भर्खरै :

तिहार र नेपाल संवत्को सेरोफेरो

राकस्था
माग्ने संस्कृति
आइतबार लक्ष्मीपूजाको साँझ एक हुल केटाकेटी पङ्तिकारको घरआँगनमा देउसी खेल्न आए । ती केटाकेटीलाई जम्मा भएको पैसाले के गर्ने सोधियो । १०–१२ वर्षका केटाकेटीले मेरो अनपेक्षित प्रश्नको उत्तर तत्कालै दिए, पटाका किन्छौँ । पटाका प्रतिबन्धित छ । खेलकुदका सामग्री, कापीकलम वा पुस्तक किन्न खर्च गर्छौंँ भन्ने जवाफ आएको भए कति जाती हुन्थ्यो होला ! विद्यालयमा पढ्ने उमेरका केटाकेटी निसङ्कोच ‘माग्न’ हिँड्दै थिए, सामूहिक हितभन्दा आफ्ना साना इच्छा पूरा गर्न ।
‘मागेको रोटीले मेरो पेट भरिन्न, खोसेको धोतीले मेरो लाज छोपिन्न’ भन्ने एउटा चर्चित राष्ट्रिय गीत छ । तर, शासकहरू आफै जहिलेसुकै देशविदेशमा माग्ने भाँडोका साथ प्रस्तुत हुन्छन् । कुनै शक्तिराष्ट्रका प्रमुखसँग भेट नहुँदै अनेक सहयोगको याचना गर्छन् । केही सिलाइ मेसिनदेखि छोराछोरीको निम्ति इन्जिनियरिङ्ग वा चिकित्सा छात्रवृत्तिका कोटासमेत मागिरहेका हुन्छन् । माग्नेको हात जहिलेसुकै तल हुन्छ, हाम्रा पूर्खाको जीवन दर्शन छ । ‘माग्नेलाई तातो भात !’ भनी हेला गरिएको पनि सुनिन्छ । हाम्रा केटाकेटी शासकहरूबाटै सिक्दैछन् सायद !
वैदेशिक सहयोग जसले ल्याउनसक्यो, त्यो सरकार सफल मान्छन्, शासकहरू । विदेशीले आफ्नो स्वार्थ नहेरी कहिल्यै सित्तैमा सहयोग गर्दैनन् । खासगरी पश्चिमा राष्ट्रहरू र दक्षिणी छिमेकीले नेपाललाई केही आफ्ना सर्तका आधारमा सहयोग गरेका हुन्छन् । राणा शासकहरूसमेत विदेशी ‘एड’ लाई हस्तक्षेपको माध्यम ठानी अस्वीकार गर्दथे । सन् १९९० को भूकम्पबाट क्षतिपछि सहयोगको निम्ति आएका बेलायत र फ्रान्सको प्रस्ताव अस्वीकार गरेको इतिहास हेरे पुग्छ । डोरबहादुर विष्टले ‘भाग्यवाद र विकास’ नामको आफ्नो पुस्तकमा देवेन्द्रराज पाण्डेको प्रसङ्ग उल्लेख गरी लेखेको यो इतिहासको मर्मलाई सबैले मनन् गर्नु उचित छ । निरङ्कुश राणा शासकहरूको जति पनि विवेक नभएका शासक दलका नेताहरूको दुष्प्रभावबाट नयाँ पुस्तालाई जोगाउनु आवश्यक छ ।
प्रकृति पूजा
मानव सभ्यताको विकासको क्रममा सम्पत्तिको विकास नहुँदासम्म मानिस भौतिकवादी थिए । नदीले पानी दिन्छ, सूर्यले प्रकाश र ताप दिन्छ, हावा स्वास फेर्न आवश्यक छ, जङ्गलले जीवजनावरको बासको साथै फलफुल, कन्दमूल आदि खानेकुरा उपलब्ध गराउँछ, धर्तीमा अन्नपात उब्जनी हुन्छ आदि । त्यसैले मानिसको अस्तित्वसँग जोडिएको प्रकृतिको पूजा गर्ने संस्कृतिको विकास भयो । तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गरिन्छ । यी जीवजनावरहरूको महत्व उत्तिकै छ । धर्मको विकास भएपछि भने कुनै भगवानसँग जोडेर यी जनावरहरूको पूजा गरिएको हुनुपर्छ । आदिम साम्यवादी समाजमा भगवानको कल्पना पनि भएको थिएन ।
भगवान कहाँबाट आयो ? भनिन्छ, अज्ञानताको अर्को नाम भगवान हो । मानिस स्वभावतः भौतिकवादी हो, जब कुनै प्रश्नको जवाफ हुन्न तब ऊ भगवानको शरणमा पुग्छ । एउटा उदाहरण हेरौँ । एउटा मानिसको हात भाँचिएछ । प्रश्न गरियो, कसरी हात भाँचियो ? लडेर । के कारणले लड्यौ ? बाटो चिप्लो थियो । बाटो किन चिप्लो भयो ? पानी परेर । किन पानी प¥यो ? जवाफ आएन । जवाफ आयो, भगवानले वर्षा गराइदिए । थाहा पाएसम्मका जवाफ त आए, पानी किन पर्छ भन्ने थाहा नभएपछि भगवान भनी टुङ्ग्याइयो । रोग लाग्दा भगवानको शरण लिनुको विकल्प थिएन । बाढीपहिरो, भूकम्प आदि पनि भगवानको कारण हुन्छन् भनियो ।
सांस्कृतिक पर्वहरूका अन्धविश्वासका पक्षहरू पन्छाउँदै जानु आजको आवश्यकता हो । कुनै पनि चाडपर्व पछाडिका दार्शनिक पक्षबारे नबुझेर आँखा चिम्लेर पछि लाग्ने, ‘बिरालो बाँधेर श्राद्ध गर्ने’ परिपाटीको अन्त्य हुनुपर्छ । लक्ष्मीको पूजा गरेपछि धनधान्य हुने हो भने नेपाली संसारकै गरिब मुलुकमा किन परे भनी प्रतिप्रश्न सोधिनुपर्छ, होइन भने यथार्थ बाहिर आउन्न । लक्ष्मीको वाहन उल्लू हो, धनमत्त मानिस अन्धो हुन्छ भन्ने दर्शनबोध गराउन पुर्खाले लक्ष्मीको पूजा गर्ने परिपाटी चलाएको हुनुपर्छ । ‘पैसा राम्रो नोकर, खराब मालिक’ भन्ने पश्चिमा भनाइसँग पनि लक्ष्मीपूजालाई जोड्न सकिन्छ ।
आयातमुखी चाडपर्व
झिलिमिली बत्ती, मिठाई, सयपत्री र मखमली फूल तथा भाइमसला भारतसहित तेस्रो मुलुकबाट आयात हुँदा यस वर्ष करिब साढे दुई अर्ब बाहिरियो । सयपत्री र मखमली फूल पुग्दो उत्पादन गर्न व्यवस्था गर्ने असक्षमहरूले समृद्धिको ढ्वाङ फुक्न बन्द गरे हुन्छ । समृद्धिको डिङ हाँक्ने शासकहरूले नेपालको पाखा पखेरिमा फुलाउन सकिने फूल, पहाडी क्षेत्रमा फल्ने ओखर, स्याऊ, सुन्तला, नासपातिमा त आत्मनिर्भर भएको देखाऊन् ।
देखासिकी र देखावटी संस्कृति मौलाउँदा अर्बौं रुपैयाँ बाहिरिएकोमा दुईमत छैन । ‘पाला’ बाल्ने संस्कृति अहिले झिलिमिली बत्तीमा ‘विकास’ भएको छ । काठमाडौँलगायत शहरी क्षेत्रमा झिलिमिली बिजुली बत्ती बालेर घरको ‘सान’ बढाए पनि यसको नाममा करोडौँ रुपैयाँ विदेशिएको छ । यसमा राज्यको प्रस्ट नीतिको आवश्यकता छ । आफ्नो देशमा रङ्गीन टीभी उत्पादन नभएसम्म भारतले विदेशबाट रङ्गीन टीभीको आयातमा प्रतिबन्ध लगाएको थियो । आफ्नो देशको उत्पादन नभए पनि नक्कली सम्पन्नता देखाएर अनावश्यक आनन्द लिनुको कुनै अर्थ छैन भन्ने कुरा नेपाली समाजले बुझ्न आवश्यक छ । ‘अल्छी तिघ्रो, स्वादे जिभ्रो’ को संस्कृति त्याग्नु आवश्यक छ ।
राज्यको धर्म हुन्न
काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लसँग इटालीका एक चिकित्सकले एक पटक सोधेछ, ‘‘राजा, तपाईं कुन धर्म मान्नुहुन्छ ?’’ उनले जवाफ दिए, ‘‘राज्यको कुनै धर्म हुन्न । मेरा प्रजा शैव, बौद्ध, इस्लाम र क्रिश्चियन धर्म मान्छन् । मेरा प्रजा नेपालभाषा बोल्छन्, म पनि नेपालभाषा बोल्छु । एकदिन म पशुपति जान्छु, अर्को दिन स्वयम्भू, अर्को दिन चर्च र अर्को दिन मस्जिद ।’’ सत्रौँ शताब्दीका शासकहरूको जत्तिको शासकीय क्षमता हालका शासकहरूले देखाउन नसक्नु इतिहासको अनभिज्ञता हो या अहङ्कार ! यसको पुर्पक्ष हुनु जरुरी छ ।
नेपाल धर्मनिरपेक्ष देश हो । धार्मिक पर्वहरूको सन्दर्भमा राज्यले विभेद गर्नु उचित होइन । हिजो हिन्दू राज्य र हिन्दु राजा भनी विरोध गर्नेहरू एउटा धर्म विशेषको पक्षपाती हुन छन् । राष्ट्रपति हिजोको राजा होइनन्, उनले कुनै एउटा धर्मको प्रबद्र्धनको निम्ति काम गर्नु उपयुक्त होइन । राष्ट्रपति हुनेबित्तिक्कै सम्माननीय विद्यादेवी भण्डारीले पहिलो पारिश्रमिक पशुपतिमा चढाइन् । पूर्वराजाहरूकै पाइला पछ्याएर दसैँको कोजाग्रत पूर्णिमाकै दिन भक्तपुरको नवदुर्गा मन्दिरको ‘दर्शन’ गरिन् ।
नेपाल संवत्
नेपाल संवत् के नेवारको मात्र संवत् हो ? नेपाल संवत्को पात्रो चन्द्रमाको गतिअनुसार बनेको हुन्छ । नेपालका अनेक सांस्कृतिक गतिविधि तिथिको आधारमा सञ्चालन गर्ने नेपालीले नेपाल संवत्लाई नेवारको मात्र मान्नु जातीय सङ्कीर्णता हो । नेपाल संवत् नेपाली जनताले बनाएको संवत् हो । कुनै राजा वा व्यक्तिको नामसमेत नराखी बनाइएको संवत्लाई आत्मासात् गर्न शासक वर्ग अझ पनि आनाकानी गरिरहेको छ ।
नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति मानिसकेर पनि यस संवत्ले राष्ट्रिय संवत्को मान्यता भने अझसम्म पाएको छैन । नेपालमा वि.सं. २००७ मा प्रजातन्त्रको उदय भएदेखि नै नेपाल संवत््लाई पुनःस्थापित गराउन विभिन्न प्रयास हुँदैआएको छ । नेपाल संवत्ले ८८८ वर्षसम्म राष्ट्रिय मान्यता पायो । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका कब्जा गरेपछि सरकारी काममा शक संवत् लागू गरे भने राणाकालमा विक्रम संवत्को सुरुआत गरिएको थियो । शक संवत् चलाउने शक वंशका राजाहरूलाई भारतको उज्जैनबाट धपाएर राज्य गर्ने विव्रmमादित्यको संवत् नै विक्रम संवत् हो ।
नेपाल संवत्लाई नेवारको मात्र संवत् मान्ने धारणा सङ्कीर्ण सोचमात्र हो । नेपाल संवत्को चलन गरिएका ८८८ वर्षमा पूरै नेवार शासन थिएन भन्ने पनि बझ्नु जरुरी छ । नेपालको अलग्ग अस्तित्व पुष्टि गर्न संयुक्त राष्ट्रसङ्घमा नेपालले नेपाल संवत्, रञ्जना लिपि, तीनकुने झन्डा, दौरा सुरुवाल, भादगाउँले टोपीलगायतको भेषभुषा प्रस्तुत गरेको कुरालाई बिर्सनु पनि इतिहासको अज्ञानता हुनजान्छ ।
नेपाल संवत्को प्रयोग पूर्व कोशीपारिदेखि पश्चिम कर्णालीसम्म व्यापक भएको ऐतिहासिक प्रमाणहरू विद्यमान छन् । त्यसैले नेपालको भूमिमा प्रथमतः चलेकोे, नेपालको सांस्कृतिक गतिविधि सञ्चालनको निम्ति अपरिहार्य, नेपालको मौलिक संवत् तथा राष्ट्रिय संवत् भनी घोषणा गरिसकिएको नेपाल संवत्लाई सरकारले व्यवहारमा लागू गर्न आवश्यक छ । यसमा ढिलाइ गर्नु उचित छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *