भर्खरै :

धनी र गरिबबीचको गहिरिँदो विभेद – महासङ्कटको कारण

इमरान खान
(संयुक्त राष्ट्र सङ्घको ७४ औँ महासभामा २७ सेप्टेम्बर सन् २०१९ मा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशको प्रतिनिधित्व गर्दै मन्तव्य दिनुभएको थियो । सभामा उहाँले जलवायु परिवर्तनदेखि भारतले खारेज गरेको काश्मीरको विशेषाधिकारसम्म, संसारभर फैलिएको मुसलमानप्रति घृणादेखि भारतमा सत्तासीन हिन्दुअतिवादी भाजपाबारे चर्चा गर्नुभएको छ । विश्व राजनीति, विशेषतः दक्षिण एसियाको समसामयिक अवस्था बुझ्न पाकिस्तानका प्रधानमन्त्री इमरान खानको भाषण उपयुक्त भएकोले नेपालीमा भाषान्तर गरी प्रकाशन गरेका छौँ ।– सं.)
महामहिम सभापतिज्यू, महासचिवज्यू, महामहिमहरू, महिला तथा सज्जनवृन्द,
संसारका नेताहरूको यो दबुमा मेरो देशको प्रतिनिधित्व गर्न पाउँदा म गौरवान्वित छु । संसारले आज सामना गरिरहेका विभिन्न समस्याबारे यहाँ छलफल गर्ने हामी मौका पाउँछौँ । म धेरै समस्याबारे कुरा गर्न चाहन्थेँ । तर, आज म चार वटा समस्याबारे मात्र कुरा गर्नेछु । मेरो देशमा यतिबेला अप्ठ्यारो समस्या छ । पाकिस्तानले थुप्रै समस्या सामना गरिरहेको छ । तथापि म यो सभामा भाग लिन आएको छु । संसारले समाधान गर्नैपर्ने केही तड्कारो समस्याबारे बोल्नुपर्ने महसुस गरी म यहाँ आएको हुँ ।
सबभन्दा पहिले म कुरा सुरु गर्छु–जलवायु परिवर्तनबारे । धेरै नेताहरूले जलवायु परिवर्तनबारे कुरा गर्नुभयो । सभापतिज्यू, मेरो विचारमा यो विषयमा अझै गम्भीरताको अभाव छ । केही नेताहरू जसले धेरै काम गर्नुपथ्र्यो र गर्नसक्थे, उनीहरूले यो विषयको गम्भीरता अझै बुझ्न सकेका छैनन् । हामीसँग धेरै थरी विचार छन् । तर, कार्यान्वयनविनाको विचार भनेको दिवास्वप्नमात्र हो । म मेरै देशको उदाहरणबाट कुरा अघि बढाउँछु । जलवायु परिवर्तनले सबभन्दा बढी असर गरेका संसारका दस देशमध्ये हाम्रो देश पाकिस्तान पनि पर्दछ । हामी नदीमा निर्भर छौँ । पाकिस्तान मूलतः कृषिमा आधारित देश हो । पाकिस्तानमा बहने ८० प्रतिशत पानी हिमालबाट आउने गर्छ । पाकिस्तानमा मात्र होइन, भारतमा बहने ८० प्रतिशत पानी पनि हिउँ पग्लेर नै बग्ने गर्छ । काराकारोम, हिन्दुकुश आदि हिमाली क्षेत्रबाट बग्ने पानी नै भारतका नदीमा पनि बहने गर्दछ । आज ती हिमालहरू तीव्रत्तर गतिमा पग्लिरहेका छन् । हामीले ५ हजार वटा हिमनदीहरू घटिसकेको पत्ता लगाएका छौँ । यदि यो क्रम चलिरहे र हामीले केही गर्न नसके मानव जाति एउटा ठूलो महासङ्कटमा पर्नेमा हामी चिन्तित छौँ ।
मेरो देशको खिबर पाखतुन्ख्वा (केपी) प्रान्तमा जब मेरो पार्टी सत्तामा आयो, पाँच वर्षमा हामीले अरबौँ रुख रोप्यौँ । आज हामीले पाकिस्तानमा दस अरब रुख रोप्ने लक्ष्य बनाएका छौँ । विश्वव्यापी तापमान वृद्धि रोक्न हामीले यो कार्यक्रम ल्याएका छौँ । तर, एउटैमात्र देशले यो विषयमा केही पनि गर्नसक्दैन । यसमा संसारकै सबैको साझा प्रयास आवश्यक छ । निःसन्देह मानिससँग ठूलो शक्ति छ । त्यसकारण म आशावादी छु । यदि हामी अस्तित्वमा रहनसक्यौँ भने हामीले जे पनि गर्नसक्छौँ । संयुक्त राष्ट्र सङ्घले यो विषयमा नेतृत्व गर्नेमा म आशावादी छु । हरित गृह उत्सर्जनको लागि मूलतः जिम्मेवार धनी देशहरूलाई घच्घच्याउनुपर्छ किनभने हामीजस्ता विकासशील देशले हरित गृह उत्सर्जन निकै कममात्र गरेका छौँ । संरा सङ्घले यो विषयमा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।
मेरो दोस्रो विषय अझ बढी गम्भीर विषय हो । महामहिम सभापतिज्यू, हरेक वर्ष अरबौँ डलर पैसा गरिब देशबाट धनी देशमा जाने गरेको छ । विकासशील देशका शासक वर्गले अरबौँ डलर बदमासीपूर्वक चोर्ने गर्छ र तिनलाई पश्चिमा देशका बैङ्क खातामा जम्मा गरिन्छ । विदेशको खातामा, ट्याक्स हभन (विदेशी लगानीलाई कम कर लगाउने व्यवस्था भएको देश), पश्चिमा पुँजी बजारमा खरिद गरिएको कम्पनीमा लुकाइएको महँगा सम्पत्तिको रूपमा विकासशील देशका पैसा विदेशिने गरेको छ ।
महामहिम सभापतिज्यू, त्यसले विकासशील देशको अर्थतन्त्रमा घातक प्रभाव पारिरहेको छ । यो गरिबी र मृत्युको कारण बनिरहेको छ । विकासशील देशलाई अझ गरिब बनाइरहेको छ । यसले धनी र गरिब देशबीचको भेद अझ फराकिलो बनाइरहेको छ । यसरी शासक वर्गमार्फत विदेशमा पैसा जम्मा हुनुलाई लागूपदार्थको पैसा, आतङ्कवादको सहयोग गर्न हुने मौद्रिक अपचलनसँग तुलना गर्न मिल्दैन । गरिब देशका शासकले विदेशमा पैसा राख्ने विषय लागूपदार्थ र आतङ्कवादको पैसासँग तुलनायोग्य होइन ।
मेरो देशमा एक वर्षअघि मेरो नेतृत्वको सरकार गठन भयो । ६० वर्षदेखि पाकिस्तानले जम्मा गरेको ऋणको भारी दस वर्षको अन्तरालमा चार गुणाले बढ्यो । परिणामतः हामीले एक वर्षमा उठाउने राजस्वको आधा भाग त ऋणै तिर्नमात्र खर्च भयो । ऋण तिर्न नै आधा पैसा खर्च हुन्छ भने कसरी हामीले २२ करोड जनतालाई खर्च गर्नसक्थ्यौँ र ? हाम्रो देशलाई शासक वर्गले लुटेको थियो । अनि लुटेको पैसा सजिलै विदेश पठाउने गरिन्थ्यो ।
सभापति महोदय, भ्रष्टाचार गरेर र मौद्रिक अपचलन गरेर पश्चिमा पुँजी बजारमा खरिद गरिएको अकूत सम्पत्ति हेर्नोस् । भ्रष्ट नेताहरूले थुपारेका अकूत सम्पत्ति हेर्नोस् । त्यो सम्पत्ति फिर्ता गर्न हामीलाई निकै गा¥हो भयो । त्यो पैसा फिर्ता ल्याउन सके हामीले मानव कल्याणमा प्रयोग गर्नसक्छौँ । कानुनले तिनै अपराधीलाई संरक्षण गरेको छ । हामीसँग महँगा वकिल राख्न र करोडौँ करोड खर्च गर्ने पैसा छैन । यसको निम्ति हामीलाई धनी देशको सहायता चाहिएको छ । यो निकै गम्भीर विषय हो ।
धनी देशले राजनीतिक इच्छा शक्ति देखाउन सक्नुपर्छ । उनीहरूले यस्ता सबै काम हुन दिनुहुन्न । जब त्यो पैसा सजिलै हाम्रो देश छोडेर जाने गरेको छ भने संरा सङ्घले भनेजस्तो मानव विकास र दिगो विकास लक्ष्य हासिल गर्न गरिब देशले पैसा कहाँबाट ल्याउने ? अहिले धनी देशले आर्थिक शरणार्थीलाई रोक्न अग्ला पर्खाल बनाइरहेको हामी देख्दै छौँ । त्योभन्दा प्राथमिकताको क्षेत्र यो हो र त्यसमा केही कदम चाल्नु ढिला गर्न हुन्न । यो काम अहिले नै गरिनुपर्छ । भ्रष्ट शासकहरूलाई पैसा देशबाहिर लगेर विदेशी बैङ्क खातामा जम्मा गर्न रोक्नुपर्छ । विदेशमा सम्पत्ति थुपार्न रोकिनुपर्छ । मैले नबुझेको एउटा कुरा किन यो ट्याक्स हभनको व्यवस्था गरिएको छ ? किन तिनलाई अनुमति दिइएको छ ? धनी मानिसले किन कर नतिर्ने ? गोप्य खाता हुने त्यस्ता ट्याक्स हभनलाई अनुमति किन दिइएको छ ?
संसार आज बदलिसकेको छ । संसारमा जनसङ्ख्या बढिसकेको छ । यदि धनी झन् धनी बन्ने र गरिब झन् – झन् गरिब बन्दै जाने हो भने संसार एक न एक दिन ठूलो सङ्कटमा फस्नेछ । ढिलो चाँडो त्यो सङ्कट आइपर्नेछ । म आशा गर्छु, संरा सङ्घले यसमा पहलकदमी चाल्नेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क, एसियाली विकास बैङ्कले विकासशील देशमाथि लुटपाट बन्द गर्ने उपाय खोज्नुपर्छ ।
मेरो तेस्रो विषय हो– मुसलमानप्रतिको भय (इस्लामोफोबिया) । संसारमा १ अर्ब ३० करोड मुसलमान छन् । लाखौँ मुसलमानहरू संरा अमेरिका, युरोपेली देशहरूमा अल्पसङ्ख्यकको रूपमा बसोबास गर्छन् । सन् २००१ को सेप्टेम्बर ११ को घटनापछि सुरु भएको मुसलमानप्रतिको भय आज उत्कर्षमा पुगेको छ । मानव जाति एकसाथ मिलेर बस्छन् । उनीहरूबीच आपसी समझदारी हुनुपर्छ । तर, मुसलमानप्रतिको भयले विभाजन रेखा कोरेको छ । मुसलमान महिलाले हेजाब लगाउनु केही देशमा ठूलो मुद्दा बनिरहेको छ । हेजाब एक प्रकारको हतियार हो । महिलालाई लुगा फुकाल्न छुट हुने तर हेजाब लगाउन निषेध गरिएको छ । मुसलमानप्रतिको भयका कारण यो सबै भइरहेको हो । यस्तो भय कहाँबाट सुरु भयो–सेप्टेम्बर ११ पछि । किन सुरु भयो ? किनभने, केही नेताहरूले आतङ्कवादलाई इस्लामको पर्यायवाचीको रूपमा चित्रण गरे । इस्लामिक आतङ्कवाद । ¥याडिकल (अतिवादी) इस्लाम । के हो त्यो भनेको ? इस्लाम त एउटैमात्र छ । धर्मगुरु मोहम्मदको इस्लाम एउटै छ जो हामी मान्ने गर्छौँ । त्योभन्दा बाहेक अरू कुनै इस्लाम धर्म छैन । इस्लामिक आतङ्कवाद, ¥याडिकल इस्लाम यस्ता शब्दले पश्चिमले के सन्देश दिन खोजिरहेको छ ? अनि किन मुसलमानप्रति भय व्याप्त छ ? संरा अमेरिकामा बसेको र युरोपमा बसेको मुलसमानमध्ये कसलाई मध्यमखालको मुसलमान र कसलाई हिंस्रक अतिवादी मुसलमान भनेर छुट्याउने ? आतङ्कवादको कुनै पनि धर्मसँग कुनै लिनुदिनु हुन्न । दुर्भाग्यवश नेताहरूले प्रयोग गरिरहेका इस्लाम आतङ्कवाद नै मुसलमानप्रतिको भयको मुख्य कारण बनेको छ । मुसलमानहरूको लागि यो पीडाको विषय बनेको छ । हामी यस्तो खालको व्यवहार विभिन्न देशमा भ्रमण गर्दा महसुस गर्ने गर्छौँ । यो झन्झन् खराब बनिरहेको छ ।
युरोपेली देशहरूले मुसलमान समुदायलाई सीमान्तकृत बनाउँदै छन् । सीमान्तीकरणले विद्रोही जन्माउने कुरा हामी सबैलाई थाहा छ । सिरिया र अन्य केही देशमा विद्रोहमा होमिएका मानिसहरू सीमान्तकृत मुसलमान समुदायका हुन् । हामीले यो विषय समाधान गर्नैपर्छ । दुःखको कुरा हामी मुसलमान नेताहरूले पनि यो विषय समाधान गर्न खोजेका छैनौँ । सेप्टेम्बर ११ पछि अतिवादी मुसलमानहरूविरुद्ध लडाइँ घोषणा गरिएको समयमा अतिवादी मुसलमान भनेको हुन्न भन्ने कुरा पश्चिमा देशलाई सम्झाउने प्रयास गरेनौँ । सबै मानव समुदायमा अतिवादी पनि हुन्छन्, उदारपन्थी पनि हुन्छन् । क्रिश्चियन, यहुदी सबै समुदायमा दुई थरी मानिस हुन्छन् । तर, इस्लाम धर्म स्वयम् नै अतिवाद भने होइन । न त यहुदी धर्म, क्रिस्चियन न हिन्दु धर्म नै अतिवादी हो । कुनै पनि धर्मले अतिवाद सिकाउँदैन । सबै धर्मको आधार भनेको सदाचार र न्याय हो ।
त्यही सिकाइले हामीलाई पशुबाट भिन्न बनाएको हुन्छ । विडम्बना, मुसलमान नेताहरू आफूलाई अतिवादी भन्छन् भनी यति डराए, सबैजना ‘उदार’ बनिदिए ।
पाकिस्तान इस्लामको आँखा हो । त्यतिबेला हाम्रो सरकारले एउटा शब्द निकाल्यो–ज्ञानी उदारता (इन्लाइटन्ट मोडरेसन) । कसैलाई पनि त्यसको अर्थ के हो थाहा थिएन । मानिसले उदारपन्थीको नाममा कोट पाइन्ट लगाउन थाले । अङ्ग्रेजी नजानेकाले पनि अङ्ग्रेजी बोल्न थाले । हामीले पश्चिमा संसारलाई अतिवादी इस्लाम भनेको केही कुरा छैन भन्ने कुरा बुझाएनौँ ।
सेप्टेम्बर ११ पछि धेरै मानिसले आतङ्कवादलाई मुसलमानको पर्यायवाची शब्द मान्नुको एउटा कारण थियो–आत्मघाती हमला । सेप्टेम्बर ११ का हमलाकारीले आत्मघाती हमला गरेकोले त्यस्तो सिद्धान्त आएको थियो । मुसलमानहरूले आत्मघाती हमला गर्नसके स्वर्गको बास हुने भन्ने प्रचार गरियो । आत्मघाती हमला र मुसलमान धर्मलाई पर्यायवाचीजस्तै प्रयोग गरियो । तर, सेप्टेम्बर ११ को घटनाभन्दा अघि संसारमा सबभन्दा बढी आत्मघाती हमला गर्नेहरू तामिल टाइगर्स थिए । उनीहरू हिन्दू हुन् । कसैले यो अनुसन्धान गर्न आवश्यक नै ठानेन । श्रीलङ्काका आक्रोशित मानिसले गरेको आत्मघाती हमलासँग हिन्दू धर्मको के लिनुदिनु थियो र ? दोस्रो विश्वयुद्धपछि जापानी विमान चालकहरूले आत्मघाती हमला गरेका घटना हामीले चलचित्रहरूमा हेर्छौँ । त्यसमा धर्मसँग के लिनुदिनु ?
मैले बेलायतमा व्यावसायिकरूपमा लामो समय (क्रिकेट) खेलेँ । त्यसकारण मैले लामो समय बेलायतमा बिताएको छु । पश्चिमा दिमागले कसरी काम गर्छ भन्ने कुरा मलाई थाहा छ । पश्चिमाहरू धर्मलाई कसरी लिन्छन् भन्ने कुरा पनि मलाई थाहा छ । इस्लाम धर्मबारे असमझदारी कहाँबाट आयो भन्ने कुरा म बुझ्छु । त्यहीँबाट मुसलमान धर्मप्रतिको भय सिर्जना गरिएको हो । सन् १९८९ मा धर्म गुरु मोहम्मदबारे एउटा पुस्तक प्रकाशन भएको थियो । मुसलमानको विषयमा विश्वमा अनेकथरि प्रतिक्रिया देखापरे । तर, पश्चिमा विश्वले भने खास समस्या के हो भन्ने कुरा बुझ्नै सकेन । पश्चिमाहरू धर्मलाई नितान्त फरक तरिकाबाट बुझ्छन् । धर्मबारे हाम्रो र उनीहरूको बुझाइ फरक छ । अनि मुसलमान धर्मलाई असहिष्णु धर्मको रूपमा प्रस्तुत गरियो । इस्लाम धर्म अभिव्यक्ति स्वतन्त्रताको विरोधी बताइयो ।
पश्चिमा केही मानिस जसले यसको असरबारे जानी – जानी खुलमखुला प्रचार गर्दै हिँड्ने गर्छन्, उनीहरू यसका लागि दोषी छन् । तर, बहुमत पश्चिमालाई भने त्यसको असर पनि थाहा छैन । मुसलमान नेताहरूले नै मुसलमानहरूलाई तल झारे ।
…… ………….. ………..
धर्मगुरु मोहम्मदको अपमानलाई मुसलमानहरू सहन सक्दैनन् । शारीरिक चोटपटक भन्दा धेरै गहिरो हुन्छ, मनको घाउ । म किशोरावस्थामा पहिलो पटक बेलायत जाँदा त्यहाँ जिसस क्राइसको विषयमा हाँस्यव्यङ्ग्य चलचित्र चलेको थियो । मुसलमान समुदायमा त्यस्तो कुरा अकल्पनीय विषय हो । मानव समुदायमा एक जनाले अर्को समुदायको मन केमा दुख्छ भन्नेबारे ख्याल गर्नुपर्छ । यहुदी समुदायलाई पीडा दिने भएकोले होलोकोस्टलाई पश्चिमा संस्कृतिमा संवदेनशीलरूपमा लिने गर्छन् । हाम्रो पवित्र धर्म गुरुलाई अपमान गरेर हामीलाई पीडा दिने अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग नगर्नुहोला, यही हो हाम्रो कुरा ।
सभापति महोदय, अब म चौँथो बुँदामा प्रवेश गर्छु । यो सबभन्दा गम्भीर विषयवस्तु हो । यही विषयको लागि नै म विशेषतः यहाँ आएको हुँ । यो विषय हो–आज काश्मीरमा के भइरहेको छ ? यो विषयमा चर्चा गर्नुअघि म एउटा विषयमा प्रस्ट पार्न चाहन्छु । जब हामी सरकारमा आयौँ, मेरो पहिलो प्राथमिकता पाकिस्तानलाई शान्ति स्थापनाको निम्ति सम्भव सबै काम गर्ने देश बनाउनु थियो । सन् २००१ पछि हामी संरा अमेरिकाले नेतृत्व गरेको आतङ्कवादविरोधी युद्धमा सामेल भयौँ । त्यो अवधिमा पाकिस्तानले सबभन्दा खराब समयको सामना गर्नुप¥यो । ७० हजार पाकिस्तानीले आफ्नो जीवन गुमाए । पाकिस्तानी अर्थतन्त्रमा साढे एक खर्बभन्दा बढी क्षति भयो ।
सभापति महोदय, मैले त्यतिबेला त्यो युद्धको विरोध गरेको थिएँ किनभने सन् १९८० को दशकमा पाकिस्तान सोभियत सङ्घविरुद्ध अफगानिस्तानमा पश्चिमा देशहरूसँग युद्धमा सामेल भएको थियो । त्यो युद्धलाई पश्चिमा देशहरूले प्रायोजन गरेका थिए । गुरिल्ला युद्धको लागि तालिम दिइएका मुजाहिद्दीन सेनालाई पाकिस्तानी सेनाले तालिम दिएको थियो । पश्चिमा देशहरू, विशेषतः संरा अमेरिकाले सबै खर्चबर्चको व्यवस्था गरेको थियो । मुजाहिद्दीन सेनाले अफगानिस्तानमा स्वतन्त्रता आन्दोलन चलाएका थिए । सोभियतहरू उनीहरूलाई आतङ्कवादी भन्थे । हामी स्वतन्त्रता सङ्ग्रामी भन्थ्यौँ । सन् १९८९ मा अफगानिस्तानबाट सोभियत सङ्घ पछाडि हट्यो । अमेरिकीहरू पनि झोला पन्टुरो कसेर आफ्नो देश फर्के । पाकिस्तान भने तिनै समूहबीच रहिरह्यो ।
सन् २००१ को सेप्टेम्बर ११ मा संरा अमेरिकामा हमला भयो । पाकिस्तान आतङ्कवादविरोधी संरा अमेरिकी युद्ध गठबन्धनमा सामेल बन्यो । विगतमा जुन शक्तिलाई हामीले जेहादसँग जोडेका थियौँ, अब भने हामीले उनीहरू आतङ्कवादी भन्न थाल्यौँ । जेहादको अर्थ हो–वैदेशिक हमलाविरुद्धको स्वतन्त्रता सङ्ग्राम । अहिले (सेप्टेम्बर ११ पछि) हामी संरा अमेरिकी गठबन्धनमा सामेल भएको र संरा अमेरिकाले अफगानिस्तानमाथि कब्जा जमाएको हुनाले उनीहरू (मुजाहिद्दीन शक्ति) लाई स्वतन्त्रता सङ्ग्रामी होइन, आतङ्कवादी भन्नु परेको छ ।
त्यतिबेलाको पाकिस्तानी सरकारलाई मैले त्यो युद्धमा तटस्थ बस्न भनेको थिएँ किनभने त्यसो गर्दा हामीले उनीहरू (संरा अमेरिकी गठबन्धन) लाई नियन्त्रण गर्न सक्थ्यौँ । यदि हामी आफँै सहकार्यको हात अघि बढाएर सहयोगी बन्यौँ भने उनीहरूले हामीमाथि पनि हमला गर्नेछन् । अन्ततः त्यस्तै भयो । उनीहरू हामीविरुद्ध नै खनिए । हामीले त्यतिबेला एउटा त्रासद समय भोग्नुप¥यो । पाकिस्तानको कुनै लिनुदिनु नभएको युद्धमा हामीले बेफ्वाँकमा ७० हजार मानिस गुमाउनुप¥यो । सेप्टेम्बर ११ को घटनामा कोही पनि पाकिस्तानीको कुनै संलग्नता थिएन ।
अफगानिस्तानमा तालिबान र अल काइदा थिए । हामीसँग के सरोकार थियो र ! हामी सत्तामा आएपछि हामीले बचेखुचेका ती समूहलाई सिध्याउने निर्णय ग¥यौँ । यो निर्णय हामी एक्लैले मात्र लिएका थिएनौँ । पाकिस्तानका सबै राजनीतिक दलले यो निर्णय गरेका थिए । दुर्भाग्यवश अरू राजनीतिक दल यसमा इमानदार बनेनन् । हामी सरकारमा आयौँ, हामीले निर्णयअनुसार त्यो समूहका बचेखुचेका अवशेषलाई पनि ध्वस्त बनायौँ ।
भारतले पाकिस्तानमा ‘जेहादी’ बस्ने गरेको आरोप लगाउने गरेको छ । म संरा सङ्घलाई पाकिस्तानमा अनुगमन टोली पठाउन अनुरोध गर्छु । हामीले के ग¥यौँ, हेर्न अनुरोध गर्छु । पाकिस्तानका कुनै पनि अरू सरकारले यो काम गर्न हिम्मत गर्ने थिएन किनभने यो कदमले ठूलो कलह निम्त्याउने थियो ।
पाकिस्तानमा उपरान्त कुनै पनि सैनिक सङ्गठन नहुने हामीले निर्णय गरेका छौँ ।
मेरो नेतृत्वको सरकार गठन भएपछि हामीले विभिन्न देशसँगको सम्बन्ध सुधारमा जोड दियौँ । मैले अफगानिस्तानका राष्ट्रपति महोदयलाई पाकिस्तानमा आमन्त्रण गरेँ । अफगानिस्तानसँग हामीले सम्बन्ध सुधा¥यौँ । इरानसँग हाम्रा समस्या थिए । हामीले ती समस्या समाधान ग¥यौँ । अनि आउँछ–भारत ।
भारतसँग मेरो सम्बन्धबारे म थोरै भूमिका प्रकाश पार्न चाहन्छु । म क्रिकेटको खेलाडी हुँ । हाम्रो उपमहाद्वीपमा क्रिकेट निकै चर्चित खेल हो । त्यसकारण भारतमा मेरा धेरै प्रशंसकहरू छन् । भारतमा मेरा साथीहरू छन् । म भारत जान रुचाउँछु । मेरो पार्टीको सरकार बनेपछि सबभन्दा पहिले हामीले तत्कालै भारतसँग सम्पर्क राख्यौँ । मैले प्रधानमन्त्री मोदीलाई सम्र्पक गरेँ र भनेँ–“हेर्नोस्, हाम्रा समस्याहरू समान छन् । जस्तै जलवायु परिवर्तन, गरिबी आदि । त्यसकारण एकै ठाउँमा बसौँ । हामीबीच रहेका भिन्नतालाई व्यापारमार्फत सुधार गरौँ । विश्वासमा आधारित सम्बन्धको विकास गरौँ ।”
प्रधानमन्त्री मोदीले भने–“भारतमा पाकिस्तानबाट आतङ्कवादी हमला भइरहेका छन् ।”
मैले भनेँ–“हामीले पनि आतङ्कवादी हमला सामना गरिरहेका छौँ । बलुचिस्तानमा भारतले थोपरेको आतङ्कवादी हमला हामीले पनि सामना गरिरहेका छौँ । हामीले कलभूषण यादव नामको (भारतीय) गुप्तचर पक्राउ गरेका छौँ । कराची र बलुचिस्तानमा भइरहेका उपद्रवको लागि उनी जिम्मेवार थिए । त्यसकारण त्यस्ता विषयलाई पछाडि छोडेर अघि बढौँ । हाम्रो प्राथमिकताको विषय हाम्रा जनता हुन् । यो उपमहाद्वीपमा सबभन्दा बढी गरिब मानिस बसोबास गर्छन् ।”
दुर्भाग्यवश अगाडि जाने सबै बाटा ठप्प बनाइए । अघिल्लो वर्षको संरा सङ्घको महासभाको क्रममा भारत र पाकिस्तानका विदेशमन्त्रीहरूबीच भेटघाटको कार्यक्रम थियो । भारतले त्यो भेटघाट स्थगित ग¥यो । हामीले सोच्यौँ– ‘चुनाव नजिकिंदैछ । भारतको सत्तारूढ पार्टी अतिराष्ट्रवादी पार्टी हो । पाकिस्तानसँग उसले सहज सम्बन्ध राख्न चाहँदैन ।’ त्यसकारण चुनाव नसकुञ्जेल हामीले कुर्ने विचार ग¥यौँ ।
त्यहीबेला २० वर्षको एक युवकले भारतीय सैनिक क्षेत्रमा आत्मघाती विस्फोटन गरे । ती युवकका बुवाका अनुसार भारतीय सुरक्षाकर्मीका कारण उनी कट्टरपन्थी बनेका थिए । तत्कालै भारतले सो घटनालाई लिएर हामीमाथि आरोप लगायो । मैले त्यो घटनामा पाकिस्तानी संलग्नताको कुनै सानोभन्दा सानो प्रमाणमात्र जुटाए पनि दोषीलाई कारबाही गर्न तयार रहेको बताएँ किनभने हामी पनि कट्टरपन्थी समूहमाथि खनिएका थियौँ । भारतले त्यस्तो कुनै प्रमाण पठाएन, बरु पाकिस्तानमा लडाकु विमान पठाएर बमबारी ग¥यो । हामीले पनि प्रतिकार ग¥यौँ । दुई वटा विमान आक्रमणमा परी खसे । एकजना पाइलट पक्राउ परे । तर, तत्कालै हामीले पक्राउ परेका भारतीय पाइलट फिर्ता ग¥यौँ । हामी कुनै तनाव बढाउने पक्षमा थिएनौँ ।
हाम्रो त्यस्तो व्यवहारलाई शान्तिको चाहनाको रूपमा बुझ्नुभन्दा मोदीले आफ्ना चुनावी प्रचारमा कसरी पाकिस्तानलाई पाठ पढाइयो भनी प्रचार गरे । कसरी हवाई हमलाबाट ३५० जना आतङ्कवादीलाई भारतले मा¥यो भनी भाषण गरे । शतप्रतिशत झूटो थियो त्यो प्रचार । उनीहरूले हाम्रा जम्मा दस वटा जति रुख मारेका थिए । हामीले रुखहरू हुर्काइरहेको समयमा त्यति रुख नष्ट हुनु पनि पीडादायी विषय नै थियो ।
चुनाव प्रचार अभियानमा मोदी भन्थे– “यो त विज्ञापनमात्र हो, चलचित्र त सुरु हुन बाँकी नै छ । मैले पाकिस्तान गएर उनीहरूलाई पाठ पढाइदिएँ ।” आदि – आदि । यस्तो थियो, चुनाव प्रचार ।
हामीले सोच्यौँ–‘ठीकै छ । हामी नेताहरू चुनाव जित्न यस्ता प्रचारबाजी गर्ने गर्छौँ । चुनावपछि हाम्रो सबन्धको सामान्यीकरणको लागि कुरा गरौँला ।’
चुनावलगत्तै हामीले भारतलाई सम्पर्क ग¥यौँ । कुनै प्रतिक्रिया आएन । त्यतिबेलामात्र हामीले थाहा पायौँ, उनीहरूले हामीलाई कालो सूचीमा सूचीकृत गर्न खोजिरहेका रहेछन् । कालो सूचीमा सुचीकृत गरेर उनीहरू हामीलाई आर्थिकरूपमा ध्वस्त बनाउन खोजिरहेका थिए । त्यहीबेला हामीले महसुस ग¥यौँ, विषयवस्तु हामीले सोचेजस्तो सरल होइन । हाम्रो त्यो शङ्का अगस्ट ५ को दिन पुष्टि भयो । त्यो दिन भारतले संरा सङ्घको एघारौँ सुरक्षा परिषद्को निर्णयविपरीत निर्णय ग¥यो । एघारौँ सुरक्षा परिषद्को बैठकले काश्मीर क्षेत्र विवादित भएको र त्यहाँका जनतालाई आत्मनिर्णयको अधिकार भएको निर्णय गरेको थियो ।
त्यो निर्णय दुईपक्षीय सम्बन्धका समस्या समाधानको लागि भएको सिमला सम्झौताविपरीत पनि थियो । वास्तवमा भारत सरकारको त्यो निर्णय भारतीय संविधानको भावनाविपरीत गयो । अवैधानिकरूपमा भारतीय संविधानको धारा ३७० खारेज गरियो । भारतीय संविधानको त्यो धाराले काश्मीरलाई विशेषाधिकार दिएको थियो । भारतले उक्त निर्णयलगत्तै काश्मीरमा १ लाख ८० हजार थप सेना परिचालन ग¥यो । काश्मीरमा आज भारतले परिचालन गरेको सैनिकको सङ्ख्या ९ लाख पुगेको छ । उनीहरूले ८० लाख काश्मिरी जनतालाई कफ्र्यूमा कैद बनाएका छन् ।
सभापति महोदय, अब म यहाँ उपस्थित सबैलाई कसरी कोहीले यस्तो काम गर्नसक्छ भन्ने विषयमा थोरै प्रकाश पार्न चाहन्छु । त्यसको लागि मैले आरएसएस (राष्ट्रिय स्वयम्सेवक सङ्गठन) भनेको के हो भन्नेबारे व्याख्या गर्नुपर्ने हुन्छ । नरेन्द्र मोदी आरएसएसका आजीवन सदस्य हुन् । आरएसएस एडोल्फ हिटलर र मुसोलिनीबाट प्रेरित सङ्गठन हो । त्यसको स्थापना सन् १९२५ मा भएको थियो । उनीहरू जातीय शुद्धता र जातीय सर्वोच्चतामा विश्वास गर्छन् । नाजीहरूले आफूलाई आर्य भनेजस्तै आरएसएस पनि आफूलाई आर्य भएको विश्वास गर्छन् । मैले भनेका यी सबै कुरा पुष्टि गर्न सकिन्छ । आजको जमाना सूचना क्रान्तिको युग हो । मैले भनेका कुरा तपाईँले गुगलमा खोज्न सक्नुहुन्छ । आजको भारतमा के भइरहेको छ भन्ने कुरा तपाईँहरूलाई बुझाउन यी सबै कुरा भन्न आवश्यक छ । आरएसएसहरू भारतबाट मुसलमानहरूको जातीय सफायामा विश्वास गर्छन् । एकातिर उनीहरू हिन्दु जातीय सर्वोच्चतावादी हुन् भने अर्कोतिर मुसलमान र क्रिस्चियनहरूलाई घृणा गर्छन् । उनीहरू बेलायती शासनभन्दा शताब्दीअघि हिन्दुहरूको स्वर्ण युग मुसलमानहरूले ध्वस्त बनाएको कुरा विश्वास गर्छन् । यो कुरा खुलमखुला छ । आरएसएसका संस्थापक गोल्बाकर र सबारकरले लेखेका कुरा तपाईँले कहीँ पनि सजिलै भेट्टाउन सक्नुहुन्छ ।
यही घृणाको विचारधाराले नै महान् महात्मा गान्धीको सन् १९४८ मा हत्या भएको थियो । यही घृणाको विचारधाराले सन् २००२ मा नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री हुँदा मुसलमानविरुद्ध संहार मच्चाएका थिए । मोदीले आरएसएसका गुण्डाहरूलाई आतङ्क मच्चाउन दिएका थिए । हिटलरका फासीवादी कार्यकर्ताले जस्तै उनीहरू पनि खैरो लुगा लगाउँछन् । (भारतीय) कङ्ग्रेस सरकारका एकजना पूर्वगृहमन्त्रीले आरएसएसका शिविरमा आतङ्कवादीहरूलाई तालिम दिइन्छ भनी वक्तव्य दिएका थिए । गुजरातमा ती आतङ्कवादीहरूले दुई हजार मुसलमानहरूको हत्या गरे र १ लाख ५० हजार मुसलमानहरूलाई घरबारविहीन बनाए । त्यही घटनाको कारण नरेन्द्र मोदीले संरा अमेरिकाको भ्रमण गर्न सकेका थिएनन् । ८० लाख मानिसको लागि ९ लाख सिपाही परिचालन कस्तो दिमागले गर्छ भन्ने कुरा बुझाउन मैले यो सबै पृष्ठभूमि भनिरहेको छु ।
महिला, केटाकेटी, बिरामी सबै मानिसलाई पशुलाई जस्तै कैद बनाइएको छ । वास्तवमा ८० लाख पशुलाई एकै ठाउँमा कैद गरेमात्र पनि ठूलै हल्लाको विषय बन्ने गर्छ । तर, काश्मीरका जनता त मानिस हुन् !
सभापति महोदय, यो जातीय सर्वोच्चताले के निम्त्याउँछ ? सर्वोच्च जाति, आर्यजस्ता भ्रम जन्माउने गर्छ । अनि जन्माउँछ–आक्रोश । भ्रम र आक्रोश यी दुवै एकसाथ अघि बढ्छन् । आक्रोशले मानिसलाई मूर्खतापूर्ण गल्ती गराउँछ । नरेन्द्र मोदीले जस्तै क्रुर काम गर्न लगाउँछ । आक्रोशले उनलाई अन्धो बनाएको छ । काश्मीरमा आज थोपरिएको कफ्र्यू हटाएको दिन के होला ? के मोदीले यो विषय सोचेका छन् ? के काश्मिरी जनताले आजको अवस्थालाई चुपचाप सहने उनले सोचेका छन् ? संविधानबाट उनीहरूको विशेषाधिकार खोसिएको अवस्था काश्मीरका जनताले स्वीकार्लान् ?
सभापति महोदय, संरा सङ्घले दिएको आत्मनिर्णयको अधिकारबाट काश्मिरी जनतालाई वञ्चित गरेको हुनाले बितेका ३० वर्षमा १ लाख काश्मिरीहरू मारिएका छन् । एघार हजार महिला बलात्कृत भएका छन् । यो विषयमा संरा सङ्घका दुई वटा मानवअधिकारसम्बन्धी प्रतिवेदन छन् । त्यो विषयमा संसारले केही गर्न आवश्यक ठानेन किनभने १ अर्ब २० करोड जनता भएको भारत एउटा ठूलो बजार हो । तर, यसरी केही नगर्दा त्यसको गम्भीर परिणाम आउनेछ ।
काश्मीरमा कफ्र्यू हटाएको दिन रक्तपात हुनेछ । भारतका ९ लाख सेना नरेन्द्र मोदीले भनेजस्तै काश्मीरको विकासको लागि त्यहाँ गएका होइनन् । ती सेनालाई विकासको लागि परिचालन गरिएको भनिएको छ । जब काश्मीरका जनता घरबाट बाहिर आउँनेछन्, ती ९ लाख सेनाले के गर्नेछन् ? त्यहाँ रगतको खोलो बग्नेछ । रगतको खोलो बग्दा के हुन्छ ? के त्यो विषयमा मोदीले कहिल्यै सोचेका छन् ? काश्मीरका जनतामाथि त्यसको कस्तो असर पर्ला ? आफ्नो घरभित्र बन्दी बनाइएको र पशुभन्दा पनि निकृष्ट व्यवहार गरिएको अवस्थामा उनीहरूले के सोच्लान् जस्तो लाग्छ ? हजारौँ राजनीतिक नेताहरूलाई गिरफ्तार गरिएको छ । भारत पक्षधर राजनीतिक नेताहरूलाई समेत गिरफ्तार गरिएको छ । १३ हजार युवाहरूलाई बेपत्ता पारिएको छ । उनीहरू कहाँ छन्, कसैलाई थाहा छैन । काश्मीरका जनता के गर्लान् ? कफ्र्यूपछि के होला ? उनीहरू सडकमा आउनेछन् । ती सेनाहरूले के गर्लान् ? उनीहरूले गोली हान्नेछन् । उनीहरूले गोलीका छर्रा हानिरहेका छन्, युवाहरूलाई अन्धो बनाइरहेका छन् । काश्मिरीहरू अझ कट्टर बन्नेछन् । अर्को पुलवामा घटना हुनेछ । अनि, भारतले हामीलाई के भन्नेछ, अनुमान गर्नुहोस् ! उनीहरू अहिले नै हामीमाथि दोष थोपरिरहेका छन् । उनीहरू अहिले नै सबै घटना पाकिस्तानको कारण भइरहेको आरोप लगाइरहेका छन् । भारतीय रक्षामन्त्रीले भनेका छन्– “सिमानामा ५ सय आतङ्कवादी भारत पस्न तम्तयार छन् ।” काश्मीरमा ९ लाख भारतीय सेना तैनाथ रहेको बेला पाकिस्तानले किन ५ सय आतङ्ककारी परिचालन गर्छ ? त्यसले के असर गर्न सक्ला र ?
हामीलाई थाहा छ, कुनै पनि किसिमको आतङ्कवादी हमला भएको अवस्थामा त्यही बहानामा काश्मिरी जनतामाथि थप दमन र अत्याचार हुनेछ । त्यस्तो हमला गर्दा हामीले ९ लाख भारतीय सेनालाई काश्मिरी जनताको थप दमन गर्ने बहाना बनाइदिनेछौँ । हामीले त्यसो गरे भारतले पाकिस्तानलाई देखाएर संसारलाई भन्नेछ – “हेर ! त्यो इस्लामिक आतङ्कवादी देशले के गरिरहेको छ ?” जब ‘इस्लामिक आतङ्कवादी’ को मन्त्रोच्चारण हुन्छ, संसारले मुख मोड्नेछ । ‘इस्लामिक आतङ्कवादी’ मन्त्र उच्चारण हुनेबित्तिकै कसैको पनि मानवअधिकारको पर्वाह गर्नेछैन, के घटना घटिरहेको छ भन्ने विषयमा कुनै वास्ता हुँदैन । काश्मीरमा त्यही भइरहेको छ । आज उनीहरूले यही काम गरिरहेका छन् ।
काश्मीरका जनतामाथि थप क्रुरता थपेर हामीलाई के फाइदा हुनेछ ? हामी यो सबै चाहौँला र ?
तर, अब भारतसँग कुनै कथनी बाँकी छैन । कफ्र्यू हट्नेबित्तिकै हुने सबै परिणामको लागि उनीहरूले पाकिस्तानलाई दोषारोपण गर्नेछन् । अनि पुलवामा जस्तो घटना हुने सम्भावना सधैँ रहनेछ । उनीहरूले फेरि पनि हामीमाथि बमबारी गर्न सक्छन् । त्यसपछि द्वन्द्वको अर्को चक्र सुरु हुनेछ ।
भारतका १८ करोड मुसलमान जनताले आज के विचार गरिरहेका छन् भन्ने विषयमा नरेन्द्र मोदी के सोच्दैछन् ? काश्मीरका जनता ५५ दिनदेखि कैद अवस्थामा भएको के भारतका मुसलमान जनता हेरिरहेका छैनन् ? के भारतका मुसलमानहरूलाई यस्तो अवस्थाले कट्टर बनाउनेछैन ? म १८ करोड मुसलमान जनताको कुरा गर्दैछु । जब उनीहरू कट्टर बन्छन्, भारतको कुनै पनि ठाउँमा कुनै घटना घट्नेछ । फेरि पनि दोष हाम्रै टाउकोमा आइपर्नेछ ।
अनि यी सबै घटना हेरिरहेका संसारका १ अर्ब ३० करोड मुसलमान जनताले के गर्नेछन् ? काश्मीरमा आज जे भइरहेको छ, त्यहाँका जनता मुसलमान भएकैले भएको कुरा उनीहरूलाई थाहा छ । आज काश्मिरी मुसलमानलाई जे भइरहेको छ, हिन्दुलाई भइरहेको छैन । धर्मकै कारण यी सबै घटना भइरहेको थाहा पाएपछि उनीहरूले के गर्लान् ? ८ हजार यहुदीलाई यसरी नै कैद बनाइए कस्तो परिस्थिति बन्ला ? युरोपेलीहरूले यसलाई कसरी लेलान् ? कुनै पनि मानव समुदायलाई यसरी कैद गरिए के सोच्लान् ? के हामी न्यून कोटीका ईश्वरका सन्तान हौँ र ? के हामीलाई पीडा हुन्न ?
अनि के हुन्छ, म भन्छु । १ अर्ब ३० करोड मुसलमान जनतामध्ये कसैले हतियार उठाउनेछन् । हामी विभिन्न चलचित्र हेरेरै हुर्कियौँ । चलचित्रमा कसैले न्याय नपाउँदा हतियार उठाउने गर्छ । न्यु योर्कको एउटा चलचित्र छ – डेथ भ्वाइस । त्यसका नायकले न्याय नपाउँदा हतियार उठाउँछ र मान्छे मार्न थाल्छ । सबै दर्शकले उसको वाहवाही गर्छन् । मुसलमानहरू यतिबेला के सोचिरहेका होलान् भन्ने तपाईँलाई लाग्छ ? उनीहरू कट्टर बनेकाले मुसलमानहरू कट्टर बनेका हुन्, इस्लाम धर्म होइन ।
संसारका १ अर्ब ३० करोड मुसलमानहरूले के गर्लान् ?
मानौँ म काश्मिरी हुँ । म बिगत ५५ दिनदेखि कैद छु । भारतीय सेनाले घरभित्र गएर महिलामाथि बलात्कार गरेका समाचार सुन्छु भने के म त्यो अपमान सहन सक्छु ? के म त्यसरी बाँच्न चाहुँला ? त्यो अवस्थामा म बन्दुक उठाउँथे । तिमीहरू मानिसलाई कट्टरतातिर धकेल्दै छौ । जब मानिसमा बाँच्ने चाहना रहन्न, के कुराको लागि बाँच्ने ?
सभाध्यक्ष महोदय, म दोहो¥याउन चाहन्छु । यो निकै गम्भीर समय हो । क्रियाको प्रतिक्रिया हुनेछ । पाकिस्तानमाथि दोष लगाइनेछ । फेब्रुअरी महिनामा जस्तै दुई आणविक शक्ति सम्पन्न देश आमनेसामने हुनेछन् । हामी त्यो दिशातिर जानुअघि संरा सङ्घका केही जिम्मेवारी छन् । सन् १९४५ मा संरा सङ्घको स्थापना यसै उद्देश्यले भएको थियो । राष्ट्र सङ्घले यस्तो अवस्था रोक्नुपर्छ । यस्तो लाग्दैछ, हामी सन् १९३९ मा फर्किएका छौँ । त्यतिबेला पनि म्युनिख, चेकोस्लाभाकियालाई कब्जा गरिएको थियो । विश्व समुदायले १ अर्ब २० करोड जनताको बजारलाई खुसी बनाउनतिर लाग्ने वा न्यायको पक्षमा उभिने, निर्णय गर्नुपर्छ । यदि यो अवस्था दुर्गतितिर गए, तपाईँले सुन्दरताको आशा गर्दै गर्नुस्, हामी कुरूपताको तयारी गर्दै जानेछौँ । दुई देशबीच आणविक लडाइँ भए के होला ? जे पनि हुनसक्छ । तर, मानौँ आफ्नो छिमेकीभन्दा सात गुणाले सानो देशसामु या त तिमी आत्मसर्मपण गर वा अन्तिम दमसम्म लड भन्ने दुई वटा विकल्पमध्ये छान्न दिए के गर्नुपर्ला ? म यो प्रश्न आफैँलाई सोध्छु । हामी लड्नेछौँ । अनि जब आणविक हतियारसम्पन्न दुई वटा देशबीच लडाइँ चल्छ, त्यसको प्रभाव उनीहरूको सिमानाभन्दा परसम्म पुगेको हुन्छ । संसारभर असर पार्नेछ । त्यसकारण म दोहो¥याइरहेको छु । यो कुनै धम्की होइन । यो स्वाभाविक चिन्ता हो । हामी कता जाँदैछौँ ?
संरा सङ्घको यो परीक्षाको घडी हो । काश्मीरका जनतालाई आत्मनिर्णयको अधिकार सुनिश्चित गर्ने संरा सङ्घ हो । त्यही कारण काश्मिरी जनता आज दुःख भोगिरहेका छन् । यो समय सन् १९३९ मा जस्तो कसैलाई खुशी पार्ने समय होइन । यो समय एक्सनको समय हो । सबभन्दा पहिलो एक्सन भनेको भारतले काश्मीरमा थोपरेको यो अमानवीय कफ्र्यू हटाउनुपर्छ । ५५ दिनदेखि त्यहाँ कफ्र्यू छ । गिरफ्तार गरिएका सबै राजनीतिक दलका नेताहरूलाई रिहा गर्नुपर्छ । विशेषतः ती १३ हजार युवाहरूलाई रिहा गर्नुपर्छ । आमाबुवालाई उनीहरू कहाँ छन्, थाहा छैन । अनि विश्व समुदायले काश्मीरका जनतालाई आत्मनिर्भरताको अधिकार दिलाउनुपर्छ । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *