भर्खरै :

गुन्हिपुन्ही सापारुमा प्रदर्शित सांस्कृतिक प्रस्तुतिबारे केही टिप्पणी

  • आश्विन ८, २०८३
  • एस. स्वंगमिखा
  • विचार
गुन्हिपुन्ही सापारुमा प्रदर्शित सांस्कृतिक प्रस्तुतिबारे केही टिप्पणी

२०८३ भदौ १० गते भोटेकोसी नदीमा अचानक ठुलठुला ढुङ्गा र लेदोसहितको विनाशकारी बाढी आउँदा हजारौँ नागरिकहरूले ज्यान गुमाए । अझै हजारौँ बेपत्ता छन् । बाढीले सहर र गाउँबस्ती बगायो, धान खेत सोत्तर पा¥यो, पक्की पुल र जलविद्युत्का संरचनाहरूसमेत ध्वस्त बनायो । आर्थिक हिसाबले खर्बौँ रूपैयाँ बराबरको सम्पत्ति क्षणभरमै समाप्त पा¥यो । बाढीको कारण ज्यान गुमाएका र बेपत्ता भएकाहरूका आफन्तहरूबिच रुवाबासी छ । ‘भए सास, नभए लास’ को आशामा कैयौँ रात अनिँदो बसेकाहरू धेरै छन् ।
यस्तो प्रतिकूल परिस्थितिको दुई दिनपछि नेवाः सभ्यताको गुन्हिपुन्ही र तीन दिनपछि सापारु जात्रा मनाउनुपर्ने अवस्था भयो । भक्तपुरका धेरै जनतामा सापारुमा घिन्ताङघिसी र अन्य नाचहरू प्रदर्शन होला कि नहोला भन्ने अन्योल थियो । धेरैले सामाजिक सञ्जाल तथा अन्य विभिन्न माध्यमबाट भक्तपुर नगरपालिकालाई पीडाको समयमा रमाइलो नगर्न र सांस्कृतिक विधाहरूको मूल्याङ्कन नगर्दा उचित हुने सल्लाह दिएको पाइयो । तथापि, अग्रज व्यक्तित्व र सांस्कृतिक गुरुहरूसँग विभिन्न चरणको छलफलमा सापारु आफैँमा मृत्यु संस्कारसँग जोडिएको जात्रा र मृतक परिवारलाई सान्त्वना तथा मानसिक पीडाबाट मुक्त गर्न सापारु र गुन्हिपुन्हीको अवधिमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू देखाइने परम्परा रहेको तर्क आएपछि नगरपालिकाले विगत वर्षमा झैँ मूल्याङ्कनको व्यवस्था गरेको बताइयो ।
सामाजिक सञ्जालमा केही साथीहरूले भक्तपुर नगरपालिकालाई नराम्ररी आलोचना गरेको देख्दा म आफैँ पनि मृतक परिवारको सदस्य भएको नाताले आफ्नो अनुभूति प्रस्तुत गर्ने प्रयत्न गरेको छु । सबैको अनुभव एकै खालको हुन्छ भन्ने त होइन, तर यो वर्ष सापारुमा ताहामचासँगै घिन्ताङघिसीमा सहभागी हुँदा बाजाको बोल र कलाकारहरूको नाचले सेतो बरखी वस्त्र लगाएका मजस्ता धेरैलाई आत्मिक शान्ति मिलेको महसुस भएको छ । अन्य बाजाको बोल हुँदो हो त निरन्तर उही बोल दोहरिरहँदा दिक्क लाग्ने थियो, तर घिन्ताङघिसीको बोल दिनभरि कानमा ठोक्किँदा पनि पटक्कै असजिलो लागेन । ‘गिनित्वं’ को बोलले पीडा भुल्न सहयोग गर्छ भनी अग्रजहरूले त्यतिकै भनेको होइन भन्ने भान भयो मलाई । सङ्गीत पनि उपचारविधि हो भन्ने विज्ञान चेत खुलेको अनुभूति भयो ।
यसपटक परिवारका अन्य सदस्यहरूको साथमा कृष्णाष्टमीसम्म नगरपालिकाले मूल्याङ्कनको व्यवस्था गरेको स्थानमा परम्परागत तथा आधुनिक विधाका सांस्कृतिक कार्यक्रमहरू हेर्ने समय मिल्यो । समयाभाव त के भनुँ, सांस्कृतिक कार्यक्रमप्रति अनाकर्षणको कारणले यसअघिका वर्षहरूमा खासै चासो राखेर कार्यक्रममा सहभागी भएको थिइनँ । यसपालि भने परिवारसँगै पूरै अवधि प्रस्तुत गरिएका अधिकांश सांस्कृतिक प्रस्तुतिहरू हेरियो । नगरपालिकाले प्रदर्शनकर्ताहरूसँगै दर्शकहरूको सुविधालाई पनि ध्यानमा राखेर वर्षाको पानी नचुहिने व्यवस्था गरेको, दर्शकका लागि बस्ने मेचको व्यवस्था गरेको, रात्रिकालीन बत्ती र माइकको व्यवस्था गरेकोले हरेक साँझ दर्शकहरूको खचाखच उपस्थितिमा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो । प्रदर्शनकर्ता सांस्कृतिक टोलीहरूलाई हरेक साँझको आफ्नो प्रस्तुति पालोको अग्रीम जानकारी दिइएको भएर हो कि, एकपछि अर्को सांस्कृतिक प्रस्तुतिहरू सुरु गरिँदा मञ्च एकछिन पनि खाली हुन पाएन । खुला थियटरमा निःशुल्क सांस्कृतिक कार्यक्रम हेर्न पाएजस्तो लाग्यो । साँच्चै भन्नुपर्दा पाँच दिनसम्म लगातार चलेको सांस्कृतिक प्रस्तुतिहरूले म र मेरा परिवारका सदस्यहरूलाई आफन्त बित्दाको पीडाबाट मुक्त गरेको पूर्ण अनुभव भयो । आफन्त बितेका अन्य परिवारहरूले पनि यस्तै अनुभव गरे होलान् भन्ने मेरो अनुमान छ । नेवाः सभ्यता साँच्चिकै वैज्ञानिक र उत्कृष्ट रहेछ । यस अर्थमा सांस्कृतिक प्रस्तुतिको व्यवस्थापन गर्ने भक्तपुर नगरपालिका र नगरवासीहरू सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । साथै हामीजस्ता पीडामा बसेका मृतक परिवारलाई चोट पुग्ने गरी सस्तो लोकप्रियताको लागि सामाजिक सञ्जालमा भ्रामक स्टाटस र कमेन्ट नलेख्न सम्बन्धित सबैमा अनुरोध गर्दछु ।
सांस्कृतिक प्रस्तुतिहरूको व्यक्तिगत समीक्षा
गुन्हिपुन्ही सापारुको अवधिमा प्रस्तुत गरिएका परम्परागत तथा आधुनिक विधाका सांस्कृतिक प्रस्तुतिहरूले मोहनी लगाएझैँ भयो । कृष्णाष्टमीसम्म लगातार पाँच दिन बेलुकी ६ बजेदेखि राति १२ बजेको हाराहारीसम्म देखाइएका सबै सांस्कृतिक कार्यक्रमहरू हेरेर मनोरञ्जन प्राप्त गरियो । खाना खाने समयमा मात्र हेर्न छुट्यो कि भन्ने लाग्छ । प्रत्येक सांस्कृतिक प्रस्तुतिले दर्शकहरूको ध्यान एकाग्र गर्ने क्षमता राखेको अनुभव भयो । अहिले फर्केर हेर्दा ती पाँच दिनका प्रदर्शनीहरू तथा सापारुको दिनभरिको सांस्कृतिक गतिविधिले साँचो मानेमा मृतक परिवारमा दुःख पीडारूपी घाउमा मल्हम लगाइदिएको छ ।
भक्तपुर नगरपालिकाको आधिकारिक स्रोतसँगको कुराकानीबाट सापारुको दिन भदौ १३ गते ५८ वटा घिन्ताङघिसी र ८ वटा माक प्याखंसहित कृष्णाष्टमीसम्मको पाँच दिनको सन्ध्याकालीन प्रस्तुतिमा जम्मा ४१ वटा सांस्कृतिक टोलीहरू सहभागी थिए । नगरपालिकामा दर्ता गरिएको विवरणको आधारमा कुल ९४८ जनाभन्दा बढी कलाकारहरू सांस्कृतिक प्रस्तुतिमा प्रत्यक्ष संलग्न थिए । यीमध्ये ५४७ जना पुरुष र ४०१ जना महिला कलाकारहरू थिए । कोही बाजा बजाउने त कोही गीत गाउने, अनि कोही नृत्य तथा अभिनय प्रस्तुत गर्ने कलाकारहरू थिए । ८० वर्षभन्दा माथिका हजुरबुबा–हजुरआमा पुस्तादेखि १३ वर्षभन्दा मुनिका नाति–नातिनाहरू एउटै समूहमा सहभागी भई एउटै तालमा नाच्ने, एउटै धुन बजाउने, एउटै लयमा गाउने तथा एउटै भावनामा कला प्रस्तुत गर्ने बेजोडका दृश्य देख्न पाइन्थ्यो । संस्कृति कर्म नयाँ पुस्तामा पुस्तान्तरणसँगै जीवन्त बनेको ज्वलन्त उदाहरण बनेको थियो । माक प्याखं र घिन्ताङघिसीका कलाकारहरूसमेत जोड्ने हो भने हजारौँको सङ्ख्या पुग्नेमा दुईमत छैन । मानौँ, गुन्हिपुन्ही सापारुको अवधिमा भक्तपुर नै नाचेको, भक्तपुरवासीका सबै हातहरू एकै तालमा हल्लिएका र सबै खुट्टाहरू एउटै चालमा चलिरहेका थिए । संसारकै मानव सभ्यताको निम्ति यो एउटा अनुपम सांस्कृतिक उपहार बनेको दृष्टान्त लिन सकिन्थ्यो ।
आधुनिकताको नाममा सामाजिक सञ्जाल र अनलाइन गेमको कुलतमा फसिरहेको नयाँ पुस्तालाई कोठाको चौघेराबाट बाहिर ल्याउने, समाज र देशको वर्तमान अवस्थाबारे जानकारी गराउने, अनि सकारात्मक परिवर्तनका लागि जिम्मेवारीबोध गराउने सर्वोत्तम अवसर बन्यो गुन्हिपुन्ही सापारु । कलाकारहरूको जीवन्त प्रस्तुति अवलोकन गरिरहेका दर्शकहरू आफैँ गीत–सङ्गीत र नाटकमा बाँचिरहेकाजस्ता देखिन्थे । कलाकारहरूले पस्किने हाँस्य प्रस्तुतिसँगै उन्मुक्त हाँसोमा मात्र तिनीहरू सम्मिलित भएनन्, बरु कहिले व्यङ्ग्यवाणले घाइते हुन्थे त कहिले विरहमा रुन्थे, अनि कहिले वर्गीय र सामाजिक विभेद र अपराधका विरुद्ध विद्रोहको आगो ओकल्ने र देशभक्ति भावनामा उद्वेलित हुने प्रतिक्रिया व्यक्त गर्थे । यसैलाई सांस्कृतिक प्रस्तुतिको सफलता मान्न सकिन्थ्यो ।
नगरपालिकाको प्रेरणादायी कार्य
हरेक वर्ष गुन्हिपुन्ही सापारुको समयमा भक्तपुरका टोल–टोलबाट परम्परागत तथा आधुनिक विधाका सांस्कृतिक प्रस्तुतिहरू प्रदक्षिणा मार्गमा देखाउने चलन धेरै अघिदेखि चल्दै आएको हो । प्रदर्शनीहरू पूर्ण रूपमा स्वयंसेवी भावनाले देखाइन्थे । दाफा, भजन, सांस्कृतिक पुचः तथा स्थानीय टोलवासी सांस्कृतिक अगुवाहरूले आफ्नै खर्चमा वा अलिअलि आर्थिक चन्दा उठाएर बाजागाजा, सांस्कृतिक पोशाक तथा मकुन्डो बनाउँथे । सांस्कृतिक प्रशिक्षण तथा प्रदर्शनीको क्रममा खाना–खाजाको व्यवस्था आफ्नै खर्चमा हुन्थ्यो । टोल–टोलमा प्रस्तुति गरिँदा कसैबाट आर्थिक लाभको अपेक्षा गरिँदैनथ्यो । प्रशिक्षण केन्द्र (अखःछेँ) स्वेच्छाले निःशुल्क उपलब्ध गराइन्थ्यो वा सामूहिक खर्चमा बनाइन्थ्यो । तर, समयक्रमसँगै खर्च व्यवस्थापनमा चुनौती देखिन थालेपछि आर्थिक अभाव, प्रशिक्षण केन्द्र उपलब्ध नहुँदा तथा नयाँ पुस्तामा आकर्षण कम हुँदा कतिपय सांस्कृतिक विधाहरू प्रदर्शनी गर्न नसकिने अवस्थामा पुगेको र लोप नै भएको तीतो यथार्थ धेरैले भोगेका थिए ।
विषम परिस्थितिमा पुर्खाले नासोको रूपमा छोडेका सांस्कृतिक विधाहरूलाई जीवन्त बनाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्न भक्तपुर नगरपालिकाले सांस्कृतिक पुचः, दाफा भजनलगायतलाई आर्थिक सहयोग गर्ने नीति लियो । स्वभाविक रूपमा प्रस्तुत हुने सांस्कृतिक विधाहरूलाई प्रतियोगिताको रूपमा मूल्याङ्कनको प्रणाली अपनाइँदा प्रतिस्पर्धामा अब्बल बन्नका लागि मेहनत गर्न थालियो भने नयाँ पुस्तामा संस्कृतिप्रतिको लगाव पनि बढ्न थाल्यो । पुरस्कारबापत पाइने रकमले सांस्कृतिक पोशाक र मकुन्डो बनाउने, अखःछेँ पुनः निर्माण तथा स्तरोन्नति गर्ने कार्यमा मद्दत मिलेको धेरैको अनुभव छ । पछिल्ला वर्षहरूमा परम्परागत सांस्कृतिक विधाहरूमा नयाँ पुस्ताको सहभागिता उल्लेखनीय हुन थालेपछि सांस्कृतिक अग्रज गुरुहरूमा आप्mनो जीवन समर्पण गरेर बचाइरहेको संस्कृति जीवन्त हुने र युगौँसम्म बच्ने आशासहित खुसी देखिन थालेको छ । सांस्कृतिक गतिविधिहरूमा खेलकुदमा जस्तै अनुशासन र सामूहिक भावना प्रस्फुटित भएको देख्न सकिन्छ । यस्तो पवित्र कार्यमा भक्तपुर नगरपालिकाको साथ र सहयोग सबैका लागि प्रेरणादायी बनेको छ ।
यसका अतिरिक्त मूल्याङ्कनबाट उत्कृष्ट ठहरिएका प्रस्तुतिहरूलाई पुरस्कारसँगै स्थानीय अग्रज सांस्कृतिक गुरुहरूलाई भव्य समारोहमार्फत सम्मान गरिनुलाई गुनिलो अभ्यास मान्न सकिन्छ । औपचारिक विद्यालय शिक्षा नपाएका वा कम भएका व्यक्तित्वहरू पनि संस्कृति कर्ममा जीवन समर्पण गर्नुहुने थुप्रै हुनुहुन्छ । उहाँहरूको कला र सीपको स्थानीय सरकारले औपचारिक मान्यता दिनु र प्रमाणपत्र प्रदान गर्नुले प्राज्ञिक दक्षताको सम्मान गरेको प्रस्ट हुन्छ । तिनै गुरुहरूको समीपमा रहेर अध्ययन अनुसन्धान तथा अभ्यास गरेर उत्कृष्ट विश्वविद्यालयका स्वदेशी तथा विदेशी विद्यार्थी तथा शोधार्थीहरूले स्नातकोत्तर, एमफिल र पीएचडीको डिग्री हासिल गरिसकेको उदाहरण थुप्रै छन् । यस मानेमा सांस्कृतिक गुरुहरू विश्वविद्यालयका प्राध्यापक सरह हुन् । यसलाई स्थानीय सरकारले सरकारी लोगोसहित औपचारिक मान्यता प्रदान गरेको मान्न सकिन्छ ।
अन्त्यमा, भक्तपुर नगरपालिकाले अगाडि सारेको नारा ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ को ऐतिहासिक पृष्ठभूमि, यसको महत्ता र सार्थकताको विषयमा नयाँ पुस्तामा चर्चा चल्न थालेको छ । संस्कृतिमा थोरै रुचि राख्ने मजस्ता सर्वसाधारणलाई समेत अग्रजहरूको दूरदर्शिताप्रति नमन गर्ने वातावरण सिर्जना गरिएको छ । यो नै हाम्रो परिचय हो र गौरव पनि ।
साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *