भर्खरै :

सीको स्वागतमा ट्रम्पको राजकीय रात्रिभोज

सीको स्वागतमा ट्रम्पको राजकीय रात्रिभोज

वासिङ्टन, ९ असोज (एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना गरेका छन् । रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व, अर्बपति तथा व्यापारिक नेताहरू सहभागी थिए ।
रात्रिभोजमा ट्रम्पले अमेरिका र चीन फरक राजनीतिक प्रणालीका भए पनि दुई देशका जनताबिचको सम्बन्ध कायम रहेको बताउँदै आगामी पुस्ताका लागि समृद्धि र सुरक्षालाई प्रवद्र्धन गर्ने सम्बन्ध निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो । सीले पनि दुवै देशका महत्वाकाङ्क्षी राष्ट्रिय लक्ष्य पारस्परिक रूपमा सुदृढ हुनसक्ने बताउनुभयो ।
सीको भ्रमणका क्रममा ताइवान, व्यापार र कृत्रिम बौद्धिकता (एआई) लगायतका विषयमा दुई नेताबीच छलफल भएको थियो । ट्रम्पले सीलाई मरीन वन राष्ट्रपतीय हेलिकप्टर तथा त्यसका लागि निर्माण गरिएको नयाँ हेलिप्याडसमेत देखाउनुभएको थियो ।
रात्रिभोजका क्रममा ट्रम्पले ह्वाइट हाउसको दक्षिणी भागमा निर्माण भइरहेको नयाँ बलरुमबारे चर्चा गर्दै सहभागीहरूलाई निर्माणस्थल अवलोकन गर्न निम्तो दिए । उनले उक्त संरचनालाई ‘ग्रेट हल अफ द पिपल’ सँग तुलना गरेका थिए ।
रात्रिभोजमा ओपनएआईका साम अल्टम्यान, एनभिडियाका जेन्सेन हुआङ, अमेजनका संस्थापक जेफ बेजोस, टेस्ला र स्पेसएक्सका एलन मस्क, गुगल तथा अल्फाबेटका सुन्दर पिचाईलगायत प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व सहभागी हुनुभएको थियो । ट्रम्पले सीलाई आफू र प्रथम महिला मेलानिया ट्रम्पको सहकार्यमा तयार पारिएको चीलको मूर्ति उपहार दिएका थिए ।
रात्रिभोजमा जङ्गली च्याउ र पहेँलो स्क्वासको परिकार, तिलले छोपिएको समुद्री माछा तथा चेरी, ओखर र भेनिला क्रिमसहितको मिठाई प्रस्तुत गरिएको थियो । ट्रम्पले बुधबार सी र उहाँकी श्रीमती पेङ लियुआनलाई संयुक्त बेस एन्ड्रयुजमै पुगेर स्वागत गरेका थिए ।
यसअघि मेमा बेइजिङ भ्रमणका क्रममा सीले ट्रम्पका लागि ‘ग्रेट हल अफ द पिपल’ मा राजकीय रात्रिभोज आयोजना गर्नुभएको थियो । सन् २०१५ मा भने तत्कालीन राष्ट्रपति बाराक ओबामाले सीलाई राजकीय भ्रमणमा स्वागत गर्ने तयारी गर्दा ट्रम्पले त्यस्तो भव्य स्वागतको आलोचना गर्दै सीलाई म्याकडोनाल्डमा लगेर वार्तामा फर्कनुपर्ने टिप्पणी गरेका थिए ।
ताइवानबारे अमेरिकी नीति स्पष्ट गर्न सीको आग्रह
चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्न र ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न अमेरिकालाई आग्रह गर्नुभएको छ । उहाँले चीन–अमेरिकाबीच कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।
ह्वाइट हाउसमा भएको वार्तामा सीले दुई देशले सहयोगलाई प्रमुख आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्न तथा मतभेद व्यवस्थापन गर्दै स्थिर सम्बन्ध अघि बढाउनुपर्ने बताउनुभयो । यसै वर्ष मेमा भएको समझदारीलाई कार्यान्वयन गर्दै आर्थिक तथा व्यापारिक सम्बन्ध स्थिर राख्न सहयोगका क्षेत्र विस्तार र विवादका विषय घटाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
एआईका क्षेत्रमा दुवै देशसँग बलियो क्षमता रहेको बताउँदै सीले यसको जोखिम र फाइदाबारे निरन्तर संवाद तथा दुरुपयोग रोक्न संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । एआई मानव नियन्त्रणमा रहनुपर्ने र मानवकेन्द्रित ढङ्गले विकास गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
ताइवानबारे सीले राष्ट्रिय एकीकरण र क्षेत्रीय अखण्डताको रक्षा गर्ने चीनको अडान स्पष्ट रहेको बताउँदै अमेरिकाले ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्ने नीतिमा कायम रहनुपर्ने बताउनुभयो । यसबाट चीन–अमेरिका रणनीतिक सहयोग तथा द्विपक्षीय सम्बन्ध विकासका लागि आधार तयार हुने उहाँको भनाइ थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सीको भ्रमणलाई उत्कृष्ट बताउँदै आर्थिक तथा व्यापारिक संवाद जारी राख्नुपर्ने बताउनुभयो । दुवै देशका टोलीबीचको पछिल्लो छलफलबाट नयाँ उपलब्धि हासिल भएको उल्लेख गर्दै उहाँले व्यापार सम्झौता सुधारका लागि वार्ता जारी राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । एआईमा पनि संवाद र सहयोग विस्तार गर्न दुवै नेता सहमत हुनुभएको छ ।
वार्तामा मध्यपूर्व, युक्रेन सङ्कट र कोरियाली प्रायःद्वीपको अवस्थालगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा विचार आदानप्रदान भएको थियो । साथै, सन् २०२६ मा हुने एपेक आर्थिक नेताहरूको बैठक र जी–२० शिखर सम्मेलन आयोजना गर्न एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ ।
राष्ट्रपति सीको तीनदिने अमेरिका भ्रमणका क्रममा भएको यो भेट छ महिनाभन्दा कम अवधिमा दुई नेताबीच भएको दोस्रो भेट हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *