ठको लेख जानकारीमूलक छ । अनुसन्धानका किसिम, तथ्याङ्कका प्रकार, अनुसन्धानको तरिका, प्रयोग गरिने माध्यम, विश्लेषणबारेको चर्चा नयाँ खोजकर्ताहरूका लागि उपयोगी सिद्ध हुनेछ ।
‘गरिबी निवारण र राजनीतिक दलहरूको भूमिका’ शीर्षकमा हरिसुन्दर सुवालले चीनको गरिबी निवारणका लागि चालेका कदमहरू, बनाएका योजनाहरूसँगै छोटो समयमा चीनले गरिबी निवारणको क्षेत्रमा प्राप्त गरेको सफलताबारे व्याख्या गरेका छन् ।
बुलेटिनको दस्तावेज खण्डमा प्राध्यापक समाजद्वारा आयोजित क्युवाली क्रान्तिको ६० वर्ष र साम्राज्यवादविरोधी सङ्घर्ष विषयक प्रवचन कार्यक्रममा व्यक्त मन्तव्य प्रस्तुत छ । मार्टिन कोपेलले संरा अमेरिकाको वर्ग सङ्घर्ष, क्युवाली क्रान्तिप्रतिको ऐक्यबद्धता र क्युवामाथिको ६ दशक लामो नाकाबन्दी हटाउन गरिएका सङ्घर्षहरूको सिलसिला समेटेका छन् । अन्नालुसिया भर्मन्तले न्यूजिल्यान्डका मजदुरहरूको स्थितिबारे यथार्थ पस्केकी छिन् । सरोजराज गोसाईको क्युवाली समाजवाद र क्रान्तिबारे व्यक्त मन्तव्य पनि समाविष्ट छ । प्रधानजीको ‘दि एकेडेमी’ सर्सर्ती हेर्दाले अघिल्लो अङ्कको झ–झल्को दिन्छ ।
एउटा पठनीय र विचारविमर्श गर्न योग्य बुलेटिनका रूपमा प्रकाशित ‘दि एकेडेमी’ निरन्तर प्रकाशनको अपेक्षा पाठकले जरुर गर्छन् । बुलेटिनको नाम अङ्ग्रेजीबाट राखिएको हुँदा यो अङ्ग्रेजी पत्रिका हो कि भन्ने लाग्नु स्वाभाविक हो । केही अङ्गे्रजी भाषामा लेखिएका लेखहरू समेटिएको बुलेटिन नामअनुसार मिल्दोजुल्दो होस् भनी कामना गर्नु अन्यथा नहोला । सुन्दर गातासहितको यो अङ्क समग्रमा जानकारीमूलक छ । प्रकाशकलाई साधुवाद छ ।
Leave a Reply