भर्खरै :

भक्तपुर बचतद्वारा सञ्चालित नौ बाजाको दीक्षान्त सम्पन्न

भक्तपुर बचतद्वारा सञ्चालित नौ बाजाको दीक्षान्त सम्पन्न

भक्तपुर, ८ असोज । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने नौ बाजाको प्रशिक्षण बिहीबार सम्पन्न भएको छ ।
उक्त बाजा २०८२ मङ्सिर ११ गते सुरु भएको थियो ।
दीक्षान्त समारोहमा कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले सिकेको सीपलाई निरन्तर प्रयोगमा ल्याउनुपर्नेमा जोड दिँदै बाजा बेलाबखत बजाइरहनुपर्ने बताउनुभयो ।
उहाँले नाचगानको सहर भक्तपुरमा हरेक खालका बाजागाजा नयाँ पुस्तामा हस्तान्तरण भइरहेकोमा खुसी व्यक्त गर्दै भक्तपुरको पहिचान बचाइराख्ने हो भने यस्ता लोपोन्मुख बाजाको निरन्तर प्रशिक्षण हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भक्तपुरका जनताले यहाँको बाजासँगै ऐतिहासिक सामग्रीको संस्मरणका लागि सङ्ग्रहालय स्थापना गर्नुपर्ने बताउनुभयो । उहाँले सभ्य समाज निर्माणका लागि कलाकृति बचाउनुपर्ने र यसले शारीरिक एवम् मनमस्तिष्क नै स्वच्छ रहने र अनुशासनको पाठ सिकाउने स्पष्ट पार्नुभयो । बाजाको विकास र महत्वबारे चर्चा गर्दै उहाँले आ–आफ्नो सीप नयाँ पुस्तालाई हस्तान्तरण गरे मात्र बाजाले जीवन्तता पाउने बताउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले हालसम्म ३ सय ८५ जना सांस्कृतिक प्रशिक्षार्थीलाई दीक्षित गरिसकेको बताउँदै संस्थाको आवश्यकता र उद्देश्य पूरा गर्न प्रशिक्षार्थीहरूले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सिकेका नौबाजालाई समाजमा प्रस्तुत गर्दै गएमात्रै बाजाको मौलिकता बाँकी रहने स्पष्ट पार्नुभयो ।
प्रशिक्षकका तर्फबाट रभिम कपालीले उपत्यकामै लोप हुन लागेको यस्तो बाजा संस्थागत रूपमा भक्तपुर बचतले सिकाएको बताउँदै भक्तपुरको सांस्कृतिक उत्थानमा भक्तपुर बचतको योगदानको कदर गर्नुभयो ।
प्रशिक्षार्थीका तर्फबाट सन्देश प्रजापतिले दुई दशकदेखि नै नौ बाजा सिक्ने रहर भएर पनि पूरा हुन नसकेकोमा भक्तपुर बचतले पूरा गरेको स्मरण गर्नुभयो । उहाँले दक्ष गुरुहरूको दीक्षाबाट प्रशिक्षार्थीहरू राम्रो दीक्षा लिन सफल भएको बताउनुभयो ।
आयोजक समितिका संयोजक नारायणी खोँजुले सदस्यहरूको चाहना र आवश्यकताअनुसार विभिन्न खालका बाजाको प्रशिक्षण दिइरहेको औँल्याउँदै धेरै अघिदेखिको संस्थाको सोच अहिले पूरा भएको स्पष्ट पार्नुभयो ।
मुख्य प्रशिक्षक पञ्चलाल लाछिमस्यू, सहायक प्रशिक्षकहरू गोपाल लाछिमस्यू, इन्दिरा लाछिमस्यू, रभिम कपाली र राजकुमार मानन्धर रहेको उक्त तालिममा ३० जना प्रशिक्षार्थीहरू दीक्षित भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि विष्णुगोपाल कुसीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण र संस्थाका अध्यक्ष निर्मल प्रजापतिले गुरुहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रममा आयोजक समितिका सदस्य प्रज्वल प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *