भर्खरै :

सङ्कट आउनुमा सरकारहरू दोषी

सङ्कट आउनुमा सरकारहरू दोषी

नेपालमा पचास–सय वर्षमा आउने हिमबाढी पछिल्लो दशकदेखि हरेक वर्षजसो दोहोरिरहेको अध्येताहरूको मत छ । १४ वर्षअघि २०६९ वैशाख २३ गते पोखराको सेती नदीमा हिमबाढी आयो । यसको अध्ययनमा मानिस भेला हुने स्थानमा प्रभावकारी पूर्वसूचना प्रणाली जडान गरिनुपर्ने उल्लेख थियो । त्यतिबेला अन्नपूर्ण हिमालको करिब डेढ किलोमिटर दक्षिणमा रहेको डाँडाको करिब ३२ हजार वर्गमिटर क्षेत्रफलको हिमचट्टान सेती नदीको मुहान सब्चे सर्क क्षेत्रमा खस्यो र ठुलो बाढी आयो । करिब ६८५० मिटरको उचाइबाट ४५०० मिटर आसपाससम्म खसेको हिमपहिरोपछि आएको बाढीमा ७२ जनाको मृत्यु र बेपत्ता, सडक, पुलसहित २० भन्दा बढी घर भवन बालुवाले पुरियो । यसमा करिब ८ करोड २० लाख बराबरको नोक्सान भयो । १४ वर्ष भयो तर सेतीको तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली राखिएन । अध्ययन प्रतिवेदनअनुसार काम नहुनुमा सम्बन्धित सरकारहरू दोषी भएको सार्वजनिक भयो ।
सेती बाढीको बेला आकाशमा उडिरहेका अल्ट्रालाइट पाइलट क्याप्टेन अलेक्जेन्डर म्याक्सीमोभले पोखरा विमानस्थलको टावरलाई खबर गरेपछि सुरक्षा निकाय र एफएम रेडियोमार्फत सूचना प्रवाह भएको थियो । यसपटक भदौ १० गते रसुवागढी क्षेत्रमा सात मिनेटमै बाढी पुगेपश्चात् त्रिशुली तटीय क्षेत्रमा माइकिङ र एसएमएस पठाइएको थियो तर पर्याप्त भएन ।
भदौ १० गते समुद्रस्तरबाट ५२०० मिटर माथिबाट ३८०० मिटरमा हिमपहिरो खस्यो, बाटोमा रहेको हिउँ र चट्टान सोहोरेर लग्यो, १२ करोड ९ लाख ६० हजार घनमिटर बरफ, हिउँ र चट्टान १५०० मिटरको ठाडो दूरीबाट खस्यो र तल्लो भागको लेदोले हिमनदीलाई कटान ग¥यो । प्रारम्भिक प्रतिवेदनमा तल्लो क्षेत्रबाट करिब ६ करोड ७० लाख घनमिटर बरफ ल्हेन्दे खोलामा मिसियो । ल्हेन्दे र दोभोनमा जम्मा भएको हिउँ, बाफ र चट्टानले केही मिनेटका लागि नदी थुनेर पछि तीव्रगतिमा बगेको अनुमान गरिएको छ । यो हिमपहिरोमा १४५३ मानिस मृत्यु भएको र ५५५० बेपत्ता रहेको सार्वजनिक भयो र पुनःनिर्माणको लागि ७ खर्ब २३ अर्ब २१ करोड चाहिने प्रारम्भिक प्रतिवेदन बाहिरियो । रसुवाको भोटेकोसी हिमपहिरोबाट भएको क्षतिमा वर्तमान रास्वपा सरकार पनि जिम्मेवार हुने सार्वजनिक भयो ।
२०८१ साउन ३२ मा सोलुखुम्बुको खुम्बु पासाङल्हामुको थामेमा भीषण बाढी आयो । २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावतीमा भीषण बाढी आउँदा मेलम्ची खानेपानी आयोजनामा क्षति भयो भने मेलम्ची बजार बगायो । यो बाढीले ५८ अर्ब ६८ करोड क्षति भयो । यहाँ पनि पहिरो खस्दा मेलम्ची खोला थुनिएर फुटेको थियो । २०७३ असार २१ गते जाङ्जाम्दी हिमताल नजिकै फुटेपछि सङ्खुवासभामा बरुण नदी र सिन्धुपाल्चोकको भोटेकोसीमा बाढी आएको थियो । यसले तातोपानी–बा¥हबिसे सडक भत्कायो । गत वर्ष जेठमा हुम्लाको नाम्खा, तिला गाउँमा हिमबाढी आयो । २०७४ वैशाख ४ गते लाङमाले हिमताल फुट्दा बाढी आयो र बरुण बजारमा क्षति ग¥यो । २०८२ कार्तिक १७ गते दोलखाको यलुङरी हिमालमा पहिरो आउँदा १५ जनाको मृत्यु र बेपत्ता भयो ।
नेपालमा २१ जोखिमयुक्त हिमताल पहिचान भए पनि सरकारहरू आवश्यक सुरक्षा उपायमा नलाग्नु गलत हो । जोखिम क्षेत्रमा सर्वेलेन्स क्यामेरा, दूरसञ्चार र रिमोट मनिटरिङ प्रविधि विकास गर्नु जरुरी भएको विज्ञहरूको मत छ । हिमपहिरो खस्दाको कम्पनलाई भूकम्प ठानेर चुपचाप बस्नुभन्दा सरकार तदारुक हुन नसक्नु पनि क्षतिको जिम्मेवार कारण भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *