भर्खरै :

पार्टी कार्यकर्ताहरूको मूल्याङ्कनबारे

पार्टी कार्यकर्ताहरूको मूल्याङ्कनबारे

२०१९ सालदेखि २०४० सालसम्म हजारभन्दा बढी कार्यकर्ता, समर्थक र अन्य साथीहरूले हाम्रो पार्टीलाई अगाडि बढाउने काम गरे । तिनीहरूमध्ये केही २–४, २–४ वर्षपछि सङ्घर्षका अनेक तीतो–पिरो दुःखकष्ट र डरत्रासबाट विचलित नभए तापनि बिचमै पार्टी र सङ्गठनबाट अलग्ग बस्न पुगे, केही साथीहरू घरको स्थिति सम्हाल्न पार्टीबाट बिदा लिए र केहीले सिद्धान्त, पार्टी र जनताको हितभन्दा आ–आफ्नो व्यक्तिगत स्वार्थलाई बढी महत्व दिएर वर्गशत्रुहरूसँग मिल्न गए । वर्गशत्रुहरूसँग मिल्न जानेहरूलाई सङ्गठन र पार्टीले धोखेबाज घोषणा गरी तिनीहरूसँग अनेक प्रकारको सङ्घर्ष गरेका थिए ।
पार्टी छोड्ने माथिल्ला दुई किसिमका साथीहरू भने आफ्नो सैद्धान्तिक र राजनैतिक दृष्टिकोणलाई व्यापक बनाउन नसकेर मात्रै पार्टीबाट बिदा भएका थिए । पार्टीले तिनीहरूसँग सङ्घर्षको नीति लिएन । तिनीहरूमध्ये केहीलाई अझ सैद्धान्तिक र राजनैतिक शिक्षा दिएर सङ्गठनमा ल्याउने कोसिस हुनुपर्छ र त्यस्तै कोसिस पनि हुँदै छ । तिनीहरूमध्ये केही अहिले पनि पार्टी सङ्गठनमा नभए पनि पार्टी र सङ्गठनले आयोजना गरेको जुलुस प्रदर्शन, सभा, गोष्ठी र अन्य समारोहहरूमा भाग लिन्छन्, विभिन्न सङ्गठनको चुनावमा हाम्रो पक्षलाई मत दिन्छन् र केहीले आर्थिक सहयोग वा कहिलेकाहीँ चन्दासमेत दिन्छन् । यसरी तिनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले पार्टीलाई सघाउँदै आएका छन् ।
तर, धोखेबाज भनी पार्टीले निकालेकाहरूले पार्टी र सिद्धान्तमाथि नै हमला गरी सङ्गठनलाई नै फुटाउने कोसिस गरेका थिए र जनविरोधी कार्यहरू गरेका थिए ।
सङ्घर्षको सिलसिला र समय बित्दै गएपछि पार्टी र सङ्गठनमा नयाँ नयाँ साथीहरू पनि भर्ना हुँदै गए । गुप्त सङ्गठनको परिपाटी, पार्टी वर्गीय सङ्गठनहरूमा विभाजित र सुरक्षाको कारण व्यवस्थित सबै प्रकारका सदस्यहरूको लगत राख्ने बन्दोबस्त नगरेको हुँदा हरेक समितिका सदस्यहरू अथवा सबै साथीहरूले सबै कुरा थाहा नपाउनु स्वाभाविक हो । सङ्गठनको सक्रियता पनि सङ्घर्ष, पक्राउ र सङ्गठनको बाक्लोपनामा निर्भर हुने हँुदा एकबेला अगाडि परेको क्षेत्र, वर्ग र समिति अर्को समयमा पछाडि वा मध्यम स्थितिमा पुग्न गएको हुन्छ । कुनै वर्ग, क्षेत्र वा समितिको साथी कहिले अगाडि र कहिले पछाडि पर्छ भन्ने कुरा परिस्थितिमा निर्भर गर्छ र निर्णयले थाहा हुन्छ ।
ती सबै कुरालाई गहिरिएर ध्यान नदिने केही साथीहरू एक सङ्घर्ष वा परिस्थितिमा अगाडि देखापरेकाहरू अर्को किसिमको सङ्घर्ष र परिस्थितिमा अगाडि नदेख्ना साथै ‘पार्टीले कार्यकर्ताको राम्रो मूल्याङ्कन गरेन’ भन्ने गुनासो गरे । त्यस्ता गुनासो आ–आफ्नो समितिमार्पmत पार्टीमा छलफल नगरी समिति बाहिर, बाटो र होटलमा समेत गर्न थाले । त्यसो भन्ने साथीहरू निम्न भावनाबाट प्रेरित देखिन्छन् –
(क) आफूलाई नै बढी महत्व दिई हेर्ने वा आफूलाई केन्द्रबिन्दु बनाएर हेर्ने दृष्टिकोण ।
(ख) अन्य समिति वा साथीहरूको भूमिकालाई नबुझ्नु वा महत्व नदिनु ।
(ग) परिस्थिति हेरफेरबाट हुने अवस्था र विशेष परिस्थितिलाई नबुझ्नु ।
(घ) हामो सङ्घर्ष धेरै पछिसम्म चल्नेछ र हाम्रो आजु धेरै टाढा छ । त्यसको निम्ति सबै कार्यकर्ता अगाडि देखाउनु हुन्न भन्ने महत्वपूर्ण कुरालाई नबुझ्नु हो । सरल भाषामा ‘सबै फुल एउटै टोकरीमा राख्दा हुने खतरालाई नसम्झने प्रवृत्तिबाट प्रेरित हुनु ।
(ङ) क्रान्तिको हाम्रो महान् उद्देश्यलाई बिर्सेर प्रतिक्रियावादी सङ्घ–संस्थाको पद, सहुलियत र पैसालाई नै बढी महत्व दिनु ।
यस प्रकारको एकोहोरोपन वा मनोगतवादी धारणा जनमतसङ्ग्रहदेखि पञ्चायतको चुनावसम्ममा अगाडि बढेका नयाँ साथीहरूको माझमा बढी देखा प¥यो । कम उमेर र कम अनुभव भएका ती साथीहरूमा देखापरेको मनोगतवादी धारणाको मुख्य कारण समाजमा भएको सानो पुँजीपतिवर्गको बाहुल्यता र दृष्टिकोण हो । ती नयाँ साथीहरूलाई २०१७ सालभन्दा पहिले अथवा २००७ सालदेखि काम गरेका पार्टी कार्यकर्ताहरूको योगदान, २०२७ सालपछि प्रतिक्रियावादी सङ्घ संस्थामा काम गर्दा प्रशासन र खोटा विचारको विरोधमा सङ्घर्ष गर्दाका साथीहरूको कठिनाइ, भूमिसुधारको बेला नापीमा मोहियानी हक जोगाउन खेत, बाली तिर्ने, भर्पाई लिने सङ्घर्ष, चिनियाँ फोटो प्रदर्शनी, भियतनामी र ‘हिन्द चीनमा अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षको बेला भएका फोटो प्रदर्शनी, जुलुस प्रदर्शन, सभा–समारोह र व्यङ्ग्यचित्र प्रदर्शनी, चिनियाँ सांस्कृतिक क्रान्तिको बेलाको फोटो प्रदर्शनी र अन्य गतिविधिहरू, बाली काट्ने आन्दोलन, सहकारी संस्थाको भ्रष्टाचारविरोधी सङ्घर्ष र सुस्ता आन्दोलनको बेला जेलमा परेका साथीहरू, हाजिर नभई भूमिगत रहेका साथीहरू, मसाल जुलुस, पर्चा पम्प्लेट र अन्य गुप्त र खुला गतिविधि गर्ने साथीहरू, आर्थिक र अन्य साहित्यिक काममा सहयोग पु¥याउने साथीहरू, पूर्वदेखि पश्चिमसम्मका जिल्लाका पहाड, पर्वत, नदी नाला, जङ्गल र फाँट नाघ्दै अनेक शारीरिक र मानसिक कष्ट भोगी विभिन्न जिल्लाहरूमा सङ्गठन कार्यमा योगदान दिने कार्यकर्ता र भारतको गर्मी र अभावमा नथाकिकन काम गर्ने साथीहरूको योगदानबारे सबै कुरा नहुनु हो ।
३–४ सालको कामलाई नै बढी महत्व दिने ती साथीहरू २०–२२ वर्षदेखि लगातार काम गर्ने सयौँ साथीहरूको योगदानलाई बिर्सने र महत्व नदिने भूल गर्छन् । सयौँ र हजारौँ साथीहरूले सामन्ती पञ्चायती व्यवस्था र सबै प्रकारको साम्राज्यवादविरोधी सङ्घर्षमा आ–आफनो ढङ्ग र आ–आफ्नै स्थानमा बसी सहयोग गरेका छन् ।
प्रतिक्रियावादी सङ्घ–संस्थाहरूको पदमा पुग्नु, जुलुस–प्रदर्शन, सभा समारोह, भाषा र साहित्य सम्मेलनमा अगाडि देखापर्नु, अखबार र पत्रपत्रिकामा नाम र फोटो छाप्नु नै कुनै एक कार्यकर्ताको महत्व बढेको वा योग्यताको कदर भएको मान्नु सा¥है सानो दृष्टिकोण हो । क्रान्तिको निम्ति प्रकाशमा नआएका हजारौँ हजार राम्रा राम्रा गुप्त कार्यकर्ताहरूको आवश्यकता हुन्छ । यस्तो कुरोलाई नबुझ्नु सा¥है केटाकेटीपन हो अथवा अरुकै हाहामा लाग्ने खराबीबाट उत्पन्न स्वभावको परिणाम हो ।
बाहिर देखापरेका कार्यकर्ताहरू जस्तै हाम्रा सयौँ –हजारौँ कार्यकर्ता साथीहरू भित्र भित्र महत्वपूर्ण पदमा बसी सङ्घर्ष गरिरहेका छन् । केही साथीहरू गुप्त रूपले शारीरिक काम गर्छन् भने केही साथी कोठामा बसी कष्ट सहेर मन दिएर बौद्धिक काम गर्छन् । केही साथीहरू भित्र भित्र आर्थिक सहायता पु¥याएर सहयोग गरिरहेका हुन्छन् । केही साथीहरू विरोधी पक्षका सूचनाहरू दिएर हामीलाई महत्वपूर्ण योगदान पु¥याउँछन् । त्यस्ता भित्र भित्र सहयोग गर्ने साथीहरू पाँच भागमा एक भाग पनि अहिलेसम्म प्रकाशमा आएको छैन । ती साथीहरूलाई प्रकाशमा ल्याउनु पनि हुन्न । पार्टीले विपरीत सम्भावनालाई समेत ध्यानमा राखेर मात्र साथीहरूलाई प्रकाशमा ल्याउने गरेको छ । यस कुरालाई प्रचारको विषय बनाउनु हुन्न । यसकारण, केही अधकल्चा साथीहरूले मात्रै ‘कार्यकर्ताहरूको हाम्रो मूल्याङ्कन भएन’ भन्ने कुरा प्रचार गर्ने गल्ती गरेका हुन् ।
२–४ वर्षभित्रै कुनै पनि कामरेडको सम्पूर्ण जीवनको मूल्याङ्कन गर्न खोज्नु हचुवापन हो । सबैले निःस्वार्थरूपले काम गर्दै जानुपर्छ† धैर्यलाई छोड्नु हुन्न† आलोचनाबाट रिसाउनु हुन्न† आफ्नो स्थितिलाई राम्रोसँग बुझ्दै जानुपर्छ† कामको बोझबाट दिक्क मान्नु हुन्न; सेवाबाट थाक्नु हुन्न र अरु सबैलाई मूर्ख सम्झी दस भागको एक भाग अरु सबैलाई नौ भाग आफू एक्लोलाई अति महत्व दिने भावनाले काम गर्नुहुन्न । आफू मात्रै बुद्धिमान र अरु सबैलाई मूर्ख सम्झने र पार्टीमा सबै समान हुन् भन्ने भावनाले काम गर्ने सबै प्रकारका कार्यकर्ताहरूको मूल्याङ्कन पार्टीले राम्रोसँग गर्नेछ, जनता पनि त्यस्तो मूल्याङ्कन गर्न चुक्दैनन् । पार्टी र जनताको व्यापक दृष्टिकोणलाई नबुझी सानो कुरामै निराश भई बिच बाटोमा पार्टी छोड्नु हुन्न र व्यक्तिगत र आर्थिक लाभकै निम्ति पार्टीमा काम छोड्नु हुन्न ।
आफ्नो कुरा पार्टीमा लागू भएन भन्दैमा मनपरी गर्ने, समितिभन्दा बाहिर कुरा गरी हिँड्ने र पार्टीबाट अलग्ग हुने धम्की झन् नोक्सान गर्ने खालको हुन्छ । पार्टी कार्यकर्ता झन्झन् सचेत हुँदै आउने भएकोले मनपरी गर्न खोज्नु वा अनुशासन छोडी हिँड्नु हुन्न । रिसले आफ्नो टाउको ढुङ्गामा बजार्नुभन्दा साथीहरू वा पार्टीलाई चित्त बुझाउने काम गर्दै जानुपर्छ नयाँ नयाँ ढङ्ग र सीपलाई विकास गरी काम र सङ्घर्षलाई अगाडि बढाउँदै जानुपर्छ । सबै कार्यकर्ताहरूको मूल्याङ्कन पार्टीले गर्दै आएको हुन्छ ।
(यो हस्तलिखित पत्रिका ‘मजदुर–किसान’ बाट साभार गरिएको हो । यसमा सामान्य भाषागत सम्पादन गरिएको छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *