भर्खरै :

हाम्रा प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीबीच कस्ता समानता रहेछन् ?

 राजन
धर्म, संस्कृतिदेखि हरेक क्षेत्रमा भारतको प्रभाव नेपालमा परिरहेकै छ भने राजनीतिमा नपर्ने त कुरै भएन । सन्दर्भ हो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यवहारबाट प्रभावित बनेका हाम्रा प्रधानमन्त्री ओलीको व्यवहार । यहाँ मोदी र ओलीमा रहेका केही समरूप व्यवहार उल्लेख गरिन्छ ।
फेँकू र उखाने
भारतीयहरू गफ गर्ने तर काम नगर्नेलाई “लम्ब लम्बा फेँकता हे” भन्ने गर्छन् । ठूला ठूला वाचा गर्ने तर कहिल्यै पूरा नगर्ने भएर प्रधानमन्त्री मोदीलाई त्यहाँका जनताले फेँकू भन्दा रहेछन् । यसरी ‘फेँकू’ शब्दको उत्पति भएको रहेछ । हुन पनि केही वर्षअगाडि नेपाल आउँदा “१० हजार करोड नेपालको देँङ्गे” भनेर उनले हाम्रो संसदमा भाषण फ्याकेका थिए, फेँकूले । फेँकू शब्दको अर्थ गुगलमा खोज्दा पनि मोदीलाई देखाउँदो रहेछ । एकपटक मोदीले यस्तो गफ दिए कि उनकै कार्यकर्तासमेत लज्जित भएका थिए । पाकिस्तानको सीमा नाघेर आक्रमण (सर्जिकल स्ट्राइक) गर्ने समयमा उक्त स्थानमा बादल लागेर हल्का पानी परिरहेको थियो । सेना प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरूले आक्रमणलाई अर्को दिनमा सार्ने कि भनेर छलफल हुँदा मोदीले बादल लाग्दा राडरले पनि समात्न नसक्ने हुँदा बादलको फाइदा लिई आक्रमण गर्न निर्देशन दिएका थिए । वास्तविकता के हो भने राडरलाई बादलले बाधा पु¥याउनै सक्दैन ।
हाम्रा ओलीजी पनि गफ हान्न मोदीभन्दा कम छैनन् । ओली भन्छन्, “खानलाई मात्र त काम गर्नै पर्दैन, सुतिरहेको खाटमै सरकारले खाना पु¥याइदिन्छ ।” प्रधानमन्त्री हुनेबित्तिकै ओलीले भनिहाले, “२ वर्षमा नेपालकै तेलले गाडी चल्छ । ५ वर्षमा ५ हजार डलर प्रतिव्यक्ति आय हुन्छ ।” यस्तै अनगिन्ती गफ ओलीले दिएकै हुन् र हालैमात्र भिखारी–मुक्त देश बनाउने रे । मोदीलाई फेँकू भनेजस्तै ओलीलाई चाहिँ ‘गफू’ भन्नुपर्ने हो कि जबकि नेपालमा उनी ‘उखाने’ को रूपमा चर्चित छन् ।
पाखण्डी
राष्ट्रसङ्घीय महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सगौरव भनेछन् “भारतले संसारलाई युद्व होइन बुद्ध दियो ।” दलित जनताको बीचमा जानुप¥यो भने मोदी अम्बेडकरको असल अनुयायी भएर जान्छन् । अनि भारतका संविधान निर्माता अम्बेडकरलाई महान भन्छन् किनकि अम्बेडकर दलित जातिबीच चर्चित नेता हुन् । अम्बेडकरले हिन्दु धर्म परित्याग गरेर बुद्ध धर्म ग्रहण गरेका थिए । अम्बेडकरले दलितमाथि भएको भेदभावको विरोध गर्दै आरक्षणको जोडदार वकालत गरेका थिए । विडम्बना अम्बेडकरको परिकल्पनाअनुसार व्यवस्था भएको त्यही आरक्षणमाथि गिद्देदृष्टि राख्दै आरक्षण खारेज गर्न मोदी उद्यत देखिन्छन् । स्वदेशमा हिँस्रक हिन्दू भएर चुनाव जित्ने अनि विदेशमा खुब बुद्ध –प्रेमी भएको स्वाङ गर्ने यो मान्छे कति झूठा रहेछन् ? रामको नाममा जनता भड्काउदै जय श्री रामको नाममा चुनाव जित्ने तर विश्वको सामु रामको नाम लिन लजाउने अनि बुद्धको नाम लिने । कतिसम्म नौटङ्की गर्छन् । अब के भन्छ, भारतको हिन्दूवादी सङ्गठन आरएसएस ? के भन्छन् उसैलाई आदर्श मान्ने नेपालका शिव सेना ? एक अरब हिन्दूहरूको बसोबास भएको मुलुकको प्रधानमन्त्रीले किन बुद्धधर्मप्रति गौरवानुभूत गर्नुपर्दोरहेछ ? वेद, उपनिषद, गीता, राम कृष्णहरूलाई अघि सारेर गौरव गर्न किन सकिँदोरहेनछ ?
हाम्रा प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीले ठ्याक्कै मोदीकै पारामा विदेशीलाई छक्याउन खोजेका थिए । चुनावमा कम्युनिस्ट भएर जनतासँग भोट माग्छन् तर युरोपियन युनियनका पदाधिकारीहरू नेकपाको पार्टी कार्यालयमा आउँदा कम्युनिस्ट पार्टीका संस्थापकहरू माक्र्स, एँगेल्स, लेनिनको तस्वीर पार्टी कार्यलयबाट लुकाउँछन् । यो जति जनताको आखाँमा छारो हाल्ने काम के होला ? माक्र्सको फोटो देखाउन लाज लाग्ने पार्टीले अहिले आएर चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारको बहस गर्न थालेका छन् । यो पाखण्डको पराकाष्टा हो ।
विदेशी पुरस्कारका शौखिन
आफ्नो देशका जनता आर्थिक सङ्कटको कारण रोजगार गुमाएर खान नपाउने अवस्थामा पुग्दा पनि मोदीले आफ्नो अहम् देखाउँदै रूसजस्तो महाशक्तिलाई १ अर्ब डलरको लाइन अफ क्रेडिट दिएछन् । ठीक्क पार्दै रसियनले पनि मोदीलाई एउटा सम्मान दिए । त्यसलाई भारतीय मिडियामा खूब प्रचार प्रसार गरियो । मोदी कुनै पनि देशको भ्रमण गर्दा उक्त देशका उच्चस्तरीय पुरस्कारको अपेक्षा गर्दारहेछन् । त्यही पुरस्कारलाई माध्यम बनाएर भारतीयहरूबीच लोकप्रिय बन्न खोज्ने मोदीको रणनीति रहेछ । त्यसैगरी हाम्रा ओली विदेश भ्रमण गर्दा सकभर त्यहाँको शिक्षण संस्थानबाट पीएचडीको प्रमाणपत्र हासिल गर्न लालायित हुँदोरहेछन् । ताकि आफू औपचारिक शिक्षाबाट बञ्चित भएको ग्लानी शान्त पार्न सकून् ।
धर्म
सनातन धर्ममा गरिएका व्याख्यालाई आफ्नो अनुकूलताअनुसार रूपान्तरण गर्न माहिर छन्, मोदी । पण्डितको निधारमा लगाएको टीका अहिलेको राउटरको चिह्नजस्तो देख्दा भारत वर्षमा उहिल्यै इन्टरनेट भएको दाबी गरिन्छ । स्वस्थानी कथामा गणेशको टाउको काटेर हात्तीको टाउको जोडेको किंवदन्तीलाई प्लास्टिक सर्जरीको प्रयोग पुराण कालमा नै भइसकेको भनेर मोदी दाबी गर्छन् । ओली पनि कृष्ण भगवान महिलाहरूबीच लोकप्रिय रहेकोले नेपाल ह्याण्डसमहरूको देश भनेर सनातन धर्मसँग जोड्छन् ।
शिक्षा
मोदीले आफू राजनीतिशास्त्रमा स्नातकोत्तर गरेको भनेर दाबी गरे पनि कुनै एक शिक्षकले मोदीलाई पढाएको भनेर अहिलेसम्म भनेका छैनन् । त्यही भएर अहिले पनि अधिकांश भारतीय जनता मोदीले झूठ बोलेका र उनी अनपढ नै रहेको भन्ने गर्छन् । त्यसरी ओलीले झूठ नै त बोलेका छैन तर आठ कक्षामात्र पास भएकोले जनता उनलाई अशिक्षित नै मान्छन् । त्यही भएर प्रधानमन्त्रीका समर्थकहरू भन्ने गर्छन् प्रधानमन्त्रीले राम्रै गर्न चाहेका हुन् तर अशिक्षित भएर वरिपरिका मान्छेले उनलाई झुक्याइरहेका छन् ।
विद्वानहरूसँग इष्र्या
मोदी दिनको १८ घण्टा काम गरेको दाबी गर्छन् । यसैलाई जोडेर मोदीले हावर्डभन्दा हार्ड वर्कले काम गर्छन् भन्दै हावर्ड विश्वविद्यालयबाट दीक्षित भएका विद्वानहरू अमत्र्य सेन र मनमोहन सिँहजस्ता वरिष्ठ अर्थविद्हरूको खिल्ली उडाउने र क्षयीकरण गर्न खोजियो ।
ओली पनि विद्वानहरूप्रति सा¥है सानो चित्त बनाउँछन् । पछिल्लो पटक डा. बाबुराम भट्टराईलाई होच्याउने नाममा सम्पूर्ण पीएचडी गरेका विद्वानहरूलाई अपमानित गरे । सन् १९६५ तिर दक्षिण कोरियाका राष्ट्रपतिले विद्यावारिधी गरेका विदेशमा बसिरहेका दक्षिण कोरियाली नागरिकलाई विशेष सम्मान दिएर देश भित्र्याएका थिए रे देश निर्माणको लागि तर, नेपालमा विद्यावारिधी गरेकाको स्वयम् अनपढ ओलीले पढेकाको इष्र्या, डाहा र खिसिट्युरी गरेका छन् ।
आश्वासन
मोदी जनतालाई आश्वासन दिनमा अलिकति पनि कञ्जुस्याइँ गर्दैनन् । सबैको खातामा १५÷१५ लाख भारतीय रूपैयाँ जम्मा गरिदिने, सबैको घरमा शौचालय बनाइदिने, किसानको आम्दानीलाई दोब्बर बनाउने आदि आश्वासन दिएर चुनाव जिते । तर, वास्तविकता जनता बैङ्कमा आफै जम्मा गरेको पैसासमेत निकाल्न पाएका छैनन् भने हरेक वर्ष आत्महत्या गर्ने किसानको सङ्ख्या बढिरहेको छ । ओलीले पनि घर–घरमा ग्यास पाइप जडान गर्नेदेखि दुई वर्षमा नेपालकै तेलबाट गाडी चलाउने आश्वासन दिएको झन्डै ४ वर्ष भइसकेको छ ।
विपक्षलाई होच्याउने
लोकतन्त्रमा विपक्षको ठूलो महत्व हुन्छ । विपक्षबिनाको लोकतन्त्र तानाशाहीमा परिवर्तन हुन्छ । तर, संसारको सबभन्दा ठूलो लोकतान्त्रिक देश भएको दाबी गर्ने भारतमा विपक्ष निर्मूल पार्न मोदी उद्यत देखिन्छन् । मोदीको विरोध गर्ने विपक्ष नेतालाई छानी छानी सीवीआई र एडी लगाएर मुद्दा हाल्ने काम गरिरहेको छ । तर, त्यही जघन्य अपराधको रिकर्ड भएका विपक्ष पार्टीका मानिस भाजपामा सामेल भयो भने ती सबै अपराधबाट चोखिने हुन्छ । यहाँ नेपालमा पनि ओलीले नेकपामा सामेल हुने सर्तमा अहिले विप्लव समूहका नेताहरूलाई रिहा गरिरहेका छन् भने मनाङ्गेजस्ता अपराधीहरूलाई पनि पार्टीमा सामेल हुने सर्तमा मुद्दा फिर्ता लिने काम भइरहेको छ ।
जनताको वास्तविक मुद्दाबाट ध्यान अन्यत्र मोड्ने जनतासँग प्रत्यक्ष सरोकारका थुप्रै समस्याको विषयमा जब बहस हुन्छ बाठो मोदीले तुरन्तै अर्कै विषय उठाएर वास्तविक मुद्दाबाट जनताको ध्यान अन्तै मोड्ने प्रयास गर्छन् । रोजगारीका कुरा उठ्छ, पाकिस्तानको कुरा निकालिन्छ । महँगीको कुरा उठ्छ, काश्मिीरको कुरा उठाइन्छ । किसानको कुरा उठ्छ हिन्दू मुस्लिम बहस हुन्छ । यता ओलीजी पनि मोदीभन्दा कम हुनुभएन । जनता खानेपानीको माग गर्छन् ओलीजी पानीजहाज ल्याउने भाषण दिन्छन् । सडक बनाउने माग गर्छन्, चुच्चो थुतुनो भएको रेलको टिकट किन्न जनतालाई आह्वान गर्छन् ।
अन्तमा, झूठ सबैभन्दा ठूलो हत्यारा हो जसले सत्यलाई मार्छ ः सुकरात

Leave a Reply

Your email address will not be published. Required fields are marked *