भर्खरै :

विश्व पर्यटन दिवसमा भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटक टोलीलाई स्वागत

विश्व पर्यटन दिवसमा भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटक टोलीलाई स्वागत

भक्तपुर, ११ असोज । विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटक टोलीलाई आइतबार स्वागत गरेको छ ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको प्रमुख प्रवेशद्वार खौमामा विदेशी पर्यटक टोलीलाई खादा तथा पुष्पगुच्छासहित स्वागत गर्नुभयो ।
स्वागत कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरका मूर्त तथा अमूर्त सम्पदाको अवलोकन गर्न आउने पर्यटकलाई सुरक्षित र पर्यटकमैत्री वातावरण उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विश्व पर्यटन दिवसको अवसरमा आज सांस्कृतिककर्मी सम्मान कार्यक्रमसमेत आयोजना गरिएको जानकारी दिँदै भक्तपुर भ्रमणका क्रममा यहाँका कला, संस्कृति तथा सम्पदाबारे अन्तर्राष्ट्रिय जगतमा प्रचार–प्रसार गर्न पर्यटकहरूलाई आग्रह गर्नुभयो ।
स्वागतपछि पर्यटक टोलीका प्रतिनिधिले भक्तपुर नगरपालिकाले गरेको स्वागतप्रति धन्यवाद व्यक्त गरे ।
भक्तपुर नगरपालिकाको वातावरण तथा पर्यटन समितिका संयोजक रवीन्द्र ज्याख्वले विश्व पर्यटन दिवसको अवसरमा हरेक वर्ष भक्तपुरमा आउने पहिलो विदेशी पर्यटक टोलीलाई स्वागत गर्दै आएको बताउनुभयो । उहाँले भक्तपुरको पर्यटन प्रवद्र्धनका लागि भक्तपुरवासी एकजुट भएर भक्तपुरलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागिरहेको उल्लेख गर्नुभयो ।
आइतबार स्वागत गरिएको विदेशी पर्यटक टोलीमा चीनका १८ जना र ताइवानका १ जना गरी १९ जना पर्यटक रहेका थिए ।
कार्यक्रममा आरम्भले धाः बाजा प्रस्तुति दिएको थियो । त्यसैगरी गणेश दाफा भजन, वडा नं. १ ले माक प्याखं तथा हनुमान प्याखं प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *